आमा आउँथिन, हामी झुम्मिन्थ्यौ–कहिलेकाँही केरोको कोसो ल्याउँथिन् । कहिले सुन्तलाको एक दानो हुन्थ्यो आमाको पोल्टामा । मिस्रीको गोटो ल्याएको दिन आमाका आँखा पिलपिलाएको देख्थ्यौं हामी । म सोध्थे आमा के भयो ? आमा भन्थिन्–कसिंगर पर्र्यो । आखिर अहिले बुझ्छु –आमाका आँखामा स्नेहको आँशु बग्दोरहेछ । आमालाई केराको कोसो मिठै लाग्थ्यो होला । कसैले दिएको त्यो कोसो कुप्लुक्क खान सक्थिन् होला । सायद त्यो कोसोमा हाम्रा अनुहार आउँथे र आमा खान्नथिन् । बाबा हप्काउँथे । आमाले स्नेहको पोल्टोमा बेरेर काख लिएको याद छ । हजुरलाई याद छ कि छैन ? भए यसरी बिर्सनुहुन्नथ्यो । आमाको याद बिर्सने त्यति निर्दयी जस्तो पनि लाग्दैन । दादा, जब तपाई करिब ८/९ महिना सम्पर्कविहीन हुनुभयो तब हरेक पल आमाले केवल तपाईलाई मात्र सम्झिरहनु भयो । मिठो खादा, नयाँ लाउदा अझ भनुँ –चाडपर्व आउदा त लाग्थ्यो आमालाई दुख आईलाग्थ्यो । भन्थिन्–जेठो छोरोले मलाई विस्र्यो ? कि त बिरामी पर्यो ? कतै ... आदि इत्यादी । अनि बग्न सुरु हुन्थे स्नेहका भेलहरु आँखाको बाटो भएर । संसारकी सबैभन्दा असल थिइन् हाम्री आमा । सुन्दर र शालीन । उ बेला बाबाले यही देखे होला घर भित्र्याउनुभयो । आमा चिन्न नपाउदै आमा गुमाउनु भएका हाम्रा बाबा र बाबाको नामसम्म थाहा हुन नपाउँदै बाबाबाट छुटेर टुहुरा हुनुभएका हाम्रा बाबालाई सम्हालेर आज यो रमाइलो परिवार जोड्नुभयो । हो म भन्दै थिए, तपाई हराउनुभयो । तपाईकै पिरले आमाको दिमागमा अलि अलि असर पर्दै गएछ हामीले कहिल्यै त्यसबारे ख्याल गरनौ कि आमाको यो चिन्ता उहाँको जीवन अन्त्यको कारण पनि बन्न सक्छ । लगातार ८÷९ महिनाको तनावपछि आमा साँचिक्कै एक दिन डिप्रेशनको सिकार बन्नुभयो । त्यो दिन कुन्नी कुनचाँहि ठाँउबाट एकजना केटा पक्ष मेरो बिहेको कुरा लिएर हाम्रो घर आउने कुरा थियो । आमा बिहानै उठेर गाईगोठतिर काम गर्दैहुनुन्थ्यो । सान्दादा र भाईहरु सुतेकै थिए । बाबा आँगनको डिलमा टुसुक्क बस्नुभएको थियो । आमा एक्कासी बाबाको अघि आउनुभयो र आत्तिएजस्तो देखिनुभयो । बाबा छेउमै आएर हातको इसाराले कुन्नी के–के भनिरहनु भएको थियो । आमाको आँखाबाट निरन्तर आँशु मात्र बग्न थाले । हातको इसाराले भनिरहनु भएको थियोे म बोल्न सकिरहेको छैन । आमा आवाजविहीन हुनुभएको थियो । सान्दादा र भाईहरुलाई बोलाए । म भन्दा पछिल्लो भाई राजिव । उसले सिएमए कोर्ष पढेको छ, त्यसैले हतार हतार भित्र गयो र प्रेसर चेक गर्ने समान लिएर आयो । आमालाई आँगनमै बसालेर उसले ब्लड प्रेसर चेक गर्यो , उ आफै आत्तियो, उसको अनुहार रातोनिलो भयो । कति छ भाई आमाको प्रेसर सान्दादाले सोध्यो । उसले काप्दै भन्यो– हस्पिटल लैजाउँ । घरमा जम्मा ४ हजार रुपैया मात्र नगद थियो । मलाई बाबाले दराजमा राख्न दिएको । त्यही पैसा झिके र बाबालाई दिए । बाबा र सान्दादाले बाइकमा राखेर आमालाई महाकाली अञ्चल अस्पताल पुर्याउनुभयो । आधा घण्टापछि दादाको फोन आयो । मेरो छटपटीको सीमा थिएन, दुईटै भाईहरु रोइरहेका थिए , अनि म पनि । बेलाबेला लाग्थ्यो अब त आमा हैन आमाको शरिर मात्र घर फर्कन्छ होला । घरको हालत छताछुल्ल पोखिएको पानी जस्तै भाएको थियो । छिमेकीहरु वरपर टन्नै भइसकेका थिए । म भगवान नमान्ने मान्छे त्यो दिन हजारौं पटक मैले भगवानलाई पुकारे हुँला किनभने जब मान्छेका सबै आशा आकांक्षाहरु सकिन्छन् तब त्यो अदृश्य भगवानलाई पुकार्दो रहेछ । हो जसलाई मैले कहिले देखिन आज त्यसैप्रति केही आशा पलायो । त्यो दिन मेरो जिन्दगीको एउटा कालो दिन पनि हो । अब भने करिब ३ घण्टा जति भएको थियो, छतमाथि गएर आमा आउने बाटो हेरिरहेका थियौ । नभन्दै आमालाई लिएर बाबा र सान्दादाहरु आउनुभयो । तर आमाको अवस्थामा कुनै बीसको अन्नाईस भएको थिएन, डाक्टरले केही पनि भन्न सकेन रे । रोग नै हैन भन्यो रे । बाबाको मुहार हेर्दा लाग्थ्यो उहाँलाई पनि आमाको जिवित रहने आशा नै छैन । केहीबेरको सन्नाटापछि सबै गाँउलेहरुले दिएको एउटा सुझावको आधारमा निर्णय भयो –आमालाई ठूलै भूत लागेको छ । अब राम्रो भन्दा राम्रो धामी वा झाँक्रीकहाँ लग्नुपर्यो । उसो भए ढिला किन ? सबै हतारिए । म पनि हतारिए । केही गाँउलेहरु गए । दादा र बाबा पनि । आमा बोकिएकी थिईन् झाँक्रीको खोजीमा । हामी २ भाई र म फेरि रुँदै बस्नुको विकल्प थिएन । उहाँहरु साझ घर फर्किनुभयो । तर आमाको अवस्था जिउका त्यूँ थियो । भूत त भूत लागेको छ तर यसलाई खेदाउन केही समय लाग्ने भयो भन्यो रे धामीले । ००० ठूल्दादा सम्पर्कविहीन भएको ९ महिना बित्दासमेत कहींबाट पत्तो लागेन । एक दिन मैले फेसबुक चलाउँदै गर्दा एसो सोचे विदेशमा भएको मान्छे पक्कै पनि फेसबुक त चलाउँछ होला । दादाको नाम सर्च गर्दा साँच्चिकै भेट्टाए । त्यो खुशी म बताउँन अहिले पनि सक्दिन । म्यासेज र फ्रेन्ड रिक्वइस्ट एकैचोटी पठाए– दादा तपाई हराएको ९ महिना भैसक्यो । आमा बिरामी भएको पनि आज ठीक नौ महिना पुग्यो, उहाँको अवस्था एकदमै गम्भीर छ । पहिलापहिला त अलिअलि संकेतमा बोल्नुहुन्थ्यो तर आजभाेलि त पूरै थला परिसक्नुभएको छ । तपाईबाहेक कसैलाई सम्झिनुहुन्न । डाक्टरले भनेको छ कि –‘उहाँलाई अब कसैले बचाउन सक्दैन ।’ नम्बर माग्नुभयो । दिएँ । केहीबेरमा प्लससहितको नम्बर देखियो । उठाए । हराएका दादा थिए । आमासँग बोल्न लगाए आमा –आमाका आँखामा आँशुको बलिन्द्रधरा बग्न थाले । आमा हातले बोल्थिन् । आमाका इसारा बुझ्ने मै थिए लाग्थ्यो मलाई । आमा हातले बोल्थिन । म मुखले बोलेर दादालाई सुनाउथेँ । दादा बोल्नुहुन्थ्यो, म हातले बोलेर आमालाई सुँनाउँथे । दादा आउँछु भन्थे – मैले आमालाई के भन्ने ?आमा हातले बोल्थिन । म मुखले बोलेर दादालाई सुनाउथेँ । दादा बोल्नुहुन्थ्यो, म हातले बोलेर आमालाई सुँनाउँथे । दादा आउँछु भन्थे – मैले आमालाई के भन्ने ?
प्रतिकृया लेख्नुहोस्: