Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

बंगलादेशमा हिन्दू मन्दिरमा पहरा दिइरहेका मुस्लिमहरू

खबरडबली संवाददाता

काठमाडौं । बाङ्ग्लादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेको केही घण्टामै प्रदर्शनमा उत्रिएका मोइनउल हिन्दू मन्दिरको पहरा दिन खटिए।

उनले हिन्दू मन्दिरहरूमा हिंसात्मक आक्रमण भएका सामाजिक सञ्जालका भाइरल भिडिओहरू देखेपछि यस्तो कदम चालेका थिए।

“तीनको सुरक्षा गर्ने हाम्रो जिम्मेवारी हो,” चिटगोङ्गको हथराजीमा रहेको श्रीश्री सीता काली माताको मन्दिरमा पहरा दिइरहेका उनले भने, “हामी सबै सरकारी पूर्वाधारहरू, मन्दिर, गिर्जाघर र उनीहरूका सबै स्थानहरूको सुरक्षा गर्छौँ।”

मोइनउलले सामाजिक सञ्जालमा भाइरल भइरहेका पोस्टहरू आफूले त्यही स्थानमा पुगेर देखेको दृश्य भन्दा फरक पाएको बताए। सामाजिक सञ्जालका पोस्टहरूले बाङ्ग्लादेशलाई बाहिरी विश्वमा अस्थिर देखाउन खोजेको उनको दाबी छ।

बाङ्ग्लादेशको स्वतन्त्रता आन्दोलनमा लडेका व्यक्तिहरूका परिवारका लागि सरकारी जागिरमा ३० प्रतिशतसम्म आरक्षणको व्यवस्था खारेजीको माग गर्दै उनी पनि सडक प्रदर्शनमा भाग लिएका थिए।

तर उक्त प्रदर्शनमाथि सरकारको कठोर दमनले उनीहरूको माग प्रधानमन्त्री हसिनाको राजीनामातर्फ सोझियो।

हप्तौँसम्मको हिंसाले विपक्षी पार्टीका अभियानकर्मीहरू थप आक्रोशित भए। त्यसमध्ये धेरै जनालाई हसिनाको शासनकालमा राज्यले दु:ख दिएको थियो।

योसँगै कम जनशक्तिमा चलिरहेका प्रहरी चौकीहरूबाट प्रहरीहरू भागे पछि बाङ्ग्लादेशमा हिंसा मात्रै फैलिएन लुटपाट पनि मच्चियो। त्यसको निसानामा सत्ताधारी अवामी लीगका कार्यकर्ता र समर्थकहरू परे।

स्थलगत विवरणहरूले प्रदर्शनमा सहभागी नभएका सर्वसाधारणहरू पनि हिंसा र लुटपाटबाट प्रभावित भएको देखाएको छ।  मुस्लिमबहुल देशमा हिन्दू अल्पसङ्ख्यकहरू आक्रमणको हुने डरले त्रसित देखिएका छन्।

सामाजिक सञ्जालमा गलत कथन

विभिन्न स्थानमा अराजकता बढ्दै जाँदा भारतका अति दक्षिणपन्थी सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त्यसलाई मसला बनाए। उनीहरूले बाङ्ग्लादेशमा हिन्दूहरूमाथि हिंसा भएको दाबी गर्दै भ्रामक सूचना शेअर गरे।

यसले प्रदर्शनकारीहरू “इस्लामिक चरमपन्थी” थिए र हिंसात्मक उद्देश्य भएका थिए भन्ने हल्लामा थप बल पुग्यो।

यस्ता गलत कथनबारेका पोस्टहरूमा प्रयोग गरिएको ह्यास्ट्यागका आधारमा सामाजिक सञ्जालको निगरानी गर्ने अनलाइन ब्रान्डवाचबाट जाँच गर्दा अगस्ट ४ यता ७,००,००० पोस्टहरू भएका देखिन्छन्।

एक्समा राखिएका भ्रामक पोस्ट

सबैभन्दा धेरै यस्तो जानकारी फैलाउने खाताहरू भारतबाट सञ्चलन भएका देखिन्छन्। एउटा भाइरल पोस्टमा बाङ्ग्लादेशका हिन्दू क्रिकेटर लिटन दासको घर जलाइएको दाबी गरिएको छ।

अरू कतिपय सामाजिक सञ्जालका खाताहरूमा “इस्लामिक” मानिसहरूले आगो लगाएको दाबी गर्दै उक्त जानकारी शेअर गरिएको छ। बीबीसी भेरिफाइले स्थानीय विवरणका आधारमा यसको तथ्य जाँच गर्ने प्रयास गर्‍यो।

त्यस क्रममा के पत्ता लाग्यो भने आगो लगाइएको घर वास्तवमा पूर्व क्रिकेटर मशरफ बिन मुर्तजाको थियो।बाङ्ग्लादेशको सत्ताधारी अवामी लीगका सांसद रहेका मुर्तजा मुस्लिम हुन्। 

अर्को भाइरल भएको भिडिओमा “बाङ्ग्लादेशमा इस्लामिक भीड”ले मन्दिरमा आक्रमण गरेको दाबी गरिएको छ। चिटगोङ्गको नवग्रह मन्दिर नजिकै आगो देखिएको छ तर मन्दिर जलेको देखिएको छैन।

उक्त भिडिओ पोस्ट भएपछि बीबीसीलाई पठाइएका तस्बिरहरूमा मन्दिरमा कुनै पनि क्षति पुगेको देखिँदैन।
आगजनीको निसानामा मन्दिर नभई अवामी लीगको कार्यालय जस्तो देखिन्छ।

मन्दिर प्रशासनका अनुसार मन्दिरको पछाडिपट्टि कुर्सी र टेबलहरूमा आगो लगाइएको थियो। आगजनीपछि लिइएका तस्बिरहरूमा अवामी लीगका नेताहरूका अनुहार देखिने होर्डिङ र पोस्टरहरू भग्नावशेषमा देखिन्छन्।

“अगस्ट ५ को अपराह्न मन्दिरको पछाडि रहेको अवामी लीगको कार्यालयमा आक्रमण भएको थियो। उनीहरूले फर्निचरहरू कार्यालय बाहिर ल्याएर आगो लगाएका थिए,” मन्दिरका कर्मचारी स्वपन दासले बीबीसी भेरिफाइसँग भने।

दासका अनुसार उक्त दिन मन्दिरमा आक्रमण नभए पनि अवस्था तनावग्रस्त बनेको थियो। मन्दिर बन्द गरेर मानिसहरूले २४सै घण्टा पहरा दिएका थिए।

एक्समा राखिएका कतिपय पोस्ट

यस बाहेक पनि थप दुई वटा पोस्टमा हिन्दूहरूमाथि आक्रमण भएको दाबी गरिएको छ।

तर हामीले के पत्ता लगायौँ भने आक्रमणमा परेका नेताहरू वास्तवमा मुस्लिम थिए र अवामी लीगसँग आबद्ध थिए।

भारतका कैयौँ दक्षिणपन्थी सामाजिक सञ्जालका खाताहरूले हिन्दूहरूमाथि आक्रमण भएको दाबी गरिएका सूचनाहरूलाई व्यापक बनाएका छन्।

भेरिफाइड सामाजिक सञ्जालका खाताहरूबाट #savebangladeshihindu अर्थात् बाङ्ग्लादेशका हिन्दूहरूलाई बचाऊँ भन्ने ह्यास्ट्यागसहित यस्ता सूचना शेअर गरिएका छन्।

यस्तो प्रवृत्ति निकै व्यापक छ। अर्को एउटा भाइरल पोस्टमा त “इस्लामिक” भीडले एउटा हिन्दू गाउँमा आक्रमण गरेर एक जना हिन्दूलाई पोखरीमा पौडिएर भाग्न बाध्य बनाएको दाबी गरिएको छ। तर भारतीय तथ्य जाँचमा संलग्नहरूले ती व्यक्ति मुस्लिम भएको पत्ता लगाएका छन्।

एक्समा राखिएका कतिपय पोस्ट

विश्वव्यापी फैलावट

यूकेमा मुस्लिम आप्रवासीहरू लक्षित हिंसात्मक आक्रमण भएको भन्दै भड्किलो पोस्ट गरेका यूकेका एक प्रतिष्ठित चरम दक्षिणपन्थी इन्फ्लूएन्सर टमी रोबिन्सनले बाङ्ग्लादेशमा “हिन्दूहरूको नरसंहार भएको” दाबी गर्दै अपुष्ट भिडिओहरू सामाजिक सञ्जालमा शेअर गरे।

यसले स्थानीय स्तरमा मानिसहरूमा त्रास पैदा गर्नुका साथै धर्म-धर्मबीच तनाव पैदा गरेको विज्ञहरूले बीबीसीसँग बताए। बाङ्ग्लादेशमा दशकौँदेखि धार्मिक द्वन्द्व कायम छ।

एक्समा राखिएका कतिपय पोस्ट

“अगस्ट ५ देखि देशमा सरकार र कानुनी राज्य दुवै नभएका कारण हिन्दूहरूले आफूलाई असुरक्षित महसुस गरेको अवस्थामा यस्ता भ्रमहरू सफल भए,” घृणात्मक अभिव्यक्ति र भ्रामक सूचनाबारेका बाङ्ग्लादेशी विज्ञ प्राध्यापक शईद अल-जमान भन्छन्।

“त्यो त्रासदीपूर्ण अवस्था थियो। यस्ता इन्फ्लूएन्सरहरूले फैलाएको त्रासले तनावलाई बढाउने काम मात्रै गर्‍यो।”

आक्रमणका घटना

यसैबीच वास्तवमै हिन्दूहरूमाथि आक्रमण भएका घटनाहरू पनि देशका विभिन्न स्थानमा भएका छन्। तर यस्ता घटना धार्मिक कारणले नै भएका हुन् वा अन्य कारणले भन्ने पहिल्याउन निकै कठिन छ।

बाङ्ग्लादेशमा एएफपी समाचार संस्थाका तथ्य जाँचको काम गर्ने कदरूद्दिन शिशिरले हिन्दू स्वामित्वका सम्पत्तिहरूमाथि आक्रमण भएको बीबीसीलाई बताएका छन्।

“अधिकांश यस्ता आक्रमणहरू राजनीतिक रूपमा प्रेरित छन् र धर्मका कारण भएका होइनन्। तर भारतका चरमपन्थीहरूले राजनीतिक कारणबाट भएका आक्रमणहरूलाई पनि धार्मिक रूप दिएका छन्,” उनले थपे।

उनका अनुसार मुस्लिम अवामी लीगका कम्तीमा ५० जना नेताहरूको पनि मृत्यु भएको छ। श्रीश्री मन्दिरको बाहिरपट्टि मुस्लिम र हिन्दू विद्यार्थीहरू एकता र भविष्यको आशाबारे कुरा गरिरहेका छन्।

“यस्ता हल्लाहरू हिन्दू र मुस्लिमबीच अव्यवस्था निम्त्याउन र हिंसा भड्काउनका लागि फैलाइएका छन्,” मोइनउल भन्छन्, “हामी त्यसबाट प्रभावित हुनेवाला छैनौँ।”

मन्दिर बाहिरको छलफलमा भेटिएका एक जना स्थानीय चेतन नामका हिन्दू व्यक्तिले आफ्ना मुस्लिम छिमेकीप्रति आभार प्रकट गरे।

“म उनीहरूप्रति हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु र यो संवेदनशील अवस्था पार नहुँदासम्म यसलाई निरन्तरता दिन आग्रह पनि गर्न चाहन्छु,” उनले भने, 
“मलाई के आशा छ भने यो स्वतन्त्र बाङ्ग्लादेशमा हामी आगामी दिनमा पनि सँगसँगै मिलेर बस्ने छौँ।”

जोश चीटम् र कुमार मल्होत्राबाट थप रिपोर्टिङ- बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending