Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank

एमाले र एकीकृत समाजवादीबीच एकताको आधार तयार भएको हो ?

फाइल फोटो
खबरडबली संवाददाता

काठमाडौं । यसअघिको गठबन्धनबाट संसद्‌को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई सत्ता बाहिर धकेल्दै बनाइएको नयाँ समीकरणपछि कतिपय वाम दलहरू एक ठाउँमा आउन सक्ने चर्चा नेताहरूले गर्न थालेका छन्।

त्यसको सुरुवात नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच एकीकरण प्रयासबाट हुनसक्ने कतिपयको अड्कल छ।

त्यसपछि पहिले एमाले र माओवादीबीच एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपा ब्युँताउने प्रयास हुने अनि बृहत् वाम एकताको अवस्था बन्न सक्ने केहीको अनुमान छ।

यद्यपि "वाम एकता"को सम्भावना देख्ने विभिन्न कम्युनिस्ट घटकका नेताहरू पनि "त्यस्तो खालको एकीकरणका दिशामा छलफल अघि बढिनसकेको" बताउँछन्।

एकजना राजनीतिक विश्लेषकका भनाइमा "केही नेताहरू उत्साहित भएर बोलिरहेको भए पनि अहिले नै एमाले र नेकपा एकीकृत समाजवादीबीच एकीकरणको प्रयास" सुरु भएको जस्तो देखिँदैन।

'एकताको भ्रूण पलायो'

गत साता सरकार नै फेरबदल हुनेगरी नेकपा माओवादीसँग हात मिलाएको नेकपा एमालेले तत्कालका निम्ति उक्त मिलन "सरकारमा सहकार्यका लागि मात्र सीमित रहने" बताएको छ।

यद्यपि एमालेबाटै टुक्रिएर बनेको पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग भने निकट भविष्यमा एकता हुने खालको संवाद सुरु हुनसक्ने कतिपय नेताहरूको भनाइ छ।

शुक्रवार केन्द्रीय सचिवालयको बैठकपश्चात् पार्टीभित्रको मनस्थितिबारे सोध्दा नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले भने, "अहिले मुलुकलाई फाइदा हुनेगरी सरकार सञ्चालन गर्छौँ। यो सहकार्यले हामीलाई क्रमश: नजिक ल्याउने काम गर्छ र भविष्यमा परिस्थिति बलियो बन्दै गयो र विचार मिल्दै गयो भने पार्टी एकताको सम्भावना पनि हुनसक्छ।"

उनले विगतमा हतार गरेर एकीकरण गर्दा त्यो टिक्न नसकेको स्मरण गर्दै यसपालि एमाले त्यस्तो हतार गर्ने पक्षमा नरहेको बताए।

एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले चाहिँ "अहिले कुनै पनि दलसँग एकीकरणको कुरा सुरु नभएको" भए पनि नेतृत्वबीचको व्यक्तिगत "तुष" बाहेक नेकपा एकीकृत समाजवादीसँग एकीकरणको सम्भावना अधिक रहेको बताए।

"अब नेताहरू पनि भेटघाट र छलफल गर्न थाल्नु भएको छ। एकीकृत समाजवादीसँग त हाम्रो वैचारिक, नीतिगत र कार्यगत कुनै पनि कुरा फरक छैनन् त्यसैले मिलनबिन्दू खोज्न गाह्रो छैन," उनले भने।

यी दुई दलबीच सरकारमा भइरहेको सहकार्यले अब एकीकरणको पनि आधार बनाएको उनको भनाइ छ। "नेताहरूबीच उठबस सुरु भएको छ। त्यसले एकताका लागि एउटा राम्रै आधार तयार पारेको छ," गुरुङले भने।

"तर तत्कालै एकता भइहाल्छ भन्नु भन्दा पनि एकताका लागि भ्रूण चाहिँ पलायो भन्न सकिन्छ।" नेकपा एकीकृत समाजवादीका नेताहरू पनि अहिलेको सहकार्यले एकताको सम्भावना बढाएको अस्वीकार गर्दैनन्।

यद्यपि त्यस दिशामा अहिले कुराकानी सुरु नभएको उनीहरूको भनाइ छ। समाजवादीका एकजना नेता प्रकाश ज्वाला भन्छन्, "पहिलेको सम्बन्धमा स्वभाविक रूपमा सुधार हुन थालेको छ। छलफल र सहकार्यले त्यसलाई बढाउँदै लानेछ र भविष्यमा एकता पनि हुनसक्छ।"

"तर अहिले हाम्रो पार्टीका तर्फबाट र एमालेकै तर्फबाट पनि एकीकरणका लागि पहल सुरु भएको छैन। त्यसबारे हामीबीच वार्ता र छलफल पनि भएका छैनन्।" उनी नेताहरूबीच "मन माझामाझ भएपछि" एकताको सम्भावना विस्तार हुने ठान्छन्।

वाम एकताको चर्चा

केही दिन अघि सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बदलेसँग आफू बृहत्तर वामपन्थी एकताको पहल गर्नेतर्फ लाग्ने बताएका थिए।

नयाँ गठबन्धनमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई ल्याउन एमालेका अध्यक्ष केपी ओली समेत सक्रिय भएका थिए।

तर यसको अर्थ तत्काल उक्त पार्टीसँग एकताको सम्भावनाको रूपमा नबुझ्न एमाले उपाध्यक्ष ज्ञवालीले आग्रह गरे। समान विचार भएकाले भविष्यमा चाहिँ एकतासम्म पुग्न सकिने उनले बताए।

कतिपयले अहिलेको सहकार्यले पहिलेजस्तै एमाले र माओवादीबीच पनि एकता हुने आधार तयार पारेको बताइरहेका छन्। तर एमाले तथा एकीकृत समाजवादीका नेताहरूले त्यस दिशामा खासै छलफल सुरु नभइसकेको बताए।

केही दिनअघि माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले चाहिँ आफूहरूले वामपन्थीहरूलाई समेट्दै अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका थिए।

उनले भनेका थिए, “अहिले हामीले वामपन्थीहरूलाई नै समेटेर मन्त्रिमण्डल पुनर्गठन गरौँ भनेर सुझाव दिएका छौँ। अब फेरी घटनाक्रमहरू हेर्दै जाऊ।”

यसअघि माओवादी केन्द्रका अर्का नेता देवेन्द्र पौडेलले वामपन्थी एकताका लागि पछिल्लो कदम चालिएको दाबी गरेका थिए।

विक्रम सम्वत् २०७४ सालमा चुनावी तालमेल गरेका ती दुई दलले २०७५ जेठमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएका थिए।

एकताबद्ध भएर बनेको त्यस बेलाको नेपाल कम्युनिस्ट पार्टी विक्रम सम्वत् २०७७ सालको फागुन २३ गते सर्वोच्च अदालतको आदेशसँगै पुन: नेकपा एमाले र माओवादीमा बाँडिएको थियो।

लगत्तै एमालेबाट माधवकुमार नेपाल समूह छुट्टिएर एकीकृत समाजवादी गठन भएको थियो।

गएको वर्ष सम्पन्न आम चुनावमा केपी ओलीले नेतृत्व गरेको एमाले, प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले अलग अलग अस्तित्वमा थिए।

उक्त तिक्ततापूर्ण विभाजनबीच भएको आम चुनावपछि माओवादी केन्द्र र एमालेले छोटो समयका लागि सत्ता सहकार्य गर्दा नेकपा एकीकृत समाजवादी सो गठबन्धनमा सहभागी थिएन।

तर लगत्तै सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गर्‍यो। राष्ट्रपति चुनावमा बनेको कांग्रेस-माओवादी गठबन्धनले एमालेलाई विपक्षमा पुर्‍याएको थियो भने नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी भएको थियो।

तत्कालको सम्भावना कम तर असम्भव होइन

एकजना राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेल अहिले तत्कालै कुनै पनि दलहरू एकताको प्रयासमा लाग्ने सम्भावना कम देख्छन्।

उनले भने, "अहिले नै त्यो बाटोमा लागे भने नेताहरूको भागमा असफलता नै लाग्छ होला। तर केही समय सहकार्य गरेर लामो समयसम्म रहेको तिक्कता मेट्दै गयो भने त्यो एकता चाहिँ अलि दीर्घकालीन हुनसक्छ।"

त्यो खालको आभाष शीर्ष नेताहरूमा भएको जस्तो उनीहरूका सार्वजनिक व्यवहार र अभिव्यक्तिले देखाइरहेको पोखरेलको भनाइ छ।

तर कतिपय नेताहरू र विश्लेषकहरू हौसिएर तत्कालै एकता हुने कुरा पनि गरिरहेको उनी बताउँछन्।

उनले भने, "अहिले पनि फेरि पहिले एमाले र माओवादी जस्तो हौसिएर एकता गर्दा त्यसको दुष्परिणाम उनीहरूले मात्र भोगेनन्, देशले पनि भोग्यो। त्यसमा नेताहरूले विचार गर्लान् भन्ने लाग्छ।"

एमाले र नेकपा एकीकृत समाजवादीबीच एकीकरणको सम्भावनाबारे कुरा गर्दा पोखरेल भन्छन्, "उनीहरूबीच सैद्धान्तिक रूपमा खासै फरक छैन तर व्यक्तिगत तुष बढी हो। यी त एउटै रुखका बोक्रा हुन्। चाँडै मिल्न पनि सक्छन्।"

यद्यपि दुई दलका नेताहरूले सार्वजनिक रूपमा एक अर्कालाई "तेजोवध गर्नका लागि लोकलाज पचाएर अभिव्यक्ति दिएकाले" तत्काल एकीकरणको सम्भावनालाई पछि धकेल्ने उनको भनाइ छ।

"यदि यो गठबन्धन आगामी चार वर्षसम्म जाने भयो भने सायद वाम दलहरू एकमा आउने अवस्था पनि बन्नसक्छ," प्राध्यापक पोखरेलले भने। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending