खोटाङ । गाउँघरतिर ऋण लिंदा तमसुक गरेको त सुनिन्छ । तर खोटाङको मंगलटारका बासिन्दाले भने पिउने पानीका लागि सोना मन्सुली चामल दिने तमसुक गरेका छन् ।
खोटाङको मंगलटारका बासिन्दाले पानी उपभोग गर्न मुहान भएको खेतधनीलाई सोना मन्सुली चामल दिने तमसुक गरेका हुन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-६, मंगलटारका बासिन्दाले पिउने पानी उपभोग गरेको सट्टा तुवाचुङ नगरपालिका-५ दुर्छिम राबुका जसबहादुर राईलाई ३० किलोग्रामका ३० प्याकेट सोना मन्सुली चामल दिने तमसुक गरेका हुन् ।
जसमा दुवै वडाका वडाध्यक्षहरू रोहबरमा बसेका छन् । पानीको चरम अभाव हुने मंगलटारको दमैडाँडा, बरबोट, कार्की गाउँ र राउत गाउँका बासिन्दा जसबहादुरलाई वार्षिक रूपमा चामल दिएर पानी उपभोग गरिरहेका छन् । ६ वर्षदेखि यसरी नै पानी उपभोग गरिरहेका स्थानीय बासिन्दाले पछिल्लो पटक १० वर्षका लागि तमसुक बनाएका छन् ।
२०७४ पुसदेखि गाउँभन्दा करीब पाँच किलोमिटर टाढा रहेको मुहान भाडामा लिइएको स्थानीय बासिन्दा तीर्थबहादुर कार्कीले बताउँछन् । २०७४ सालमा पाँच वर्षका लागि गरिएको सम्झौता गत वर्ष सकिएको थियो । फेरि २०७९ पुस ११ मा १० वर्षका लागि सम्झौता गरिएको तीर्थबहादुरले बताए ।
यसरी ल्याइएको पानी दमैडाँडा, बरबोट, कार्कीगाउँ र राउतगाउँका ५० परिवार उपभोग गरिरहेका छन् । दमैगाउँ, बरबोट (मगरगाउँ) र कार्कीगाउँमा रहेका तीन वटा धाराबाट पानी वितरणको व्यवस्था मिलाइएको छ । स्थानीय बासिन्दाले तीनै धाराबाट पानी भर्ने गरेका छन् । कतिपयले धाराबाट व्यक्तिगत रूपमा पाइप जोडेर घरैमा पनि पानी लगेका छन् ।
पानी उपभोग गरे बापत हरेक वर्ष जसबहादुरको घरमै चामल पुर्याउने गरेको तीर्थबहादुरकाे भनाइ छ । गत वर्ष ४५ हजार रुपैयाँको चामल खरीद गरेर जसबहादुरलाई बुझाएको अर्का स्थानीय बासिन्दा मेखबहादुर थापा मगरले बताए । यसअघिसम्म पानीको मुहानधनीलाई कान्छी मन्सुली चामल दिंदै आएका थिए ।
अबदेखि सोना मन्सुली चामल दिने सहमति भएको छ । सोना मन्सुली चामल दिनुपरेपछि खर्च बढ्ने उनी बताउँछन् । कोभिड-१९ को महामारीका वेला चलेको बन्दाबन्दीमा चामल ढुवानी हुन सकेको थिएन ।
त्यतिवेला चामल खरीद गर्न नपाएर अप्ठ्यारो भएको उनी सुनाउँछन् । “चामल त किन्न पाइन्छ तर पानी किन्न सकिंदैन,” मेखबहादुर भन्छन्, “पानीका लागि जति भने पनि तिर्न तयार हुनुपर्ने अवस्था छ ।” जसबहादुरको खेतमा रहेका दुई वटा मुहानबाट पाइप मार्फत लगिएको पानीलाई दमैगाउँको सिरानमा निर्माणाधीन हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको पानी ट्यांकमा संकलन गरिन्छ ।
त्यहाँबाट वितरण गर्ने व्यवस्था मिलाइएको छ । ट्यांकीमा जम्मा भएको पानीलाई हरेक दिन बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म वितरण गरिन्छ । स्थानीय बासिन्दाले त्यो समयमा भरिसक्नुपर्छ । चामल दिनुपरे पनि टाढाबाट गाग्रो बोक्नुनपरेको स्थानीय बासिन्दा लालकुमार दर्जी सुनाउँछन् ।
पानीको रेखदेख गर्न वार्षिक १२ हजार रुपैयाँ दिने गरी एक जना हेरालु पनि राखिएको छ । खेतमा पानीको मुहान भएका जसबहादुर चन्द्रबहादुर दर्जीको घरमा आउजाउ गरिरहन्थे । उनको घरमा पानीको समस्या देखेपछि वर्षमा ६ महीना आफ्नो सिमसारे खेतको पानी पाइप राखेर लैजान भनेका थिए ।
चन्द्रबहादुर एक्लैले पाइप किनेर लग्न आर्थिक कठिनाइ भएपछि गाउँलेसँग मिलेर पाइप किन्न आग्रह गरेका थिए । त्यसपछि सबै गाउँले गएर जसबहादुरसँग पानीका लागि आग्रह गरे तर उनले मानेनन् । त्यसपछि गाउँलेले पानीको मूल भएको खेत बेच्न आग्रह गरे । त्यसमा पनि जसबहादुर सहमत भएनन् ।
अनि वार्षिक ३० किलोग्रामका ३० प्याकेट चामल दिने २०७४ मा सहमति बनेको हो । २०७४ चैतमा चामल बुझाएपछि अर्को महीना २०७५ वैशाखदेखि मात्र पानी उपयोग गर्न पाएका थिए । पानी ल्याउनका लागि वडा र नगरपालिकाले पाइप खरिद गर्न सहयोग गरेको छ । स्थायी व्यवस्था नभएकाले पानीको पाइप पनि जमीनमा गाडिएको छैन ।
गत जेठमा डढेलोले पाइप जलेको थियो । यसरी ल्याइएको पानी पिउनेसँगै नुवाइधुवाइ, गाईवस्तुलाई खुवाउन तथा सागपातमा हाल्न सहयोग पुगेको स्थानीय तुलसी भुजेल बताउँछन् ।
यसअघि स्थानीय बासिन्दाले फडिनपानी कुवा, राजापानी कुवा, राबुखोलाबाट घण्टौं लगाएर गाग्रोमा बोकेर ल्याउने गरेका थिए । उता, चामलमा पानी दिएपछि जसबहादुरको सिमसारे खेत भने बाँझिएको छ। पानी गाउँमा गएपछि खेती गर्न नसकिने भएकाले चामल मागेको उनको तर्क छ ।
मंगलटारमा एशियाली विकास ब्यांक (एडीबी)को सहयोगमा २०५६ सालतिरै हलेसी तुवाचुङ नगरपालिका-७, महादेवस्थान मुहान भएको टिम्बुरबोटे खानेपानी आयोजना सञ्चालनमा ल्याइएको थियो । तर सडक विस्तार एवं २०७२ सालको भूकम्पका कारण टिम्बुरबोटे आयोजनामा पानीको मात्रा घटेको थियो । जसले गर्दा मंगलटारमा फेरि पानीको समस्या भएको हो ।
प्रतिकृया लेख्नुहोस्: