Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

चिकित्सा प्रतिष्ठान जस्ता सरकारी संरचनाको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानले स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा परिभाषित गर्दै जनताको निःशुल्क स्वास्थ्य सेवाको अधिकार सुनिश्चित गरेको बताएका छन्  ।
बिहीबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै  कुलपति एवम् प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्  ।

प्रधानमन्त्रीले संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने व्यवस्था, प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक, प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हकको व्यवस्था गरेको जानकारी दिए । 

‘‘गरिब र विपन्नहरूका लागि सबैखाले अस्पतालहरूले १० प्रतिशत बेडहरूमा निःशुल्क उपचार हुने व्यवस्थासहित सङ्घीय अस्पताल र चिकित्सा विज्ञान प्रतिष्ठानमा ३५२३ बेड निःशुल्क गरिएको छ । स्वास्थ्य क्षेत्रमा सकारात्मक पहल लिइएको छ । यद्यपि, संविधानमा व्यवस्था भएबमोजिमका मौलिक हकहरूको कार्यान्वयनका निम्ति आवश्यक पर्ने कानुन निर्माण, संरचनाको विकास र सेवा प्रवाहका क्षेत्रमा अझै थुप्रै कामहरू गर्न बाँकी छन् ।,’’ प्रधानमन्त्री प्रचण्डले भने, ‘‘संविधान प्रदत्त स्वास्थ्य सम्बन्धी हकको कार्यान्वयनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान जस्ता सरकारी संरचनाहरूको भूमिका सबैभन्दा महत्त्वपूर्ण रहन्छ । यसतर्फ आगामी दिनमा सिङ्गो प्रतिष्ठान परिवारले गम्भीरतापूर्वक काम गर्नेछ भन्ने मैले गहिरो विश्वास लिएको छु ।’’

प्रधानमन्त्री प्रचण्डले गर्नुभएको सम्बोधनको पूर्णपाठ
सर्वप्रथम प्रतिष्ठानको चौंथो दीक्षान्त समारोहमा दीक्षित हुनुहुने सम्पूर्ण दीक्षार्थीहरूमा हार्दिक बधाइ ज्ञापन गर्दै यहाँहरूको पेशागत एवं सामाजिक जीवनमा निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । पेशागत जीवनका निम्ति कोशेढुङ्गाको रूपमा रहेको यस दीक्षान्त समारोहसम्म आइपुग्न यहाँहरूले गर्नुभएको मेहेनत एवम् प्राप्त सफलताको उच्च प्रशंसा गर्दै जीवनको उर्जाशील उमेर र समय समाज एवम् राष्ट्रको बृहत्तर हितका निम्ति समर्पित गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधता एवम् अथाह प्राकृतिक स्रोतसाधन र सम्भावनायुक्त सुन्दर देश हो । देशको स्वाभिमान र गौरवका निम्ति हाम्रा पुर्खाहरूले वीरता र बलिदानका क्षेत्रमा महत्वपूर्ण कीर्तिमान कायम गरेका छन्, त्यही वीरता र कीर्तिमानकै कारण आज हामी विश्वमा सुन्दर, शान्त, सुसंस्कृत देशका रूपमा परिचित छौं । तर यो परिचय हाम्रा निम्ति पर्याप्त छैन । अथाह सम्भावना भएर पनि जनताको मुहारमा कान्ति ल्याउने जिम्मेवारी इतिहासले तपाई–हाम्रो काँधमा सुम्पिएको छ । गौरवशाली विगतको जगमा समुन्नत भविष्य निर्माणको कार्यभार युवाहरूको काँधमा छ, त्यसमा पनि तपाईहरू जस्ता शिक्षित र बौद्धिक युवाहरूको निर्णायक भूमिका रहन्छ । आज दीक्षित हुँदैगर्दा इतिहासले सुम्पिएको यस ओजश्वी कार्यभारलाई यहाँहरूले गम्भीरतापूर्वक आत्मसात्गर्नुभएको मैले अनुभूति गरेको छु ।

प्रिय दीक्षितहरू,
भूगोलका दृष्टिले देश सानो वा ठूलो हुन सक्छ, आर्थिक दृष्टिले विकसित वा विकासशील हुन सक्छ । तर विश्व रङ्गमञ्चमा नेपालको आफ्नै स्वाभिमान छ, आफ्नै इतिहास, पहिचान र गौरव छ । भूगोल, जनसङ्ख्या र सामरिक दृष्टिले श्रेष्ठ हुनुको पनि आफ्नो ठाउँमा महत्त्व छ । तर त्यसभन्दा ठूलो महत्त्व नेपाली हुनुमा छ, हाम्रो इतिहास र पहिचानमा छ, हाम्रो विविधता र एकत्वमा छ, यसप्रति हामी नेपालीले गौरव गर्न सक्नुपर्छ । तसर्थ, आजको दिनले देशको पहिचान र गौरवलाई शीरमा राखेर आफ्नो करिअर र राष्ट्रप्रतिको जिम्मेवारी पूरा गर्न यहाँहरूलाई महत्त्वपूर्ण हौसला प्राप्त हुनेछ, म यो विश्वास व्यक्त गर्न चाहन्छु ।

तपाईहरूलाई राम्रोसँग थाहा छ– विगतमा हामी व्यवस्था बदल्न संघर्ष गर्‍यौं, आज बदलिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न देशले हामीलाई निर्देशित गरिरहेको छ । जनताको अवस्था बदल्ने कार्यभार चुनौतीपूर्ण र अवसरयुक्त दुवै छ । संघर्षको बलमा हामीले पूरानो व्यवस्था बदल्यौं, तर पूराना नीति, संरचना, संस्कार, संस्कृति र कार्यशैली पूरै बदलिएका छैनन्। पूरानो व्यवस्थाले थुपारेको फोहोर सफा गर्ने काम सजिलो छैन, तर जतिसुकै चुनौतीपूर्ण भए पनि हामीले सुशासनका निम्ति, समृद्धिका निम्ति, सामाजिक न्यायका निम्ति दृढतापूर्वक अगाडि बढ्नुको अर्को कुनै बिकल्प पनि छैन । यही यथार्थलाई आत्मसात गरेर नै वर्तमान सरकार भ्रष्टाचारको जरो उखेल्न, देशमा सुशासन र समृद्धिको नयाँ वातावरण निर्माण गर्न दृढ सङ्कल्पित छ । मैले पटकपटक भन्दै आएको छु– भ्रष्टाचार देश र जनताको सबैभन्दा ठूलो शत्रु हो, समृद्धिको बाधक हो, समग्रमा देशको पहिचान र प्रगतिका निम्ति कलङ्क हो । यसका विरूद्ध दृढतापूर्वक सङ्घर्ष गरी भ्रष्टाचारको मूल जरो निमिट्यान्न पारेर मात्र देशमा सुशासन, समृद्धि र सामाजिक न्यायको नयाँ वातावरण सिर्जना गर्न सकिन्छ । तसर्थ, यस लडाइँमा सिङ्गो देश एक ठाउँमा उभिन जरूरी छ ।

आदरणीय महानुभावहरू,
नेपालको संविधानले स्वास्थ्य म्बन्धी हकलाई मौलिक हकका रूपमा परिभाषित गर्दै जनताको निःशुल्क स्वास्थ्य सेवाको अधिकार सुनिश्चित गरेको छ । संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने व्यवस्था, प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक, प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हकको व्यवस्था गरेको छ । गरिब र विपन्नहरूका लागि सबैखाले अस्पतालहरूले १० प्रतिशत बेडमा निःशुल्क उपचार हुने व्यवस्थासहित सङ्घीय अस्पताल र चिकित्सा विज्ञान प्रतिष्ठानमा ३५२३ बेड निःशुल्क गरिएको छ । स्वास्थ्य क्षेत्रमा सकारात्मक पहल लिइएको छ । यद्यपि, संविधानमा व्यवस्था भएबमोजिमका मौलिक हकहरूको कार्यान्वयनका निम्ति आवश्यक पर्ने कानुन निर्माण, संरचनाको विकास र सेवा प्रवाहका क्षेत्रमा अझै थुप्रै कामहरू गर्न बाँकी छन् । संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी हकको कार्यान्वयनका लागि चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान जस्ता सरकारी संरचनाहरूको भूमिका सबैभन्दा महत्त्वपूर्ण रहन्छ । यसतर्फ आगामी दिनमा सिङ्गो प्रतिष्ठान परिवारले गम्भीरतापूर्वक काम गर्नेछ भन्ने मैले गहिरो विश्वास लिएको छु ।

आज दीक्षित विद्यार्थीहरूले आर्जन गरेको ज्ञान, सीप र दक्षताले देशको स्वास्थ्य क्षेत्रमा गुणात्मक प्रगति हासिल गर्नका निम्ति महत्वपूर्ण योगदान पुग्नेछ । साथै यहाँहरूजस्तो दक्ष र उर्जाशील प्राविधिक जनशक्तिबाट देशको दुरदराजसम्मका जनताले सहज र स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नेछन् । तपाईहरूको निष्ठा र जिम्मेवारीबोध पनि त्यही उचाइका साथ जनताको सेवामा समर्पित रहने र आदरणीय अभिभावकज्यूहरूले समेत आफ्ना सन्ततिको भविष्यसहित राष्ट्रको भविष्यका निम्ति उत्प्रेरित गर्नुहुने विश्वास लिएको छु ।

हरेक लोकतान्त्रिक देश र प्रणालीमा राज्य नागरिकहरूको वास्तविक अभिभावक र संरक्षक हो । हाम्रो राजनीति र जीवन व्यवहार नागरिकको स्वार्थ र हितमा समर्पित गरेर मात्र हामीले लोकतान्त्रिक राज्यको औचित्य पुष्टि गर्न सक्छौँ । त्यसका लागि राज्यका सम्पूर्ण अङ्गहरूले नियन्त्रणमुखी होइन, प्रवर्द्धनमुखी र सेवामुखी भएर काम गर्न जरूरी छ । गरिब, विपन्न, असहाय एवम् उपेक्षित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको अधिकार र अवसरका निम्ति राज्यको जिम्मेवारीमा रहेका सबैले कुशलतापूर्वक आफ्नो भूमिका पूरा गर्नुपर्दछ, स्वास्थ्यजस्तो अति संवेदनशील क्षेत्रमा अझ गम्भीरता र जिम्मेवारीपूर्वक जनसेवाको काम हुनुपर्छ भन्नेमा सरकार दृढ छ । म यसै दीक्षान्त समारोहमार्फत् नेपालको संविधान, राज्यका प्रचलित नीति, कानुन र प्रबन्धहरूको निर्देशनमा रही प्रभावकारी कार्यसम्पादन गर्न प्रतिष्ठान र प्रतिष्ठानमा आबद्ध सबै महानुभावलाई विशेष निर्देशित गर्दछु ।

चिकित्साविज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी दक्ष जनशक्ति उत्पादन एवम् आम नागरिकलाई सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको स्थापना गरिएको हो । वीर अस्पताल नेपालको सबैभन्दा पुरानो तथा ठूलो अस्पतालमध्येको एक हो । यसैगरी राष्ट्रिय ट्रमा सेन्ट्रर र नर्सिङ क्याम्पस तथा प्रतिष्ठानको उपत्यका र बाहिरका अस्पतालमा समेत विस्तारित रूपमा उच्चस्तरका अध्यापन हुने कुराले स्वास्थ्य सेवामा गुणात्मक र सङ्ख्यात्मक रूपमा फड्को मार्नेछ । यस सन्दर्भमा स्वास्थ्य क्षेत्रमा नेपालकै पुरानो र भरपर्दो तथा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताललाई अझै विस्तार र सुविधासम्पन्न बनाउन नेपाल सरकारले थप लगानी गर्नेछ । यस सन्दर्भमा नर्सिङ सेवासँग सम्बन्धित जटिलताहरू सम्बोधन गर्न सरकारले आवश्यक पहल लिने विश्वास म यहाँहरूलाई दिलाउन चाहन्छु ।

प्रिय दीक्षितहरू,
जनताको उपचारमा सक्रिय स्वास्थ्यकर्मीहरूको पेशागत सुरक्षा, हित र वृत्तिविकासमा सरकार सचेत र गम्भीर छ । पछिल्लोसमय बिरामीहरूको उपचारमा क्रियाशील स्वास्थ्यकर्मीमाथि भइरहेका शृङ्खलाबद्ध आक्रमणलाई मैले गम्भीर रूपमा लिएको छु । यसबारे सरकारले स्वास्थ्यकर्मीहरूसँग संवाद गरी आवश्यक कानुनी प्रबन्ध गर्ने सहमति र सोअनुरूपको गृहकार्य गरिसकेको छ । तसर्थ, स्वास्थ्यजस्तो अति संवेदनशील क्षेत्रमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको विश्वास दिलाउँदै यसै कार्यक्रममार्फत देशभरि रहनुभएका स्वास्थ्यकर्मीहरूलाई पूर्ण भरोसा र आत्मविश्वासका साथ बिरामीहरूको उपचारमा सक्रिय रहन म हार्दिक आग्रह गर्दछु ।

अन्त्यमा, नेपाल सरकार स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्न, उत्पादित जनशक्तिको रोजगारीको सुनिश्चितता, पेशागत हित र आधारभूत स्वास्थ्य सेवाको नागरिक हकप्रति प्रतिबद्ध रहेको व्यहोरा स्पष्ट गर्दछु । सुविधासम्पन्न, पुरानो र स्तरीय जनशक्तिको प्रत्यक्ष सुपरीवेक्षणमा रहेर सैद्घान्तिक र व्यावहारिक ज्ञान प्राप्त गरेका स्नातकोत्तर र स्नातक तहका आजका दीक्षित ५४१ जनशक्तिले आफूलाई राष्ट्रका लागि अमूल्य निधिका रूपमा प्रमाणित गर्नुहुनेछ भन्ने विश्वाससहित दीक्षितहरूको उज्ज्वल भविष्यको कामनासहित बिदा हुन्छु, धन्यवाद ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ

काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...

महावीर पुनकाे चुनावी २८ लाख बढी

पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...

सर्वोच्चको आदेश: किशोरी साहको नाम कालोसूचीमा नराख्ने

काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...

एनआरएनए स्टेयरिङ कमिटीको बैठक: मध्यपूर्व संकटप्रति गम्भीर चिन्ता

काठमाडौं।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...

पहिलेदेखि नै अस्तित्वमा रहेको साङलो

एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...

मध्यपूर्वमा नेपालीको सुरक्षाबारे सरकारको ध्यानाकर्षण, र्‍यापिड एक्सन टिम गठन

काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...

भेटी रकमबाट बालगृहमा अक्षयकोष स्थापना

पोखरा  । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...

लागुऔषध झगडामा प्रहरीमाथि खुकुरी प्रहार, आत्मरक्षामा गोली चल्दा एक घाइते

हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...

समानुपातिक सिट बाँडफाँट टुंगियो : कुन दलले कति पाए?

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...

‘लाल किल्ला’बाट ‘माटो’सम्म : धरानमा कम्युनिस्टको पतन र हर्कवादको उदय

सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: