काठमाडौं । सरकारले भाडा नबढाए यातयात व्यवसायीले दसैँमा अग्रिम टिकट बुकिङ नखुलाउने भएका छन् । यातायात व्यवस्था विभागसँगको छलफलमा व्यवसायीहरूले सबै वस्तुको मूल्यवृद्धि भएको र सडक पनि राम्रो नभएको भन्दै दसैँमा सार्वजनिक गाडीको भाडा बढाउनुपर्ने अडान राखेका छन् ।
दसैँका लागि अग्रिम टिकट कहिलेबाट खोल्ने निधो नगर्दा सर्वसाधारण अलमलमा परेका छन् । यातायात व्यवसयीसँग पटक-पटक कहिलेबाट दसैँको लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने भन्ने विषयमा छलफलमा बसेकाे भए पनि व्यवसायीले भाडावृद्धि नगरी अग्रिम टिकट खुल्ला गर्न नसकिने बताइरहेकाे यातायात व्यवस्था विभाग स्रोतले बतायाे ।
यातायात व्यवस्था विभाग भाडा बढाउने पक्षमा नरहेकाे स्राेतकाे भनाइ छ । दसैँको बेला सार्वजनिक यातायातको भाडा वृद्धि गर्दा गाउँ जानेहरूलाई समस्या पर्ने अवस्था सिर्जना हुने भाडा बढ्यो भने नकारात्मक सन्देश समेत जाने स्राेतकाे भनाइ छ ।
व्यवसायीले अहिले कति भाडा वृद्धि गर्नुपर्ने खुलाएका छैनन् । विभागसँगको छलफलमा भाडा वृद्धि गर्नुपर्ने सर्त मात्रै राखेका छन् । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले पटकपटक दसैँका लागि अग्रिम टिकट खुल्ला गर्ने विषयमा यातायात व्यवसायीसँग छलफल भएको बताए ।
विभागले यातायात व्यवसायीसँग पटकपटक अग्रिम टिकट खोल्नको लागि छलफल सरिसकेकाे उनले बताए । व्यवसायीहरूले आफ्नो समस्या विभागमा राखेकाे र चाँडै बुकिङ खोल्दा टिकट सकिएर समस्या आउन सक्ने भएकाेले आगामी २० गते वा त्यो भन्दा पछाडि टिकट बुकिङ खुल्ला गर्दा पनि राम्रो हुने उनले बताए । आज पनि अग्रिम टिकट बुकिङ कहिलेबाट खोल्ने भन्ने विषयमा यातायात व्यवसायीसँग छलफल गर्ने तयारी रहेको उनले बताए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्ष विजय स्वाँरले भाडा वृद्धि गर्नुको विकल्प नरहेको बताए । राज्यले यातायात व्यवसायीलाई पेल्दै गएको र दसैँका लागि अग्रिम टिकट बुकिङको लागि हाम्रा मागहरु अगाडि सारेका भएपनि चासाे नदिएकाे उनकाे भनाइ छ ।
व्यवसायीकाे पहिलो माग देशभर खनिएका सडक बनाउन रहेकाे ५ । दोस्रो माग भाडा वृद्धिमा प्रयोग हुने १६ वटा तत्वमध्ये सबैंभन्दा धेरै मूल्यवृद्धि भएको ५ वटा वस्तुको मूल्यांकन गरेर भाडा वृद्धि गर्न भनिएकाे उनले बताए । कानूनी व्यवस्था पनि त्यही रहेकाे र प्रत्यक वर्ष गाडीमा प्रयोग हुने ५ वस्तुको मूल्य हेरेर भाडा वृद्धि गर्नुपर्ने आफुहरुकाे माग रहेकाे उनले बताए । बाँकी ११ वटा वस्तुको मूल्य हेरेर ५ वर्षमा पुन: भाडा समायोजन हुनुपर्ने हो । तर, भाडा बढाउन हुदैन मात्रै भनिरहेको उनकाे भनाइ छ ।
पेट्रोलियम पदार्थले ३५ प्रतिशतमात्रै भाडाको सम्बोधन गर्छ । बाँकी ६५ प्रतिशत भाडा गाडीमा प्रयोग हुने टायरदेखि अन्य वस्तुको आधारका निर्धारण हुनुपर्छ । राज्यले व्यवसायीको कुरा नसुने दसैँमा अग्रिम टिकट नखुलाउने उनले बताए ।
अध्यक्ष स्वाँरले ९ प्रतिशतमा बैंकबाट लिएको ऋणको व्याज अहिले १७ प्रतिशत पुगेको भन्दै सबैभन्दा ठूलो मिटरव्याजी नै बैंक भएको टिप्पणी गरे ।
अग्रिम टिकट बुकिङ्ग तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारी साधनको सहज सञ्चालनमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदुरबीच समन्वय हुँदै आएको छ ।
प्रतिकृया लेख्नुहोस्: