Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

तीन देशका शिवधाम पुगेर प्रचण्डले दिन खोजेको सन्देश के हो?

खबरडबली संवाददाता

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले बिहीवार तिब्बतमा अवस्थित कैलाश मानसरोवरको भ्रमण गरेपछि सत्ता सम्हालेयता विशेषगरी शिवसँग सम्बन्धित तीनवटा प्रमुख धार्मिकस्थलको भ्रमण गरेका छन्।

गएको जुनमा भारत भ्रमणमा जाँदा उज्जैनस्थित महाकालेश्वरको मन्दिर पुगेर आफ्नो धार्मिक यात्रा सुरु गरेका उनले त्यसलगत्तै काठमाण्डूस्थित पशुपतिनाथ मन्दिरमा पुगेर पूजा अर्चना गरेका थिए। प्रधानमन्त्रीको रूपमा तेस्रो कार्यकाल सरकारको नेतृत्व गरिरहेका प्रचण्डले आफ्नो यसपटकको चीनभ्रमणमा मानसरोवरलाई पनि प्रमुख गन्तव्य बनाएका छन्।

त्यसो गरेर उनले नेपालभित्रका 'हिन्दु धर्मावलम्बी र हिन्दुवादी पार्टी सत्तामा रहेको भारतको संस्थापन पक्षलाई सन्देश दिनखोजेको' अर्थ लगाइएतापनि कैयौँ विरोधाभासपूर्ण व्यवहारका कारण भ्रमणको उपादेयताप्रति विज्ञहरू आशङ्का व्यक्त गर्छन्।

मानसरोवर यात्राको साइत

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन सेप्टेम्बर १६ मा न्यूयोर्क प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट सोझै चीन पुगेका थिए। चिनियाँ राष्ट्रपति सी जिनपिङसँग एशियाली खेलकुद भइरहेको शहर हान्झाउमा भेटवार्ता गरेका उनले प्रधानमन्त्री ली चियाङसँग बेइजिङमा भेटवार्ता गरेका थिए।

प्रचण्ड

ती भेटवार्तापछि चीनको अर्को शहर चोङचिङ घुमेर तिब्बत पुगेका नेपाली प्रधानमन्त्रीले बिहीबार मानसरोवरको भ्रमण गरेका हुन्। हिन्दु र बौद्धमार्गी दुवैले पवित्र तीर्थस्थलका रूपमा मान्ने मानसरोवरको उनको यात्रालाई विगतकै धार्मिक यात्राहरूको निरन्तरताका रूपमा पनि कतिपयले हेरेका छन्।

देशसञ्चार डट कमका सम्पादक युवराज घिमिरे 'धार्मिक स्थलहरूको भ्रमण गरेर प्रचण्डले आफू हिन्दु विरोधी नभएको सन्देश प्रवाह गर्ने कोसिस' गरिरहेको ठान्छन्।

उनले भने, “उनले म माओवादी र धर्म निरपेक्ष भएपनि हिन्दु विरोधी होइन भनेर देखाउन चाहेका छन्। देशभित्र जुन हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा विभिन्न कुराहरू उठिराख्छ, त्यसमा एउटा निरन्तरता छ र कुनै विन्दुमा त्यो उर्लिन सक्छ भन्ने उनलाई थाहा छ, त्यही भएर उनी हिन्दु मुद्दामा प्रवेश गरेर राजतन्त्रलाई सन्तुलनमा राख्ने प्रयास पनि हो।”

नेपालमा हिन्दुवादी मुद्दा पनि राजनीतिको एउटा बलियो अंश बन्न पुगेको घिमिरे जस्ता कैयौँ विश्लेषकहरू ठान्छन्।

उनले थपे, “उनले आफूलाई त्यो मेरो प्रतिवद्धता नै हो। म भारतमा महाकालेश्वरमा पनि गएँ। नेपालमा पशुपतिनाथमा पनि गएँ र चीनमा गएको बेला त्यहाँ पनि भनेर एक किसिमले भारतका शिवलाई, नेपालका शिवलाई र चीनका शिवलाई सम्बोधन गर्ने कोसिस गरेको देखाइरहेका छन्। अहिले ॐ लगायत विभिन्न कुराहरू आइरहेका छन्। धर्मको विरुद्ध वा हिन्दु धर्म विरुद्ध उभिएको भन्ने जुन सन्देश छ त्यसलाई उनी खण्डन गर्न चाहन्छन्।”

अध्यात्मबारेका जानकार के भन्छन्?

धार्मिक मामिलाका कैयौँ जानकारहरू 'धार्मिकस्थलको भ्रमणको विरोध गर्नुपर्ने कुनै कारण आफूहरूले नदेखेको भएपनि प्रचण्डको विगतका व्यवहारहरूका कारण उनलाई पत्याइहाल्ने अवस्था आफूहरूले नदेखेको' बताउँछन्।

हिन्दु धर्म तथा आध्यात्मका बारे जानकार चिन्तामणि योगी 'तीर्थस्थल दर्शन गर्दा एउटा र त्यसपछि अर्को व्यवहार गर्नु डरलाग्दो भएको' ठान्छन्।

उनले भने, “भारतको तीर्थचाहिँ प्यारो हुने, कैलाशको मनसरोवर प्यारो हुने। त्यहाँ गएर म धार्मिक हुँ, आध्यात्मिक हुँ र हिन्दु संस्कृति, संस्कार, सनातन परम्परा र सम्पदासँग सम्बन्धित हुँ भनेर भन्ने अनि देशको प्रमुखका नाताले मेरो दायित्व छ भनेर सिद्ध गर्न खोज्ने गरेको देखिन्छ।”

योगी थप्छन्, “तर देशभित्र चाहिँ 'गाई काण्ड' का विषयमा मौन रहनु र त्यसलाई समुचित तरिकाले सम्बोधन गर्ने कोसिस नगर्नु, ॐ शब्दका बारेमा देखिएको विवादबारे बोल्न नसक्नु यो पाखण्डको राजनीति कहिलेसम्म गर्ने हो त्यो चिन्ताको विषय हो।”

उनले प्रधानमन्त्रीले धार्मिक स्थलहरूमा गरेका भ्रमणहरूको प्रतिविम्ब व्यवहारमा आउनुपर्ने भन्दै त्यो नआउँदा जनता अन्योलमा परेको बताए।

उनले दक्षिण एशियामा कैयौँ देशहरूका नाम समेत स्पष्ट नभएको बेला आफ्नो मौलिक पहिचान सहित अस्तित्वमा नेपाल रहेको भन्दै 'देशको सनातन परम्परा जोगाउनु राष्ट्रिय दायित्व' भएको बताए।

माओवादी केन्द्रका नेता के भन्छन्?

नेकपा माओवादी केन्द्रको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सम्बद्ध एक जना नेता युवराज चौलागाईँले प्रधानमन्त्रीको मानसरोवर यात्रालाई सद्भाव र पर्यटकीय भ्रमणका रूपमा हेरिनुपर्ने बताए।

उनले थपे, “यसलाई सद्भावना भ्रमणका रूपमा मात्रै हेर्नुपर्छ। यसलाई नेपालमा धर्मको राजनीति आयात हुँदैछ अथवा भारतीय जनता पार्टीलाई अलिकति सहज हुने गरी माओवादीले आफ्नो धारणा फेर्दैछ कि भन्ने हिसाबले केही मानिसहरूले टिप्पणी गर्न खोजेको सुन्छु म। मेरो विचारमा त्यो प्रधानमन्त्रीको उद्देश्य होइन।”

चौलागाईँले आफ्नो दल कुनै पनि धर्मको विरुद्धमा नभएको भन्दै संविधानमा भएको व्यवस्थाप्रति आफूहरू प्रतिवद्ध रहेको बताए। नेपालको संविधानले देशलाई धर्म निरपेक्ष राष्ट्र कायम गरेको छ। संविधानले धर्मनिरपेक्षताको व्याख्या गर्ने क्रममा त्यसलाई सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्ने भन्दै परिभाषित गरेको छ।

माओवादी केन्द्रका नेता चौलागाईँ थप्छन्, “हामी हिन्दु वा अरू कुनै धर्मको पक्षमा पनि छैनौँ, विपक्षमा पनि छैनौँ भन्ने अडान हाम्रो पार्टी र प्रधानमन्त्री दुवैको हो। यदि माओवादीलाई हिन्दु धर्मको विरोधी वा उहाँलाई हिन्दु धर्मको विरोधी भनेर चित्रण गर्न खोजिएको हो भने त्यसको विरुद्धमा म छैन भनेर उहाँले भन्न खोज्नुभएको हुनसक्छ जुन जायज पनि हो। तर कुनै पन्थ वा धर्ममा लिएर जान वातावरण बनाउन खोजेको भन्ने सही होइन।”

भारत

अतिवादी धार्मिक राजनीतिलाई लिएर चिन्ता

पछिल्लो जनगणनालाई आधार मान्ने हो भने नेपालको कूल जनसङ्ख्याको झन्डै ८२ प्रतिशत हिन्दु धर्म मान्नेहरू रहेका छन्।
यसै वर्ष प्रकाशित गरेको एउटा अनुसन्धानात्मक समाचारमा नेपालमा विश्वमै द्रुत गतिमा इसाई धर्ममा धर्मान्तरण भइरहेका पाइएको थियो।

यसै वर्ष अमेरिकी सरकारको विदेशमन्त्रालयले धार्मिक स्वतन्त्रतासम्बन्धी आफ्नो प्रतिवेदनमा 'भारतको सत्तारूढ दलसँग आबद्ध दक्षिणपन्थी धार्मिक समूह सम्बद्ध संस्थाहरूले नेपालका दलहरूका केही प्रभावशाली नेताहरूलाई हिन्दु राज्यको पक्षमा वकालत गर्न पैसा दिने गरेको' भन्ने प्रसङ्ग उल्लेख गरिएको थियो।

पछिल्ला महिनाहरूमा 'धार्मिक सद्भावलाई समेत चुनौती दिने हिसाबमा कतिपय तनावपूर्ण परिस्थितिहरू वृद्धि हुन थालेको' भन्दै त्यसलाई लिएर चिन्ताहरू व्यक्त भैरहेका छन्।

विशेष गरी तराईका जिल्लामा यस्ता घटनाहरू सतहमा आएपछि त्यसलाई नियन्त्रणमा लिन सतर्कता अपनाउन निर्देशन दिइएको केही समयअघि गृहमन्त्रालयका प्रवक्ताले बीबीसीलाई बताएका थिए।

असोज महिनाको पहिलो सातामात्रै विभिन्न धर्म सम्बद्ध २४ संङ्घसंस्थाहरूले कुनै पनि धार्मिक समुदायको आत्मसम्मानमा चोट पुग्ने गतिविधि नगर्न अनुरोध गर्दै धार्मिक सद्भाव कायम राख्न अपिल गरेका थिए।

पत्रकार युवराज घिमिरे भन्छन्, “राज्यले धर्मनिरपेक्षता भनेको के हो परिभाषित गर्नुपर्छ। धर्म निरपेक्षतामा धर्म परिवर्तन वा अर्को धर्मलाई निषेध गर्न पाइन्छ कि पाइँदैन? अल्पसङ्ख्यक धर्मलाई कमजोर बनाउन पाइन्छ कि पाइँदैन?यसबारे प्रस्ट कुरा गर्नुपर्छ।”

पञ्चायतकालको एउटा प्रसङ्ग कोट्याउँदै उनले भने, “जब २७-२८ सालतिर रौतहटमा पहिलो पटक धार्मिक दङ्गा भयो, बहुसङ्ख्यक हिन्दुहरूले मुसलमानहरूमाथि आक्रमण गरे, राजा महेन्द्रले २४ घण्टाभित्रै स्थितिलाई नियन्त्रणमा लिन निर्देशन दिए। अञ्चलाधीश र प्रहरी प्रमुखलाई कारबाही गरे।”

प्रचण्ड

घिमिरेका अनुसार नेपालमा दण्डहीनतामा वृद्धि भएसँगै धार्मिक सद्भाव कायम गर्न थप चुनौतीहरू देखा परेका छन्। सशस्त्र द्वन्द्वकालमा कतिपय ठाउँमा मठ मन्दिर तोडफोड गर्ने र शोक बारेर बसेका किरिया पुत्रीको हत्या गर्ने जस्ता अरूको धार्मिक आस्थामाथि प्रहार गर्ने कतिपय गतिविधिमा तत्कालीन माओवादी विद्रोहीहरूको नाम जोडिएको थियो।

शान्तिपूर्ण राजनीतिमा आएपछि पहिलो पटक चुनावमार्फत सत्तामा पुगेपछि प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथ मन्दिरको भट्ट नै फेर्ने प्रयास गरेका थिए। नयाँ दिल्लीले गम्भीर असन्तुष्टि जनाएको उक्त निर्णयबाट पछि हट्न उनी त्यसबेला बाध्य भएका थिए भन्ने गरिन्छ।

महाकालेश्वरहुँदै अहिले मानसरोवरसम्म आइपुग्दा एक कट्टर कम्युनिस्ट नेताको धार्मिक र आध्यात्मिक आवरण प्रस्तुत गरेका प्रचण्डको 'नयाँ रूप' लाई लिएर कैयौँ आशङ्काहरू बाँकी रहेको जानकारहरू बताउँछन्। बीबीबी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending