काठमाडाैं । पछिल्लो समय नेपालमा आत्महत्याको दर बढ्दो रुपमा देखिएको छ । प्रहरीको तथ्याङ्क अनुसार हरेक वर्ष आत्महत्या गर्नेको संख्या बढ्दै गएको हो ।
प्रहरी तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५र७६ देखि २०७९र८० सम्मको समयमा आत्महत्या गर्नेको सँख्या हरेक वर्ष वढ्दै गएको देखिन्छ । प्रहरीको तथ्याङ्कमा किशोर अवस्थामा महिला र प्रौढ अवस्थामा पुरुषले बढी आत्महत्या गर्ने गरेको पाइएको छ ।
२०७५ सालमा पाँच हजार सात सय ८५ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कमा उल्लेख रहेको छ । यसैगरी २०७६ सालमा छ हजार दुई सय ५२ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । २०७५ सालमाभन्दा २०७६ सालमा चार सय ६७ जना बढीले आत्महत्या गरेको तथ्याङ्कमा देखिन्छ । कोरोना महामारीको बेला २०७७ सालमा अझ बढीले आत्महत्या गरेको प्रहरी तथ्याङ्कमा उल्लेख छ । यो वर्ष नेपालमा सात हजार एक सय ४१ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ ।
अन्य वर्ष भन्दा २०७८ सालमा आत्महत्याको सँख्या केही घटेको देखिन्छ । प्रहरीको तथ्याङ्कअनुसार २०७८ सालमा छ हजार आठ सय ३० जनाले आत्महत्या गरेका छन् । यस्तै, २०७९ सालमा छ हजार नौ सय ९३ जनाले आत्महत्या गरेको तथ्याङ्क छ ।
प्रहरीका अनुसार २०७५ सालमा दुई सय ७० जना किशोरीले आत्महत्या गरेकोमा २०७६ मा चार सय नौ, २०७७ मा चार सय ७०, २०७८ मा चार सय ५६ तथा २०७९ मा पाँच सय २९ जनाले आत्महत्या गरेका छन् । यो उमेर समूहमा पुरुषको सङ्ख्या भने महिलाको भन्दा कम रहेको छ । पुरुषको संख्याा २०७५ सालमा एक सय ८९, २०७६ सालमा दुई सय ५२, २०७७ सालमा, दुई सय ९४, २०७८ सालमा दुई सय ५३ तथा २०७९ दुई सय ६६ जना रहेका छन् ।
प्रौढ अवस्थामा भने महिलाको तुलनामा पुरुषको आत्महत्या दर बढिरहेको देखिन्छ । २०७५ सालमा दुई हजार दुई सय तीन जना महिलाले आत्महत्या गरेका छन् । २०७६ सालमा दुई हजार एक सय ८४, २०७७ सालमा दुई हजार चार सय ४९, २०७८ सालमा दुई हजार दुई सय ६१ तथा २०७९ सालमा दुई हजार दुई सय ५६ जना महिलाले आत्महत्या गरेको देखिन्छ ।
२०७५ सालमा तीन हजार एक सय २३ जना पुरुषले आत्महत्या गरेका छन् । २०७६ सालमा तीन हजार चार सय सात, २०७७ सालमा तीन हजार नौ सय २८, २०७८ सालमा तीन हजार आठ सय ६० तथा २०७९ सालमा तीन हजार नौ सय ४२ जना पुरुषले आत्महत्या गरेका छन् ।
महिला प्रयास गर्ने पुरुष निर्णयनै
किशोर अवस्थामा प्रेममा असफलता, पढाइमा असफलता, घरायसी विवाद आदिको कारण किशोरीले बढी आत्महत्या गरेको हुनसक्ने प्रहरीप्रहरीको भनाइ छ । प्रेममा असफलता, पढाइमा असफलता, आर्थिक कारण, घरमा गाली गरेको, घरायसी हिंसाका कारण पनि युवा उमेरका महिलाहरुले आत्महत्या गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ ।
यस्तै, प्रौढ अवस्थामा पुरुषको आत्महत्या दर बढी हुनुमा डिप्रेसन, फ्रस्टेसन अनि आर्थिक कारण हुन सक्ने प्रहरीको अनुमान रहेको छ । आर्थिक असफलता तथा व्यावसायिक असफलता धेरै रहेको र यसैकारण डिप्रेसन पनि जोडिएकाले पनि आत्महत्याको संख्या बढी रहेको छ ।
आत्महत्याको प्रयास गर्नेमा महिला धेरै र आत्महत्या गर्नेमा पुरुष धेरै रहेको मनोचिकित्सक डा. लता गौतमको भनाइ छ । जुनसुकै उमेरको भए पनि पुरुषहरुले कम्प्लिट सुसाइड गर्ने महिलाहरुले प्रयास धेरै गर्ने गरेको देखिएको यनले बताइन् । आत्महत्याको प्रयास पछि डाक्टरकोमा आउने गरेको घटना धेरै रहेको उनले बताइन् । महिलाहरु आफ्ना कुरा अरुलाई भन्ने र पुरुषहरु धेरै आफ्ना कुरा अरुलाई नभन्ने र एकै पटक आत्महत्याको निर्णय गर्ने भएका कारण यस्तो भएको हुनसक्ने डा गौतमको तर्क छ ।
देखासिकी, असफलता र सानो कुरा पनि सहन नसक्ने प्रवृत्तिले व्यक्तिलाई आत्महत्याको अवस्थामा पुर्याउने गरेको छ । अहिले यसमा प्रविधि पनि थपिएको छ । सामाजिक सञ्जाल पनि अहिले एउटा कारण बनेको छ । तर, यी सबै अगाडि देखिने कारण भए पनि यसको पछाडि भने मुख्यतया मनोरोग अर्थात् डिप्रेसन नै कारक भएको डा. गौतमको भनाइ छ । मनोरोगको बेलैमा पहिचान गरेर उपचार गर्ने हो भने आत्महत्या रोकथाम गर्न सकिने मनोचिकित्सक डा. गौतमले बताइन् ।
प्रतिकृया लेख्नुहोस्: