Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

चार सय वर्ष पुरानो भदौरे सिस्नो खोस्ने पर्व, कसरी मनाइयो ?

खबरडबली संवाददाता

बागलुङ । भदौ शुक्ल (उजेली) पक्ष पारेर बागलुङको तारागाउँका रैथाने मगरले भदौरे सिस्नो खोस्ने पर्व उल्लासपूर्वक मनाए । चार दिनसम्म चलेको पुस्तैनी पर्वलाई उनीहरूले मङ्गलबार बिदाइ गरे । दुई वर्षको अन्तरमा मनाइने भदौरे पर्व खासमा के हो त ?

झन्डै चार सय वर्ष पुरानो यो पर्वबारे मगर समाज, तारागाउँका सचिव कपबहादुर घर्तीले भने, ‘पितृ उद्धारका लागि गरिने हाम्रो कूलपूजा हो, यसमा देवीदेउता र प्रकृतिलाई पनि पूजिन्छ, भदौबाहेक अरु महिनामा मनाउन नमिल्ने भएकाले यसलाई भदौरे पर्व भनिएको हो ।”

प्रकृति पूजक मगरहरूले यो पर्वलाई धुमधामसँग मनाउने गरेको उनले सुनाए । अरु जातजातिमाभन्दा अनौठो गरी कूल पुज्ने परम्परा रहेकाले पनि भदौरे सिस्नो खोस्ने पर्वले धरैको ध्यान खिच्ने गरेको तारागाउँका अगुवा घर्तीको अनुभव छ । भदौ त्यसमाथि बार पनि एउटै पारेर भदौरे पर्व मनाउने गरिन्छ ।

सचिव घर्तीका अनुसार शनिबारदेखि सुरु हुने पर्वलाई मङ्गलबार अन्त्य गर्ने चलन छ । सधैँझैँ यसपालि पनि पर्वको पहिलो दिन गाउँका बूढापाकाले घर र बाटोघाटो सफाइ गरे । दोस्रो दिनको सरसफाइमा पाका पुरानासँग अविवाहित युवायुवतीसमेत मिसिए । तेस्रो दिन भिस्टल्ला भन्ने ठाउँमा मही चढाए र बाँडेर खाए ।

सोही ठाउँमा उहिले–उहिले लेकका गोठालाले ठेकीमा नौनी घिउ र मही लिएर आउने गरेको बताइन्छ । “सोमबार साँझदेखि विधिवतरूपमा पूजा सुरु हुन्छ, राति राँगा र भोलिपल्ट सुँगुरको बलि दिइन्छ”, सचिव घर्तीले भने, “सुँगुरको साँप्रोलाई हरियो सिस्नाको मुठ्ठाभित्र बाँधेर अविवाहित युवायुवतीले खोसाखोस गर्ने अनौठो चलन यस पर्वसँग गाँसिएको छ ।”

सोमबार राति ‘सितम सेउला’ र ‘बजा सल्ला’ राख्ने, वन गन्ने (गीत गाउने) काम मगर जातिको हेम्थो (कूल) घरमा हुन्छ । राँगाको बलि पनि कूलघरकै आँगनमा दिने गरिन्छ । स्थानीय रिमबहादुर घर्तीको घरलाई गाउँलेले कूलघर मान्दै आएका छन् । घर्तीका बुवा मुखिया भएकाले सोही घरलाई पछि कूलघरका रूपमा लिइएको हो ।

पूजापाठ, बलि र सिस्नो खोस्ने काम कूलघरकै पछाडिको बारीमा हुन्छ । बारीमा देउता पुज्दा रनवन पुर्कादै ढ्याङ्ग्राको तालमा गीत गाउने चलन छ । उक्त गीतलाई ‘वन गन्ने’ पनि भनिन्छ । पूजा र बलि दिने ढुङ्गालाई गाउँलेले डम्मरु (उखुरधुम) पूजास्थलमा कुटस र अम्रिसोको लिङ्गो गाडिएको हुन्छ ।

लिङ्गोलाई गाउँलेले ‘सितम सेउला’ र ‘बजा सल्ला’ भनेर चिन्छन् । लिङ्गोमुनि पूजा, धुपबत्तीसहित गुरुबा र पुजारीले पूजापाठ चलाउँछन् । गीतमा वन गन्दै जाँदा तोकिएको ठाउँमा रोकिएर सगुन लिने (फलाम खाने) चलन छ । गाउँका साँध–सीमामा रहेका वन, बुकी, खर्क र गोठलाई गीतमार्फत सम्झिइन्छ ।

गीतलाई बूढापाकाले बाचा बाँधेको रूपमा पनि लिन्छन् । खाम भाषामा गाइने भएकाले जो–कोहीलाई गीत बुझ्न कठिन पर्छ । पुर्खा, कूलपितृ र देवी–देउतालाई गीतबाटै घुमाएर कूल (हेम्थो) घरमा ल्याएर राखिन्छ । वन गन्दै जाँदा बीचतिर पुगेपछि राँगाको बलि दिने बेला हुन्छ । बलि दिँदा ढ्याङ्ग्रोको ताल पनि फर्कन्छ ।

जिउँदो राँगाको सात करङ भाँचेपछि मुटु निकालेर कूलघरको सिरानमा चढाउने परम्परा रहेको स्थानीय झकबहादुर घर्तीले बताए । बिहानै राँगाको बलि दिएपछि पुनः ढ्याङ्ग्रोको तालमा गीत (वन गन्ने) सुरु हुन्छ । गीतबाट घुमाइफिराइ पितृलाई कूलघरमा ल्याएपछि दिउँसोपख सुँगुरको बलि दिने बेला हुन्छ ।

कूलघरको पछाडि बारीमा रहेको डम्मरु (उखुरधुम) ढुङ्गामा सुँगुरको बलि दिइन्छ । उल्टो पारेर लिङ्गोमा झुन्ड्याइएको सुँगुरको मुख काटेर रगत देउतालाई चढाउने चलन छ । पूजापाठपछि सुँगुरको मुटु पनि झिकेर लिङ्गोमाथि चढाइन्छ । गीतबाट वन गन्ने, पूजापाठ र बलि दिने काम सकिएपछि बल्ल सिस्नो खोस्ने तयारी सुरु हुन्छ ।

बलि दिइएको सुँगुरको साँप्रोलाई सिस्नोको मुठाभित्र बाँधिन्छ । एकाथरि ढ्याङ्ग्रो र झ्यालीको तालमा गीत गाउँदै अघि बढ्छन् । पछिपछि सुँगुरको साँप्रो राखिएको सिस्नोको मुठा बोकेका युवाहरू हुन्छन् । समूहमा ‘आयो, आयो’ भन्दै गीत गाउने गरिन्छ ।

बारीको पल्लो छेउ मौलिक वेषभूषामा सजिएर सिस्नो खोस्न य्वती तम्तयार हुन्छन् । हातमा सिस्नो समातेका युवक युवतीको छेउछाउ पुग्छन्, सिस्नोले हातमा छोइदिन्छन्, जिस्किन्छन् । युवतीहरू पनि के कम, केटा पक्षले सिस्नोमा बाँधेर ल्याएको सुँगुरको साँप्रो खोस्न होमिन्छन्, अनि सुरु हुन्छ तानातान र खोसाखोस ।

यो दृश्य निकै नै अनौठो र रोमाञ्चक देखिन्छ । कोही घोडा र सिकारीको भेषमा नाचिरहेका हुन्छन्, कोही सारङ्गी बजाउँदै हिँड्छन् । ढ्याङ्ग्राको ताल झन्झन् जोडले बज्न थाल्छ । युवायुवतीबीच खोसाखोस र ठेलमठेल चलिरहेकै हुन्छ । अन्तिममा एक पक्षले जित्छ । जसले जिते पनि सुँगुरको साँप्रोको मासु प्रसादका रूपमा सबै मिलेर ग्रहण गर्छन् ।

युवतीले जिते युवकहरूले दण्ड तिर्नुपर्ने चलन छ । अन्तिममा फेरि कूलघरको आँगनमा आएर सिस्नो खोसाखोस गरेपछि भदौरे पर्व सकिन्छ । यसरी नै सदियौँदेखि तारागाउँका मगर समुदायले भदोरै सिस्नो पर्व मनाउँदै आएका छन् । पर्वको आयोजना र व्यवस्थापन मगर समाजले गर्दै आएको छ ।

समाजले पर्वको खर्च जोहोका लागि छुट्टै कोषसमेत बनाएको छ । गाउँलेको भलो, सुख, ऐश्वर्यसहित पशुचौपायामा रोगव्याधि नलागोस्, अन्नबाली सप्रियोस् भन्ने कामना गर्दै भदोरै पर्व मनाइन्छ । छिमेकी गाउँबाट समेत पर्व अवलोकनका लागि आउने गरेको ताराखोला–४ का वडाध्यक्ष जीतबहादुर खत्रीले बताए ।

“भदौरे मगर समुदायको सांस्कृतिक पर्व हो, पछिल्लो समय यो मेलाकै रूपमा आयोजना हुन थालेको छ, पर्व हेर्न मानिसको घुइँचो लाग्छ”, उनले भने, “परम्परागत संस्कृतिको जगेर्नाका लागि वडा र गाउँपालिकाले पनि सक्दो सहयोग गर्दै आएको छ ।”

पहिले ताराखोला–४ र ५ को साझा पर्वका रूपमा भदोरैलाई लिने गरिए पनि अहिले सिङ्गै गाउँपालिका र जिल्लाकै पहिचानसँग यो पर्व जोडिएको छ । परम्परा धान्न बूढापाकादेखि युवापुस्ताको सक्रियता र सहभागिता रहँदै आएको वडाध्यक्ष खत्रीले बताए । विवाहितले सिस्नो खोस्न नमिल्ने भएकाले पनि युवापुस्ताको सहभागिता यो पर्वमा अनिवार्यजस्तै छ ।

सिस्नो खोस्ने पर्वलाई अविवाहित युवायुवतीबीच भेटघाट हुने, आत्मीयता बढाउने अवसरका रूपमा पनि लिइन्छ । सिस्नो खोस्दा युवायुवतीले आँटेको पुग्ने, वैवाहिक जीवन सफल हुने र परिपक्वता पनि झल्कने विश्वास गरिन्छ । घरदेखि टाढा रहेका पनि भदौरे मान्न गाउँ फर्किने गर्छन् । आफन्त भेटघाट हुने, सुखदुःख साट्ने मेसो पनि यो पर्वले जुटाउँछ ।

सदियौँअघि डोल्पाको ताराभोटबाट आएका मगर समुदायका पूर्वजले यो पर्वको प्रचलन बसालेको संस्कृतिकर्मी बिर्बलाल घर्तीले बताए । “भदौरे पर्व किन र कहिलेदेखि मनाउन सुरु गरियो भन्ने यकिन तथ्य त कसैसँग छैन”, उनले भने, “कृषियुग सुरु भएपछि यस्ता पर्व, परम्परा सुरु भएको मानिन्छ ।”

भदौरे पर्वको कथामा पनि वनपाखा, पशुचौपाया र गोठालाको प्रसङ्ग रहेको संस्कृतिकर्मी घर्तीले बताए । उनका अनुसार ताराखोला–३ हिल र २ अर्गलमा पनि भदौरे जात्रा तथा कूलपूजाका अवसरमा सिस्नो खोस्ने पर्व मनाइन्छ ।

हिलमा गत साता सो पर्व मनाइएको थियो । अर्गलमा भने मङ्सिरमा सिस्नो खोस्ने पर्व मनाउने चलन छ । “भदौरैजस्ता ऐतिहासिक र सांस्कृतिक पर्व, परम्पराको जगेर्ना हुनुपर्छ”, संस्कृतिकर्मी घर्तीले भने, “यी कुनै जातजातिको मात्र नभएर समाज र राष्ट्रका धरोहर हुन्, चिनारी हुन् ।” रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending