Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

जल र सूर्यको पूजाआराधना गरिने पर्व : छठ

खबरडबली संवाददाता

काठमाडौं । नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व सुरु भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाइन्छ । आज सूर्योदयकालमा तृतीया तिथि भए पनि मध्याह्न १२ः२८ बजेदेखि चतुर्थी तिथि लाग्ने भएकाले आजैदेखि छठ पर्वको विधि सुरु गरिएको हो । कार्तिक शुक्ल चतुर्थीका दिन आज बर्तालु स्नान गरी चोखो खाएर बस्छन् । व्रतको पहिलो दिन घर एवं छठ पूजा स्थललाई सफाइ गर्ने परम्परा पनि छ ।

सूर्यदेवको आराधना, उपासना र पूजा गरेर मनाइने यो पर्व पूरा नहोउन्जेलसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि उपभोग गर्दैनन्। आज चतुर्थीका दिनलाई  अरबाइन वा अरबा भनिन्छ । मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत  गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित यो पर्व विसं २०४६ पछि काठमाडौंलगायत पहाडमा पनि मनाउन थालिएको हो । विसं २०४६ देखि नै सरकारले यस पर्वका दिन सार्वजनिक बिदा दिँदै आएको छ । विसं २०६३ पछि भने काठमाडौंको थापाथली, गुह्येश्वरी, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ यो पर्व मनाउन थालियो । यसअघिदेखि नै वाग्मती र विष्णुमती नदी किनारमा छठ मनाउने गरिन्थ्यो ।

रानीपोखरीमा भूकम्पपछि पुनःनिर्माणका क्रममा पानी नभएकाले केही वर्ष छठ मनाउन रोकिएको थियो । विसं २०७७ असोजमा रानीपोखरी पुनःनिर्माण सकिएपछि पनि त्यहाँ छठ मनाउन थालिएको छैन । यस वर्ष रानीपोखरीमा छठ मनाउन माग भएकाले दिने विषयमा छलफल भइरहेको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । व्रतको दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा  निर्जल उपवास बस्ने गरिन्छ । यस दिन बेलुकी घरमा खीर बनाएर  चन्द्रमालाई अर्पण गरी एक छाक खाने गरिन्छ । यसलाई खरना भन्ने गरिएको काठमाडौंमा छठ मनाउँदै आउनुभएका रमेश झाले बताए ।

“षष्ठीका दिन बर्तालुले ठेकुवा, फलफूल, मिठाई र रोटी सूर्य एवम् छठी मातालाई चढाउने गर्छन्, रोटीमा सूर्यको रथका पाङ्ग्रा अङ्कित गरिन्छ”, उनले भने । षष्ठीका दिन पकवान, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ । साँझपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा पुग्ने र डुब्न लागेका सूर्यलाई अर्घ्य दिई प्रणाम गरिन्छ । अर्घ्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यहीँ रात बिताउने गरिन्छ ।

सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ बजेदेखि नै प्रतीक्षा गरिन्छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएर बिसर्जन गरिन्छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि रहेको गुह्येश्वरीस्थित छठ पूजा समितिका अध्यक्ष अनिल सिंहले बताए । 

“पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवम् सूर्यबाट भएकाले नदीलाई माता र सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको हो”, उनले भने । कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा भई इच्छाएको फल प्राप्त हुने उल्लेख शास्त्रमा गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए । सूर्यको उपासना गर्ने र शुद्धताको प्रतीक भएकाले तराईबाट सुरु भई हाल पहाड र हिमाली क्षेत्रसम्म पनि छठ मनाउन थालिएको छ ।

सूर्यको पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पतिपत्नीको दीर्घायु एवम् अविवाहित केटाकेटीले सुयोग्य वरवधु प्राप्तिको कामना गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ ।यो पर्वमा मुस्लिम, बौद्ध र जैन धर्मावलम्बीको समेत सहभागिता रहने गरेको विसं २०६८ देखि कमलपोखरीमा छठ पूजाको नेतृत्व गर्दै आएको राजेन्द्र सिंहले बताए । सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारेकीले यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रोपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेका थिए । पाण्डवहरू विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरु गरिएको एकाथरीको मत छ ।

सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकीले उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्परा सुरुआत भएको अर्काथरीको भनाइ छ । राजधानीको गुह्येश्वरीदेखि गौरीघाटको बागमती किनारमा छठ घाट निर्माण भइरहेको छ । यसैगरी कमलपोखरीमा पनि छठको तयारी भइरहेको छ । दुवै स्थानमा कात्तिक १३ गते बेलुकी राष्ट्रपतिले विशेष पूजा एवं छठ पर्व अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ । यस वर्ष कात्तिक १३ गते बेलुकी अस्ताउँदो र कात्तिक १४ गते बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइने कार्यक्रम रहेको जनाइएको छ । छठ बर्तालु भने कार्तिक शुक्ल षष्ठीका दिन रातभर नदी किनारमै बस्छन् । नदी किनार एवं तलाउमा सूर्यका भजन एवं भक्ति सङ्गीतले वातावरण रमाइलो बनाउँछ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अन्तिमपटक चुनाव लड्ने इच्छा छ: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुराबाट नै उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका छन्। उनले यो चु...

बाजुराको रिलामा भाइरल ज्वरोका बिरामी बढ्दै

बाजुरा। बाजुराको बडीमालिका नगरपालिका –४ रिलामा भाइरल ज्वरोको प्रकोप बढ्दै गएको छ । यहाँका झण्डै १८० घरपरिवारमा भाइरल ज्वरोका बिरामीहरु रहेका छन् । पछि...

हिउँदयाममा बाँसस्थान फेरिएको मुस्ताङको साङ्ता गाउँ

मुस्ताङ। यहाँको मुस्ताङ–डोल्पा सडकको सिमाना नजिक एक सानो गाउँ छ । विसं २०२२ मा पहिचान भएको यस गाउँको नाम हो साङ्ता । पछि पत्ता लागेका कारण यहाँको साङ्...

सप्तरीबाट हराएका १११ जना अझै बेपत्ता

सप्तरी। सप्तरीबाट हराएका एक सयभन्दा बढी बालबालिका, महिला तथा ज्येष्ठ नागरिक फेला पर्न नसकेको प्रहरीको तथ्याङ्कले देखाएको छ । साढे तीन वर्षको अवधीमा...

अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक

भोजपुर । भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग सञ्चालनमा रोक लगाइएको छ ।  कुनै पनि कानुनी प्रक्रिया पूर...

सुकुम्वासीको समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा मेरो सरकार ढालियो: प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...

एनसेलको शेयर विवाद चाँडो समाधान हुनुपर्छ: सञ्चारमन्त्री खरेल

कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...

ईश्वर पोखरेलको अवधारणापत्र : नयाँ चुनौतीको सामना गर्न सक्षम हुनेगरी पार्टी सङ्गठनको पुनर्गठन गर्न जोड

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending