Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

पोखरामा हार नजिक पुग्यो एमाले : कमजोरी छोप्न ‘अन्तर्घात’को बहाना !

खबरडबली संवाददाता

पोखरा । हरेकजसो चुनावी सभामा पोखरामा एमालेका मेयर प्रत्याशी कृष्णबहादुर थापाले भन्ने गर्थे, ‘२५ हजार मतान्तरले जित्छौं ।’ आइतबारसम्म ७३ प्रतिशत मतगणना गरिसक्दा उनको दाबी गलत सावित हुँदै छ । पोखरा महानगरमा एमाले हार नजिक छ । 

मेयरमा सत्तारुढ गठबन्धनबाट मेयर प्रत्याशी एकीकृत समाजवादीका धनराज आचार्य झन्ड‌ ३ हजार ३ सय मतले थापाभन्दा अघि छन् । एमालेले साविक जितेका वडा गुमाउँदै छ । एमालेकै गढ मानिएका वडाबाट मेयरमा धनराजले मत पाएका छन् । उपमेयरकी उम्मेदवार एमालेकी मञ्जुदेवी गुरुङ भने कांग्रेसकी कोपिला रानाभाटभन्दा पछि परेकी छन् । ०७४ मा झन्डै १४ हजारको मतान्तरले मेयर र १२ हजारको मतान्तरले उपमेयर र ३३ मध्ये २२ वडाध्यक्ष जितेर आफ्नो प्रभुत्व कायम गरेको एमाले यसपल्ट किन कमजोर भयो रु यसबारे थाहा पाउन चुनाव अघि फर्कनुपर्छ ।

एमालेको महानगर कमिटी बैठकमा १२ जनाले मेयरमा आफ्नो आकांक्षा प्रस्तुत गरे । एमाले नेता भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी, रश्मी आचार्य, पुष्पज्योति ढुंगाना, दीपक पौडेल, प्राडा विश्वकल्याण पराजुली, पुष्पराज अधिकारी, बालासिंह काउचा मगर, सावित्री भण्डारी, मीनाकुमारी गुरुङ र दर्शन लामा मेयरका आकांक्षी थिए । आन्तरिक चुनावाबाट ३ जनाको नाम उपल्लो कमिटीलाई सिफारिस गर्ने प्रयास सफल भएन । १२ जनाकै नाम केन्द्रीय समितिमा पुग्यो । सचिवालय समितिले मनोनयनको अघिल्लो दिन अबेरतिर मेयरमा प्रदेश कमिटी सदस्य दीपक पौडेललाई टिकट दिने निर्णय गर्‍यो । उपमेयरमा मञ्जुदेवी गुरुङलाई दोहोर्‍याइयो । केन्द्रीय सदस्य गुरुङले आफूभन्दा तल्लो वरीयताका व्यक्तिको उपमेयर हुने इच्छा देखाइनन् । त्यति नै बेला पौडेलले पोखराको एक सुन पसलबाट सुन चोर्दै गरेको भनिएको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भयो ।

उक्त भिडियो आउनु एक दिनअघि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रदेश सांसद रहेका कृष्णबहादुर थापा र राजीव पहारीको मेयरमा ‘च्याप्टर क्लोज’ भएको अभिव्यक्ति दिएका थिए । गुरुङको उक्त अभिव्यक्तिपछि थापाले आफूलाई रोक्न मात्रै उक्त मापदण्ड बनाइएको आरोप लगाए । गण्डकी प्रदेशमा पहिलेदेखि सतहमा रहेको पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीबीचको वैमनश्यता झन् बढी छचल्कियो ।

पोखरामा एमाले नेता जगत विश्वकर्मा र भीम कार्की उपमहासचिव गुरुङ निकटका मानिन्छन् । दीपकलाई जगत र भीमनिकटको रुपमा चिनिन्छ । कृष्ण थापा खगराज निकटका रुपमा चिनिँदै आएका छन् । झन्डै आठ वर्षअघि पौडेलले आफ्नो छोरीको बिहेको लागि पोखराको सुन पसलमा सुन किन्ने क्रममा औंठी लुकाएको उनीमाथि आरोप थियो । सीसीटीभी फुटेज जाँच गर्ने क्रममा पौडेलले सुन लुकाएको थाहा पाएपछि उनले भुलवश आफ्नो खल्तीमा परेको भन्दै उक्त सुन बराबरको पैसा बुझाएका थिए । त्यतिबेलै उक्त भिडियो सार्वजनिक भए पनि अहिलेजस्तो भाइरल भएको थिएन । पौडेलले भने उक्त भिडियो आफ्नो नभएको भन्दै इन्कार गर्दै आएका छन् ।

भिडियो सर्वत्र फैलिएपछि एमालेले पुनर्विचार गर्‍यो । मनोनयन दर्ता गर्ने दिन कृष्ण थापालाई टिकट दिने निर्णय गर्‍यो । थापाको उपमेयर उम्मेदवार बन्न मञ्जुदेवी गुरुङ तयार भइन् । थापा र गुरुङ चुनावमा होमिए । गठबन्धनबाट धनराज र उपमेयरमा कांग्रेसकी कोपिला रानाभाट चुनावका लागि तम्तयार भए । पोखराको मेयर आफ्नो भागमा पार्न कास्की कांग्रेसले अन्तिमसम्म गरेको प्रयास, पोखराका कांग्रेस कार्यकर्ताको असन्तुष्टि, अमिल्दो गठबन्धन, समाजवादीको कमजोर संगठन देखेरै हुनुपर्छ, एमालेको आकलन २० देखि २५ हजारको मतान्तरले चुनाव जित्ने थियो । मतगणनाको मध्यतिर पुग्दै गर्दा चुनाव हारिने निष्कर्षमा स्वयं एमाले पंक्ति पुगेका छन् ।

मतगणनाको सुरुवाती नतिजामा धनराजले कृष्ण थापालाई उछिने । मत गणनाको दोस्रो दिन सार्वजनिक भएको दुई अडियो क्लिपले पोखरालाई थप गर्मायो । दुवै अडियो क्लिप चुनावअघिका हुन् । पहिलो ६ मिनेटको क्लिपमा पोखरा–३३ भरतपोखरीका एमाले कार्यकर्ता प्रशान्त आचार्यले आफूसँग युवा क्लबको डेढ–दुई सय भोट रहेकोले धनराजसँग ‘बार्गेनिङ’ गरिदिन राजीव पहारी निकटका एमाले कार्यकर्ता मनोज पहारीसँग आग्रह गर्छन् । धनराज आफ्नो काका भएकोले सोझै भन्न नमिल्ने र आफूले बार्गेनिङ गरेको समेत थाहा नदिन पहारीलाई बताउँछन् ।

पहारीले सहमत जनाउँदै जुनसुकै हालतमा कृष्ण थापालाई हराउने अभियानमा आफू रहेको बताउँछन् । वडा नम्बर २१ र २४ मा आफूले थापाको भोट काट्ने र पौडेलको वडा १९ बाट कुनै हालतमा मेयरमा भोट नआउने जिकिर गर्छन् । थापाले हार्ने आधारहरु प्रस्तुत गर्छन् । प्रशान्तले थापाको विरोधमा राजीव पहारीको हात रहेकोरनरहेको स्पष्ट गर्न चाहेको देखिन्छ । मनोजले फोनमा आफ्नो विषयमा मात्रै निर्धक्क भन्न सक्ने र अरु विषयमा भेटेर कुरा गर्ने बताउँछन् ।

१९ मिनेट लामो अर्को क्लिपमा भने एमाले निकट युवा संघका केन्द्रीय सदस्य महेश अर्याल र ३३ नम्बर वडाका कांग्रेस नेता दीपक मल्ल बीचको संवाद सुन्न पाइन्छ । अर्यालले वडामा एमालेको सट्टा कांग्रेसका उम्मेदवारलाई सघाउने मल्ललाई बचन दिन्छन् । पोखराको मेयरमा समेत खगराज पक्षधर कृष्ण थापालाई हराउन पृथ्वीसुब्बा पक्षधरले योजना बनाइरहेको सूचना चुहाउँछन् । दुई क्लिपमा मिल्दो संयोग के छ भने, अघिल्लोमा मनोज पहारीले कृष्ण थापाविरुद्ध लाग्दा आफूलाई पृथ्वीसुब्बा, पद्मा अर्याल, एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ र इन्चार्ज भीम कार्कीले कारबाही नगर्ने बताएका हुन्छन् । पछिल्लोमा अर्यालले थापालाई हराउने कि जिताउने भन्ने विषयमा पृथ्वीसुब्बा पक्षधर नेताको बैठक बसिरहेको सुनाउँछन् । एमालेको एउटा पंक्ति कृष्ण थापालाई हराउन हिंडेको र त्यही क्रममा पृथ्वीसुब्बा गुरुङ र राजीव पहारीको टोली काठमाडौं पुगेको उनले बताएका हुन्छन् ।

यी दुई क्लिप सार्वजनिक भएपछि एमालेवृत्तमा गुटगत राजनीति र अन्तर्घातकै कारण थापाको कम मत आएको चर्चा छ । पार्टीभित्र अन्तर्घात गर्नेलाई कारबाही गर्नुपर्ने आवाज उठेको छ । एमालेका एक नेता भने थापा हार नजिक हुनुमा अन्तर्घातलाई मात्रै मुख्य कारण मान्न तयार छैनन् । प्रदेश कमिटी सदस्य ती नेताको निष्कर्ष छ, उम्मेदवार छनोटमै कमजोरी भएको हो । थापा ०५४ मा तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए । त्यसपछि उनले ०७० मा संविधानसभाको चुनावमा टिकट पाएर निर्वाचित हुन सकेनन् ।

०७४ मा प्रदेश निर्वाचन क्षेत्र २ ९क० बाट चुनाव लडेर विजयी भए । उनी आफ्नो क्षेत्र २९ख० छाडेर अर्को निर्वाचन क्षेत्रबाट चुनाव लडेका थिए । कार्यकाल ६ महिना बाँकी छँदै फेरि पोखरा महानगरको मेयरमा भिडे । पार्टीभित्र एकै व्यक्तिलाई पटकपटक अवसर दिँदा बाँकी नेता कार्यकर्तामा नैराश्यता छाएको ती नेताले बताए । ‘भलै मनोज पहारी एमालेको मामुली कार्यकर्ता हो तर उसले थापाको बारेमा अडियो क्लिपमा भनेका कतिपय कुरा सत्य छन्,’ उनले भने, ‘थापाले आफ्नो क्षेत्र २ ९ख० छोडेर अर्को क्षेत्रबाट लडे । फेरी जितेको क्षेत्र छोडेर महानगरमा लड्न आए । यसले दुबै क्षेत्रका जनतामा उनीप्रति नैराश्यकता पैदा गर्‍यो ।’

यही बीचमा उनी जातीय विभेदको घटनामा मुछिए । उनको वडा बाटुलेचौरमा दलित परिवारलाई स्थानीय क्षेत्री समुदायले किरियापुत्री भवन प्रयोग गर्न नदिएको विषयमा उनी जोडिए । भवन प्रयोग गर्न नदिनेविरुद्ध स्थानीय मोहन सुनारले जाहेरी दिएर दुई जना पक्राउ पर्दा थापाले बिनासर्त रिहाइ गर्नुपर्ने माग गर्दै विज्ञप्ति निकाले । त्यसले पोखराका दलित समुदायको भावनामाथि चोट पुग्यो । पोखराका झन्डै २० हजार दलितमध्ये त्यही घटनाको कारण धेरैले थापालाई भोट नदिएको ती एमाले नेताले बताए । एमालेभित्रै थापालाई मन नपराइनुको अर्को कारण हो उनको स्वभाव । ती नेताले स्वीकारे, ‘हो, उहाँको स्वभाव अलि ठाडो छ । कार्यकर्ताको नमस्कार नफर्काउने, रुखो बोल्ने स्वभावको हुनुहुन्छ ।’

उम्मेदवार चयनमा एमालेले ख्याल नपुर्‍याउँदा तल्लो तहका कार्यकर्ता र मतदातामा थापाप्रति विकर्षण पैदा भएको उनको निष्कर्ष छ । ‘थापालाई हराउन माथिल्लो तहका नेताले गुटबन्दी नै गरे भन्नेमा ठूलो सत्यता छैन,’ उनी भन्छन्, ‘एउटा भ्रम के छ भने अघिल्लो चुनावमा पाएको मतजति सबै कार्यकर्ताको मात्रै थियो भन्ने छस त्यस्तो होइन । व्यक्ति हेरेर मत हाल्नेले यसपल्ट धनराजजीलाई हाले ।’ आफ्नो कमजोरीलाई ढाकछोप गर्न अन्तर्घातको सहारा लिन मत परिणाम आउन थालेपछि मात्रै अडियो क्लिप सार्वजनिक गरिएको उनको ठहर छ ।

‘पहिला दीपक पौडेलको भिडियो पार्टी अध्यक्षकोमा लिएर उम्मेदवार बन्ने आकांक्षा राखेका युवा नेता काठमाडौं पुगे, पछि खगराज पक्षकैले भिडियो सार्वजनिक गरिदिए,’ उनले भने, ‘अहिले राजीव पहारी यो सबै षड्यन्त्रमा सामेल छ कि छैन भन्ने कुरा थुत्न मनोज पहारीको सहारा पनि खगराज पक्षकैले लिए ।’ घोषणापत्र कमजोर भएको, एमालेका मानबहादुर जीसीको कार्यकालमा खासै उल्लेखनीय काम हुन नसकेको, तुलनात्मक रुपमा थापाभन्दा धनराजमा नयाँ जोश, जागर र भिजन भएको कारण पनि यसपल्ट मतदाताले एमालेको विकल्प खोजेको हुन सक्ने उनको तर्क छ । ‘धनराजले आफू पूर्वएमाले भएकाले एमाले समर्थकको मत तानेको देखिन्छ,’ उनले भने, ‘रवीन्द्र अधिकारीका निकटका मित्र भएकोले उनको सेन्टिमेन्ट पनि जोडियो ।’ रवीन्द्र अधिकारीका बाल्यकालका साथी र पछि राजनीतिक सहकर्मी रहेका धनराज रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको महासचिव हुन् । उक्त प्रतिष्ठानको उपाध्यक्ष उनका प्रतिस्पर्धी कृष्ण थापा हुन् ।

भिडियो र अडियो सार्वजनिक भएको विषयमा एमाले कास्कीले विज्ञप्ति प्रकाशित गरी छानवीन समिति बनाएर कारवाही गर्ने बताएको छ । प्रदेश सांसद राजीव पहारीले पनि उक्त क्लिपमा भएका विषयमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । एमाले महानगर कमिटी अध्यक्ष एवं महानगरका निर्वाचन परिचालन कमिटी संयोजक दिलीप न्यौपाने नेतृत्वमा व्यक्तिवादी, आत्मकेन्द्रित चिन्तन र स(साना कुरालाई गुट उपगुटका रुपमा लिने प्रवृत्ति कास्कीमा बढ्दै गइरहेको स्विकार्छन् । ‘गठबन्धनको मत जुन हिसाबले बिग्रेला भन्ने थियो, त्यसरी बिग्रिएन । एमालेमा आउने मत अनपेक्षित ढंगले गयो, यो निकै गम्भीर छ,’ उनले भने, ‘एमालेभित्र जसरी संगठनात्मक अराजकताको विकास हुँदै गइरहेको छ, त्यसको विस्फोट हो भन्ने मेरो विश्लेषण हो ।’

आइतबार दिउँसोसम्म एमालेले १, ५, ६, ८, १५, २० र २९ नम्बर वडा जितेको छ । यीमध्ये ६ नम्बर वडा पहिला कांग्रेसले जितेको वडा हो । कांग्रेसले २, ३, ४, ७, ९, १०, १२, १३, १४, २३, २४, २५, २६, २७, २८ र ३० जितेको छ । यीमध्ये ७, १३, २४, २५, २६, २८ र ३० यसअघि एमालेले जितेका वडा हुन् । हाल ११, १६, १७, १८, १९, २१, २२, ३१, ३२ र ३३ नम्बर वडाको गणना भइरहको छ । यीमध्ये ११ र ३२ मात्रै कांग्रेसले जितेका वडा हुन् । गन्न बाँकी रहेका वडालाई एमालेको प्रभावशाली वडाको रुपमा लिइए पनि हाल मेयरमा धनराजले अग्रता लिइरहेका छन् । मतको ढाँचा हेर्दा ती वडाबाट समेत धनराजलाई मत आउने देखिन्छ । हाल एमालेले जितेकै वडामा समेत एक भोट धनराज र बाँकी भोट एमालेका उम्मेदवारले पाएका छन् । अग्रता धेरै हुने ठानिएको वडामा थापाले मतान्तर धेरै बनाउन सकेका छैनन् ।

आइतबार दिउँसोसम्म १ लाख ४ हजार २ सय १२ मतगणना हुँदा धनराजले ४१ हजार ७ सय ५ र कृष्ण थापाले ३८ हजार ३ सय १० मत पाएका छन् । उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरुङले ४३ हजार ६ सय १६ मत ल्याउँदा कांग्रेसकी कोपिला रानाभाटले ४१ हजार ९ सय २० मत प्राप्त गरेकी छन् ।कान्तिपुरबाट

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा बकर इद धुमधामका साथ मनाइँदै

नेपालगन्ज। इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठुलो पर्व इद–उल–अजहा (बकर इद) बाँकेमा विभिन्न धार्मिक कार्यक्रमका साथ बिहीबार धुमधामले मनाइँदैछ । त्याग, बलि...

पोखराको पृथ्वीचोक क्षेत्रमा डोजर, राजनीतिक दलनिकट संगठनका संरचना हटाइँदै

पोखरा । पोखराको पृथ्वीचोकस्थित बसपार्कअगाडि रहेको संस्थान क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमाले निकट मजदुर संगठन तथा विभिन्न संस्थाले बनाएका संरचना ...

विपी राजमार्ग पुनर्निर्माण समयमै सक्न सचिवको निर्देशन

काठमाडौँ । आठ महिनाअघि बाढीले क्षति पुर्‍याएको विपी राजमार्गको पुनर्निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ । पूर्वाधार विकास सचिव गोपालप्रसाद सिग्देल र...

स्कुल बसले किच्दा ४ वर्षीय बालकको मृत्यु, गाउँ शोकमा

दमक। झापाको गौरादह नगरपालिका–७ फगेटीमा स्कुल बसको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । बुधबार साँझ भएको घटनाले स्थानीयवासी स...

सुन मुल्य तोलामा साढे ५ हजार रुपैयाँले घट्यो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको छ। बिहीबार एकैदिन सुनको भाउ प्रतितोला ५ हजार ५ सय रुपैया...

वीरगन्जमा यौन व्यवसाय फस्टाउँदै, ६ जना पक्राउ

वीरगन्ज। वीरगन्ज महानगरपालिका क्षेत्रमा पछिल्ला केही दिनयता यौन व्यवसाय (देह व्यवसाय) फस्टाउँदै गएको पाइएको छ । होटल, कटेज तथा रक्सी पसलमार्फत तथा केह...

अरुण नदीमा पानीको बहाव बढेपछि सतिघाट फेरी सेवा बन्द

संखुवासभा। पानीको बहाव बढेपछि संखुवासभा र भोजपुर जोड्ने अरुण नदीको सतिघाटस्थित फेरी सेवा बन्द भएको छ । मनसुन सुरु भएसँगै नदीमा जलस्तर बढेपछि फेरी सञ्च...

वराहक्षेत्रमा हात्तीको बच्चा मृत फेला

वराहक्षेत्र। सुनसरीको वराहक्षेत्र नगरपालिका–२ स्थित बीस आरडी क्षेत्रमा पर्ने गहने खोलाको दहमा हात्तीको बच्चा मृत अवस्थामा फेला परेको छ । गहने खोलाको द...

हावाहुरीले विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित

बाजुरा। बाजुराको उत्तरपूर्वी क्षेत्रमा रहेको हिमाली गाउँपालिका–३ बौडीस्थित गङ्गा आधारभूत विद्यालयको भवनको छाना हावाहुरीले उडाएपछि पठनपाठनमा समस्या भएक...

नवलपुरका दुई दुर्घटनामा एकको मृत्यु, नौ जना घाइते

नवलपुर। नवलपुरमा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत देव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending