Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

बोक्सी आरोपमा ९० वर्षीया वृद्धामाथि छोराले गरे कुटपिट, मलमूत्र खुवाउने प्रयास

नौ महिनामा मात्रै मधेसमा ११ महिलालाई बोक्सीको आरोपमा दुर्व्यवहार

सिरहा । जब बोक्सीको आरोपमा ९० वर्षकी महिला कुटिन्छिन्, त्यो पनि आफ्नै छोराबाट, संगीनजस्ता धारिला प्रश्न खडा हुन्छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - दसैँको अर्को दिन सिराहाको कर्जन्हा नगरपालिका–३ की ९० वर्षीया सुदामादेवी साह सोनारलाई आफ्नै छोराले बोक्सीको आरोपमा दुव्र्यवहार गरेका छन् । सारा गाउँलेका अगाडि उनले आफ्नी आमालाई दिसा खुवाउने प्रयास समेत गरेका छन् ।

दुवै छोरा छुट्टिएपछि सुदामादेवी एक्लै बस्दै आएकी थिइन् । यहीबीच उनका कान्छा छोरा रामऔतारकी बुहारी मनीषाको खुट्टामा घाउ भएको थियो । बुहारीको घाउ लामो समयसम्म निको नभएपछि रामऔतारले आमालाई बोक्सीको आरोप लगाएका हुन् । आफ्नै नातिनीबुहारी बिरामी हुँदा आमाले बेवास्ता गरिन्, बरु उल्टै बोक्सी लागिन् भन्दै छोराले कुटपिट गरेको स्थानीयले बताएका छन् ।

दिसा खुवायो भने बोक्सीको नजर झर्छ भन्दै उनले आमालाई दिसा खुवाउने प्रयास गरेका थिए । उनले आदेश दिएपछि माहिलो छोराले प्लास्टिकमा दिसा घोलेर ल्याएका थिए । तर, घटनाको जानकारी पाएलगत्तै प्रहरी पुगेकाले रामऔतारले आमालाई दिसा खुवाउन भने नपाएको छिमेकीले बताएका छन् ।

गाउँमा जघन्य घटना भइरहेको विषयमा जानकारी पाएपछि वडाध्यक्ष दाजु कपलेश्वर यादवले प्रहरीलाई खबर गरेका थिए । ‘मैले गाउँलेबाट जानकारी पाएलगत्तै मिर्चैया प्रहरीलाई खबर गरेँ, प्रहरीले वृद्ध महिलालाई तत्कालै उद्धार गरी उपचारका लागि जनकपुर पुर्‍यायो,’ वडाध्यक्ष यादवले भने, ‘छोराले दिसा खुवाउन पाएन, तर वृद्धा आमालाई लछारपछार गर्दै घाँटी थिचेको जानकारी गाउँलेले दिएका छन् ।’

पीडित सुदामादेवीकी छोरी जानकी साहले प्रहरी आएपछि स्थानीय गाउँलेको सहयोगमा आमालाई जनकपुर पुर्‍याएर उपचार गरिएको बताइन् । ‘कुटपिट मात्र भएको छैन, घाँटी थिचिएको छ, घाँटीको हड्डी मोडिएको छ, तर ९० वर्षको उमेर भएको कारण हड्डीको सुधार हुँदैन भन्दै अस्पतालले डिस्चार्ज गरिदिएको छ,’ जानकीले भनिन् । छोरीले आमालाई आफ्नै घरमा ल्याएकी छिन् ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सन्तुलाल जैसवालका अनुसार दुव्र्यवहार गर्ने छोरा रामऔतार अहिले हिरासतमा छन् । उनले भने, ‘अहिले अनुसन्धान भइरहेको छ । वृद्ध आमालाई दुव्र्यवहार गरेको भन्ने गाउँलेले जानकारी दिएका छन् । आरोपी आफैले पनि आरोप स्विकारेका छन्, अब कानुनअनुसार कारबाही हुन्छ ।’

घटनाको जानकारी पाएपछि लहानबाट महिला पुनस्र्थापना केन्द्रका प्रतिनिधिसहित अधिकारकर्मीको टोलीले शुक्रबार पीडितलाई भेटेको महिला अधिकारकर्मी श्यामकुमारी साहले बताइन् । ‘यो आफैमा जघन्य अपराध हो, तर दुःखको विषय, यो पहिलो घटना होइन,’ उनले भनिन्, ‘अपराधीलाई हदैसम्मको सजाय हुन्छ भन्ने सन्देश दिन जरुरी छ । अन्यथा अझै धेरै आमा र दिदीबहिनीले प्रताडना भोग्नुपर्नेछ ।’

नौ महिनाका थप १० घटना

१. मध्यरातमा मन्दिरमा ‘पञ्चायती’ बसेर मलमूत्र खुवाइयो
गत ३ असोजको मध्यराति सिराहाको नवराजपुर गाउँपालिका–५ कुर्सन्डीस्थित शिव मन्दिरमा गाउँका अगुवाको ‘पञ्चायती’ बस्यो । एजेन्डा थियो– स्थानीय धर्मनाथ यादवकी छोरी बिरामी भएकीले दोषीलाई सजाय दिने । त्यसअघि सीमावर्ती भारतीय गाउँ तोरियाहीबाट आएका एक झाँक्रीले स्थानीय महिला मूर्तिदेवीलाई बोक्सी भएको ठहर गरिसकेका थिए । उनलाई सजाय दिन र गाउँमा सुख र शान्ति स्थापना गर्न भन्दै पञ्चायती डाकिएको थियो ।

मूर्तिदेवीका पति रामनारायण यादवलाई गाउँका दुईजना आएर उठाएर पञ्चायतीमा लिएर गएका थिए । उनलाई ‘मूर्तिदेवी बोक्सी हो’ भनेर बयान दिन बल गरिएको थियो । तर, उनले मानेनन् । त्यसपछि मूर्तिदेवीलाई लछारपछार र कुटपिट गर्दै घिसारेर पञ्चायतीमा ल्याइयो ।

बोतलमा घोलेर ठिक्क पारिएको मलमूत्र अचेतजस्तै भएकी मूर्तिदेवीलाई खुवाइयो । उनलाई बोक्सी भनेर कुटपिट गर्ने र मानव मलमूत्र खुवाउने ‘पञ्चायती’मा स्थानीय जननिर्वाचित प्रतिनिधि पनि थिए । नवराजपुर– ५ का वडासदस्यसमेत रहेका स्थानीय रामउद्गार यादव पनि सो भिडमा सहभागी रहेको परिवारको गुनासो छ ।

२. ७० वर्षीया महिलालाई बोक्सी आरोपमा कुटपिटपछि गोबर खुवाउने प्रयास

धनुषाको कमला नगरपालिका–७, हथमुण्डा बस्ने ७० वर्षीया देवकीदेवी सहनीलाई गत ३० भदौमा सात जना छिमेकीले बोक्सीको आरोपमा कुटपिट मात्रै गरेनन्, गोबर खुवाउने प्रयास समेत गरे ।
स्थानीय बिर्जु सहनीका बुबा शनिचर सहनी ब्लड क्यान्सरबाट पीडित थिए ।

तर, उनलाई देवकीले बोक्सी लगाएको भन्दै बिर्जुसहित ५५ वर्षीया मनटुटियादेवी सहनी, ३५ वर्षीय प्रवेश सहनी, २५ वर्षीय प्रदीप सहनी, १८ वर्षीया रिना सहनी, १८ वर्षीया अञ्जिला सहनी र प्रदीपकी २५ वर्षीया पत्नीले कुटपिट गरे । उनीहरूले आफूलाई गोबर खुवाउने प्रयाससमेत गरेको देवकीले बताइन् ।

कुटपिटबाट देवकीको कम्मर र तिघ्रामा चोट लागेको छ । हातमा दाँतले टोकेका घाउ छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भएको छ । इन्सेक धनुषाका प्रतिनिधि दीपेन्द्र सिंहका अनुसार अधिकारकर्मीहरूको पहलमा ३१ भदौमा पीडकहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र प्रहरीले उजुरी दर्ता भएको भन्दै पीडितलाई आश्वस्त पारी पठाएको थियो । तर, धनुषा प्रहरीका डिएसपी मकेन्द्रकुमार मिश्रले भने उजुरी दर्ता नै नभएको दाबी गरे ।

३. बोक्सी आरोपमा कुटपिट, तर प्रहरीले लकडाउन भन्दै उजुरी नै लिएन

धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुर टोलकी ४० वर्षीया सिर्जनादेवी महतोलाई १० जेठमा स्थानीय विजय महतो र सवितादेवी महतोले बोक्सीको आरोपमा कुटपिट गरे । तिघ्रा र ढाडमा चोट लागेकी सिर्जना त्यही दिन इलाका प्रहरी कार्यालय ढल्केबरमा उजुरी दिन गइन् । तर, प्रहरीले लकडाउनको समय भएको भन्दै उजुरी नै दर्ता नगरेको महिला अधिकारकर्मी बिना कडारीले बताइन् ।

कुटपिटबाट घाइते सिर्जनाको ढल्केबरस्थित भोगेन्द्र महतोको क्लिनिकमा उपचार गरिएको थियो । इप्रका ढल्केबरका इन्स्पेक्टर तीर्थराज कार्कीले पीडित उजुरी दिन आएको, तर आफ्नो इलाकामा नपर्ने भएकाले फिर्ता पठाएको अधिकारकर्मीहरूलाई बताएका थिए ।

४. बोक्सी आरोपमा महिलामाथि कुटपिट : सरकारी वकिल कार्यालयको आदेशमा पनि प्रहरीले मुद्दा दर्ता गर्न मानेन

सप्तरीको बोदेबर्साइन नगरपालिका– ८ काचनकी ३५ वर्षीया प्रीतिकुमारी साहलाई बोक्सी भन्दै १२ माघ ०७६ मा स्थानीय पाँच जनाले कुटपिट गरे । उनलाई कुटपिट गर्न छिमेकी लक्ष्मी साह सहयोगीसहित घरमै आएका थिए ।

प्रीतिलाई देख्नेबित्तिकै लक्ष्मीले ‘यसको तान्त्रिक विद्याले हामी सबैलाई बर्बाद गर्ने भयो, आज तन्त्र विद्या सखाप पार्न दिसा खुवाई कुटपिट गर’ भनेर सँगै ल्याएकालाई आदेश दिए । लगत्तै लक्ष्मीसहित ४५ वर्षीय गोसाई साह, उनकी पत्नी ४४ वर्षीया कालीदेवी, छोरा २२ वर्षीय सन्तोष र भाइ ४१ वर्षीय विनोदले कुटपिट गर्न सुरु गरे ।

आफूहरूमाथि भएको ज्यादतीविरुद्ध प्रीतिका पति पुहुपलाल साहले १५ माघमा इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिन खोजेका थिए । तर, प्रहरीले लिन मानेन । जिल्ला सरकारी वकिल कार्यालयले उजुरी दर्ताका लागि इप्रका कडरबोनाको नाममा पत्राचार पनि गरेको थियो ।

तैपनि प्रहरीले उजुरी लिन नमानेको भन्दै प्रीति र पुहुपलालले ५ असारमा राजविराजमा पत्रकार सम्मेलन नै गरे । तर, इप्रका कडरबोनाका इन्स्पेक्टर रामराजा केशरीले राजनीतिक विवादका कारण सामान्य झगडा भए पनि बोक्सीको उजुरी लिएर कोही नआएको दाबी गरेका थिए ।

५. प्रहरीले मुद्दा त दर्ता गर्‍यो, तर दोषीलाई पक्राउ गरेन

सप्तरीको राजगढ गाउँपालिका–४ की ३५ वर्षीया ललितादेवी रामलाई १७ माघ ०७६ मा स्थानीय श्यामनाथ राम, सुरेन्द्र राम र छोटेलाल रामले बोक्सीको आरोपमा निर्घात कुटपिट गरे । पीडितले २० माघमा उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइन् । प्रहरीले ४ फागुनमा मात्रै उजुरी दर्ता गर्‍यो । तर, अहिलेसम्म पनि पीडकहरूलाई पक्राउ गरिएको छैन ।

६. गाईवस्तुलाई बोक्सी लगाएको भन्दै कुटपिट

सिराहाको भगवानपुर गाउँपालिका– २ की ८० वर्षीया जलेश्वरीदेवी यादवलाई १६ फागुन ०७६ मा स्थानीय ३३ वर्षीय दुनियालाल यादव, ३५ वर्षीय जीवछ यादव र ३० वर्षीय केदार यादवले बोक्सीको आरोपमा कुटपिट मात्रै गरेनन्, मलमूत्र खुवाउने प्रयास पनि गरे ।

जलेश्वरीले बोक्सी लगाएर आफ्नो घरका मानिस र गाईवस्तु बिरामी भएको भन्दै कुटपिट र दुव्र्यवहार गरिएको थियो । पीडितले २३ फागुनमा इलाका प्रहरी कार्यालय लहानमा हुलाकमार्फत उजुरी दिएकी थिइन् । तर, दोषीहरू अहिलेसम्म पक्राउ गरेका छैनन् ।

७. बोक्सी लगाएर बाख्रा मारेको भन्दै कुटपिट

सप्तरीको डाक्नेश्वरी नगरपालिका– ८ प्रवाहा टोलकी ३२ वर्षीया शिवरती मुखियालाई बोक्सीको आरोप लगाउँदै १८ जेठमा गाउँकै ६५ वर्षीय रामप्रसाद मुखिया, उनका छोराहरू ४० वर्षीय धर्मदेव मुखिया र २५ वर्षीय ब्रह्मदेव मुखियाले कुटपिट गरे । १६ जेठमा रामप्रसादका बाख्रा मरेका थिए भने केही दिनअघि उनका छोराछोरी बिरामी परेका थिए । तर, त्यसको दोष शिवरतीलाई लगाएर कुटपिट गरिएको हो ।

उनीहरूले घरमै पसेर कुटपिट गरेको शिवरतीले बताइन् । उनलाई जोगाउन खोज्दा उनका पति ३७ वर्षीय रामा मुखिया र देउरानी ३१ वर्षीया देवशिला मुखियालाई समेत कुटपिट गरे । घाइते तीनै जनाको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार गरिएको थियो ।

कुटपिट गर्ने ब्रह्मदेवले भने झुटा आरोप लगाएको प्रतिक्रिया दिए । जग्गाको विषयमा विवाद हुँदा झगडा भएको र त्यसमा आफू, आफ्ना दाजु धर्मदेव र आमा ६० वर्षीया बिन्दीदेवीलाई पनि चोट लागेको उनको भनाइ छ । उनले आफ्नी पत्नी २१ वर्षीया कोशिलादेवी मुखियाको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको बताए ।

शिवरतीले यसका विरुद्ध २१ जेठमा जिल्ला प्रहरी कार्यालय, सप्तरीमा उजुरी दिएकी छिन् । त्यही दिन घाउ जाँच गरिएको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले बताए ।

८. बोक्सी आरोपमा कुटपिट, कुटपिट गर्ने आठ महिनादेखि फरार

सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ की ६० वर्षीया चन्द्रकलादेवी यादवलाई बोक्सीको आरोप लगाउँदै गत २ माघमा गाउँकै ५० वर्षीय राजेन्द्रप्रसाद यादव, २८ वर्षीय रामप्रसाद यादव, २७ वर्षीय अमित यादव, ४० वर्षीय सियाराम यादव र ४० वर्षीय बालकृष्ण यादवले कुटपिट गरे । बोक्सीको आरोप कुटपिट गरिएपछि चन्द्रकलाले ३ माघमा इलाका प्रहरी कार्यालय, लहानमा उजुरी दिएकी थिइन् ।

तर, अहिलेसम्म कुटपिट गर्नेहरू पक्राउ परेका छन् । उनीहरूले बोक्सीको आरोपमा कुटपिट गर्नुभन्दा एक वर्ष अघिदेखि नै गालीगलौज, दुःख दिँदै आएको चन्द्रकलाले बताइन् । इलाका प्रहरी कार्यालय, लहानका डिएसपी शरतकुमार थापा क्षेत्रीले यस घटनामा अनुसन्धान भइरहेको बताए । तर, आरोपितहरू फरार रहेकाले खोजतलास भइरहेको उनको भनाइ छ ।

९. बोक्सी आरोपमा कुटपिट गर्ने २५ हजार धरौटीमा रिहा

सिराहाको सुखीपुर नगरपालिका–७ की ५५ वर्षीया सावित्रीदेवी साहलाई ३ वैशाख ०७७ मा बोक्सीको आरोपमा अमानवीय व्यवहार भयो । सावित्रीमाथि दुव्र्यवहार गर्नेविरुद्ध १५ वैशाखमा इलाका प्रहरी कार्यालय महेशपुर पतारीमा उजुरी परेपछि ४० वर्षीय त्रिवेणी साह पक्राउ परेका थिए ।

इलाका प्रहरी कार्यालय महेशपुर पतारीका इन्स्पेक्टर अरबिन्दकुमार साहले आरोपितलाई ३२ जेठमा गिरफ्तार गरेको बताएका थिए । तर, जिल्ला अदालतको आदेशमा आरोपित १६ असारमा २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

१०. बोक्सीको आरोपमा कुटपिट

३ वैशाखमै बाराको सिम्रौनगढ नगरपालिका–४ हरिहरपुरकी ३६ वर्षीया सरितादेवी सहनी, १९ वर्षीया रबरीदेवी सहनी र १२ वर्षीया खुसुबुकुमारी सहनीमाथि कुटपिट भयो, आरोप थियो– बोक्सी मन्त्र पढेर बालिकालाई बिरामी बनाएको छ ।

उनीहरूलाई कपाल समातेर लछारपछार मात्र गरिएन, निर्मम कुटपिट गरियो । उसैदिन पीडित पक्षले उजुरी दिएको थियो । तर, प्रहरीका आँखा धेरै पछि खुल्यो । कुटपिटको आरोपमा सोही ठाउँका ३० वर्षीय विगनप्रसाद सहनी, ३५ वर्षीय जलन्धरप्रसाद सहनी र ५५ वर्षीय महेशप्रसाद सहनी २१ वैशाखमा पक्राउ परे । कुटपिटबाट घाइते तीनैजनाको परिवारले नै स्थानीय निजी क्लिनिकमा उपचार गराएका थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies