बागलुङ । बागलुङ जिल्लाका ४१ सडक स्तरोन्नति हुने भएका छन् । गण्डकी प्रदेश सरकारले संघीय सरकारबाट हस्तान्तरण भई आएका तीन सडकसहित ती सडक स्तरोन्नति हुन लागेको हो । पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षमा रु ११ करोड ७६ लाखदेखि ४० लाखसम्म बजेट विनियोजन भएका सडकको स्तरोन्नतिको काम कार्यान्वयन गर्न थालेको हो । संघीय मन्त्रालय र स्थानीय तहले समेत सडक निर्माणको काम गरिरहेका छन् ।
प्रदेश सरकारको निर्णयअनुसार जिल्लामा कार्यालय स्थापना भएपछि एउटै योजनामा बजेट नदोहोरिने गरी सडकको स्तरोन्नति गर्ने प्रक्रिया कार्यालयले थालेको छ । यस वर्ष जिल्लामा सबैभन्दा धेरै बजेट कुश्मीशेरा–बरेङ–शान्तिपुर सडकका लागि रु ११ करोड ७६ लाख विनियोजन भएको छ । सो सडक कालोपत्रे गरिने पूर्वाधार विकास कार्यालयले जनाएको छ । सबैभन्दा कम बजेट बागलुङ बजारका सरकारी कार्यालय आसपासका सडक स्तरोन्नतिमा हुनेछ । करीब रु ४० लाख खर्चेर यहाँका साना सडक व्यवस्थित बनाइने छ । गत आर्थिक वर्षसम्म प्रदेशका योजना पर्वतमा रहेको पूर्वाधार कार्यालयबाट कार्यान्वयन हुँदै आएका थिए ।
कठिन भूगोल रहेको जिल्लाका दूरदराजमा प्राविधिक जनशक्ति नपुग्ने र आपसी समन्वयको अभावमा योजनाहरुमा बजेट दोहोरिने गरेका गुनासासमेत आउने गरेका थिए । यही भदौ ८ मा स्थापना भएको कार्यालयले पहिलो चरणमा जिल्लाका सबै स्थानीय तहलाई प्रदेश सरकारले स्तरोन्नतिको काम गर्न थालेका सडकको विषयमा जानकारी गराएको छ । “एउटै योजनामा बजेट नदोहोरियोस् भन्ने हो सोहीअनुसार बोलपत्रमा जानु पूर्व स्थानीय तहहरुसँग जानकारी मागेका छौं”, कार्यालय प्रमुख शोभियत खड्काले भने,“अब प्रदेशका योजना कार्यान्वयनमा आउँदा डुब्लिकेशन हुँदैन ।”
जिल्लामा प्रदेश सरकारले सात मोटरेबल पुल निर्माण गर्दैछ । जिल्लाभर प्रदेश सरकारको लगानीमा २१ झोलुङ्गे पुल निर्माण हुँदैछन् । जिल्लामा प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयअन्र्तगत निर्माण हुने केही सडक भने नयाँ ट्रयाक हुन् । “साना तर नयाँ ट्रयाकका कामसमेत यो वर्ष पनि छन्” उनले भने “कोरोना प्रभावले बजेट तलमाथि नभए यो वर्ष प्रभाव देखिने गरी सडकका काम हुन्छन् ।” साना भए पनि प्रदेशअन्र्तगतका सडकका काम बोलपत्र प्रक्रियाबाट गर्नुपर्ने भएकाले कार्यान्वयनमा भने समय लाग्ने उनले बताए ।
प्रतिकृया लेख्नुहोस्: