काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण राजधानीमै बढ्न थाले पनि वाग्मती र यसका सहायक नदी सफाइ अभियान भने जारी छ । वाग्मती सफाइ महाअभियानको ३६६औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपतिमा अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलको नेतृत्वमा सफाइ गरियो । पशुपति क्षेत्रमा गत हप्ताभन्दा कम मानिस हिँड्डुल गरेको भेटिएको उनले बताए ।
शङ्खमूलस्थित वाग्मती नदी किनारको ॐ शान्ति उद्यान क्षेत्रमा अभियानकर्मी डा लक्ष्मी पौड्यालको नेतृत्वमा सफाइ गरियो । विगत हप्ता जस्तै नदी किनारमा सामाजिक दूरी कायम गर्दै सीमित अभियानकर्मीले सफाइ गरेको उनले बताए । जीवनयोग प्रयोगशाला संयुक्त राष्ट्र सङ्घ उद्यानमा रामप्रसाद पन्थीको नेतृत्वमा सफाइ गरिएको जनाइएको छ ।
गुह्येश्वरीमाथिको वाग्मती सफाइ महाअभियानको ३२६औँ हप्ताको सफाइ सामाजिक दूरी कायम गर्दै सीमित अभियानकर्मीले सञ्चालन गरिएको छ । नदी किनारमा जम्मा भएको फोहर उठाइएको अभियानकर्मी ईश्वर पुडासैनीले राससलाई जानकारी दिए ।
मनोहरा सफाइ अभियानलाई प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले आज कपडाको मास्क हस्तान्तरण गरेको छ । कोरोनाबाट बच्न जारी बन्दाबन्दीको समयमा सुरक्षित भएर सफाइ अभियान सञ्चालन गर्न मास्क वितरण गरिएको उनले बताए । चन्द्र दङ्गालको नेतृत्वमा मनोहरा सफाइ अभियान सञ्चालन हुँदै आएको छ ।
चक्रपथ पश्चिम खण्ड सफाइको १४९औँ हप्तामा घर टोल सफाइ गरिएको अभियानकर्मी ताराबहादुर कुँवरले बताए । यसैगरी ललितपुरस्थित गोदावरी खोला सफाइको ६३औँ हप्तामा सामाजिक दूरी कायम गर्दै सफाइ अभियानलाई निरन्तरता दिइएको अभियानकर्मी बेबी राजभण्डारीले जानकारी दिए ।
नदी, खोला नजिक नहुने अभियानकर्मीले भने आ–आफ्नो घरअघिको टोल, सडक सफाइ गरेका महाअभियानले जनाएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको अभियान आठौँ वर्ष प्रवेशका अवसरमा सोमबार बन्दाबन्दीका कारण औपचारिक कार्यक्रम गर्न नसकिए पनि विद्युतीय अन्तक्र्रिया (बेविनार) गर्ने तयारी भएको छ ।
यही जेठ ५ गते सोमबार दिउँसो २ः०० बजेको अन्तक्र्रियामा अभियानकर्मीको सहभागिताका लागि सफाइ महाअभियानको समूह सञ्जालमार्फत जानकारी दिइएको छ । सफाइ महाअभियान आठौँ वर्ष प्रवेशका अवसरमा अभियानकर्मीबीच सफाइका क्रममा आइपरेका समस्या एवं समाधानका उपायबीच अन्तक्र्रिया गर्न लागिएको अभियानकर्मी राजकुमार भट्टराईले जानकारी दिए ।
प्रतिकृया लेख्नुहोस्: