काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनफिङ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार भेटवार्ता भएको छ । राष्ट्रपति सि र अध्यक्ष प्रचण्डबीच बिहान साढे दश बजे राजधानीस्थित होटल सोल्टीमा करिब आधा घण्टा भेटवार्ता भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
भेटवार्तामा दुई देश र दुई देशका कम्युनिष्ट पार्टीका बीचको सम्बन्ध र विकास बारे छलफल भएको जनाइएको छ । सीसँगको भेटमा अध्यक्ष प्रचण्डले आफ्नो पहिलो प्रधानमन्त्रीत्व कालमा भएको चीनको भ्रमण, त्यस पछिका भ्रमण र गोवामा भएको भेटवार्ताको स्मरण गराएका थिए । अध्यक्ष चिनियाँ कम्युनिष्ट पार्टी र सरकारले नेपाल र नेपाली जनताका लागि गरेको सहयोग र सद्भावप्रति आभार व्यक्त गरेको प्रचण्डकाे सचिवालयले जनाएको छ ।
भेटमा अध्यक्षले चीन जस्तो छिमेकी पाउँदा आफूलाई गर्व महसुश भएको पनि बताएका थिए । उनले दुई कम्युनिष्ट पार्टी बीचको आपसी सम्बन्धलाई नयाँ स्तरमा विकास गर्ने र एकअर्काका अनुभवहरु साटासाट गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । भेटवार्तामा अध्यक्ष प्रचण्डले बिआरआईमा हस्ताक्षर गरी नेपाल र चीन बीचको सम्बन्धमा नयाँ युगको सुरुवात भएकोसमेत बताए ।
उनले दुबै देश र जनताको हितको निम्ति समयसीमा निर्धारण गरी आयोजनाहरुको छनौट र तीब्र क्रियान्वयनमा जोड दिनुपर्ने बताए । विकास बिना राजनैतिक स्थायित्व हासिल गर्न नसकिने बताउँदै प्रचण्डले समृद्ध चीन नेपालका लागि अवसर भएको बताए ।
भेटका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सीले दुबै पार्टीका अनुभव साटासाट गर्ने साझा कार्यक्रम बनाउनुपर्नेमा जोड दिएको प्रचण्डको सचिवालयले जनाएको छ । राष्ट्रपति सीले नेपाली जनताले कम्युनिष्ट पार्टीलाई हृदयदेखि मन पराएको बताउँदै ‘समृद्ध नेपाल र सुखी नेपाली’अभियानलाई सफल पार्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
भेटमा राष्ट्रपति सीले आर्थिक विकास नै मुख्य कुरा भएको बताउँदै विकास गरेर नै जनताको मन जित्न सकिने बताए । उनले कम्युनिष्ट पार्टीले सिद्धान्तलाई पनि मजबुद बनाउनुपर्नेमा जोड दिए । राष्ट्रपति सी र अध्यक्ष प्रचण्डबीचको भेटमा पार्टीका सचिवालय सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।
प्रतिकृया लेख्नुहोस्: