काठमाडौँ । हिजोआज नेपाली समाजमा पनि लिभिङ टुगेदर अर्थात् बिहे नगरी केटा र केटी सँगै बस्ने क्रम बढ्दो छ । अधिकांश कलेज पढ्ने युवायुवती लिभिङ टुगेदर सम्बन्धमा रमाइरहेका छन् । यो कुरा बाजेबज्यै त परै जाओस्, आमाबुवालाई सुनाउँदा पनि जिब्रो टोक्छन् । किनकि यस्तो सम्बन्धलाई हाम्रो समाजले पचाउन सक्दैन । लिभिङ टुगेदर भन्नेबित्तिकै केटा र केटीले आफूलाई मनपर्ने व्यक्तिसँग सँगै बस्ने भन्ने बुझिन्छ । सँगै बस्ने दुई विपरीत लिंगी र समान लिंगीबीचको फरकलाई नेपाली समाजले प्रश्नचिह्न त उठाउँछ नै ।
आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ - जानेर होस् या नजानेर हा्स्, नेपालमा पनि यसको प्रयोग बढ्दै गएको पाइन्छ । यस विषयमा पूर्ण जानकार भएरै सम्बन्धमा बस्छन् होला जस्तो मलाई लाग्दैन । यस्ता समस्या जटिल बन्दै गयो भने हाम्रो समाज कहाँ जाला ? हिजोआज काठमाडौं, पोखरा, विराटनगर, धनगढी आदि सहरमा बढी पाइन्छ । तर पनि घर, परिवार र समाजको डरले उनीहरूले स्पष्ट रूपमा भनेको पाइन्न । अझ भनौं उनीहरू नै यो सम्बन्धबारेमा सार्वजनिक गर्न चाहँदैनन् ।
सँगै बस्नुको अर्थ हुन्छ– मन मिल्नु, विचार मिल्नु, कामको महत्त्वलाई प्राथमिकता दिनु, विवाहको मूल्यमान्यताभन्दा फरक ढंगबाट जीवन चलाउनु । तर विपरीत लिंगीहरू सँगै बस्नुलाई यौनका अनेक प्रश्नचिह्नले विवादको रूप लिएको पाइन्छ । यो स्वाभाविक हो । नयाँ पुस्ताको बदलिँदो जीवनशैली लिभिङ टुगेदरको सम्बन्धका रहँदा केही हदसम्म क्षणिक लाभ होला तर दीर्घकालीन रूपमा कस्तो असर गर्ला ? यस विषयमा कमै सचेत छन् । दुवैलाई आर्थिक रूपमा केही लाभ होला महँगो सहरहरूमा सँगै बस्दा केही आर्थिक भार कम पर्ला । तर यस्ता सम्बन्धले विकृति भित्र्याएको प्रशस्तै उदाहरण भेटिन्छ ।
यसरी लेखिरहँदा कतिपय दिदिबहिनीलाई दुःख लाग्न सक्छ । मैले यसरी बस्न किन नपाउने भन्ने लाग्ला ? एक अर्थमा यो तर्क पनि ठीक हो । तर बस्दै जाँदा असुरक्षित बनेका उदाहरण हेरेर पनि एकपटक सोच्नुपर्छ । यस्ता सम्बन्धबाट जन्मेको बच्चाको जिम्मेवारी कसले लिने ? कसले संरक्षण गर्ने ? तपाईंको पाटनरले छाड्यो भने कसले पालनपोषण गर्ने ? बच्चा जन्मन नदिन प्रयोग भएका औषधिहरूबाट कसरी सुरक्षित रहने ? केटाले ‘लौ अब तिमीसँगको नाता साइनो यति नै अर्कै खोज भनेको अवस्थामा के गर्ने ? यस्ता बच्चाको पहिचानको समस्या पनि त्यत्तिकै छ । पैत्रिक सम्पत्तिलगायतका अधिकारबाट वञ्चित रहने समस्या हुन्छ । यस्ता सम्बन्धबाट महिला नै बढी पीडित हुन्छन् र भएका छन् । यसतर्फ सबैभन्दा बढी महिलाले नै सोच्न जरुरी छैन र ?
पुरुष प्रधान देश नेपालमा ‘लिभिङ टुगेदर’ कत्तिको सान्दर्भिक छ त ? यस्तै सम्बन्धले हिजोआज कतिपयको धनसम्पत्ति बर्बाद भएको छ त कतिको जीवन नै बर्बाद भएको छ । यस्तो सम्बन्धबारेमा परिवारले अस्वीकारेपछि विषसेवन गरेका समाचार पनि छन् । कतिपयले मार्ने धम्की दिएको त कतिले पैसा कुम्लाएको उदाहरण छ । सहमति नमिल्दा महिलालाई कुटपिट गरेको, चरित्रहत्या गरेको, ‘ब्ल्याकमेलिङ’ गरेको, अश्लील भिडियो सार्वजनिक गरिदिने गरेको घटना पनि छन् । यसपछि समाजमा अपहेलित हुने, मानसिक रोगी भई आत्महत्यासमेत गरेका घटना छन् ।
यस आधारमा ‘लिभिङ टुगेदर’ के साँच्चै महिलाका सवालमा सहज छ त ? गहिरिएर सोच्ने हो भने, यस्तो सम्बन्धलाई नेपाली समाजले पनि नाजायज भन्दै आएको छ । वास्तवमा ‘लिभिङ टुगेदर’ महिलाका हितमा छैन । कानुनी रूपमा पनि धेरै समस्या झेल्नुपर्ने हुन्छ । व्यक्तिगत स्वतन्त्रता उपभोग गर्ने सवालमा पश्चिमा समाजका हरेक नागरिक स्वतन्त्र छन्, शिक्षित छन् र आत्मनिर्भर छन् । लिभिङ टुगेदरपछि आउने समस्यामा पनि सम्बन्धित व्यक्तिले खासै समस्या भोग्नु पर्दैन । कसैद्वारा कोही पालिनु र पाल्नुपर्ने अवस्था पनि रहँदैन ।
प्रतिकृया लेख्नुहोस्: