Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

माओवादी केन्द्रको निष्कर्ष : पहिलो पार्टी बन्न सम्भव छ

\"\"काठमाडौं । विश्वस्तरमा कम्युनिस्ट आन्दोलनको रक्षात्मक स्थितिका सन्दर्भमा नेपाली क्रान्तिले शान्तिप्रक्रिया र प्रतिस्पर्धात्मक राजनीतिको निकै पेचिलो र जोखिमपूर्ण रणनीति अवलम्बन गर्न परिरहेको वर्तमान समयमा पार्टीले विचार, राजनीति, रणनीति र कार्यनीतिक आचरणका समष्टिगत पक्षमा नयाँ विकास र स्पष्टता हासिल गर्नुपर्ने कुरालाई उच्च प्राथमिकतामा राखेको छ । वैचारिक र राजनीतिक कार्यदिशाको समग्र विकास र संश्लेषणको ऐतिहासिक र चुनौतीपूर्ण जिम्मेवारी स्वीकार गरेर अघि बढिरहेको हाम्रो पार्टीका अगाडि वर्ग संघर्ष र कम्युनिस्ट आन्दोलनको उक्त जटिल र संवेदनशील संक्रमणकालमा एकातिर सम्पूर्ण रूपले बुर्जुवा संसद्वादको दलदलमा फसेर वैचारिक रूपले अवसान हुने र अर्कोतिर यान्त्रिकता र जडताको सिकार बनेर जनसमुदायबाट अलगथलग परी प्रतिक्रियावादी आक्रमणद्वारा ध्वंस हुने दुवै खतरा रहेका छन् । वर्ग संघर्षको यो चक्करदार मोडमा पार्टीले आफ्नो सर्वहारा वर्गीय चरित्र र पहिचानलाई बचाउँदै शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको संसदीय संघर्षमार्फत उत्पीडित श्रमजीवी जनसमुदायसँगको सम्बन्धलाई जीवन्त राख्दै नयाँ चरणको नयाँ क्रान्तिका लागि अनुकूल परिस्थिति निर्माण गर्ने लामो र कष्टसाध्य बाटो हिँडेर विजयको शिखर चढ्ने संकल्प गर्नु आजको आवश्यकता हो । निर्वाचन समीक्षा आज हामीले निर्वाचन समीक्षाको कुरा गर्दा उपरोक्त सन्दर्भ र मान्यतालाई ध्यानमा राखेर मात्र समुचित निष्कर्ष निकाल्न सकिन्छ । यस दृष्टिले हेर्दा शान्तिसम्झौतादेखि आजसम्म वैचारिक, राजनीतिक कार्यदिशाका सन्दर्भमा भएका बहस, अस्पष्टता, उतारचढाव, फुट–विभाजन र एकताका असाधारण शृंखलाहरूको समुचित संश्लेषण र बुझाइमा स्पष्टता र एकरूपताको अभावका कारण सिर्जित अराजकता नै आजका परिणामहरूको प्रमुख कारण हो । तमाम सीमा र जटिलताका बाबजुद पार्टीले प्रतिक्रियावाद र अवसरवादविरुद्धको वैचारिक, राजनीतिक संघर्षलाई उच्च प्राथमिकतामा राखी प्रकाशन, प्रशिक्षण, प्रचार–प्रसार र स्कुलिङलाई व्यवस्थित पार्न जुन स्तरको तागत लगाउनुपर्ने थियो, त्यसमा कमी हुनु नै आजको परिणामको प्रमुख कारण हो । वैचारिक राजनीतिक रूपले अस्पष्ट र संगठनात्मक रूपले अस्तव्यस्त पार्टीले धेरै ठूलो नतिजाको अपेक्षा गर्नु नै मनोगत अपेक्षा हुन पुग्दछ । अतः यो सर्वाधिक महत्वको विषयमा प्राथमिकताका साथ कार्ययोजनाको विकास गर्नुको कुनै अर्को विकल्प हामीसँग छैन । प्रतिक्रियावादी शक्तिहरूका चुनौतीहरूको सामना शान्तिप्रक्रिया र राजनीतिक सहमतिसहित संविधानसभाबाट संस्थागत गरिएका संघीय लोकतान्त्रिक गणतन्त्रसहितका राजनीतिक परिवर्तनहरू सामन्ती शक्ति र वैदेशिक प्रतिक्रियावादी शक्तिहरूलाई पचिरहेको छैन । अतः यस प्रकारका शक्तिहरूले अझै पनि यो परिवर्तन उल्ट्याउने षड्यन्त्र गर्न छाडेका छैनन् । विश्वमा देखिएको अन्धराष्ट्रवादी र दक्षिणपन्थी हावाका पृष्ठभूमिमा यो परिवर्तन उल्ट्याउने षड्यन्त्रले मलजल पाइरहेको छ । परिवर्तनको प्रमुख वाहक शक्ति हुनुका नाताले प्रतिक्रियावादी शक्तिहरूका जुनसुकै चुनौतीको सामना गर्न तयार रहनु पार्टीको विशेष जिम्मेवारी रहेको र यसका निमित्त जनतालाई सचेत पार्न विशेष जोड लगाउन आवश्यक छ । वस्तुतः हाम्रो नेतृत्वको सरकारले अन्य कुराका अतिरिक्त स्थानीय तहको निर्माण र त्यसको निर्वाचनमा लिएको अडान र पहलका पछाडिको मुख्य उद्देश्य त्यो षड्यन्त्रलाई परास्त गर्ने नै हो । निर्वाचनको परिणामतिर भन्दा परिवर्तन संस्थागत गर्न निर्वाचनमा छिटोभन्दा छिटो देशलाई लैजानैपर्ने आवश्यकता बोधको चटारोले पनि हाम्रो निर्वाचन परिणाम केही हदसम्म प्रभावित रहेको छ । यसका साथै नेकाको बुर्जुवा यथास्थितिवादी धार र एमालेभित्रको उच्च जातीय अन्धराष्ट्रवादी र परिवर्तनविरोधी संशोधनवादी धारलाई मलजल गरेर प्रतिगमनतिर लैजाने षड्यन्त्रमा पनि सामन्ती शक्ति र वैदेशिक प्रतिक्रियावादी शक्तिहरू लागिरहेका छन् । हामीले एमालेभित्र हाबी हुँदै गएको त्यस प्रकारको प्रतिगामी चिन्तन, प्रवृत्तिको खण्डन, आलोचना र भन्डाफोर गर्दै त्यहाँभित्रको सच्चा देशभक्त र परिवर्तन पक्षीय प्रवृत्तिलाई बलियो पार्न जोड गर्नुपर्दछ । पार्टीभित्र हानिकारक प्रवृत्तिको विकास जनतासँग घनिष्ठ सम्बन्ध गाँसिएको सुदृढ संगठन नै प्रतिक्रियावाद र अवसरका विरुद्ध संघर्षमा सर्वहारा वर्ग र श्रमजीवी जनसमुदायको अचुक हतियार हो । तर, यसबीचमा हाम्रो पार्टीमा जनताका बीचमा रहेर संगठन निर्माण गर्ने, विकास निर्माणका सानाठूला कामदेखि सामाजिक क्रियाकलापमा सक्रिय सहभागिता र सहयोगद्वारा जनताको मन जित्ने कुरामा होइन, पार्टीभित्रै एक–अर्कालाई दोषारोपण गर्ने, व्यक्तिगत र गुट स्वार्थका निमित्त सम्पूर्ण आदर्शहरू तोड्दै जाने अत्यन्त आत्मकेन्द्रित र हानिकारक प्रवृत्तिको विकास हुँदै गएको छ । जनताले हाम्रो पार्टीबाट गरेको सकारात्मक अपेक्षा र हाम्रो यो नकारात्मक स्थितिका बीचको अन्तरविरोधको समाधान केवल फेरिएको मोर्चाअनुरूप आमजनतालाई विविध रूपका संगठनमा आबद्ध गर्ने संकल्पसहित जनसमुदायमा जाने ठोस संगठनात्मक योजना र कार्यक्रमले मात्र गर्न सक्छ । अतः संगठन, संगठन र फेरि पनि संगठन नै पार्टीको मूल ध्येय हुनुपर्दछ । केन्द्रीय महाधिवेशन आयोजक समिति भंग गर्ने प्रस्ताव लैजाने बैठक बसेर प्रभावकारी छलफल संगठित गरी ठोस कार्ययोजनाको विकास गर्नै नसकिने भारी भरकम समितिहरूको बोझले आज पार्टी दबिएको छ । पार्टी एकताको विशेष स्थितिको बाध्यताका नाममा यस प्रकारका हलचल नै गर्न नसकिने समितिहरूको निरन्तरताले पनि हाम्रो चुनावी संघर्षको प्रभावकारितामा नकारात्मक असर परेको हो । जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार न्यूनतम रूपमा सामूहिक छलफलबाट निष्कर्ष निकाल्ने तथा आलोचना, आत्मालोचनाद्वारा पार्टीलाई निरन्तर सुदृढीकरण र शुद्धीकरण गर्न अनिवार्य रूपमा चुस्त, छरिता र साना समितिहरू हुन आवश्यक छ । छिटै महाधिवेशन गर्ने र त्यसको तयारीका सन्दर्भमा हुने सम्मेलनहरूद्वारा निर्धारित निर्वाचन कार्यविधिअनुसार साना समितिहरू बनाउने उद्देश्य रहेको भए पनि देशको राजनीतिक परिस्थितिका कारण चुनावमा जानुपर्ने बाध्यता र महाधिवेशनका लागि अझै केही समय कुनुपर्ने अवस्थाका सन्दर्भमा पार्टीले तत्काल यस विषयमा ठोस निर्णय लिन आवश्यक छ । अतः सचिवालयको यो बैठक झन्डै चार हजारको संख्यामा रहेको केन्द्रीय महाधिवेशन आयोजक समिति भंग गर्ने तथा २ अंकभित्रको नयाँ आयोजक समिति गठन गर्ने, सोहीअनुसार चुस्त कार्यालय र पोलिटब्युरो गठन गर्न विद्यमान आयोजक समितिसमक्ष प्रस्ताव प्रस्तुत गर्ने निर्णय गर्दछ । प्रदेशस्तरमा गरिने आयोजक समितिका सदस्यहरूको अलग–अलग बैठकद्वारा अनुमोदन गरिएपछि यो प्रस्तावलाई केन्द्रीय कार्यालयले अन्तिम निर्णयको रूप दिई कार्यान्वयनमा लैजानेछ । साम्राज्यवादी हस्तक्षेप र सामन्ती अवशेषविरुद्ध नयाँ नीति शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको वर्तमान चरणमा पार्टीले निर्वाचनलाई लेनिनले दुमाको उपयोग गरेको अर्थमा नभई सर्वहारा वर्ग र श्रमजीवी जनताको संघर्ष र बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धिहरूलाई संस्थागत, उपयोग र हस्तक्षेप गर्दै नयाँ चरणको क्रान्तिको तयारीको अर्थमा ग्रहण गर्नुपर्दछ । हाम्रो यो ठोस र विशिष्ट सन्दर्भमा सैद्धान्तिक र व्यावहारिक दुवै अर्थमा निर्वाचनमा विजयी हुन जोड गर्ने तथा स्थानीय र केन्द्रीय स्तरमा समेत सरकार गठन गरेर राष्ट्रियता, जनतन्त्र एवं जनजीविकाका समस्याहरूलाई अधिकतम सम्बोधन गर्दै वैदेशिक साम्राज्यवादी हस्तक्षेप र सामन्ती अवशेषका विरुद्धको संघर्षलाई नयाँ उचाइमा उठाउँदै समाजवादतिरको यात्रामा दृढतापूर्वक अगाडि बढ्ने कुराको औचित्य सिद्ध हुन्छ । वर्तमान स्थितिमा पार्टी विनाकुनै पनि द्विविधा, अन्योल र हिचकिचाहट यो नीतिमा अगाडि बढ्नुपर्छ । चुनावी तयारी उक्त नीतिअनुसार निर्वाचनमा विजयका निमित्त पार्टी कार्यदिशा र संगठनका अतिरिक्त चुनावी कौशलको विकास र प्राविधिक तयारीमा पनि पर्याप्त ध्यान दिन आवश्यक हुन्छ । यसअन्तर्गत जनताको तात्कालिक आवश्यकता र भावनालाई सम्बोधन गर्ने घोषणापत्रको तयारी, जनताको मन छुने चुनावी नारा, चुनाव चिह्नको चिनारी, मतदाता नामावलीको अपग्रेड गर्ने, प्रचारप्रसारको प्रभावकारिता, चुनावी तालमेलको स्पष्ट नीति (जसमा ०६२-६३ को हाम्रो पार्टीसहितको संयुक्त जनआन्दोलन, शान्तिसम्झौता र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरूसँग मात्र यो चरणमा चुनावी तालमेल गर्न सकिनेछ), विजयको रणनीति बुझ्ने, अन्तरविरोधको परिचालन गर्नेदेखि घर–घरमा पुगेर जनतासँग मत माग्ने, मतदान स्थलसम्म जनता लैजाने, मतदान गराउने, मतपेटिकाको सुरक्षा, धाँधली, अनियमितता र आर्थिक चलखेल रोक्ने उपाय अपनाउन व्यापक युवा परिचालन गरी सबै खाले षड्यन्त्र, धाँधली रोक्न तथा जनताको सुरक्षा गर्ने आदि पर्दछन् । चुनावी कौशलको विकास र प्राविधिक रूपले सबै सूक्ष्म तयारीविना चुनाव जित्न सकिँदैन । यी सबै कुरालाई प्रभावकारी रूपले कार्यान्वयन गर्नका निमित्त पनि सुदृढ संगठन अपरिहार्य छ । रुकुम, रोल्पालगायतका जुन–जुन जिल्लाहरूमा उत्साहवद्र्धक विजय हासिल भएको छ, त्यसका पछाडि विकास निर्माणका कामदेखि पार्टी नीति र नेतृत्वलाई जनतासँग जोडी राख्न संगठनले खेलेको भूमिका मुख्य रहेको कुरामा सबैको ध्यान जान जरुरी छ । क्रान्तिकारी स्प्रिड कमजोर उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगका जनसमुदायको हकहित र मुक्तिका निमित्त संघर्ष नै माओवादी पार्टीको वास्तविक पहिचान हो । तर, केही वर्षदेखि आफ्नो वर्ग र जनसमुदायसँगको सम्बन्ध कमजोर बन्दै जानु, सीमित नेता र आमकार्यकर्ताका बीचमा साधन–स्रोत र अवसरको प्रयोगमा विभेद र अन्तर बढ्दै जानुको परिणाम आम पार्टीपंक्ति र जनसमुदायको आत्मविश्वास र क्रान्तिकारी स्प्रिड कमजोर बन्न गएको छ, जसका कारणले पनि निर्वाचन परिणाममा असर पारेको छ । आफ्नो वर्ग र श्रमजीवी जनसमुदायमा आधारित भएर मध्यम वर्गलाई आफूतिर तान्न प्रयास गर्नुको सट्टा केही समयदेखि पार्टी वर्ग पक्षधरता र सही नीतिबाट विचलित हुन पुगेकाले पनि जनताको विश्वास जित्न कठिन भइरहेको छ । पार्टीले यो विषयलाई जति छिटो र जति गम्भीरताका साथ आत्मसात् गरेर आफ्नो वर्ग र उत्पीडित जनसमुदायसँग एकाकार हुने संकल्पसहितको योजना र कार्यमा सक्रियता र उत्साहपूर्वक लाग्न सक्छ, उति नै छिटो हाम्रो स्थिति सुदृढ भई विजयको नयाँ आधार खडा हुनेछ । पार्टीभित्रैबाट भएका अन्तर्घातको छानबिन निर्वाचनमा पार्टीभित्रैबाट अन्तर्घात गर्ने, निहित व्यक्तिगत स्वार्थका निमित्त विपक्षीबाट पैसा लिएर मत बेच्ने, बागी उम्मेदवार बन्ने, पार्टी नीति र निर्णयविपरीत अघोषित रूपमा विरोधीसँग साँठगाँठ गर्ने, पार्टीद्वारा निर्णय गरिएका उम्मेदवारका पक्षमा सक्रियता नदेखाई उदासीन रहने वा अन्य जुनकुनै रूपमा भए पनि निर्वाचन अभियानमा भ्रम सिर्जना गर्ने कुनै पनि क्रियाकलापलाई पार्टीविरोधी र आत्मघाती क्रियाकलापका रूपमा लिई गल्ती र अपराधको प्रकृतिअनुसार कडा कारबाहीको नीति लिनु आवश्यक छ । तत्काल दुई चरणको स्थानीय निर्वाचनका सन्दर्भमा भए गरेका अन्तर्घात र अन्य पार्टीविरोधी क्रियाकलापका सन्दर्भमा निष्पक्ष छानबिन गरी सुझाबसहितको प्रतिवेदन भाद्र १५ गतेसम्म केन्द्रीय कार्यालयमा बुझाउन ६ वटै प्रदेशले तीनसदस्यीय छानबिन कमिटी अविलम्ब बनाउनुपर्नेछ । दूरगामी महत्वका ऐतिहासिक कामहरूको व्यवस्थित प्रचार संविधान निर्माणमा पार्टीले खेलेको नेतृत्वदायी भूमिका, संविधान कार्यान्वयनका सन्दर्भमा आवश्यक ऐनहरूदेखि स्थानीय तहको निर्माण र निर्वाचनका निमित्त लिएको अडान, मधेस, थारू तथा आदिवासी, जनजातिका असन्तुष्ट पक्षसँग गरिएको निरन्तर संवादमार्फत राष्ट्रिय एकता सुदृढ गरी निर्वाचनमा सबैलाई सहभागी गराइएको कुरा, उज्यालो नेपाल अभियान, लोडसेडिङको अन्त्य र उर्जा क्षेत्रमा गरिएको पहल, आर्थिक वृद्धिदरमा भएको ठूलो उपलब्धि, विकास निर्माणका ठूला आयोजनाहरूको काममा भएको प्रगति, चीन र भारत दुवैसँग विकास गरिएको सन्तुलित कूटनीतिक सम्बन्ध र दुईपक्षीय सहयोगका क्षेत्रमा गरिएका महत्वपूर्ण सम्झौताहरू (ओबिओआर, हुलाकी मार्ग आदि) लगायतका पार्टी र हाम्रो नेतृत्वको सरकारबाट भएका महत्वपूर्ण काम–कारबाहीहरूको संस्थागत रूपले स्वामित्व ग्रहण गर्ने तथा जनतामा व्यापक रूपले स्थापित गर्ने काममा रहेको कमजोरीले पनि निर्वाचन परिणाममा असर गरेको छ । आगामी दिनमा पार्टी र सरकारका तर्फबाट भए गरिएका दूरगामी महŒवका ऐतिहासिक कामहरूको व्यवस्थित प्रचारमा जोड दिनुपर्दछ । पहिलो पार्टी बन्न असम्भव छैन उपरोक्त मूलभूत सीमा, समस्या र कमजोरीका बाबजुद जनताले हाम्रो पार्टीप्रति ठूलो भरोसा गरेको तथ्य लाखौँ मत दिएर तथा पहिलो र दोस्रो पार्टीको विकल्पका रूपमा अगाडि ल्याएर प्रमाणित गरेका छन् । विभाजनको अराजकता र अस्पष्टताको सिकार भई विघटन र विसर्जनतिर ओरालो लागेर माओवादी देशको तेस्रो होइन, चौथो, पाँचौँ र छैटौँ हुँदै छ भन्ने प्रतिक्रियावादी र अवसरवादी तत्वहरूको भयानक प्रचार युद्धलाई झुटो साबित गर्दै जनताले कांग्रेस, एमालेजस्ता यथास्थितिवादी पार्टीहरूको सशक्त विकल्पका रूपमा हामीलाई प्रस्तुत गरेका छन् । यसका पछाडि तात्कालिक दृष्टिले मुख्यतः पार्टी एकताको नयाँ प्रक्रियाप्रति कार्यकर्ता र जनताको भरोसामा भएको वृद्धि, संविधान निर्माण र कार्यान्वयनमा पार्टीले खेलेको नेतृत्वदायी भूमिका, पार्टी नेतृत्वमा रहेको गत सरकारले राष्ट्र र जनताका पक्षमा गरेका कामहरू तथा पछिल्लो चरणमा पोलिटब्युरोले अघि सारेको तीनमहिने कार्ययोजना कार्यान्वयनमा आमकार्यकर्ता र समर्थकहरूमा देखिएको सक्रियता रहेका छन् । विचार, राजनीतिक मुद्दा र परिवर्तनको नेतृत्वदायी शक्तिका रूपमा पहिलो नम्बरमा रहेको हाम्रो पार्टीले माथि उल्लिखित कमजोरी सच्याएर जनतामा जाने र संगठन निर्माणमा जोड दिँदा पहिलो पार्टी बन्न असम्भव छैन । पार्टी एकताका लागि अपिल स्थानीय तहको दुई चरणको निर्वाचन परिणामले एकातिर पार्टी विभाजनको नकारात्मक असर अझ पनि परिरहेको तथ्यलाई राम्रोसँग उजागर गरेको छ भने अर्कातिर माओवादी केन्द्र नै माओवादी आन्दोलनको मूलधार र शक्ति रहेको यथार्थतालाई अनुमोदन गरेर जनताले सम्पूर्ण माओवादी र सच्चा कम्युनिस्ट क्रान्तिकारीहरूलाई एकताबद्ध गर्ने पहलको जिम्मेवारी पनि माओवादी केन्द्रकै काँधमा आएको छ । बुर्जुवा यथास्थितिवादी र संशोधनवादीहरूको बढ्दो प्रभावलाई रोक्न तथा जनयुद्धका महान् सहिद, बेपत्ता योद्धाहरूको ऐतिहासिक बलिदानलाई सम्मान गर्दै, उनीहरूको परिवारका आँसु, वेदना र आकांक्षालाई स्मरण गर्दै, सम्पूर्ण घाइते, अपांग योद्धाहरूको पीडालाई मल्हम लगाउन तथा परिवर्तनकारी जनसमुदायको आकांक्षालाई सम्मान गर्दै अब ढिलो नगरी सम्पूर्ण माओवादी घटकहरू, मुख्यतः मोहन वैद्य ‘किरण’, डा. बाबुराम भट्टराई र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका दलहरूलाई माओवादी केन्द्रको यो सचिवालय बैठक एकताका निमित्त हार्दिक अपिल गर्दछ । सँगै बसेर विगतका अनुभवहरूको खुला मनले समीक्षा गर्न तथा नयाँ अभियानको खाका कोर्न इतिहास र जनताले हामी सबैलाई घचघच्याएको तथ्यलाई आत्मसात् गर्दै विनाकुनै पूर्वाग्रह अगाडि बढौँ, एकतामा नै हाम्रो विजयको सुनिश्चितता छ । पाँच वर्षका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख २००७ सालदेखि अहिले २०७४ सालसम्म पनि नेपालले कम्तीमा पाँच वर्ष चल्न सक्ने सरकार पाउन सकेको छैन । पछिल्लो चरणमा त झन् १० वर्षमा १० वटा सरकार फेरिने विडम्बनापूर्ण स्थितिको तीतो अनुभव नेपाली जनताले गरिरहेका छन् । पटक–पटकका विद्रोह, संघर्ष र बलिदानीबाट जनताले स्थिर राजनीतिक व्यवस्था र व्यापक विकास एवं समृद्धिको अपेक्षा गरेका हुन्छन् । तर, परिणाम जहिले पनि अस्थिरता, अन्योल र अराजकता मात्र । कम्तीमा पनि यो स्थितिको अन्त्य गरी पाँच वर्षका लागि स्थिर सरकार बन्ने शासकीय प्रणाली बनोस् भन्ने चाहना तमाम बुद्धिजीवी, सचेत नागरिक समाजदेखि आमजनतासम्मको रहेको छ । जनसमुदायको यही आकांक्षालाई प्रतिबिम्बित गर्दै पहिलो संविधानसभाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र संसद्बाट निर्वाचित प्रधानमन्त्रीको विषयमा सहमति पनि गरेको थियो । तर, दुर्भाग्य दोस्रो संविधानसभाको बैठकमा देशमा राजनीतिक स्थिरता र समृद्धिको बलियो आधार स्तम्भ बन्न सक्ने ऐतिहासिक सहमति उल्ट्याउने काम नेका र एमाले गठबन्धन सरकारबाट गरियो । यसको परिणाम संविधान घोषणा भएको तीन वर्ष नपुग्दै जनताले तीनवटा सरकार व्यहोर्नुपर्ने पीडाको अनुभव गर्नुपरेको छ । इतिहासदेखि वर्तमानसम्मको यो राजनीतिक अस्थिरताको चक्रव्यूह सामन्ती निरंकुशतावादी शक्ति र वैदेशिक साम्राज्यवादीहरूले खडा गरेको तथ्य बुझ्न अब धेरै अध्ययन–अनुसन्धान गरिरहन आवश्यक छैन । अतः हाम्रो पार्टीको केन्द्रीय समितिको यो सेक्रेटरियट बैठक देशका सबै राजनीतिक दल र जनसमुदायसँग राजनीतिक स्थिरता, आर्थिक समृद्धि र राष्ट्रिय एकताका लागि सम्पूर्ण नेपाली जनताको प्रत्यक्ष मतदानद्वारा पाँच वर्षका लागि कार्यकारी प्रमुख चुन्ने व्यवस्थाका लागि हार्दिक अपिल गर्दछ । पहिलो संविधानसभाको सर्वसम्मतिले सहमति भइसकेको यो व्यवस्थालाई परिमार्जनसहित संविधान संशोधन गरेर स्थापित गर्नु देश र जनताको दीर्घकालीन हितमा हुने तथा नेपालको राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्रसमेत गुणात्मक रूपले सुदृढ हुने निश्चित छ । यो ऐतिहासिक कार्यको पक्षमा व्यापक जनमत निर्माण गर्न विशेष अभियानहरू सञ्चालन गर्नका लागि सेक्रेटरियटको यो बैठक सिंगो पार्टीपंक्ति, वाइसिएल, जवस, मोर्चादेखि पार्टीका समर्थक, शुभचिन्तकहरूमा हार्दिक आग्रह गर्दछ । पूर्ण समानुपातिक निर्वाचन प्रणाली विगत सात दशकका अनुभव र पछिल्लो दुई चरणका स्थानीय तहको निर्वाचनले हाम्रो निर्वाचन प्रणाली अत्यन्तै खर्चिलो र सामान्य जनताको पहुँचभन्दा बाहिर रहेको यथार्थ स्पष्ट छ । अब केन्द्रको निर्वाचनमा प्रतिस्पर्धा गर्न करोड र अर्बपतिले मात्र सक्ने अवस्था सिर्जना भइरहेको छ । यसबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगका सामान्य श्रमजीवी जनताको कुरा त टाढै छ, मध्यम वर्गका सामान्य व्यक्तिले समेत आर्थिक बोझकै कारण निर्वाचनमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आइरहेको छ । हाम्रो पार्टीको यो सेक्रेटरियट बैठक ‘पहिलो हुने निर्वाचित हुने’ प्रणालीको सट्टा पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि सबै राजनीतिक दलसँग गम्भीर छलफल प्रारम्भ गर्ने निर्णय गर्दछ । (अाजको नयाँ पत्रिकामा प्रकाशित केही दिनअघि सम्पन्न माओवादी केन्द्रको ‘केन्द्रीय सचिवालयको विस्तारित बैठक’मा गरिएका निर्णयहरू)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE