Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

‘नारीजस्तै पुरुषहरु पनि शोषित छन्’

\"\"केही वर्षदेखि अमेरिकामा बसोवास गरिरहेका छन् साहित्यकार कृष्ण धरावासी । उनी अमेरिकामा पूर्णकालीन लेखकका रूपमा आफ्ना दिन खर्च गरिरहेका झन् । विविध विधामा गरी २८ वटा कृति प्रकाशन गराइसकेका धरावासीका ‘लीलाबोध’ शीर्षकको दर्शनमा आधारित पुस्तक र ‘तल्लो बाटो’ उपन्यास यही वैशाखमा प्रकाशित हुँदै छन् । यिनै कृति प्रकाशनका लागि उनी अहिले काठमाडौंमा छन् । वर्षमा एकपटक काठमाडौं आउने धरावासीको दुई–तीन महिनाको काठमाडौं बसाइ साहित्यिक गतिविधि र भेटघाटमै बित्ने गर्छ । धरावासी हिजोआज ‘पुरुष’ विषयमा अध्ययन–अनुसन्धान गरिरहेका छन् । उनले नारीहरूका बारेमा प्रशस्त कलम चलाए । अब पुरुषहरूका बारेमा लेख्नुपर्ने समय आएको उनी बताउँछन् । ‘नारीहरू आफ्ना बारेमा अब आफैँ भन्न सक्ने भइसकेका छन्,’ उनी भन्छन्, ‘अब पुरुषले नारीहरूका बारेमा भनिरहनुपर्ने आवश्यकता छैन ।’ धरावासीका अनुसार नारीजस्तै पुरुषहरू पनि अनेक कारणले शोषित–पीडित छन् । तर, पुरुषहरू आफ्ना कैयौँ कुरा आफैँ भन्दै हिँड्दैनन्,’ धरावासी भन्छन्, ‘पुरुष बाहिर–बाहिर ठुल्ठूला कुरा गरेर हिँड्छ, तर आफ्ना कुराचाहिँ बाहिर व्यक्त गर्दैन । पुरुषमा घमन्ड, स्वाभिमान भन्ने चिज नारीमा भन्दा बढी छ, त्यसैले पुरुष रुँदै पनि हिँड्दैन र आफ्ना पीडा सुनाउँदै पनि हिँड्दैन ।’ आफैँले भोगेका र कैयौँ ठाउँमा आमपुरुषले भोगेका कथा लेख्नैपर्ने सोच आएर उनी त्यसतर्फ उन्मुख भएका हुन् । अबका दिनमा आख्यान कम र दर्शनका कुरा बढी लेख्ने योजनामा छन् उनी । त्यसैका लागि पछिल्लो समय भागवत गीताको सांगोपांग अध्ययन गरिरहेका छन् । २ साउन ०१७ मा यस धरामा पहिलो पाइला टेकेका हुन् धरावासीले । बाबुबाजेको पुख्र्यौली थलो अमरपुर पाँचथरमा उनले जिन्दगीको पहिलो प्रहर अर्थात् सात वर्ष बिताए । ०२४ सालमा उनका बुबा झापा बसाइँ सरे । पहाडमा भएको पैतृक सम्पत्ति बाँडफाँडमा ठगिएपछि धरावासीका बुबा विद्रोह गरेर त्यही झोकमा तराई झरेका रहेछन् । झापा शनिश्चरेमा उनका बुबाआमाले छोराछोरी हुर्काउन ठूलो कष्ट व्यहोरे । धरावासीले झापा शनिश्चरे माविबाट पढाइ सुरु गरे । उनले त्यहीँबाट एसएलसी उत्तीर्ण गरे । स्कुल जीवनका उनका निकट मित्र थिए अहिलेका चर्चित लेखक सञ्जीव उप्रेती । कलेजस्तरको पढाइका लागि उनी इलाम गए । पाँच कक्षामा पढ्दा अतिरिक्त क्रियाकलापमा गुरुको ‘केही लेखेर ल्याउनू’ भन्ने आग्रहलाई उनले पनि टार्न सकेनन् । कसरी लेख्ने र के लेख्ने भन्ने उनले भेउ पाएनछन् । ‘रमाइलो नानी’ शीर्षकको बालपुस्तक फेला पारेपछि त्यसैबाट केही सार्दै लगेर सुनाउँदा रहेछन् । गुरुले पनि राम्रो भनेपछि उनी झन् हौसिए । अरू साथी के गर्थे उनलाई थाहापत्तो भएन । उनलाई लाग्दो रहेछ सञ्जीव पनि सारेर नै लान्छ । पछि थाहा पाए, सञ्जीवचाहिँ आफैँ लेखेर लाँदा रहेछन् । धरावासीले चाहिँ एक वर्षभरि त्यही पुस्तकबाट सारेर आफ्ना रचना सुनाएछन् । ६ कक्षामा पुगेपछि एक दिन ‘राजकुमार दिक्पाल’ शीर्षक कथा सारेर लगेछन् । त्यो कथा आठ कक्षामा पढाइ हुँदो रहेछ । त्यस दिन चित्रसेन भण्डारी नाम गरेका सिनियर दाइले ‘हामीले पढ्ने कथा सारेर सुनाउँछस्’ भनेर कान मोलेपछि उनको होसहवास उड्यो । त्यसपछि उनले आफैँ लेख्ने अभ्यास गर्न थाले । ०३२ मा उनको पहिलो कविता छापियो । भोजपुरबाट प्रकाशित हुने ‘सूर्योदय’ पत्रिकामा उनको त्यो रचना छापिएको रहेछ । यद्यपि, त्यो कविताको शीर्षक धरावासीलाई अहिले सम्झना छैन । ०३३ मा घरमा आगलागी हुँदा उनको कविता छापिएको पत्रिका पनि त्यसैमा स्वाहा भयो । त्यही आगलागीमा उनले त्यस वेलासम्म लेखेका रचनाहरूको डायरी पनि खरानी भयो । ०३५ सम्ममा कृष्णप्रसाद यही धरामा रहे पनि ‘धरावासी’ भइसकेका थिएनन् । वास्तविक नाम कृष्णप्रसाद भट्टराईका नामबाट उनका तीन–तीनवटा कथा र कविता प्रकाशित भएका छन् । ०३५ सालको मोती जयन्तीको अवसरमा इलाम क्याम्पसमा उनले कृष्णप्रसाद धरावासीको नामबाट निबन्ध सुनाए । धरावासी सुरुदेखि नै दर्शन तथा आध्यात्मिक कृतिहरू पढ्न रुचाउँथे । भर्खर एसएलसी पास गरेर कलेज पढ्न गएको ठिटो प्रेम–रोमान्सतिर नलागेर कसरी दर्शनपट्टि लाग्यो, उनलाई नै हेक्का छैन अहिले । धर्म, सिमाना, जाति, संस्कृति, राष्ट्र भन्ने कुरा सबै मिथ्या हो, धरा अर्थात् पृथ्वी मात्र सत्य हो भन्ने निक्र्योलमा पुगे उनी । अनि उनलाई लाग्यो हामी पृथ्वीका बासिन्दा हौँ । अनि कृष्णप्रसादबाट ‘प्रसाद’लाई पन्साएर उनले कृष्ण धरावासी भनी आफ्नो न्वारन आफैँ गरे । ०४० मा उनले झापा बुधबारेकी सीता पोखरेलसँग लगनगाँठो कसे । यो दम्पतीबाट दुई छोरा र एक छोरी जन्मिए । उनका जेठा छोरा ‘दुर्गा विनय’ का नामबाट साहित्य रचना गर्छन् । उनी जाम्बियामा युएनको एउटा शाखामा काम गर्छन् । धरावासीकी छोरीले अन्तरजातीय विवाह गरेकी छन्, अमेरिकामै छिन् । कान्छो छोरा भने काठमाडौंमै छन् । सामान्यतया अधिकांश लेखक काठमाडौं आएपछि मात्र चर्चित हुने गर्छन् । काठमाडौंमा लेख्ने–छपाउने धेरै माध्यम भएकाले पनि त्यसो भएको हुन सक्छ । तर, धरावासीका सन्दर्भमा भने यसको ठीक उल्टो भयो । उनी झापाबाटै काठमाडौंमा चिनिए । झापामा धरावासीलगायत हिरा आकाश, प्रकाश बुढाथोकी, दुर्गा दाहाल, केशव आचार्य, डिकमान विरही, भरत भुर्तेल, अमृतलाल श्रेष्ठलगायतका लेखक निकै सक्रिय थिए । उनीहरू काठमाडौंले हामीलाई हेप्छ भनेर गुनासो पनि गर्थे । त्यहाँ उनीहरूले ‘भोक कविता आन्दोलन’ सञ्चालन गरे । काव्यात्मक ढंगबाट शिष्ट तरिकाले तत्कालीन व्यवस्थाको विरोध गर्नु त्यसको उद्देश्य थियो । प्रशासनले उनीहरूमाथि कडा निगरानी राखेको थियो । हिरा आकाशलाई पक्राउसमेत गर्यो । ०४० बाट सुरु भएको त्यो आन्दोलन बहुदल आएपछि स्वतः रोकियो । त्यसैगरी ‘मन्थन झापा’ नामक साहित्यिक संस्था खोलेर उनीहरूले प्रशस्तै साहित्यिक कार्यक्रम गरे । त्यसैको प्रभावबाट धेरै प्रतिभा जन्मिएको धरावासीको दाबी छ । धरावासी झापामै हुँदा केन्द्रका लेखक–साहित्यकारसँग नियमित सम्पर्क हुन थाल्यो । कृषि विकास बैंकमा महिनामा आठ हजारको जागिर खाने उनले काठमाडौंका लेखकसँग टेलिफोन सम्पर्क गर्नकै लागि महिनामा ३८ सय रुपैयाँसम्म खर्चिए । यसरी ‘गरिमा’ र ‘मधुपर्क’का सम्पादकसँग उनको चिनजान बढ्दै गयो । अनि उनका रचनाले ती पत्रिकामा स्थान पनि पाउन थाले । धरावासीको बुझाइमा आफ्नो बाटो आफैँ खोज्नुपर्छ । कुन ठाउँमा कसरी पुग्ने त्यो आफैँले निर्धारण गर्ने हो । ‘यहाँ कसैले कसैका लागि केही गर्नेवाला छैन,’ उनी भन्छन्, ‘हामी जहाँ बसे पनि हाम्रो बाटो कता हो, त्यो आफैँलै पहिल्याउनुपर्छ । म यहाँ छु, मलाई देख्नुपर्छ भन्नुको कुनै तात्पर्य छैन ।’ झापाबाटै प्रकाशित ‘शरणार्थी’ उपन्यास र ‘झोला’ कथासंग्रहले धरावासीलाई साहित्यको एउटा उचाइमा पुर्याइदियो । पछि साझा प्रकाशनबाट प्रकाशित ‘राधा’ उपन्यासले मदन पुरस्कार दिलाएपछि उनले पछाडि फर्केर हेर्नुपरेन । अनि साहित्यमा मोफसल भन्ने हुँदो रहेनछ भन्ने बुझे उनले । धरावासी सानै छँदा मावलकी हजुरआमाले धेरै महिला बसिरहेको ठाउँमा सती प्रथाका बारेमा उल्लेख गरेको सुनेका थिए । त्यसका केही कुराचाहिँ उनको दिमागमा बसिरहेको रहेछ । पछि कुनै दिन उनलाई त्यो लेख्न मन लाग्यो, अनि जन्मियो ‘झोला’ कथा । करिब चार वर्षअघि उनको झोला कथालाई चलचित्रमा उतारे निर्देशक यादव भट्टराईले । त्यसमा धरावासीले सानो भूमिका पनि निर्वाह गरे । झोला चलचित्रबाट उनले साढे दुई लाख रुपैयाँ लेखकस्व पाए । मदन पुरस्कार पाउँदा दुई लाख पाएका धरावासी एउटा कथाबाट त्यति रकम पाउँदा दंग परे । साझा प्रकाशनले धरावासीलाई ठूलो गुन लगायो । त्यो कुरा उनी स्वीकार गर्छन् । साझाबाटै प्रकाशित राधाले मदन पुरस्कार पाएपछि उनको चर्चा थप चुलिएको उनी आफैँ बताउँछन् । त्यसैगरी उनको ‘शरणार्थी’ उपन्यास पनि साझाले प्रकाशन गरेको थियो । तर, पछिल्लो समय साझाको हिसाब पारदर्शी नभएकाले उनले त्यहाँबाट ती कृति झिके । उनका सबै कृति अहिले कुनै निजी प्रकाशन गृहबाट प्रकाशित भइरहेका छन् । त्यसबाट उनले वर्षको कम्तीमा तीन लाख रुपैयाँ लेखकस्व बुझिरहेका छन् । उनको ‘राधा’ उपन्यास लेखक–समीक्षक महेश पौड्यालले अंग्रेजीमा अनुवाद गरिरहेका छन् । एक–डेढ वर्षभित्र त्यो अमेरिकाबाटै प्रकाशन गर्ने सुरसारमा छन् धरावासी । आफ्ना तीन दर्जन कृतिमध्ये ‘आधा बाटो’ उनलाई सबभन्दा बढी मनपर्ने उनी बताउँछन् । त्यसमा उनले आफ्नो जिन्दगीको कथा लेखेका छन् । ०३४ बाट दार्जिलिङ निवासी इन्द्रबहादुर राईले लीलालेखन सुरु गरे । ‘रुपरेखा’ २०० अंकमा ‘भ्रान्तिहरू र लीलालेखन मात्र’ शीर्षक लेख लेखे राईले । राईले भागवत गीताबाट एउटा श्लोक उद्धृत गरेर पूर्वीय अध्यात्मसँग जोडिएका कृतिहरूमा जीवनलाई लीलात्मक ढंगबाट हेर्ने र त्यसबाट साहित्यिक सिद्धान्त निकाल्नुपर्छ भनेर लीलालेखन सुरु गरे । धरावासीमा त्यसको छाप बिस्तारै पर्दै गयो र उनी लीलालेखनतर्फ कस्सिए । उनका शरणार्थी, राधा, टुँडाललगायत उपन्यासमा लीलालेखनको प्रयोग पाइन्छ । लीलालेखन के हो रु भन्ने प्रश्नमा धरावासी भन्छन्, ‘लीलाले पूर्वीय अध्यात्मबाट ज्ञानको खोजी गर्छ । लीलालेखन भनेको धार्मिक विषय होइन । बरु अध्यात्मिक ग्रन्थबाट यसले साहित्यका सिद्धान्त बनाउने प्रयत्न गर्छ । लीलालेखनले सीमान्तता स्वीकार गर्दैन । त्यसैले भूगोलको कुनै सिमाना हुँदैन । त्यसैले जीवनलाई लीलाको रूपबाट हेर्नुपर्छ ।’ जिन्दगीको ५५ वसन्त पार गरिसकेका धरावासीले अनेक आरोह–अवरोह व्यहोरे । पाँचथरमा जन्मिएका उनी झापामा हुर्किए, लेखपढ गरे । केही समय काठमाडौंमा बिताए । तीन–चार वर्षअघि अमेरिका पसे । उनले जिन्दगीमा धेरै अभाव सहे । कैयौँ रात भोकभोकै पनि बसे । जिन्दगीबारे धरावासी भन्छन्, ‘जिन्दगी एउटा खेल हो । यो संसार नै खेल हो । अझ भन्दा यो सब लीला हो ।’ जिन्दगीलाई उनी लीलाको रूपमा व्याख्या गर्छन् । उनी भन्छन्, ‘जिन्दगीमा यही गर्छु भनेर, योजना बनाएर गर्न खोजे पनि योजनाअनुसार त्यो हुँदैन । हामीले योजना गरेअनुसार केही चिज पनि हुँदैन, त्यो अर्कै भइदिन्छ । गर्न खोजेको एउटा हो, त्यो अर्कै भइदिन्छ । जे हुन्छ, हामी त्यसैलाई स्वीकार गर्छौं र त्यसैमा चित्त बुझाउँछौँ । जिन्दगीलाई हामीले गम्भीर रूपले लिएर यसलाई सकारात्मक वा नकारात्मक रूपमा लिनुभन्दा पनि जिन्दगी जसरी चल्दै छ, त्यसैमा सन्तुष्ट हुनुपर्छ ।’ धरावासी भन्छन्, ‘हामीले जिन्दगीमा रोजेर, छानेर, इच्छाएर, चाहेर केही गरेकै छैनौँ । हामीलाई गर्यौँ जस्तो लाग्छ, तर वास्तविकता त्यो होइन । घर, गृहस्थी, विवाह, जागिर हरेक चिजमा हाम्रो निर्णयले काम गर्दैन । यी सबैमा हामी सम्झौता गर्दै जान्छौँ ।’ जिन्दगीमा आफूले पूर्ण सफलता प्राप्त गरेको धरावासी बताउँछन् । आफ्नो पुस्तामै आफूजति कोही सफल नभएको उनी दाबी गर्छन् । जिन्दगीका बारेमा उनी पाँच सय प्रतिशत सकारात्मक छन् । उनी भन्छन्, ‘एउटा औसत नेपालीलाई जिन्दगी सामान्य तरिकाले चलाउन चाहिने सबै चिज मैले प्राप्त गरेँ । पाँचथरबाट झापा झर्दा बस्ने घरसमेत नभएको परिवारको मान्छे म । अहिले झापा र काठमाडौंमा घर छ । छोराछोरी सबैलाई स्नातकोत्तर तहसम्म पढाएँ । अहिले उनीहरू सबै आफैँ जिउन सक्ने भइसकेका छन् ।’ धरावासी कुनै समय कांग्रेसको राजनीतिमा पनि संलग्न थिए । एक दिन भाषण गरिरहेका वेला उनलाई केशवकुमार बुढाथोकीले फेला पारेछन् । अहिले कांग्रेसबाट स्थानीय विकासमन्त्री रहेका बुढाथोकी त्यसवेला कट्टर पञ्च थिए । धरावासीका अभावका दिनमा बुढाथोकीले थोरबहुत सहयोग पनि गरेका थिए । भाषण गरिरहेका ठाउँमा बुढाथोकीलाई देखेपछि धरावासीको होसहवास उड्यो । बेलुकी बुढाथोकीले सुटुक्क बोलाएर ‘राम्रो छ, अलिक जोगिएर हिँड्नू’ भनेपछि उनी ढुक्क भए । पछि बुढाथोकी पनि कांग्रेस प्रवेश गरे । मान्छेको सबैभन्दा ठूलो सम्पत्ति निरोगी हुनु हो । मान्छे निरोगी छ भने जे पनि गरिखान सक्छ र आफ्नो जिन्दगीलाई जता पनि डोर्याउन सक्छ । त्यसैले जिन्दगीमा कोही पनि रोगी नहोऊन् भन्ने धरावासी कामना गर्छन् । कसैप्रति पनि नकारात्मक भावना आफूभित्र उत्पन्न नहोस् भन्ने चाहन्छन् उनी । उत्पन्न भइहाले पनि त्यसलाई हुर्काउनु नहुने तर्क छ उनको । सुत्नेबित्तिकै जो निदाउँछ, त्यो मान्छे नै सबैभन्दा सुखी हो भन्ने बुझाइ छ उनको । धरावासीले जिन्दगीमा धेरै कुरा प्राप्त गरे । तर, क्यान्सरका कारण श्रीमती ‘सीताजी’को ०६८ वैशाखमा निधन भयो । जिन्दगीमा त्यही एक प्रिय तत्व मात्र गुमाएको धरावासी दाबी गर्छन् । सीताजीसँगको २८ वर्षको दाम्पत्य जीवनमा कुनै दिन पनि तँतँ–मम र ठाकठुक नपरेको उनी सहर्ष बताउँछन् । सीताजीको निधन भएको डेढ वर्षपछि उनले मञ्जु विमलीसँग दोस्रो विवाह गरे । मञ्जु पनि आफ्नो पहिलो विवाह असफल भएपछि एक्लै थिइन् । सायद आफूहरूको ‘केमेस्ट्री’ मिलेकाले त्यो विवाह जुरेको बताउँछन् धरावासी । विवाहपछि सञ्चारमाध्यममा अनेकौँ नकारात्मक प्रतिक्रिया पनि आए । फेसबुक र ट्विटरमा त उनलाई गाली गर्नेहरूको वर्षा नै भयो । फेसबुकमा उपलब्ध भएका २६ हजार गालीगलौजका शब्द उनले डाउनलोड गरेर सुरक्षित राखेका छन् । जजसले गाली गरेर प्रतिक्रिया लेखे, तिनीहरूले आफूलाई माया गरेर लेखेको ठान्छन् धरावासी । ‘ममाथि माया थिएन भने उनीहरूले मेरो विवाहबारे यस्तो लेखिरहनु किन आवश्यक थियो र रु’ उनी प्रश्न गर्छन् । ‘उनीहरूले मलाई जुन स्थानमा राखेका थिए, सायद म त्यो स्थानमा बसिनँ भनेर उनीहरूले मायाको गाली बर्साएका हुन् । उनीहरूले मेरो अहित नै होस् भनेर पक्कै त्यो गरेका होइनन् । अहिले तिनै साथीहरू बिहे गरेपछि तपाईंको स्वास्थ्य राम्रो भएछ, राम्रा–राम्रा किताब पनि लेखिरहनुभएको छ भनेर खुसी व्यक्त गर्छन् ।’ विवाहको अर्को वर्ष नै डिभी परेपछि उनी अमेरिका गए । वर्षैपिच्छे नेपाल आउन पनि छाडेका छैनन् । ०३३ मा उनका बुबाको निधन भयो । त्यसवेला उनको परिवार अति विपन्न थियो । बुबाको निधन भएपछि मलामी लाँदा बाटोमा छर्दै लानका लागि एक मानो धान पनि थिएन । त्यो धान पनि अर्काकै घरबाट ल्याएको स्मरण गर्छन् धरावासी । धेरै वर्षसम्म अभावै अभावको जिन्दगी बिताएको उनी लुकाउँदैनन् । ती अभावका दिनमा तीन–चारजना नाबालक छोराछोरी हुर्काउन–बढाउन आमाले कुनै कसर बाँकी नराखेको धरावासी बताउँछन् । ‘अब ती दिन सम्झिएर पछुताउनुको कुनै अर्थ छैन,’ धरावासी भन्छन्, ‘विगतमा जे भयो त्यो सकिसक्यो । त्यो सम्झिएर अब भावुक हुनुको कुनै अर्थ छैन । बुबा बाँचिरहनुभएको भए अहिले ९० वर्षको हुनुहुन्थ्यो । मलाई यो अवस्थामा देख्दा उहाँलाई कस्तो लाग्थ्यो होला १ मैले मदन पुरस्कार पाएको खुसी आमाले थाहा पाउनुभएन । यस्ता अनेक कुरा हुन्छन् । तिनीहरूलाई अब सम्झिने अनि त्यही थान्कोमा छोड्नुपर्छ । तिनीहरूलाई बोकेर हिँड्नु हुँदैन, त्यसको समाधान नि छैन ।’ धरावासी जिन्दगीलाई सधैँ उज्यालोबाट हेर्नुपर्ने बताउँछन् । जो मान्छे जति बाँच्छ त्यतिन्जेल ऊ सफल नै भएर बाँचिरहेको हुन्छ । असफल भएको भए त ऊ पहिल्यै यस संसारबाट बिदा भइसक्थ्यो । ५५ वर्षको जिन्दगी बिताइसकेका धरावासी जिन्दगीमा आपूm पूर्ण सफल भएको बताउँछन् । धरावासी किटानसाथ भन्छन्, ‘सिंगो जिन्दगी लीलाबाहेक केही पनि होइन ।’ नयाँ पत्रिकाबाट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE