Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

आलोचना शारदाको, निशानामा प्रचण्ड ! निर्माण कम्पनिको भित्रि कथा

भक्तपुर–नगरकोट जाने सडक । केही स्थानमा कालोपत्रे सम्पन्न भएको देखिन्छ, कतै ग्रेभलको तयारी । त्यसो त यो सडकखण्ड छेउ नजिकै र आसपासका क्षेत्रमा बालुवा र गिट्टी नभएको होइन । तर, उदेकलाग्दो कुरा, यहाँ काम गर्न निर्माण सामग्री भने पोखरा आसपासबाट मगाइन्छ । पोखराबाट ट्रकमा सामान आउँछ यति लामो बाटो र ठाउँ, ठाउँका जाम छिचोल्दै । यस्तै अर्को दृश्य देख्न सकिन्छ, इन्द्रावती छेउमा मेलम्चीसँग जोडिएको सडकखण्डमा । इन्द्रावतीको किनारामा बालुवा र ढुंगा असरल्ल छन् । तर, त्यहाँ पनि मकवानपुरबाट बालुवा, गिट्टी ल्याएर काम गरिन्छ । अर्को उदेकलाग्दो कुरा के छ भने आँगनमा नै सामग्री हुँदा समेत ठेकेदारले भने त्यो प्रयोग गर्न पाउँदैनन् । कारण, त्यहाँबाट उत्खनन गर्ने क्रसर उद्योगहरुलाई काम गर्न दिइएको छैन । निर्माण कम्पनीले सामानभन्दा गाडी दुई गुणा बढी तिरेर बालुवा गिट्टी ल्याएर काम गर्न परिरहेको बताउँछ । तर, यसरी सामग्री जम्मा गरेपनि निर्माण नै थाल्न भने त्यति सहज छैन । स्थानीयको अवरोध, रुख, पोलको अवरोध । बालाजुबाट रानीपौवा परियोजनाको मुड्खुजाने बाटोमा परेको आरक्षमा चुईंक्क गर्ने ठाउँ छैन । आरक्षले रुख काट्न दिए पो । आरक्ष नपरेको ठाउँमा पीच गर्नका लागि सबै तयारी देखिएपनि बाँकी दुई ठाउँमा भने रुखसम्म काट्न दिइएको छैन । आरक्ष नपरेको ठाउँमा समेत स्थानीयको अबरोध र राजनीतिले काम बेलाबखत रोकिन्छ, रोकाइन्छ, कतिपय बेला कामदार कुटिन्छन, निर्माण यन्त्रहरु तोडफोड हुन्छन् । यो भित्री कथा हो, यो कुरा बाहिर आउँदैन । बाहिर भने चर्चा छ– प्रचण्डका घरबेटी ठेकेदारले काम गरेनन् । *** प्रसंग ‘शैलुंग कन्सट्रक्सन’को हो । अर्थात् यसका मालिक शारदा अधिकारीको । यी तिनै शारदा अधिकारी हुन, जसले काठमाडौंमा सार्क सम्मेलन हुँदा तीन महिनामा राजधानीका अधिकांश बाटो पीच गरेका थिए । २०७० सालमा निर्माण भएको भैंसेपाटी, सिनामंगल, सोल्टी जाने बाटो अहिलेसम्म राम्रो अवस्थामै रहेको उनको दाबी छ । र, यी तिनै शारदा अधिकारी हुन, जसले न्यूनतम लाभ लिने सोचाई राखेर अधिकांश ठेक्का ‘लो रेट’ मै दावी गर्छन् । उनको कम्पनीले ठेक्का एउटा पाउने आधार हो लो रेटको ठेक्कापट्टा । र, यी तिनै शारदा अधिकारी हुन, जो अहिले सर्वत्र चर्चामा छन् । जनयुद्धमा घरपरिवारका सदस्य गुमाए अधिकारीले प्रचण्डलाई बदनाम गर्न आफूलाई विवादमा ल्याइएको दाबी गर्छन । भन्छन, ‘म माथि नियोजित आक्रमण हुँदैछ । मेरो पेशा र कम्पनीसँग नेतालाई जोडिनु कसरी न्यायपूर्ण छ ?’ अधिकारी यसअघि खासै चर्चामा आएनन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुने क्रममा कैयन एकतासम्बन्धी बैठक उनको घरमा बसे । नेकपा एमालेको स्थायी समितिको बैठकदेखि अनौपचारिक छलफलहरुसम्म उनको घरमा भए । यति मात्र होइन, तत्कालिन मोहन बैद्य, मातृका यादव, मणि थापा नेतृत्वका माओवादी पार्टीसँग एकताका लागि भएका अधिकांश बैठक पनि अधिकारीकै घरमा भएका थिए । अधिकारी भन्छन, ‘अनि मानिसहरुलाई लाग्यो यसले त के के न गर्ने भयो, निशाना शुरु भयो । तथ्यलाई एकातिर मोडेर प्रचार सुरु भयो । पुरै नियोजित तरिकाले ।’ केही समयअघि अधिकारीको नाम विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीसँग पनि जोडियो । एकथरिले विप्लवसँग शत्रुतापूर्ण सम्बन्ध देखाएर आक्रमण गर्ने नियतवश गलत प्रचार गरेको अधिकारीको बुझाई छ । त्यतिखेर राजधानीको एउटा होटलमा ‘क’ वर्गका निर्माण व्यवसायीहरुलाई बोलाएर विप्लव समूहका नेताहरुलाई ईन्काउण्टरमा मार्न शारदा अधिकारीले प्रस्ताव राखेको आशयका समाचार प्रकाशित भएका थिए । ‘विप्लव समूहबाट ममाथि एक्सन लिन उक्साउने आशयले त्यो समाचार प्रकाशित भएको थियो ।’ अधिकारी भन्छन्, ‘तर त्यो सत्य थिएन, गलत थियो र खण्डन भयो पनि ।’ त्यतिखेर एभरेष्ट दैनिकले उक्त पार्टीका प्रवक्ता प्रकाण्डसँग कुरा सोध्दा प्रकाण्डले ‘राज्यसत्तालाई अस्वीकार गरेपनि राष्ट्रिय पूँजिपति र निर्माण व्यवसायीहरुलाई आक्रमण गर्ने पार्टीको कुनै त्यस्तो नीति नरहेको र समाचार नियोजित भएको’ बताएका थिए । यहीबीचमा शारदा अधिकारीको नाम पार्टी एकताका बैठक र नेताहरुसँग जोडियो । शारदा अधिकारीको घरमा एकताको बैठक बसिरहेको बेला ओली र प्रचण्डबीच एउटा बैठक भने एकजना अर्का व्यवसायी दुर्गा प्रसाईंको घरमा बस्यो । दुर्गा प्रसाईंले मिडियामा भने, ‘मेरो घरमा बैठक बसे त्यसले परिणाम ल्याउँछ ।’ कतिपयले शारदा अधिकारी कहाँ हुने बैठकको काउण्टरको रुपमा पनि यो अभिव्यक्तिलाई लिए । यही पृष्ठभूमिमा एकता भयो । शारदा अधिकारी पनि क्रमशः चर्चामा छाउँदै गए । पछिल्लो चरणमा भने उनलाई प्रत्यक्ष उल्लेख गरेर नै समयमा काम नगर्ने ठेकेदार भनेर प्रचार भएको देखिन्छ । अधिकारी भने यो प्रचार नियोजित भएको दावी गर्छन् । ‘मैले एकदिन पनि काम रोकेको छैन । मेरो रकेर्डले त्यो दिँदैन पनि ।’ १२, १३ वर्षमा साना ठूला सय बढी निर्माण परियोजना सम्पन्न गरेका अधिकारी भन्छन, ‘मैले काम नै नगरेको भए यति छोटो समयमा यति धेरै काम पाउने थिएन होला । काम गरेकै कारण प्रगति भएको हो । यही कुरा नपच्नेहरुले मलाई निशाना बनाए ।’ कम नाफा, अधिकतम काम गर्ने शैलीका कारण छोटो समयमा सफलता पाएको उनी तर्क छ । पछिल्लो समयमा भने शारदा अधिकारीको नाम मुख्यतः चारवटा निर्माण परियोजनासँग जोडियो । नगरकोट–भक्तपुर सडकखण्ड, बालाजु–रानीपौवा, बनस्थली सडक परियोजना २ र कलंकी नागढुंग–सडक परियोजना । यी परियोजनामा ढिलासुस्ती भएको र अधिकारीको कम्पनीले लापारवाही गरेको आसयका समाचार चौतर्फी छाएको देखिन्छ । यद्यपी अधिकारीको भने आफ्नै तर्क छ । ‘काम सम्पन्न गर्ने कुरा ठेकेदारको हातमा मात्रै हुने भए..’ अधिकारी भन्छन्, ‘कहिलेकाहिँ त यो पेशा नै किन रोजेको भन्ने हुन्छ ।’ तर, यो उनको पेशा हो र उनले सम्झौता गरेपछि समयमा काम सम्पन्न गर्नैपर्छ । ‘त्यसो भए किन सम्पन्न गरेनन् त उनले समयमा काम ?’ यो प्रश्न शारदासँग नराखि नहुने थियो, “काम नगर्ने अनि मिडियाले समाचार लेख्दैन त ?” शारदाको उत्तर थियो, ‘मेरो कामको अवधि अझै बाँकी नै छ । काम रोकेर बसेको पनि छैन ।’ प्रश्न उठछ– त्यसो भए त्यत्तिकै बिनासित्ती त काम नभएको आरोप लागेको होइन होला नि ? मिडियाले त्यसै लेखेको होइन होला नि ? यो प्रश्नमा शारदा अधिकारीले भने, ‘५ वर्षसम्म साइट पनि नदेखेका कैयन ठेकेदार र निर्माण आयोजनाको कसैले लेखेको छ ? नेपालमा कैयन परियोजना सम्पन्न भएको एक महिना नबित्दै भत्किने गरेका छन्, त्यो कसैले लेख्छ ? कालोपत्रे सुकेको भोलीपल्ट कार्पेट निकालेर रोल बनाएजस्ता कम्पनी र तिनीहरुलाई कुन नेताले कसरी संरक्षण गरेका छन् भन्ने कुरा किन आउँदैन ?’ उनले एकोहोरो प्रश्न गरिरहे । ‘तर त्यसको अर्थ तपाईलाई उन्मुक्ति दिने पनि त होइन नि ? अरुले गल्ती गरे भने तपाईको गल्ती माफ गर्ने ?’ कडा भएर प्रश्न गरियो । शारदा अधिकारी एकछिन बोलेनन् । एकछिनको मौनतापछि उनले भने, ‘भाई एकसयवटा साना ठूला काम गरियो होला, आजसम्म ढिला भएको एउटा पनि परियोजना देख्नुहुन्छ ? सार्क सम्मेलनको पूर्वसन्ध्यामा तीन महिनामा मैले कसैले नचिताएजस्तो त्यति काम गरेको होइन ? १८ घण्टा साइटमा बित्थ्यो मेरो ।’ पुनः प्रश्न– त्यो विगतको कुरा भयो, अहिले काम ठप्प भएको त सत्य हो नि ? ‘मेरा हातमा सबै कुरा हुने भए, मैले अहिलेसम्म काम सकिसक्थे’, आफूले ठेक्का लिएका परियोजनाहरुका बारेमा जानकारी दिँदै अधिकारीले भने, ‘सम्झौता भएको ५ महिनासम्म सर्भे गर्न नसकिएपछि त्यसले ८,९ महिना ढिला हुने कुरा म कसरी रोक्न सक्थेँ ? भुकम्प र नाकाबन्दीले थप ढिला भएको कुरा भन्न नपर्ला ।’ उनी कलंकी–नागढुंगा सडकखण्डको कुरा गर्दै थिए । जहाँ स्थानीयले घर भत्किने डरले ५ महिनासम्म सर्भे गर्न नदिएको र दुईपटक सर्भेको सामग्री नै फुटाएको उनले बताए, ‘अहिलेसम्म पोल हटाइसकेको छैन, खानेपानीका पाइप र ढलको उचित निकासका समस्या जस्ताको तस्तै छ । ‘मुआब्जा दिने, घरबाटो खाली गरिदिने, रुख काटिदिने काम त ठेकेदारले गर्न सक्दैनन नि ?’ सहज हुँदै उनले भने, ‘नुवाकोटको सडक खण्डमा आरक्ष छ । अहिले पनि बनको रुखहरुको विवाद टुंगिएको छैन । ४ किलोमिटरमा रुख काटन, बाटो खोल्न दिइएको छैन । ८ सय मिटर थप खन्न र काम गर्न दिइएको छैन । अनि कसरी काम हुन्छ ?’ तर पनि काम त नभएको हो नि ? तपाईले पनि पहल त गर्न सक्नहुन्थ्यो नि ? राज्यका निकायसम्म तपाईले यसबारेमा कुरा राख्न सक्नुहुन्थ्यो । काम लम्ब्याउँदा तपाईलाई पनि फाइदा होला नि ? शारदा अधिकारी एकछिन मौन बसे फेरी । उनले मलाई सोधे, ‘ठेक्का पाउने, त्यसमा बारम्बार अवरोध हुने । काम सम्पन्न गरे पो फाइदा होला, अर्को काम पाइएला हैन र ? बालाजु रानीपौवामा पोखराबाट सामग्री ल्याउनु परेको छ । २, ३ सय किलोमिटर टाढाबाट सयौं ट्रक ओसारेर निर्माण गर्नुपर्ने बाध्यता कसले बुझ्छ ?’ ‘किन ल्याउनु पर्यो त्यसरी ?’, जिज्ञासा लाग्नु स्वभाविकै थियो । काम गर्नैपर्ने छ, स्थानीयस्तरमा क्रसर काम गर्दैनन् । शुरुमा ठेक्का टेण्डर हाल्दा नजिकै रोडा, बालुवालगायत निर्माण सामग्री पाउने अनुमान सबैको हुन्छ । नगरकोटमा जति प्रयास गर्दा पनि इन्द्रावतीबाट गिट्टी आइदिएन । अनि मकवानपुरबाट मगाइरहेका छौं । यता बालाजु नुवाकोट खण्डका लागि पोखराबाट ल्याउनु परेको छ । सरकारले एकोहोरोरुपमा काम भएन भन्नुभन्दा पनि निर्माण व्यवसायीलाई वातावरण बनाइदिनुपर्नेमा अधिकारीले जोड दिए । ‘कतिपय बेला रकम निकासा हुँदैन, निर्माण सामग्री जुटाउन सकिँदैन । मुआब्जा, जग्गा विवाद, अनि घर भत्काउने काम त ठेकेदारले गर्न सक्दैन नि’ उनले भने । नगरकोट भक्तपुर खण्डमा समेत मकवानपुरबाट २ सय ५० किलोमिटर टाढादेखि सयौं गाडी मालसामान ल्याउन परेको उनले बताए । ‘नारा, जुलुस त सामान्य हो, यतिसम्म कि कतिपय स्थानमा त स्थानीयले घरको ड्रमको पानीसमेत ल्याएर सडकमा पोख्ने काम गरेका छन् ।’ उनले भने, ‘ड्राइभर र कामदार त कति ठाउँमा कुटिए भनिसाध्य छैन । वातावरण नै नभएपछि सोचे अनुसार काम गर्न सकिएन । दोष जति मलाई मात्र ?’ आफूले ठेक्का लिएका यी योजनाहरुमा अवरोध नभएका स्थानमा निर्माण सामग्री उपलब्ध हुन नसक्दा केही ढिलाई भएको स्वीकार्छन् अधिकारी । तर, ‘कामचोर भएको’ तर्क भने उनलाई चरित्रहत्या गर्ने प्रपञ्च लाग्छ । निर्माण व्यवसायीहरुको बीचमा इमान्दारिता र पेशाप्रतिको समर्पणका कारण आफ्नो स्थान भएको उनले बारम्बार तर्क दिए । ‘मलाई बिभिन्न कारण निशाना बनाइयो’, उनले भने, ‘सबै योजनामा मैले झेलेको दुःखको फेहरिस्त सार्वजनिक गरेपनि पूर्वाग्रही मानसिकता परिवर्तन हुँदैन ।’ ‘त्यसो भए गृहमन्त्रीको अभियान गलत हो त ?’ के छ अधिकारीको धारणा ? ‘गृहमन्त्रीले जे गरेका छन्, त्यो सही छ । काम नगर्ने ठेकेदारलाई राज्यले कारवाही गर्नुपर्छ ।’ उनी भन्छन्, ‘समृद्ध र न्यायपूर्ण समाजको सपना मैले पनि देखेर परिवर्तनको आन्दोलनमा समर्थन गर्दै आएको हो । यो अभियान राम्रो हो, तर, सरकारले ठेकेदारलाई काम गर्न सहज वातावरण पनि सँगसँगै बनाईदिनुपर्छ ।’ कतिपय स्थानमा स्थानीयको अवरोध, राज्यले मुआब्जादेखि अन्य कामहरु समयमा नै सुल्झाउन नसकेको, आरक्षको अवरोध, निर्माण सामग्री उपलब्ध गराइदिन क्रसरलगायतका उद्योगहरुका बारेमा स्पष्ट नीतिगत व्यवस्था र समयमा नै रकम निकासा गराइदिएपछि पनि ठेकेदारले तोकिएको समयमा काम गरेनन् भने कालो सूचिमा राख्नुपर्ने धारणा अधिकारी राख्छन् । ‘कपन सडकखण्डको बिल मैले माघमा नै बुझाएको हो । अहिले असार महिनाको पहिलो सातासम्म भुक्तानी छैन । सडकले, अर्थ मन्त्रालयले निकासा दिएको छैन भन्छ, अर्थको आफ्नै बाध्यता र तर्क होला । मारमा त हामी परेका छौं ।’ उनले भने । नगरकोट–बालाजु सडकखण्डमा भने सम्झौता गरिसके पनि ६, ७ महिनासम्म बैंक र आयोजनाका तर्फबाट काम ढिलाई भएको उनले बताए । यो आयोजनामा भारतीय कम्पनी अनिवार्य चाहिले तर, कम्पनीले सहयोग नगर्दा थप ढिला हुन गएको उनको भनाई छ । एक्जिम बैंकहरुबाट ऋण लिएका परियोजनामा ५१ प्रतिशत काम सम्बन्धित देशको निर्माण कम्पनीले गर्नुपर्ने प्रावधानका कारण शुरुमा उक्त प्रोजेक्टमा आफैले सबै काम गर्न नसकेको उनले बताए । ‘एकैपटक भरतपुर–चनौली रोड पनि सम्झौता भएको हो, त्यहाँ कुनै अबरोध आएन र काम समयमै सकियमे । तर, यो समाचार कहीपनि आउँदैन । जबकि, त्यो लटको पहिलो प्रोजेक्ट सक्ने पनि हाम्रै कम्पनी हो ।’ यता कलंकी नागढुंगामा साझेदार कम्पनी, आयोजना र बैकको समस्या समाधान भएपनि सर्भेले फेरी ढिला गरेको उनी बताउँछन् । सर्भे सकेपछि स्थानीयको अबरोध । अहिले पनि ढलको निकास कहाँ गर्ने स्पष्ट छैन, त्यो नहुँदा सम्म मैले चाहेर पनि काम अघि बढन सक्ने अवस्था छैन ।’ यस्तोमा राज्यले पहल नलिने, मलाई एकाहोरो दोष दिएर होला र ?’ ‘एकथरि प्रगति देखेर मेराविरुद्धमा लागेका छन्, कतिपयलाई अध्यक्षलाई निशाना बनाउनु छ ।’ उनी भन्छन, ‘प्रचण्ड मलाई मनपर्ने नेता हुन, देशका लागि चाहिने नेता हुन, मेरो घर खाली थियो, मैले आफ्नो घर भाडा पनि दिन नपाउनु ?’ ‘मेरो घरमा एकतासम्बन्धी बैठकहरु निरन्तर बसेपछि एकथरि मेरो पछि लागे, उनको बुझाई छ’, ‘कहिले विप्लवसँग जोडे, कहिले प्रचण्डसँग । नियत एउटै हो मलाई निशाना बनाउने । अहिले सजिलो भएको छ अध्यक्ष प्रचण्डलाई बदनाम गर्न पनि । मेरो व्यक्तिगत कामसँग अध्यक्ष प्रचण्डलाई घरबेटी भनेर जोड्नु कहाँसम्म जायज हो ?’ नेपालका निर्माण व्यवसायीले क कसका घर बनाइदिएका छन् र क,कसलाई भाडामा दिएका छन् भन्ने कुरा बाहिर ल्याइदिए आफूलाई पनि सहज हुने उनको भनाई छ । ‘अब कहिलेसम्म काम सक्नुहुन्छ त ?’ अन्तिममा आएर मैले सोधेँ । ‘मैले भने नि’, अधिकारीले भने, ‘६० प्रतिशत काम सकिएको छ, राज्यले निर्माण कार्यमा देखिएका समस्या समयमै सुल्झ्याउनु पर्यो, सम्झौता बाँकी रहेको अवधिभन्दा एक दुई महिना अघि नै अबको ९ देखि ११ महिनामा काम सम्पन्न भएन भने बल्ल यो प्रश्न सोध्नु होला ।’ मिडियाले सत्यतथ्य लेखिदिनुपर्ने बताउँदै अधिकारीले बीट मारे– ‘एकचोटी एक, एक घटना केलाएर किन काम भएको रहेनछ भन्ने खोजिदिनुस, दिनरात जुन काम भइरहेको छ, यो प्रत्यक्ष हेरेर बल्ल म ‘कामचोर’ हो कि …के हो ? लेखिदिनुस् ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies