Khabar Dabali Logo
  November 15, Fri

प्रगतिवादी सांस्कृतिक आन्दोलन माकुराको सन्तान जस्तो : आहुति माक्र्सवाद ८ हजार वर्षपछिको पहिलो श्रमिकहरुको शास्त्र :

संस्कृतिको क्षेत्रमा माक्र्सवादीहरुले आफ्नो सापेक्षतामा काम गर्नुपर्ने हुन्छ । जुन समाजको सांस्कृतिक चेतना जहाँपुगेको छ त्यसमा आधारित रहेर रणनीति बनाउने कुरा भयो । त्यसो गर्दा जुन समाज अहिले पनि मुलभूत रुपमै सामन्तवादमा छ, त्यहाँ समाजवादी संस्कृतिलाई एउटा लक्ष्य किटान गरेर जनवादी संस्कृति निमार्ण चाँही मुख्य कार्यनीति बन्छ । त्यस्तो समाज अहिले पनि अफ्रिकाका कयौं मुलुकहरुमा विद्यमान देखिन्छ ।

नेपालको सन्दर्भमा कुरा गर्नुपर्दा नेपाली समाज अहिले आधारभूत रुपमा आर्थिक, राजनैतिक र सांस्कृतिक सहित समग्र समाजव्यवस्थाको कोणबाट हेर्दा नेपाली समाज पुँजीवादी समाज बन्न पुगेको छ । यो कुरा सहि हो की सामन्तवाद संस्कृतिको क्षेत्रमा अहिलेपनि अलि बढि प्रभावशाली छ । तर निर्णायक चाँही संस्कृतिको क्षेत्रमा पनि पुँजीवाद नै छ । अहिले हामीले गर्ने भनेको नेपाली समाजको संस्कृतिलाई समाजवादी संस्कृतिमा रुपान्तरण गर्नको निम्ति सांस्कृतिकआन्दोलनको कोणबाट काम गर्ने हो । राजनैतिक कोणबाट समाजवादी राज्यव्यवस्था निमार्ण गर्ने भन्छौं भने संस्कृतिको कोणबाट चाँही हामीले समाजवादी संस्कृतिको निमार्ण गर्ने र समाजवादी संस्कृति निमार्ण गर्नको निम्ति सांस्कृतिक आन्दोलनलाई अघि बढाउने रणनीतिको हिसावले यो नै मूल कुरा हो ।

अहिलेको पुँजीवाद दलाल पुँजीवाद :

aahuti_khabardabaliनेपाल पुँजीवादी देश भएपनि यहाँ राष्ट्रिय प्रगतिशिल पुँजीवाद हावी छैन । त्यो उत्पिडित अवस्थामा छ । साना साना राष्ट्रिय पुँजीहरु दमित अवस्थामा छन् । मुलभूत रुपमा साम्राज्यवादी वित्तिय पुँजी दलालपुँजीको रुपमा यहाँ हावी छ । यो पुँजीवाद कुनै राष्ट्रिय प्रगतिशिल पुँजीवाद छैन । त्यो दलाल पुँजीवादले नेपालको अर्थतन्त्रको क्षेत्रमा साना पुँजी राष्ट्रिय पुँजीलाई दमन गर्ने वा दलालीकरणकै एउटा अंग बनाउने, नेपालको सम्पूर्ण पुँजी बजार कब्जा गर्ने, नेपालको स्रोत साधनहरु कब्जागर्ने र नेपाली जनतालाई केवल उपभोक्ता र श्रमिकमा परिणत गर्ने, राष्ट्रिय सम्पदाको मालिक होइन की उपभोक्ता र श्रमिकको रुपमा प्रयोग गर्ने काम यसले गरिरहेको छ ।

त्यो अर्थतन्त्रलाई लागु गर्न र दलाल पुँजीवादलाई स्विकार्य बनाउनका निम्ति दलाल पुँजीपतिहरुले आफ्नो विषेशता सुहाउँदो राजनीतिलाई प्रोत्साहित गरिरहेको छ । दलाल पुँजीपतिका प्रतिनीधिहरुलाई उसले नायक बनाउने, त्यस्ता पार्टीहरुलाई अगाडि लान वातावरण बनाउने, अन्तर्राष्ट्रिय समर्थन पनि त्यही ढंगले जुटाउने काम गरिरहेको छ । साथसाथै संस्कृति पनि दलालपुँजी र साम्राज्यवादको त्यो स्वार्थलाई सहयोग हुने किसिमकोे संस्कृतिद्धारा आम मानिसलाई प्रशिक्षित गरिएन भने जनता त्यसको विरुद्ध जान्छ भनेर उनीहरुले हतियारको रुपमा दुईवटा कुरा लिएर आएको छ । एउटा, दार्शनिक चिन्तनका रुपमा उत्तरआधुनिकतावाद र सामाजिक जीवनको चिन्तन र निर्देशकको रुपमा उपभोक्तावादलाई लिएर आएको छ ।

के हो उत्तरआधुनिकतावाद ?
उत्तरआधुनिकतावादले कुनैपनि चिज सत्य होइन भन्नेतिर लगिदिन्छ । उत्तरआधुनिकतावादी धाराले यो भन्दा अगाडिका सम्पूर्ण प्रतिक्रियावादी चिन्तनधाराहरुलाई आफूभित्र समेटेको छ । निराशावाद, अस्तित्ववाद र संरचनावादलगायत जति पनि माक्र्सवाद विरोधी चिन्तनधाराहरु थिए, त्यसलाई उत्तरआधुनिकतावादले आफूभित्र समेट्ने प्रयन्त गरेको छ । त्यसबाट उसले विभिन्न ढंगले प्रहार गरिरहेको छ । उपभोक्तावादले मानिसलाई यसरी प्रशिक्षित गर्दैछ की जीवनको सम्बन्ध चाँही उपभोगसँगमात्रै छ । ‘खाउ, पिउ, मोज गर, भनेर पहिलो जो भनिन्थ्यो, त्यसलाई अझ भव्यतासहित मानिसहरुको जीवनमा प्रवेश गराउँदैछ ।

मान्छेले के का निम्ति काम गर्ने ? भन्दा उपभोग निम्ति कमाउने भन्ने मात्रमा सिमित छ र मान्छे उपभोगको निम्ति जे पनि गर्न तयार छ । बजारमा नयाँ नयाँ समान आई राख्ने, मान्छेको त्यसको पछि दौडिराख्ने । संस्कृतिको क्षेत्रमा उसले त्यहाँबाट आक्रमण गरिरहेको छ ।

यस्तो छ उपभोक्तावादको नयाँ अवतार :
उपभोक्तावादको अहिलेको नयाँ विशेषता के छ भने, सामन्तवादी संस्कृतिहरु जो अहिले अवशेषका रुपमा छन् भने तिनलाई पुँजीवादको डालो भित्र हाली दिने । जस्तो की दाईजो प्रथा । यो प्रथा त विशुद्ध सामन्तवादी प्रथा हो । तर उहिले उपभोक्तावादले के गरिदियो भने दाइजो प्रथासँग लगेर उपभोक्तावाद जोडिदियो । विहे गर्ने केटाले उपभोग्य सामग्री तोकी तोकी माग्ने भयो । पहिला चाँही केटी विहे गरे बापत रितिको रुपमा थियो । अब त्योसँग उपभोक्तावाद लगेर जोडि दियो । त्यसलाई इन्कार गर्नु पर्ने हो नी पुँजीवादले । तर त्यसलाई त झन् नयाँ रोघनसहित, जसले बढि दाइजो दिन सक्यो, त्यसलाई चाँही भव्यतातिर लगिदियो ।

अर्को अहिले साम्राज्यवादको विशेषता के देखिन्छ भने सामन्तवाद अन्र्तगत जनविरोधी चिजहरुलाई त्यसको विरुद्ध जानुपर्ने ठाउँमा त्यसलाई समेत आफ्नो माल बेच्ने हतियार बनाएको छ । यो विकृति जो ल्याइरहेको छ, यसको विरुद्धको वैचारिक, सिर्जनागत र व्यवहारिक तीनवटै संघर्ष अहिलेको नेपालको समाजवादी सांस्कृतिक आन्दोलनको अभिभारा हो । यो उत्तआधुनिकतावादले नेपाली समाजको जनजीवनमा जुन कष्टहरु, असमानताहरु ल्याइरहेको छ र युवापुस्तालाई जुन ढंगले उपभोक्तावादमा लिन गराएर उपभोग गर्ने यन्त्र बनाउने सम्भावनातिर जो लगिरहेको छ त्यो षडयन्त्रको भण्डाफोर गर्न सक्नुप¥यो ।

माक्र्सवाद बुढो भएको छैन :
उहाँहरुले एउटा मूलपद्धति विज्ञानलाई पक्रेर समाजको दिशा भनेको हो । माक्र्सवादको उत्पादकशक्तिहरुको विकासको जो सिद्धान्त छ, त्यो निर्णायक कुरा हो । चुरो कुरा हो । उत्पादक शक्तिहरुको विकासले समाजलाई कहाँ लान्छ त भन्ने कुरामा उहाँहरुले एउटा दिशानिर्देश गरेको कुरा हो । लेनिनले मरानसन्न पुँजीवाद भन्ने शब्दावली प्रयोग गर्नु भयो । हामीले यसलाई कसरी हेर्न जरुरी छ भने, लेनिनले भनेको त्यो कुरालाई १० वर्ष २० वर्ष ३० वर्षमा सबै कुरा निमिट्यान्न हुन्छ भनेर कसैले बुझ्यो भने त त्यो अलि बालापन हुन्छ । लेनिनले भनेको त्यहाँ भन्दा माथि पुँजीवादको विकास हुने ठाउँ चाँही अब करिव करिब छैन । अब चाँही यसले आफूलाई धान्न सक्दैन भनेको हो । अहिले लेनिनको युग अन्त्य भयो की भएन त भनेर हे¥यो भने त्यो वित्तिय युगमा प्रवेश गरेको छ । सञ्चारको असाधारण विकासलाई उसले टिकाउनको निम्ति प्रयोग गरेको छ । तर मूल पक्ष भनेको अहिले पनि साम्राज्यवादी नै छ । त्यसो भएको हुनाले हामी त समग्र शोषणमूलक समाजको समग्र ८ हजार वर्षको इतिहासलाई हेर्नुपर्ने हुन्छ । हामीले पुँजीवादको ४ सय वर्षको इतिहासलाई मात्रै हेरेर हुँदैन । ८ हजार वर्षको इतिहासलाई गाँसेर हेर्ने हो भने, उत्पादकशक्तिहरुको कमजोर विकासका कारणले केही हजार वर्ष दास युग टिक्यो । त्यसपछि उत्पादक शक्तिमा विकास भइसकेपछि सामन्तवाद त्यो भन्दा कम टिक्यो । उत्पादकशक्तिको विकासले हर चिजलाई अहिले जुन द्रुततामा लग्यो, यसले पुँजीवादपनि सामन्तवादको उमेरसम्म बाँच्न सक्दैन । सामन्तवादको भन्दा कम आयु हुने देखिन्छ पुँजीवादको । जस्तो की एकातिर साम्राज्यवादले आफूलाई जोगाउनका निमित्त विकसित सबै हतियार, ज्ञान, चेतना, प्रविधि, सञ्चार सबैलाई प्रयोग गरिरहेको छ । अर्कोतिर फेरि उसले नचाहदा नचाहदै पनि आफ्नो नाफाको निम्ति र राज्यव्यवस्थाको रक्षाको निम्ति विकास गरेको प्रविधि, ज्ञान, चेतना र सञ्चारको जो विकास छ, त्यसको आम विश्वका श्रमजीवी मानिसलाई पनि हिजोको भन्दा उनीहरुलाई शक्तिशाली बनाउँदै लगिरहेको छ ।

पुँजीवाद भित्रै छ समाजवादको भ्रुणः
जस्तो महिलामुक्तिको कुरा गरौं, पुँजीवादले वासिङमेसिङ, आधुनिक चुलोहरु नाफा कमाउन बनाएको हो । नाफा कमाउन त उ सफल भयो तर सँगसँगै उसले महिलाहरुमाथि पुरुषहरुले गर्ने गरेको शोषणका विविध रुपहरुलाई कमजोर पार्न पनि सहयोग ग¥यो । त्यसकारण साम्राज्यवाद सँगसँगै त्यसको गर्भभित्र समाजवाद आइरहेको छ । हिजो उसले पुस्तक पढ्न नदिएर पनि उत्पिडित वर्गलाई तल पारेको थियो । आज उसैले विकास गरेको इन्टरनेटको सुविधाको कारणले गर्दा अब सूचना र पुस्तकबाट श्रमिकवर्गलाई अलग राख्छु भन्न सम्भव नै छैन । हिजो उसले समाचारबाट कैद गथ्र्यो । सत्ताले समाचार लिन्थ्यो र उसले जहाँ चाह्यो त्यहाँ मात्रै भन्थ्यो । तर आज उसैको अन्तरर्गत भएको सूचना र सञ्चारको विकासले यस्तो ठाउँमा पु¥याइदियो की हर मान्छेले आफ्नो विचार बोल्न सक्ने भयो । यही हो समाजवादी भु्रण भनेको ।

हजारौं हजार आंशिक र छिटफुट रुपमा भइरहेका क्रान्तिका प्रकृयाहरु जोडिदै जोडिदै संलेषण हुँदै एउटा विश्व क्रान्ति बन्ने न हो । राष्ट्रिय क्रान्ति पनि त्यही हो । हरेक मान्छेसँगका असन्तुष्टिहरु उनीदै उदिनै गएर एउटा निश्चित संगठनमा फेरिएर र क्रान्ति र विद्रोहमा रुपान्तरण हुने हो । त्यसकारणले माक्र्स एंगेल्सले भनेको जो दिशाको कुरा छ त्यो दिशाबाट समाज अलग ‘ट्रयाक’मा हिँडेको छैन । हामीले केही विकास गर्नु परेकोछ अहिले ।

अतिरिक्त मुल्यको सिद्धान्तको थप परिभाषित आवश्यक :
माक्र्सले पुँजी निमार्णको सन्दर्भमा अतिरिक्त मुल्यको सिद्धान्त जे भन्नुभयो , अहिले केही त्यस्ता क्षेत्रहरु थपिएका छन् जहाँ त्यो नियमलाई जस्ताको तस्तै परम्परागत ढंगले लागु गरेर विश्लेषण गर्न मिल्दैन । जस्तै मनोरञ्जनको क्षेत्र । मनोरञ्जन विजनेस बन्यो । खेल विजनेस बन्यो । अब एउटै खेलाडीले कति श्रम गरेर कमाएको मान्ने ? कसलाई शोषण गरेर कमाएको मान्ने ? त्यसकारण अतिरिक्त मुल्यको सिद्धान्तलाई हामीले आज विकास भएका मनोरञ्जन, सञ्चार लगायतका अतिरिक्त श्रम क्षेत्रहरु कसरी परिभाषित गर्छौं ? भन्ने कुरामा हामीले थप विकास गनु जरुरी छ । तर आधारभूत पक्ष अहिलेपनि अतिरिक्त मुल्यको सिद्धान्तकै आधारमा अघि बढेको छ ।

यस्तो छ, समाजवादी सांस्कृतिक आन्दोलनको विश्व परिवेश :
चिनियाँ क्रान्ति एसियाको क्रान्तिको निम्ति मूल पक्ष थियो । रसियाको क्रान्ति विश्वकै निम्ति धरोहरको रुपमा थियो । तर समाजवादी क्रान्तिहरु जति सम्पन्न भए, तिनीहरु चाँही ९ महिनाको शिशु जस्तो थियो । ९ महिनाको शिशु पूर्ण मान्छे भइसकेँ भनेर उठेर हिड्न खोज्छ । तर उ भित्र हाडको परिपक्क विकास भइसकेको हुँदैन र हिँडाईको सन्तुलनको कलामा पर्याप्त विकास भइसकेको हुँदैन । त्यसको कारण उ पटक पटक लड्छ । अहिलेको समाजवादको हार त्यही ९ महिनाको शिशु उठेर हिड्न खोज्दा पटक पटक लडेको जस्तो मान्छु म । किनकी संसारमा समाजवाद नै थिएन पहिला ।

माक्र्सवाद ८ हजार वर्षपछिको पहिलो श्रमिकहरुको शास्त्र :
आठ हजार वर्षदेखि समाजमा केवल शोषणमूलक समाज छ । वंशाणुगत रुपमा मानिसहरु शोषणमा अभ्यस्त हुँदै आएका छन् । यस्तो समाजमा माक्र्सवादनै एउटा यस्तो दर्शन भयो जसले पहिलो चोटी राजनैतिक आन्दोलनमा दार्शनिक रुपमा समेत प्रतिपक्षता लिएर आयो । माक्र्सवादको जन्म भन्दा पहिले दार्शनिक रुपमा प्रतिपक्षीय भएको राजनैतिक आन्दोलन थिएन । देशभक्तिपूर्ण आन्दोलन, धर्म युद्ध लगायतका सबै सबै युद्धका दार्शनिक मूल्य उही पुरानै थियो । तर दार्शनिक रुपमा समेत फरक दर्शन लिएर जन्मेको माक्र्सवाद मात्र पुगनपुग पौनो २ सय वर्ष भएको छ । एकातिर आठ हजार वर्षको मानव समाजको तहगत संरचना, जातपात, वर्ग, शोषण र उत्पिडनले व्याप्त समाज छ । आठ हजार वर्षदेखि हर मानिस भित्र शोषणकारी प्राणी छ । अर्कोतिर माक्र्सवाद जर्मन विचारधारा भन्ने माक्र्सको लेखबाट भन्ने हो भने १८४५ बाट सुरु हुन्छ । कम्युनिस्ट घोषणा पत्रबाट सुरु गर्दा १८४८ बाट सुरु हुन्छ । १८४८ बाट अहिले पौनो करिव दुई सय वर्ष भयो । पौनो दुई सय वर्षकोबीचमा संसारको दुईतिहाइ भूभागमा यसले एक पटक क्रान्तिको हुरी चलायो र यो ढल्यो । एकातिर आठ हजार वर्ष राख्नुस्, पुँजीवादलाई चारसय वर्ष राख्नुस्, र अर्कोतिर भर्खरको माक्र्सवाद राख्नुस् । यसरी समग्र मानव इतिहासको वर्गसमाज जन्मेपछिको इतिहास मात्रै हेर्नुहुन्छ भने पनि समाजवादी क्रान्तिहरुको लहर जो चल्यो, १९१७ पछि, करिव ५० वर्षजति , त्यो ५० वर्ष भनेको चाँही आठ हजार वर्षको दाँजोमा के हो भन्यो भने त्यो ९ महिनाको शिशु नै हो ।

त्यसकारणले माओले भने जस्तै हार हुन्छ, फेरी जीत हुन्छ र अन्तिममा जित हुन्छ भने जस्तै हो । धेरै वटा उथल पुथल धेरै वटा हारहरुबाट सिङ्गै मानवजातिले शिक्षा लिने प्रकृयामा नगएसम्म हामी स्थायी प्रकृतिको फेरी नफर्किने समाजवादमा, नगिर्ने, नउल्टिने समाजवादमा पुग्दैनौं । यो नियम नै हो । किन भने बेलायतमा राजतन्त्रको अन्त्यपछि फेरी खोजी खोजी राजा लिएर राखेको हो । त्यसले मुख्यतः मान्छेको चेतना गणतन्त्रमा पुगेको छैन रहेछ भन्ने देखाउँछ । अब जतिसुकै जमिन दिन्छु भने अब कोही मोही किसान बन्न तयार हुँदैन । चीनको मान्छेलाई सिंगो चीनको राजा बनाईदिन्छु, तर कार चढ्न पाउँदैन, हात्ती घोडा चढेर हिड्नु पर्छ भन्यो भने चीनको कुनैपनि युवा राजा बन्न तयार हुँदैन । संस्कृति र संस्कार यसरी निमार्ण हुने युगमा पुग्नु पर्ने हुन्छ ।

समाजवादी संस्कृतिको जन्म पुँजीवादी गर्भबाट हुन्छ । पुँजीवाद भित्रपनि खराब चिज मुल पक्ष हुन्छ तर त्यसभित्र आंशिक चिजहरु चाँही मानवलाई चाहिने चिजहरु हुन्छ । त्यो आंशिक चिज नै समाजवादको अंग बन्छ । यो सँगसँगै हुन्छ । नेतृत्व कसको भन्ने मात्रै हुन्छ । अहिले मान्छेको चेतनामा जो दृतता आएको छ, यो दृतताले हामी के भन्न सक्छौं भने हिजोका भन्दा छिटो छिटो समाजवादतिर समाज जान्छ । तर यसले धेरै वटा उथल पुथल, धेरै वटा ऐतिहासिक शिक्षा, धेरै वटा गल्तिहरु दोहो¥याउनु अनिवार्य छ । सामान्तवाद विरुद्ध पुँजीवादले सुरु गरेको लडाईं अझैसम्म पुरा भएको छैन । फ्रान्सको भेनिसबाट सुरु भएको यो यात्रा आज साँडे चार सय वर्ष हुन लागिसक्यो अझै टुङ्गिएको छैन । कतै कतै फेरि सामन्तवाद फर्किन खोजेको छ । भनेपछि हामी त आठ हजारवर्षलाई पल्टाउन खोजिरहेका छौं ।
यसरी प्रवेश गरेको छ माक्र्सवादभित्र पुँजीवाद :
समाजशास्त्रमा राजनीतिमा जे अन्तरविरोध हुन्छ साहित्यमा पनि त्यो आईनै हाल्छ । यसलाई हामीले राजनीतिको वर्गसंघर्षमा देखा परेको वा विचारधाराको संघर्षमा देखा परेको संघर्षबाट पैदा भएको अनिवार्य परिणामका रुपमा बुझ्नु पर्दछ । नेपालमा एकथरी सर्जकहरु आफूलाई कस्तो माक्र्सवादी भन्छन् भने वर्गसंघर्ष नमान्ने, तर आफूलाई प्रगतिवादी भन्ठान्ने एक थरी छन् । अर्को थरि छन्, वर्गसंघर्षपनि मान्ने, माक्र्सवादको सिद्धान्तपनि मान्ने तर माक्र्सवादका आधारभूत सिद्धान्त नमान्ने तर आफूलाई जतिमान्दा आफू माक्र्सवादी भन्न पाइन्छ त्यति मान्ने त्यस्ता छन् ।

माक्र्सवादले भनेको राज्यसत्ताका निमित्व अनिवार्य बलप्रयोगको सिद्धान्त त्यसलाई बाध्यात्मक भनिन्छ त्यो चाँही नमान्ने । सर्वहारा अधिनायकत्व राज्यको विलोपिकरणको निमित्व अनिवार्य छ भनिन्छ त्यो चाँही नमान्ने । यसको सट्टा पुँजीवादले भनेको बहुलवाद चाँही मान्ने अथवा बहुलवाद पनि माक्र्सवाद नै हो भन्ने । यसो भएपछि उहाँहरुको लेखन बढिमा आलोचनात्मक यथार्थवाद भन्दा माथि उठ्नै नसक्ने देखिन्छ ।

तेस्रो खालका कस्ता छन् भने माक्र्सवादको आधारभूत सिद्धान्त चाँही दोहो¥याइ राख्ने, नेपाली समाजको सिर्जनात्मकतामा कसरी प्रयोग गर्ने भन्नेतिर जान चाँही पट्क्कै नचाहने । केही समय अघिदेखि जो पहिचानको कुरा आयो यसलाई चाँही पहिचान भनेको विलकुल पहिचान विरोधी कुरा हो भन्न देख्ने । कहाँ माक्र्सले भनेको छ भनेर भन्ने । नेपाली समाजमा माक्र्सवादलाई लागु गर्ने सवालमा सिर्जनात्मक ढंगले यहाँको विशेषता अनुसार लागु गर्नुपर्छ भन्ने कुरालाई नपक्रने बरु माक्र्सवादलाई धर्मशास्त्रको ढंगले रटिराख्ने प्रवृतिसँग यो सम्बन्धित छ । त्यस बाहेक क्रान्तिकारी प्रवृति भनेको माक्र्सवादको आधारभूत सत्यलाई पनि पक्रने र नेपाली समाजको विशेषतालाई पनि पक्रने र त्यो माक्र्सवादलाई चाँही नेपाली समाजको विशेषता र त्यसको चरित्र अनुसार माक्र्सवादी ढंगले त्यसलाई रुपान्तरण गर्न आफ्नो सिर्जना लाने । यो प्रवृति नै अहिलेको प्रगतिवादी मूल प्रवृति हो । यसो हुनु नेपालमा चलेको बैचारिक वहस र वर्ग संघर्षको अनिवार्य परिणाम हो ।

हामी माकुराका सन्तान जस्ता :
नेपालको प्रगतिवादी सांस्कृतिक आन्दोलन माकुराको सन्तानको प्रवृतिसँग सम्बन्धि छ । किनकी माकुराले आफ्नै आमा खाएर जिन्दगी सुरु गर्छ । हाम्रो अलिअलि त्यस्तो भयो । म विम्बका रुपमा केही मानकहरु प्रस्तुत गर्न चाहान्छु । विश्वमै जसलाई विभिन्न क्षेत्रका मानक मानिन्छ, तिनीहरुपनि आफ्नो जिवन्त हराभरा जिन्दगीमा कमिकमजोरी सहित थिए भन्ने कुरा हामीले याद गर्नुपर्छ । जसले त्यो क्षेत्रमा महानतम् योगदान पनि गरेर इतिहासको निम्ति मानक बने, तर उनीहरु जुन समयमा बाँचीरहेका थिए त्यसबेला उनीहरु प्रशस्त कमिकमजोरी सहित थिए । यो चिजबाट अलग गरेर नेपाली समाजलाई हेर्न मिल्दैन ।

गोकुल जोशीलाई तपाई के भन्नुहुन्छ ? गोकुल जोशी पुरै समाजसँग सबै सन्दर्भमा विद्रोही हुनुहुन्थ्यो । उहाँले प्रगतिशिल ढंगले नेपालको लोक जीवनलाई गीतमा व्यक्त गर्नुभयो । यायावर जीवन विताउँदै कवितामा त्यो चेतना व्यक्त गर्नुभयो । कुनै निजी लोभ लालच नराखी त्यस बेलामा ठूला ठूला सामन्तहरुलाई हकार्ने चरित्रका हुनुहुन्थ्यो । मेरो बिचारमा गोकुल जोशी नेपालको प्रगतिवादी सांस्कृतिक आन्दोलनको एक जना मानक हो । कसैले छेक्न नसक्ने मानक हो ।

त्यस्तै अर्का व्यक्ति श्यामप्रसाद शर्मा । उहाँपछि मानक हो । जसले जीवनमा कहिले पनि नीजि सम्पति आर्जन गरेन । त्यस्तै केवल पुरे किसान । रुपचन्द्र विस्ट यी सबै मानकहरु हुन् । यस्ता व्यक्तिहरु दुईतिन दर्जन भेट्न सकिन्छ । एउटा मात्रै विलक्षण प्रकृतिको खोज्नु भयो भने नपाउन पनि सकिन्छ । नहुनपनि सक्छ ।

गोर्की भनेको सर्वहारा साहित्यको जग राख्ने मान्छे हुन् । त्यो एउटा असाधारण चरित्रमा पर्छ । असाधारण चरित्र सबैतिर खोज्न थाल्दा सबैतिर नपाईन सक्छ । नेपाल छाडिदिऊँ भारतको कुरा गरौं न । प्रगतिवादी मानक खोज्नुस् त त्यहाँ, कति जना छन् ? त्यसैले व्यक्तिबाट ‘हल’ हुँदैन । एउटा समूह तयार पार्नु पर्ने हुन्छ । त्यस्तै नेपालमा पनि एउटा समूह, पुस्ता नै भेट्न सक्नु हुन्छ तर व्यक्तिका रुपमा महामानवका रुपमा छैन ।

लुसुन, चिनियाँ समाजको सन्दर्भमा असाधारण चरित्र भयो । तर कोरियामा कहाँ त्यस्तो भेटिन्छ त ? भियतनाममा कहाँ भेटिन्छ र । सरदर मात्रै भेटिन्छ । नेपाली समाजमा पारिजातलाई लिन सकिन्छ । जो चाँही प्रतिक्रियावादी खेमामा हुँदा चर्चित हुनुभयो, रोगका दृष्टिलेपनि त्यो हालतमा हुनुहुन्थ्यो । तर नेपाली समाजमा निडर भएर पञ्यायत कालमा पनि दृढतापूर्वक उभिनु भयो । त्यहाँ भन्दा बढि मानक त के खोज्ने ? नेपाली समाजमा हामीले पाएको चाँही धेरै नै जिवन्त पात्रहरु हो । तिनीहरुको पनि सांस्कृतिक योगदानले नेपाली समाज यहाँसम्म आईपुग्यो । तर त्यसलाई हामी नयाँ पुस्ताका साथीहरुले माकुराको सन्तानको प्रवृति त देखाएनौं ? यसमा सचेत हुनु पर्दछ । उहाँहरुलाई हामीले ठिक ढंगले स्थापित गर्न सकिरहेका छैनौं ।

यी हुन् नयाँ पुस्ताले पढ्नुपर्ने विषय :
अन्तिममा सर्जकहरु गाँठो पर्ने भनेको दर्शन, विचार र राजनीति मै हो । रचना गर्दै गयो अन्तिममा उ अड्किने दर्शनको गहिराईमा पुगेर हो । दर्शनको गहिराईमा पुग्यो की पुगेन ? विचारधाराका हरपक्षमा उ पुग्यो की पुगेन ? वर्गसंघर्षको राजनीतिको गहिराईपूर्वक अध्ययन गर्न उसले सिक्यो की सिकेन ? यो चीजले नै एउटा सर्जकलाई कति वर्षसम्म लान्छ भन्ने कुराको गहिरो अर्थ राख्छ । अहिलेका नयाँपुस्ताले माक्र्सवादका तीन संघटक अंग (दर्शनशास्त्र, अर्थशास्त्र र वैज्ञानिक समाजवाद) को आधारभूत ज्ञान र त्यो ज्ञानको आधारमा आफ्नो मनको निर्णय गर्न सक्ने क्षमताको स्तरमा आफूलाई डुबाउँनै पर्छ । अनि त्यसको साथमा नेपाली समाजको अध्ययनलाई त्यसमा जोड्न जरुरी छ । ‘रेडिमेड’ पुस्तकहरु पढ्ने, नेपाली समाज चाँही कम पढ्ने र आफ्नो जीवनको अनुभूति, आफूले जति देखेको छ त्यतिलाई मात्रै विषय बनाउने जो चलन चलेको छ । त्यसको सट्टा माक्र्सवादले भने अनुसार तीन संघठक अंगको आधारभूत ज्ञान कमसेकम त्यसको पद्धति विज्ञानद्धारा सोंच्न सक्ने स्तरमा आफूलाई लानैपर्छ ।

समाजवादी सिर्जनकर्मीहरुका पाँच दायित्व :
पहिलो – साम्राज्यवाद, दलालपुँजीवाद, उपभोक्तावाद, उत्तरआधुनिकतावादको दार्शनिक श्रृङ्खलाले नेपाली समाजलाई जुन ढंगले शोषण उत्पिडन विविध आयामले गरिरहेको छ, नयाँ प्रकारको गरिवी, नयाँ प्रकारको वर्गीय खाडल, नयाँ खालको उत्पिडन र लुट जो मच्चाइरहेको छ त्यसको भण्डाफोर गर्नु, त्यो कुरा जनतालाई देखाइदिनु समाजवादी सांस्कृतिक आन्दोलन र समाजवादी सांस्कृतिक सिर्जनाको मुल काम हो ।

दोस्रो- नेपाली समाजमा अहिले पनि सामन्तवादका काफि अवशेषहरु विविध क्षेत्रमा बाँकी छन् । त्यो सामन्तवादी अवशेषका विरुद्धमा जनतालाई अपिल गर्नु त्यो चेतनालाई परिवर्तन गरेर कमसेकम प्रगतिशिल पुँजीवादी चेतनामा ल्याउन मेहनत गर्न सिर्जनाहरुलाई केन्द्रित गर्नु यो दोस्रो अभिभारा हो ।

तेस्रो- नेपाली समाजमा एक जाति, एक भाषा, एक संस्कृतिको दुईतिन सय वर्षको नीतिले नेपालमा रहेका उत्पिडित, जाति, उत्पिडित भाषा, उत्पिडित संस्कृति, उत्पिडित लिङ्ग उनीहरुमाथि जुन स्तरको उत्पिडन भएको छ, त्यसले नेपाली समाजलाई टुक्रा टुक्रा पारिदिएको छ । जबरजस्ती एकता बनाएको जस्तो देखिन्छ तर त्यसले काम चलेको छैन । त्यसकारणले आन्तरिक राष्ट्रियतालाई मजबुत पार्नका निम्ति नेपाली समाजमा रहेका सबै उत्पिडित समुदाय वर्ग, लिङ्ग, जाति, भाषा, संस्कृतिलाई उनीहरुलाई अधिकार सम्पन्न बनाएर राष्ट्रलाई नै एकढिक्का नपारेसम्म हामी दलालपुँजीवाद र साम्राज्यवादसँग लड्न सक्दैनौं । त्यसकारणले पहिचानको मुद्धा भन्नुस् वा भाषा,संस्कृतिको मुद्धा, दलितको मुद्धा भन्नुस् वा मधेसको मुद्धा भन्नुुस् यो सबै सबै मुद्धा राष्ट्रलाई पुर्नएकीकरण र राष्ट्रलाई एक ढिक्का पार्नका निम्ति हो । यसमा सिर्जनकर्मीहरु लाग्नु पर्छ ।

चौथो- केही सय वर्षको नेपाली समाजको खास जाति, खास भाषा, खास संस्कृतिको उत्पिडनले यहाँको सौन्दर्य मूल्य र सौन्दर्य दृष्टि नै विकृत बन्न पुगेको छ । के सुन्दर र के कुरुप भन्ने नै गलत बन्न पुगेको छ । त्यसकारणले अबको सांस्कृतिक आन्दोलनले यो अभिभारा पुरा गर्नु प¥यो की नेपाली राम्रो भनेको के हो ? नेपालको सौन्दर्यमूल्य कस्तो हो ? नेपालको सौन्दर्य दृष्टि कस्तो हो ? यो विविधता जो छ त्यस भित्रबाट नेपालको सौन्दर्य मूल्य र सौन्दर्य दृष्टिको पुर्नपरिभाषित गरेर सिर्जनामा प्रयोग गर्नुछ । तब मात्रै नेपाली मौलिकपन देखापर्छ । नत्र भने विदेश जानु हुन्छ भने अलिकति कालो रंगको हुनुहुन्छ भने ब्चभ थयग क्ष्लमष्बल रु भनेर सोधिहाल्छ । विदेशीहरुलाई यस्तो प¥यो की नेपाली भनेको चाँही कालो नै हुँदैन । नेपाली भनेको गहुँगोरो खालको हुन्छ भन्ने प¥यो । भनेपछि यहाँ रंगशास्त्रमा पनि राजनीति भयो । नेपाल विविधताले भरिएको देश हो । बहुसामुदायिक, बहुआयामिक र बंशाणुगत रुपले समेत बहुसभ्यताको मिलन भएको संगमस्थल हो । यस्तो परिचय बन्न सक्छ ? सक्नु प¥यो नी । त्यो परिचय बनाउन पनि समाजवादी सांस्कृतिक आन्दोलनको मुख्य अभिभारा भित्र पर्छ ।

पाँचौं- मानव समाजमा हुने सबै प्रकारका शोषण उत्पिडनका विरुद्ध र मानवजातिलाई समाजवादतिर लगेर मात्रै र समाजवादी व्यवस्था हुँदै वर्गलाई नै अन्त्य गर्नेतिर गएर मात्रै सम्पूर्ण मानवजातिको मुक्ति सम्भव छ भन्ने समाजवादी लक्ष्यतिर आकर्षित गर्नु, त्यता पट्टी प्रशिक्षित गर्नु र पुँजीवादप्रति घृणा उब्जाउनु यो नै समाजवादी सांस्कृतिक सिर्जनकर्मको पाँचौं कार्यभार हो ।

प्रस्तुति ः राजु स्याङ्तान

जेठ ८ गते, २०७३ - १४:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले मातहतका...   
पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

काठमाडौं । एक्कासी आफ्ना सचिवालय तथा सल्लाहाकारहरुका राजिनामा गराएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष...   

नृशंश हत्याका आरोपि आलम पक्षको अर्को धन्दा :पिडितलाई प्रभाव पार्दै बयान फेर्दै !

रौतहट । रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डका मुख्य आरोपी कांग्रेसका नेता मोहम्मद अफताव आलमपक्षले...   
प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

काठमाडौं । संविधानको धारा ३७० खारेज गरेर जम्मु र कश्मीरलाई केन्द्रशासित क्षेत्र बनाएको भारतले गतसाता...   
सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

काठमाडौं। नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सेनाले पेट्रोल पम्प खोल्दै पेट्रोल बेच्दै बस्ने...   
बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

काठमाडौं । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय...   

लागुऔषधसहित तीन युवक पक्राउ

काठमाडौं । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधसहित सिरहाको...   
प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

काठमाडौं । आइतवार करीब दुई घण्टा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच प्रधानमन्त्री...   

उपनिर्बाचनका लागी उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामवली आज प्रकाशन गर्ने तयारी गरेको छ।...   

पूर्व सभामुख महराले लिने भए यस्तो बाटो –के गर्ला उच्च अदालतले ?

काठमाडौं । पूर्वसभामूख कृष्णबहादुर महरा अदालको आदेशको विरुद्धमा उच्च अदालत जाने भएका छन्। संसद सचिवालयकी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top