Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

छोरीकी आमालाई प्रेमपत्र

\"dipshikha_article\"यो के लेख्दैछु – म जान्दिनँ । तिमी प्रेमपत्र भन्न सक्छौ । छोडपत्र पनि हो यो । सक्यौ भने साँचिराख । मैले भुलिनँ भने यो प्रेमपत्र हो । भुलें भने यो छोडपत्र हो । तिमी मलाई भुल, र पनि प्रेमपत्र हो । तिमी मलाई नभुँल, र पनि छोडपत्र हो । लेख्दैछु । लेखेको प्रेमपत्र हो । मनमा ‘भुल्ने’ कुनै भुल छैन । म कहाँ पुग्छु र कहाँ टुङ्गिन्छु ? थाहा छैन र भुल्ने कुरा लेखें । थाहा भए लेख्दिनथें । कति धेरै । तिमी कसरी सहन्छौ ? मलाई थाहा छैन । म सहेरै निस्केको हुँ । मलाई लाग्छ –अब तिमीसँग सहनुको अर्को बाटो छैन । सायद रोइरोइ सहन्छौ । छोरीको कपाल आमाले ल्याइदिएको तोरीको तेलले चिल्लिदैंन, तिम्रा आँसुका ढिक्काले चिल्लिने छन्, प्रत्येक दिन । तिमी छोरी हिँडेको परपरसम्म टहल्किएको आँशु देख्ने छौ र त्यो हेर्दै सम्हाल्नेछौ आफैंलाई । छोरीका दुइ चुल्ठीमा तिम्रा आँसुको सिमा बाँधिने छन् र उसले साँच्ने छे । ती आँसु म फर्कदासम्म साँचिएछन् भने पनि यो पहिलो प्रेमपत्र हो । पहिलो भनें । यसअघि लेखेको मलाई हेक्का छैन । यो पत्र पढिसक्दा तिमी यति धेरै विपत्तिमा हुनेछौ – जसलाई सहन सायदै सक्छौ होला । तिम्रो हातमा मेरो पहिलो प्रेमपत्र हुनेछ – तिमीले अथाह प्रेम गर्ने म हुने छैन । मैले पहिलोचोटी अथाह माया लेखेका अमूल्य अक्षर पढिरहेकी हुनेछौ – तर म कहाँ छु थाहा हुनेछैन । पत्र हातमा बोकेर रोइरहँदा छोरी उठ्नेछे र सोध्नेछे – तिमीसँग छोरीलाई दिने जवाफ हुने छैन । अँ, हिँड्नुअघि तिम्रो निर्दोष मुहार निकैबेर हेरेथें । हिजो साँझ मात्रै भनिथ्यौ – कति धेरै माया गर्नुहुन्छ । अथाहा माया गर्छु । म सँग मायालाई व्यक्त गर्ने शब्द छैन । छोरीले भनेकी ख्याल छ होला तिमीलाई – ‘बाबाले मामुलाई तीन किलो माया गर्नुहुन्छ’ । तिमीले ख्याल गर्र्यौकी गरिनौ ? मैले मुन्टो हल्लाइनँ । किनभने म असरल्ल माया गर्छु – जसको कुनै सिमा नहोस् । छोरीमा बालापन छ र भनि । ममा तिम्रो बारेमा छोरीमा भन्दा बढी बालापन छ र भन्न सकिनँ । नत्र वैज्ञानिकहरुले बनाएका अंकहरुको सिमा निखारेर भन्थें । हेरिबसें । तिमीले थाहा पाइनौ । एकढिक्का आँसु चुहिएको थियो तिम्रो आँखामा । हो त्यहि हो मेरो माया । पहिलोचोटी तिम्रो निधारमा मुइ खाए । तिमीले त्यो पनि थाहा पाइनौ । तिमीले होइन, मैले थाहा दिइनँ । छोरीलाई तिमीबाट छुटाएर निकैबेर मेरो काखमा च्यापेको थिएँ । उसका चुल्ठीमा मैले पनि आँसु झारेको छु । तिमी अब झार्छौ । तिम्रो र मेरो आँसुलाई उसका चुल्ठीले प्रेम सम्झेर साँच्छ सायद र जीवनमा मायाका बोध गराउँछ । उसका दुई चुल्ठी हेर्नु – म देखिन्छु कि भनेर । उसका दुई चुल्ठीमा मायाको बलिन्धारा आँसु चुहाएको छु मैले । अँ, सर्वत्र माया गरेको छु हिँड्ने बेलामा । तिमीलाई त्यो पनि थाहा दिइनँ मैले । मलाई थाहा थियो, तिमीलाई जति माया गरेपनि यो रात तिमी थाहा पाउँदिनौं । चोकबाट तिम्रो मकै पोल्ने गाडा नगरपालिकाका लाठेहरुले बागमतिसम्म लखेटेका थिए । तिमी भागेकी थियौ । एउटा हातमा छोरी बोकेर अर्को हातले गाढा ठेलेकी देखेको थिएँ । जाउँ लाग्याथ्यो–गइनँ । रोऊँ लागेको थियो – रोइनँ । निकैबेर, निकैपरसम्म तिम्रा दुख हेरें । तिमी निकै घण्टापछि फर्किंदा छोरी गाडामाथि थिई । म बिच बाटोमा थिएँ । तिमी र छोरीको आँखामा आँसु देखेपछि रोऊँ लाग्यो – रोएँ एक्लै । छोरीको आँसु मकै पोल्दा निस्केको धुँवाले निस्क्यो होला । तिमीलाई दुखले आँखाको डिलतिर हुत्याएका ढिक्काहरुमा धुँवाको साथले रुवायो होला । म, तिमी र छोरी हेरेर बेसमारी रोएको थिएँ । र त्यही दोबाटोमा उभिएर जिन्दगीको यो फैसला लिएँ एक्लै । तिमी लखतरान परेकी थियौ । थाहा पाइनौ । मकै पोल्दा डढेका तिम्रा औंलाहरु सुम्सुम्याएर सुकसुकाए निकैबेर । आगोको लप्काले बुथुरिएको कपाल सहलाएँ । लाग्यो होला तिमीलाई – ‘म, छोरी र बाबालाई अंगालेर निदाउने मान्छे’ । हो अंगालेकी थियौ । मलाई पनि र छोरीलाई पनि । ओडेको बर्को मिलाउने निहुँमा म निस्किएँ । होइन, निस्किएको छैन । तिमीले नभेट्ने गरी कसिएको हुँ । तिमीलाई निस्कियो लाग्छ । म सँगै छु । यादहरु छन् । आँखामा तिमी र छोरी बोकेर एयरपोर्टको टर्मिनलमा टुसुक्क बसेको छु । उसैगरी तिमी र म भेट्दा यसैगरी बारीको डिलमा टुसुक्क बसेको थिएँ । तिमी दुश्मनको खबर बोकेर आएकी थियौ । उ बेला जस्तै मनको भित्रि कुनामा अलिकति डर छ । उ बेला दुश्मन आउँछ कि जस्तै यो बेला तिमी आइपुग्छ्यौ कि भन्ने डर । एकैछिनमा छोरीले ठेलागाढामाथि बसेर देखाउने चिलगाडी चढ्नुछ । अरबको खाडिमा कता झार्र्छन्–झर्नुछ । कहाँ लान्छन् – जानुछ । र जिन्दगीको नयाँ भारी बोक्नुछ । आमा भन्थिन् – कोही जानु नपरेको जनयुद्धमा तैं पुड्केलाई जानुपर्नी । म खिस्स हाँसेर भन्थेँ – म नगई अरु किन जान्छन् र ? आमालाई लाग्थ्यो होला– ‘यो मोरोसँग सकिँदैन’ । मलाई लाग्थ्यो – ‘आमासँग सकिँदैन’ । म जस्तै जिद्दीको तिमी छौ लाग्थ्यो । म तिमीजस्तो होइन रहेछु । तिम्रा बा’ले भनेको कतिको ख्याल छ तिमीलाई ? – ‘कामीको छोरोसँग जीवन कसरी जिउँछेस् ?’ तिमीले बा’लाई सम्झाएको ख्याल छ मलाई– ‘बा, जीवन जातसँग होइन, कर्मसँग जोडिन्छ’ । बा’ले ‘म भन्दा छोरी जान्ने भइछे’ भन्दै कोठाको ढोकाबाट निस्केको याद छ । तिमी यस्ता कुरा भुल्नुपर्छ भन्थ्यौ – मैले सकिनँ । तिमी जिन्दगीसँग यति धेरै जुध्न सक्छौ की म नसक्ने रहेछु । मसँग तिमीसँग जति जुध्ने क्षमता छैन होला सायद । छ जस्तो लाग्थ्यो । होइन रहेछ । आपतहरु सँगसँगै जुध्ने बाचा थियो । म अहिले आपतहरुलाई एक्ल्याइरहेको छु । सक्छ्यौ, माफ गर ! तिमी तिम्रा आपतहरुसँग, म मेरा आपतहरुसँग । लेख्न मन छ । बेस्सरी । लेखिरहुँ लागेको छ । यो पहिलो प्रेमपत्र । मैले लेखेको थिइनँ । त्यत्रो समय, तिमी जनसेनाको पश्चिम कमाण्डमा गयौ र पनि मैले ‘सम्झेको छु’ भनेर लेखिनँ । मलाई लेख्न आएन । तिमी लेख्थ्यौ । तिमीले लेखेका प्रत्येक पत्र बोकेको छु, साथै । तिम्रा पत्रहरुमा उतिबेला पनि साथ हुन्थे । हिम्मत भरिएर म उसै मोर्चाहरुमा हाम फाल्थें । ति बोकेको छु । खाडीमा पसिना बगाउँदा पढ्न पाइयोस् । तिम्रा मसिना अक्षरहरुको लयमा हिँड्न पाइयोस् । उसैपनि जीवनलाई मसिन्याउनु छ । तिमीलाई नलागोस् – जिन्दगीसँग हारेछ । होइन, म जित्न खोज्दैछु । सारा जिन्दगी जित्न । पहिले लडियो । यसैगरी जिन्दगीहरु नहारुन् भनेर । त्यो लडाई व्यर्थ थिएन – म अहिले पनि गर्व गर्छु । हामीले तिमीहामी जस्तैका जिन्दगी फेर्न लडेका थियौं । सकेनाैं र फेरिएन । तिमी ठान्दिहोउ – ज्यामी काम गरेर पनि जीवन धानिन्थ्यो । धानिन्छ । गरेको हुँ । काम गर्न भन्दा बचन खप्न गाह्रो भयो । ‘हेर, केके न ल्याउँछु भनेर लड्ने ‘डाँग्रो’ ज्यामी काममै फर्केछ’ भने । मलाई यो बचन सबभन्दा बढी बिज्यो । हुन त बसीबसी खाने व्यवस्था ल्याउन लडेका होइनौं भन्ने थाहा थियो । यो समाजले नबुझेपछि कसको के लाग्छ ? मनको चोट ठूलो हुने रहेछ । तिमीलाई के लाग्छ ? कसैले चाहेन र फेरिएन भन्ने लाग्छ भने म सहमत छैन । फेर्नै लडेका हौं – सकेनौं । हाम्रा छोरीहरुले लड्लान् र फेर्लान् । उनले नि नसके अरुले लड्छ । लड्नुको अर्थ हतियार सम्झेको छैन मैले । तिनका रुप फेरिएलान् । तर जिन्दगी फेर्न लडाईं हुन्छ र जिन्दगी फेरिन्छ । बा लाई केही नभन्नु । मलाई थाहा छ – तिमी भन्दिनौ । मैले छोएको पानी नचलेको दिन तिमीले आमाले पठाएर बा’ले दिएको १ माना घिउ फिर्ता गरेकी थियौ । तिम्रा बा तिमीलाई देखेर आँसु झार्दै निस्केका थिए । मलाई लाग्दैन – बा’ले नबुझेका हुन् । मलाई लाग्छ– हामीले समाज फेर्न नसकेका हौं । तिमीलाई मैले धोका दियो लाग्यो होला । नठान । आमाले दुख पाइस् भनेर बा’ले किन्दिएका तिलहरी पठाएकी थिइन् । त्यही बेचेर विदेशिने खर्च जुटाएँ । अलिकति बचेको छोरीको ब्यागमा राखिदिएको छु । तिमीलाई भनेर किन दुखाऊँ लाग्यो र भनिनँ  । अँ, फोटो बोकेको छु । तिमी र म बन्दुक साटेर विवाह बन्धनमा बाधिँदै गरेको फोटो । त्यो हेर्नुछ र अन्जान बाटो हिँड्नुछ । अस्ती सुटुक्क धुलाएर ३ प्रति थपेको थिएँ । एकप्रति छोरीको ब्यागमा राखिदिएको छु – उनका मास्टरहरुले हेरुन् र केही सम्झुन् । कसै न कसैले देशको लागि लडेको योद्धाकी छोरी भन्ला र दया गर्ला । एकप्रति तिम्रा बा’लाई पठाइदिनु । मेरी आमाले माग्दै थिइन् – उनलाई पनि दिनु । उनीहरु हेरुन् । धिक्कारुन् या गर्व गरुन् । ति उनका खुश भए । तिम्रा बा’का सन्ततीहरु बुझ्ने भए भने त्यो फोटो हेरेर समाज विज्ञान पढ्न पाउलान् । यो पत्र तिम्रो हात पर्ला या नपर्ला । विचार गरेको छु – अघिदेखि मलाई हेरिरहेका एक भारी बोक्ने मजदुर छन् । ति कता पुग्छन् र फेरी मेरो नजिकै आएर मलाई हेरिहन्छन् । मेरा आँखामा उनको अन्दाजाले के भेट्यो ? उनै जानुन् । उनैलाई छोड्छु । उनले पढे भने पक्कै तिम्रो हात पार्लान् । अर्को कुराः तिमीलाई कसैले सोध्ला– ‘लडेर के पायौ ?’ पाउन लडेका थिएनौं भन्छौ तिमी त । उनीहरुलाई राम्रोसँग सम्झाउनु । अहिलेको राजनीतिक परिवर्तन हामीले लडेर आएको हो । नीजि जीवन के कति के भयो हिसाब हुन्न भन्नु । सडकमा निस्किनुपर्र्यो भने पार्टीकाले खोज्लान् – ‘कहाँ गयो ?’ ‘म छु भन्नु’ । उता कता पुग्ने हो थाहा छैन । बाँचे र पाएँ भने म अब तिमीलाई अनगिन्ती प्रेमपत्र लेख्छु । ति पत्र हेरेर अरुहरुले युद्ध र प्रेमको परिभाषा गरुन् । अँ, तिमीले हिजो साँझ सोधेकी थियौ– ‘छोरीको स्कुल ड्रेस किन्ने कि गाढाको टायर फेर्ने ?’ ‘तिमी गाढाको टायर फेर !’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies