Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

पौराणिक साँखु सहरको हृदयविदारक अवस्था

  राजमती कुमती जिके वःसा पीरति हाय् बाबा, राजमती चा... हाय् बाबा, राजमती चा.... राजमती मबिल, धःसा काशी बने त्यल बाबा, हाय् ब्यु राजमती चा.... अघिपछिका दिन मध्याह्नतिर राजधानीको उत्तरपूर्वी साँखुबजार पुग्दा घरघर, टोलटोल सबैतिर नेपाल भाषाका यस्तैयस्तै सुमधुर लोकगीत घन्किरहेको सुन्न पाइन्थ्यो । एकाबिहानै या साँझपख साँखु पुगियो भने परम्परागत नेवारी पोशाकमा सजिएका महिला–पुरुष धिमे, ढोलक, झ्याम्टा र बाँसुरी बजाउँदै मठमन्दिरको परिक्रमा गरिरहेका भेटिन्थे । तर, पंक्तिकार बिहीबार अपराह्न साँखु पुग्दा भने बिल्कुल फरक थियो, त्यहाँको परिदृश्य । शनिबार दिउँसो आएको विनाशकारी महाभूकम्पमा परी खण्डहरमा परिणत भएको थियो ऐतिहासिक साँखुनगरी । उज्याला, हँसिला र रसिला साँखुवासीमध्येका कतिपयले सुन्दर साँखुनगरी मात्र होइन, धर्तीलाई नै छाडिसकेका थिए । बाँचेकाहरू पनि अकल्पनीय पीडा, शोक र त्रासमा डुबेका थिए । एकातिर प्रिय आफन्तजन गुमाउनु पर्दाको असह्य बेदना अनि अर्कातिर अधिकांश घरबस्ती भत्केर बेघरबार बन्न पुग्नुको पीडाका साथसाथै शनिबार यता दिनहुँ दर्जनौ पटक दोहोरिँदै लगातार आइरहेका ‘पराकम्प’ का झड्काहरू समेतको त्रासका कारण साँखुवासीहरूमा छाएको स्तब्धता साह्रै दर्दनाक र अत्यन्तै कहालीलाग्दो स्थितिमा थियो । ‘स्वस्थानी ब्रतकथा’ को उत्कर्ष खण्डमा वर्णित ‘गोमा ब्राह्मणी’ र ‘नवराज ब्राह्मण’ जस्ता पात्रले समग्र भूमिका निर्वाह गरेको मुख्य थलो मानिने ‘सालीनदी’ र उनीहरूको ‘वासस्थान’ समेतलाई काखीमा च्यापेको साँखु बजार विभिन्न पूर्वीय धर्मग्रन्थ र ‘पुराण’ हरूसँग प्रत्यक्षतः सम्बन्धित मानिने नेपालको चर्चित पर्यटकीय एवम् व्यापारिक स्थान समेत हो । मानवसभ्यता विकासक्रमका दृष्टिले समेत साँखुनगरी सहरीकरण, व्यापारीकरण र आधुनिकीकरणमा काठमाडौंभन्दा पनि जेठो सहर मानिन्छ । माघ महिनाभर ‘स्वस्थानी ब्रत र पूजा’ का निम्ति देशभरबाट मात्र होइन; भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकालगायत दक्षिण एशियाभरकै विभिन्न स्थानबाट सताब्दीयौं अघिदेखि लाखौं ‘भक्तजन’ हरू ‘सालीनदी’ आई साँखु बजारमा बस्दै र त्यस क्षेत्रको अवलोकन गर्दै आएका छन् । यसअघि पुखुलाछी, बज्रयोगिनी र सुन्टोल गरी ३ गाविसका केही वडाहरू मिसिएर बनेको साँखु बजार अहिले शंकरापुर नगरपालिकाभित्र पर्दछ । बजार क्षेत्रभित्र मुख्यतः शंकरापुर नगरपालिकाका ८, १० र ११ गरी तीनवटा वडाहरू पर्दछन् । र, पुरानो साँखु बजारको मुख्य वस्ती शंकरापुर नगरपालिकाको वडा नम्बर ८, १० र ११ को सीमाक्षेत्रमै अवस्थित छ । सँगै टाँसिएका कुनै घर ८ नं. मा, कुनै १० नंं. मा र कुनै ११ नं. वडामा पर्दारहेछन् । \"Saakhu21-600\" भूकम्पले अधिकांश घर भत्काइदिएको छ र बाँकी रहेका पनि बस्नै नमिल्नेगरी अधकल्चो भएका छन् । त्यसैले शनिबारयता साँखु बजारमा कसैको बास छैन । कोही नजिकैको आलुखेतमा प्लास्टिकको ओतमुनि रात गुजार्दैछन् त कसैले अलि माथितिरको डाँडापाखामा ‘बसाइँ’ सारेका छन् । अहिलेसम्म ‘हराएका’ आफन्तजन कतै जिउँदै पो छन् कि भन्ने झिनो आशा पाल्दै र मरेकै भए पनि शवको उत्खनन् गरेर अन्त्येष्टी गर्न उनीहरू दिनभर बजारमै आउँछन्, इँट्टा र ढुंगामाटो पन्छाउँछन् । कतिपय परिवारका त काजकिरिया गर्नेसम्म कोही मान्छे बाँकी नरहेरै सकिए । भग्नावशेष ‘घर’ बाट खाद्यान्न, लत्ताकपडा र अरु घरायसी सामान निकाल्न सकिने आशामा पनि धेरैले दिनभर आफ्नो थातथलो खोतलिरहेका छन् । सिन्धुपाल्चोक, गोर्खा र राजधानीकै कतिपय ठाउँका नागरिकजस्तै यतिबेला साँखुवासीले समेत भोगिरहेको जनधनको अकल्पनीय क्षतिबारे बुझ्न बिहीबार दिउँसो साँखु बजार पुग्दा त्यहाँ मान्छे त थुप्रै थिए तर सबै चुपचाप र सुनसान । एकोहोरो लागिरहेका थिए, आफ्नै ‘धन्दा’ मा । कयौंसँग सोधपुछ गर्ने प्रयास गर्दा पनि खुलेर कुरा गर्न कोही तत्पर भएन । एकाध मान्छेले पंक्तिकारका प्रश्नको उत्तर दिन खोजे पनि सँगै रहेका अरुले तान्थे उनीहरूलाई र झपार्थे– ‘किन बोल्नुपर्‍याे कसैसँग ! के नै हुने हो र तिनलाई बताएर... ।’ सोध्दै र खोज्दै जाँदा बल्लतल्ल तयार भए एक भलाद्मी, पंक्तिकारसँग बोल्न । उनी रहेछन् केही समय नेपाल समाचारपत्रमा सञ्चारकर्मीका रूपमा काम गरेपछि पत्रकारिता छाडेर घरगृहस्थीमा लागेका शैलेन्द्र राजोपाध्याय । उनैले सघाए मोटामोटी जानकारी लिन । साँखु बजारको पुरानो वस्तीबीच वडा नं. ८, १० र ११ छुट्टिने सीमा क्षेत्रको केन्द्रभागमा अवस्थित एउटै टोलमा दर्जनौं घर ढलेर साँखुनगरी पहिरोमा रूपान्तरित भएको छ । वडा नं. ८ स्थित हरिशरण प्रजापतिको परिवारका उनी, आमा मिश्रीमाया, छोरी, ज्वाइँ र २ नातिनी गरी  ६ जनाको शव प्राप्त भइसकेको छ भने ८ वर्षीय नातिको अवस्था अझै अज्ञात छ । उक्त घरसँगै जोडिएको तर वडा नं. १० मा पर्ने अर्को घरको भग्नावशेषबाट २ जनाको र छेउकै तेस्रो घरबाट तेजलाल श्रेष्ठको पनि शव प्राप्त भइसकेको छ । वडा नं. ११ मा पर्ने साँखुको बजारक्षेत्रमा पनि एउटै घरको भग्नावशेषबाट ६ जनाको शव प्राप्त भएको छ । होटल रहेको उक्त घरमा मुक्तिनारायण श्रेष्ठ, उनका २ छोरी र होटलमा काम गर्ने ३ मजदुरको निधन भएको हो । पुरानो साँखुको भित्री वस्तीबाट बजारक्षेत्रतर्फ लाग्ने बाटोमा युवायुवती लाइनमा बसेर हाताहात गर्दै भग्नावशेषका इँट्टा पन्छाइरहेका थिए । अलि पर मास्क लगाएको एउटा टोलीले पीडितहरूलाई एक–बोतल मिनरल वाटर र एक–एक प्याकेट चाउचाउ बाँडिरहेको थियो । ‘राहत’ का नाममा बाँडिएका यी सामग्री हात पार्न निकै नै दयालाग्दो ‘मुड’ मा हात फैलाइरहेका थिए नागरिकहरू । शनिबारदेखि नै विद्युत् आपूर्ति बन्द भएको साँखुमा बिहीबार साँझसम्म बत्ती बलेको थिएन । भित्री वस्तीबाट बजारक्षेत्र जाने बाटोमा भर्‍याङ लगाएर प्राधिकरणका प्राविधिकहरू ‘ट्रान्स्फर्मर’ को मर्मत गर्ने प्रयासमा देखिए । विद्युतको अभावमा मोबाइल चार्ज गर्न समेत नपाई साँखु बजार सञ्चार सम्पर्कबाट विच्छेदित छ । बजार क्षेत्र पुग्दै गर्दा सशस्त्र प्रहरीको ठूलै डफ्फा देवलको सिँढीमा बसेर हातको धूलो टक्टक्याउँदै खाजा खान थालेका थिए । बीचमा सेतो कपडामा बेरिएको एउटा शव लडिरहेको थियो । केही बेरपछि बाहिरै झिँगा भन्किरहेको उक्त शवको अनुहारपट्टि कपडा पन्छाउँदै तस्बिर खिँच्न थाले सशस्त्र प्रहरीका दुई अधिकारी । छेउमा उभिएका एक प्रहरीसँग अनुमति लिएर पंक्तिकारले पनि तस्बिर खिँच्न खोज्दा रोके खिँचिरहेकाहरूले । सँगै उभिएका अर्का अधिकृतले कानेखुशी गरे– ‘हानिहाल्नोस् १–२ पोज अनि भागिहाल्नोस् यहाँबाट ।’ बसपार्कबाट पसेर जताततै पहिरैपहिरोजस्तो लाग्ने साँखु बजारको भित्री वस्ती हुँदै बजार क्षेत्रबाट पूरै साँखु पार गरेपछि पालैपालो ‘सालीनदी’ छिर्ने सडक र भित्री बाटो हुँदै पुनः बसपार्क निस्किइयो । र, लागियो उक्त क्षेत्रको आधिकारिक तथ्यांक लिन प्रहरी प्रभागतर्फ । महानगरीय प्रहरी प्रभाग, साँखुमा पसेर इन्स्पेक्टरसँग भेट्न खोज्दा उनी बाहिरै व्यस्त भएकाले भेट्न सम्भव नभएको बताइयो । प्रभागमा रहिछन् सञ्चार शाखाको जिम्मा पाएकी प्रहरी जवान इन्द्रलक्ष्मी धिमाल । उनैले दिइन्– बिहीबारसम्मको ‘अप–टु डेट’ विवरण । प्र.ज. धिमालका अनुसार साँखु, पालुवारी, विश्वम्भरा, सानागाउँ, गागलफेदी, घुमारीचोकसहितका ६ स्थानबाट ६६ जना र नाङ्लेभारेबाट ३६ जना गरी उक्त प्रहरी प्रभागको ‘ड्युटी एरिया’ भित्र जम्मा १ सय २ जनाको शव प्राप्त भइसकेको छ । त्यस्तै, भूकम्पको पहिलो दिन शनिबार ७५ जना र त्यसयता बिहीबारसम्म ४८ गरी जम्मा १ सय २३ जना घाइते भएका छन् । शनिबार भूकम्प जानासाथ फेला परेका घाइते र मृतकलाई तत्काल जुन गाडी भेटिन्छ त्यसैमा हालेर जहाँको अस्पतालमा सम्भव हुन्छ, उतै पठाइएको बताइन् धिमालले । त्यसयता चाहिँ सबैलाई साँखुस्थित लाइफ केयर तथा सुष्मा कोइराला अस्पतालमा मात्रै पठाइएको रहेछ । घटनास्थल र ती २ अस्पतालमा फेला परेका बाहेक राजधानीका अरु अस्पतालमा मृत्यु भएकाहरूको विवरण साँखु प्रहरी प्रभागको रेकर्डमा आईनसकेकाले घाइते र मृतकको संख्या बढ्न पनि सक्ने उनी बताउँछिन् । दर्जनौं स्थानीयसँग कुरा गरिसकेपछि अन्त्यमा मात्रै थाहा भयो– साँखुवासीहरूले सञ्चारकर्मीलाई सूचना र जानकारी दिन कन्जुस्याइँ गरेर पंक्तिकारसँग बोल्न इन्कारेका होइन रहेछन् । खास कुरो के रहेछ भने पंक्तिकारको अघिअघि एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले त्यस क्षेत्रको निरीक्षण गरेका रहेछन् । र, लगत्तै पुगेको पंक्तिकारलाई पनि उनै नेपालको सहयोगी वा सहकर्मी ठानेर पो तर्केका र झर्केका रहेछन् उनीहरू । यिनै साँखुवासीको मत पाएर नेता नेपाल पटकपटक ‘माननीय’ बने । एकाध वर्षअघि त उनी राष्ट्रकै कार्यकारी प्रमुख समेत भए । यसपटक समेत नेपाललाई जिताएर संविधानसभामा पठाए तिनै साँखुवासीसहितले । तर, उनले ती जनतालाई माया मारेर काठमाडौंको निर्वाचन क्षेत्र त्याग्दै रौतहटको ‘पुर्ख्यौली’ क्षेत्रलाई रोजे । त्यतिबेलैदेखि माधव नेपालसँग खिन्न भएका साँखुवासीले अहिले भोगेको यत्रो दर्दनाक हन्डरको छैटौं दिन मात्रै मुखमा ‘मास्क’ लगाएर बल्ल टुप्लुकिए उनी । त्यो पनि केही सुरक्षाकर्मी र सहयोगीहरूको डफ्फा मात्रै लिएर रित्तो हात । यसैकारण उक्त क्षेत्रको ‘निरीक्षण’ गर्ने तथा ‘विवरण माग्ने’ कसैसँग ‘नबोल्ने’ भएका रहेछन् साँखुवासी । वरिष्ठ नेता माधवकुमार नेपालले ऐतिहासिक साँखु बजार भग्नावशेषमा परिणत भएको ६ दिनपछि बिहीबार अपराह्न निरीक्षण गरे । एमालेसम्बद्ध युवासंघकी स्थानीय कार्यकर्ता कविता श्रेष्ठले खबरडबलीलाई दिएको जानकारीअनुसार अहिले आफू ‘स्थिति बुझ्न’ मात्रै साँखु आएको बताउँदै वरिष्ठ नेता नेपाल ‘केही दिनपछि राहतसहित फेरि आउने’ आश्वासन दिई नाङ्लेभारेतर्फ लागे । \"Saakhu34-600\" \"Saakhu33-600\" \"Saakhu30-600\" \"Saakhu29-600\" \"Saakhu13-600\" \"Saakhu11-600\" \"Saakhu10-600\" \"Saakhu9-600\" \"Saakhu8-600\" \"Saakhu6-600\" \"Saakhu5-600\" \"Saakhu4-600\" \"Saakhu3-600\" \"Saakhu2-600\" \"Saakhu1-600\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies