Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

सुट गरिरहेका गच्छदारको पेस्तोल खोसेँ

\"khagendra-chudal\"खगेन्द्र चुँडाल ०१२ फागुन १६ गते त्यसवेलाको तेह्रथुमको हाङपाङ (हाल ताप्लेजुङमा पर्छ) मा जन्मिएको हुँ । ५–६ महिना हुँदै आमा बित्नुभएकाले म मावलीमै हुर्किएँ । गाउँमा साहित्य संगम क्लब थियो । प्रगतिशीलहरूको साझा त्यो क्लबले वेला–वेला सम्मेलन र कार्यक्रम गर्थ्याे । कम्युनिस्ट राम्रा हुन्छन् भन्ने क्लबको प्रचारले बिस्तारै आकर्षित गर्‍यो । पारिवारिक पृष्ठभूमि सामन्ती थियो, हजुरबुबा तिरो उठाउनुहुन्थ्यो । मबाहेक परिवारका अधिकांश सदस्य कम्युनिस्टविरोधी छन् । एक्लै कम्युनिस्ट बन्दा धेरै पारिवारिक ‘टर्चर’को पनि सामना गर्नुपर्‍यो । १२ वर्षमा ५ कक्षा उत्तीर्ण गरेपछि ०२४ सालतिर झापा झरेर गरामनी स्कुलमा पढ्न थालेँ । त्यसवेला नेत्र घिमिरे, नारायण उप्रेती, पुण्य निरौलालगायत शिक्षक गुरु हुनुहुन्थ्यो । नेत्र र पुण्य झापा आन्दोलनमा हिँड्नुभो, नारायण सर विपक्षमा उभिनुभो । झापा झरेपछि संगठित रूपमा पार्टी काममा लागियो । ०२४ सालतिर झापामा सुस्ता–महेशपुरविरुद्ध विद्यार्थी आन्दोलन भयो । त्यो आन्दोलनबाट सिंगै मुलुक प्रभावित थियो । त्यतिवेला मूलत: कम्युनिस्ट आन्दोलन सांस्कृतिक आन्दोलनबाट निर्देशित थियो । तेह्रथुमबाट निस्कने झुप्रो, झापाबाट राधाकृष्ण मैनालीको सम्पादकत्वमा निस्कने पञ्चामृतलगायत पत्रिकाले सांस्कृतिक आन्दोलन बढाउन मद्दत पुर्‍याइरहेका थिए । राष्ट्रव्यापी रूपमा निस्किरहेका प्रगतिशील पत्रिकाहरूले सांस्कृतिक आन्दोलन बढाइरहेकै वेला रामेश, मञ्जुल, रायन, प्रदीप नेपालहरूको अगुवाइमा राल्फाको सांस्कृतिक आन्दोलन पनि सुरु भयो । यी दुई आन्दोलनले नेपालको कम्युनिस्ट आन्दोलनलाई ऊर्जा दिन थालेपछि झापामा पनि कम्युनिस्ट आन्दोलनले निकै गति लियो । झापामा जमिनदार सखाप पार्ने आन्दोलनलाई मात्रै बुझ्ने गरिएको छ, तर त्यहाँ २००६ सालबाटै किसान आन्दोलन सुरु भएको थियो । त्यसवेला राजवंशीहरूको नेतृत्वमा बढेको आन्दोलनमाथि दमन हुँदै जाँदा २००८ सालमा ‘घुर बैठक’आन्दोलनमा परिणत भयो । गोठका वरिपरि आगो बालेर ताप्ने त्यो आन्दोलनले ठूलो रूप लिँदै गयो । जग्गा किसानलाई दिनुपर्छ, मोहियानी हक सुनिश्चित गर्नुपर्छ, बाली भर्दा भर्पाई दिनुपर्छ, जमिन जोत्नेले नै पाउनुपर्छ भन्ने आन्दोलनको माग थियो । ०१० सालमा पुग्दा त्यो आन्दोलन ‘खमार आन्दोलन’मा परिणत भयो । त्यतिवेला झापामा ६ फिटदेखि १० फिटसम्म अग्लो धानको चुली खलोमा हुन्थ्यो । त्यो आन्दोलनमा जमिनदारलाई किसानले धान नदिने, लान खोज्दा किसानहरू जम्मा भएर जबर्जस्ती कब्जामा लिने गरिन्थ्यो । बुधबारेतिर गंगाप्रसाद ओलीलगायतले यो आन्दोलनको नेतृत्व गरेका थिए । आन्दोलन थाम्न नसक्ने भएपछि केही पञ्चसमेत प्रवेश गरेर शिथिल बनाउने प्रयास गरे । तर, झापामा हतियारसहितको आन्दोलन सुरु भए पनि कम्युनिस्टहरूले ठीक ढंगले समर्थन गर्न नसक्दा क्रमश: शिथिल हुँदै गयो । ०१० सालमा जमिनदार नरबहादुर बुढाथोकीको हत्यापछि आन्दोलन शिथिल भयो । तथापि ०१५ सालमा फेरि उठ्यो । यसरी झापाको किसान आन्दोलन उठ्दै, शिथिल हुँदै क्रमश: अघि बढ्यो । त्यहीवेला सरकारले ठूलो दमन गर्दा धेरै राजवंशी नेता–कार्यकर्ता पक्राउ परे । अगुवा केर्कु राजवंशीलाई चन्द्रगढीमा घुँडामा गोली हानेर मारेपछि डाँकाले मार्‍यो भन्ने हल्ला चलाइयो । त्यही नाममा कतिपय नेता–कार्यकर्ता पक्राउ परे, उनीहरूले आफूलाई मनमोहनका कार्यकर्ता भने, तर मनमोहनले जिम्मा लिन मानेनन् । मनमोहनले आफ्ना कार्यकर्ता भन्दै बयान दिएको भए उनीहरू छुट्थे । त्यसो नगरेकाले छुटेपछि उनीहरू निराश भएर पलायन भए । त्यही आन्दोलन पछि युवा–विद्यार्थीमा सरेको हो । ०२४ सालपछि विद्यार्थी आन्दोलन सुरु हुँदा म गरामनीमा थिएँ, केपी ओली घैलाडुब्बामा पढ्दै थिए । हामी दुईले एउटै कमिटीमा काम गरेनौँ, आपसी चिनजान पनि थिएन । तर, लगानीका हिसाबले हामी दुवै उस्तै–उस्तै उमेर र समयमा कम्युनिस्ट आन्दोलनमा होमिएका हौँ । रामनाथ दाहालसँगको सम्पर्कमा केपी त्यतिवेला आन्दोलनमा ‘ब्याक’मै बसेर काम गरिरहेका थिए । दमकका मान्छेहरू हलोजुवा बोकेर मेचीछेउसम्म पुगे । प्रगतिशील मागसहित किसानका पक्षमा बढेको आन्दोलनमा विवाद देखियो । नेत्र घिमिरेहरू जमिनदारहरूलाई खत्तम गरेर कब्जा गर्दै अघि बढ्ने लाइनमा देखिए । तर, नारायण उप्रेतीलगायत विपक्षमा उभिएर मोहियानी हक सुरक्षितका लागि भर्पाई बुझ्नुपर्छ भन्ने पक्षमा उभिएका थिए । उनलाई पछि संशोधनवादी करार गरियो । एउटा सेक्सन जमिनदार खत्तम आन्दोलनबाटै विमुख थियो, अर्को सेक्सन अर्थात् आरके, सिपी, रामनाथहरूचाहिा सामन्त खत्तम अभियानमा थिए । झापा जिल्लाले वर्गशत्रु खत्तमको नक्सलाइट आन्दोलनको बाटो समाएपछि पूर्वकोशीको जिल्ला कमिटीबाट झापा स्वतन्त्र भयो । भुटन चौधरीको हत्या भएपछि मोहनचन्द्र पलायन भएर भारततिर लागे । अनारमढी स्कुलमा पढ्दा नै म स्ववियु सभापति भइसकेको थिएँ । तर, २०३१ सालमा एसएलसी सकेपछि म उच्च शिक्षा अध्ययनको सिलसिलामा हात्तिसार क्याम्पस धरान भर्ना भएँ । केही समयपछि झापा फर्किएर मेची क्याम्पसमा भर्ना भएँ तर पढाइ पूरा नभईकनै म आइए दोस्रो वर्षमा महेन्द्र मोरङ क्याम्पस विराटनगर ट्रान्सफर भएँ । खासमा दुवै क्याम्पसमा स्ववियु गठन गर्ने प्रयास असफल भएपछि विराटनगर पुगेको थिएँ म । त्यतिवेला पञ्चायतको दबदबा थियो । क्याम्पस प्रशासनले विद्यार्थी समूह गठन गरेर आफूअनुकूल काम गथ्र्यो । केही वर्ष विद्यार्थी आन्दोलन चलेन, परिस्थिति शान्त थियो । तर, ०३६ सालमा पाकिस्तानी राष्ट्रपति जुल्फिकर अली भुट्टोलाई फाँसी दिएको विरोधमा काठमाडौंस्थित राजदूतावासमा विरोधपत्र बुझाउन गएको विद्यार्थी समूहमाथि दमन र पक्राउ गरिएपछि देशव्यापी आन्दोलन चर्कियो । त्यो आन्दोलनमा अखिल, नेविसंघसहित सबै विद्यार्थी संगठन समावेश भए । तर, तत्कालीन राजा वीरेन्द्रले जनमतसंग्रहको घोषणा गरेपछि आन्दोलन ‘ब्रेक’भो । कांग्रेस, मनमोहन अधिकारीको माक्र्सवादी समूहले घोषणा स्वीकार गर्‍यो । तर, मालेले अस्वीकार गर्ने निर्णय गर्‍यो । राजाले आन्दोलनमाथि दमन गर्ने घोषणा गरेकाले धोका हो भन्ने मालेको ठहर थियो । त्यही क्रममा काठमाडौं, विराटनगरसहित देशका विभिन्न ठाउँमा अखिल र नेविसंघबीच धेरै झडप पनि भए । विराटनगरमा मसहित विक्रम सुब्बा, केशव चौलागाईं, सीताराम पोखरेल, रघुवीर महासेठलगायत साथीले आन्दोलनको नेतृत्व गरेका थियौा । त्यही क्रममा मदन भण्डारीसँग मेरो पहिलो सम्पर्क भयो । त्यसपछि स्थानीय पार्टीको नेतृत्वसमेत मैले नै सम्हालेँ । त्यतिवेला अहिलेकी राष्ट्रपति विद्या भण्डारी भोजपुरमा आइए पढ्दै हुनुहुन्थ्यो । उहाँको पारिवारिक पृष्ठभूमि कांग्रेस थियो । उहाँ अध्ययनरत भोजपुर क्याम्पसमा पनि नेविसंघकै पकड थियो । त्यसवेला (२०३६ सालतिर) नेविसंघले हाम्रा साथीहरूलाई बेस्सरी पिटे, कतिपयलाई प्रहरीले समातेर पनि लगेका थिए । त्यसवेला अशोक राई पार्टीका तर्फबाट संगठक थिए । तर, विद्या कांग्रेस पृष्ठभूमिको मान्छे भएकाले समातिएका विद्यार्थीलाई भेट्न सम्पर्क व्यक्तिका रूपमा प्रयोग गरियो । आन्दोलन चर्किएका वेला फणिन्द्र तिमल्सिना अनेरास्ववियु मोरङका सचिव थिए । महेन्द्र मोरङ क्याम्पसमा भएको अघिल्लो स्ववियु निर्वाचन हामीले जितेका थियौा । ०३७ सालको जनमत संग्रहपछि पुन: स्ववियुको निर्वाचन घोषणा भयो । त्यसवेला नेविसंघमा क्याम्पसका नेता विजय गच्छदार, हरिनारायण चौधरीलगायत थिए । तर, उनीहरूले चुनाव जित्ने स्थिति थिएन । स्ववियु चुनाव हुने नै भएपछि कांग्रेस नेता गिरिजाप्रसाद कोइराला ढुक्कै विराटनगर आएर बसे । विराटनगर हाम्रो किल्ला हो भन्ने ठानेर कांग्रेसले कुनै हालतमा चुनाव जित्ने रणनीति बनायो । तिनताका गच्छदार सीमानजिक बस्ने, वारिपारि गरिरहने र कोइरालाका दाहिने हातजत्तिकै थिए । ‘गुन्डागर्दी’ पनि गर्ने गच्छदारलाई स्ववियु सभापति बनाउन कांग्रेसले उनलाई बिकममा र हरिनारायण चौधरीलाई बिएमा भर्ना गराएको थियो । स्ववियु निर्वाचन हुँदा गच्छदारले थारूहरू ल्याएर पूरै कब्जा गर्ने प्रयास गरे तर चुनावमा अखिलको माहोल देखिएका कारण सीताराम पोखरेलको प्यानलले चुनाव जित्ने लगभग निश्चितजस्तै देखियो । राति अबेर मतगणना सुरु हुनै लाग्दा गच्छदारको नेतृत्वको एउटा टोली बन्दुक, पेस्तोल, रिभल्बर, तरबार र खुकुरीसहित गणनास्थलमै प्रवेश गरेर जबर्जस्ती नेविसंघले जितेको घोषणा गराए । हाम्रा साथीहरूको भागाभाग हुँदा कतिपयको खुट्टासमेत भाँचियो । राति १ बजे घोषणा गरेपछि उनीहरूले मतको बाकस बाहिर ल्याएर जलाए । आधा घन्टापछि नेविसंघले जितेको नारा लगाउँदै उनीहरू हिँडे । लामो समयदेखि नै नेविसंघसँग हाम्रो झडप हुँदै आएको थियो । जबर्जस्ती जितको घोषणापछि उनीहरूले प्रशासनलाई स्ववियु हस्तान्तरण गर्न माग गर्न थाले भने हामीले चाहिँ त्यसो नगर्न दबाब दिन थाल्यौा । हामीले निर्वाचन आयोगले मत गनेर जितेको प्रमाण दिए मात्रै नेविसंघले जितेको प्रमाणित हुने भन्यौँ । विवाद चर्किंदै जाँदा धेरै लफडा भयो तर गणना नहुँदै आगोले डढाएर फालेको बाकस प्रमाण भएको हुँदा नेविसंघ तल पर्‍यो । ०३८ साल मंसिर २५ गतेको दिन थियो । बिहान र दिउँसो छुट्टाछुट्टै ‘सिफ्ट’मा क्याम्पसमा पढाइ हुन्थ्यो । धरानबाट हाम्रा साथी ईश्वरी अधिकारी बिहान क्याम्पसमा आउने क्रममा नेविसंघका कार्यकर्ताले पिटेर बेहोस बनाई फालिदिएछन् । अखिलको कार्यकर्ता कुटिएको खबरपछि अस्पतालमा बुझ्न जाँदा उनी मर्ने–बाँच्ने दोसाँधमा थिए । त्यो घटना थाहा पाएपछि हाम्रा साथीहरू उत्तेजित हुँदै गए । क्याम्पस वरिपरि हाम्रा धेरै समर्थक थिए । वरिपरिका मान्छे भेला भएर भोलिपल्ट बिहान कांग्रेस र नेविसंघका मान्छे पिटेर खेदेछन् । बिहानै क्याम्पसमा तीन–चारपटक नै झडप भयो । त्यसवेला एमालेको नगर कमिटी, बुद्धिजीवी, विद्यार्थी सबै मैले नै हेर्ने गर्थें । त्यसैले मदन भण्डारीसँग अन्तिममा सहमतिमै पुग्ने विषयमा सल्लाह भइरहेको थियो । तर, छलफल चलिरहेकै वेला दिउँसो २ बजेतिर गच्छदारकै नेतृत्वमा ४०–५० जनाको टोली अचानक हतियारसहित क्याम्पस प्रवेश गर्‍यो । फिल्ममा देखिने गुन्डाजस्तै घुम्रिएको लामा कपाल, घुँडासम्म काँडैकाँडा भएका छालाका जुत्ता, त्यस्तै ज्याकेट र पेटी, अनि एकातिर पेस्तोल र अर्कातिर तरबार बोकेर गच्छदार, हरिनारायण चौधरीसहितको जत्था क्याम्पसको चौरमा देखा पर्‍यो । केही साथी डराए । तर, धेरैले भिड्नैपर्छ भनेपछि नेविसंघको त्यो जत्थाले अखिलको धुलाइ भेट्यो, सबै कांग्रेसहरूको भागाभाग नै भयो । केही बेरपछि म चौरमा यसो निस्किएको के थिएँ, अचानक गच्छदारसँग डेढ मिटर जतिको दूरीमा आमने–सामने भइयो । गच्छदारको हातमा पेस्तोल थियो । केही घाइते भएर चौरमा लडेका छन् । युद्धमैदानजस्तै थियो तर सुनसान । त्यस्तैमा अखिलका केन्द्रीय अध्यक्ष टंक कार्की आइपुगे । उनलाई नआउन भनिएको थियो । तर, अचानक देखिएपछि जसरी पनि जोगाउनुपर्ने भयो । मैले हातमा छोटो–छोटो खालको चिर्पट बोकेको थिएँ तर गच्छदारको हातमा पेस्तोल छ । के गर्ने, गर्ने, द्विविधा भो मनमा । ऊ पेस्तोल कक गर्दै पछि सर्दै गयो । मैले ठानेँ– पक्कै गोली सिद्धिएछ, त्यसैले पड्काउन नसक्ने भएकैले कक गरेर पछि सर्दै छ । मनमा आँट आएपछि अलिकति अघि बढेँ । हामीलाई जस्तोसुकै कठिन परिस्थिति आए पनि आफू मरेर भए पनि नेतृत्व जोगाउनैपर्छ भन्ने ‘स्कुलिङ’ थियो । सायद त्यही स्कुलिङले घर गरेर होला मलाई ताकेको देखेपछि फणिन्द्र तिमल्सिनाले मलाई बचाउन खोजे । उनी लाठी बोकेर दौडिँदै आए । मैले त्यसवेला हरियो जुत्ता लगाएको थिएँ । दौडिएर आउने क्रममा फणिन्द्रले मेरो जुत्ता टेकिदिए पछाडिबाट । म अल्झिएँ । फणिन्द्र मेरो अगाडि पुगे । ‘ड्यांङ !’ अचानक त्यो शान्त वातावरण चिर्दै गोलीको आवाज आयो । फणिन्द्र डंगरङ्ग भुइामा ढले । गच्छदारले आफूमाथि आक्रमण गर्न लागेको सम्झेछन् क्यारे । फणिन्द्रको देब्रे छातीमै गोली लागेको थियो । अगाडिपट्टि सानो प्वाल पारेर छिरेको गोली ढाडमा ठूलो प्वाल पार्दै निस्किएको थियो । क्षणभरमै फणिन्द्र चौरमा ऐया–ऐया गर्दै ढलिसकेका थिए । गच्छदार रौद्र मुद्रामा त्यहीँ उभिरहेका थिए । उनले टंक कार्कीलाई पनि गोली हान्न खोजे तर चलेन । आफ्नो साथी ढलेको आवेगमा मैले गच्छदारमाथि अचानक आक्रमण गरो र लडाएँ । चिर्पटले दुईपटक हान्दा उनको टाउको र आँखा फुट्यो । भुइामा लडेपछि गच्छदारको साथमा रहेको दुईवटा पेस्तोल मैले खोसेँ । साथीहरूले फणिन्द्रजीलाई अस्पताल लगे । टंक कार्कीलाई सुरक्षित रूपमा भगाएर हामी ‘सेल्टर’तिर गयौँ । एकछिनपछि फणिन्द्रको मृत्यु भएको खबर आयो । त्यो खबरले हामीलाई निकै दु:खी तुल्यायो । खासमा त्यो झडपको ‘मास्टरमाइन्ड’ नै गिरिजाप्रसाद कोइराला थिए । गच्छदारबाट फणिन्द्र मारिएका थिए, तर नेविसंघले मेरो संलग्नतामा मारिएको दुस्प्रचार गर्दै गच्छदारलाई जोगाउन खोज्यो । प्रशासनले मेरा विरुद्ध पनि वारेन्ट जारी गरेको थियो । त्यसैले म भूमिगत भएर भोजपुरतिर फर्किएँ । गच्छदारविरुद्ध मुद्दा हालेपछि साक्षी बक्ने मान्छे पनि भएन । तैपनि हत्या अभियोगमा सात वर्ष जेल बसेपछि गच्छदारलाई जिल्ला अदालतले सफाइ दियो । उनी मैले हत्या गरेको होइन, अदालतले नै सफाइ दिइसकेको छ भन्दै आएका छन् । तर, जनताको अदालतले उनलाई कहिल्यै सफाइ दिएको छैन । त्यो झडपपछि भएको स्ववियु चुनावमा हामीले नै जित्यौँ, नेविसंघ पराजित भयो । त्यो झडपयता गच्छदारसँग जम्काभेट र बोलचाल अहिलेसम्म भएको छैन । उनी र म दुवै राजनीतिमै छौँ । फरक यति हो, उनी सञ्चारमाध्यममा आइरहन्छन्, म अलि गुमनामजस्तो छु । त्यसरी खोसेको एउटा पेस्तोल त्यसवेलै अखिलका जिल्ला कमिटी सदस्य किरण केसीलाई दिएँ, पार्टीलाई बुझाउनू भन्दै । अर्कोचाहिँ मैले मदन भण्डारीलाई बुझाएँ । पार्टीलाई बुझाएपछि दुवै पेस्तोल कहाँ छन्, मलाई सबै जानकारी थिएन । ती सुरक्षित रहेछन् । गत वर्षको भूकम्पबाट पार्टी कार्यालय बल्खु भत्किएपछि सशस्त्र प्रहरीले त्यहाँको सामग्री बाहिर निकाल्ने क्रममा सन्दुस खोल्दा पेस्तोल सुरक्षित नै भेटिएछ । ती पेस्तोल पार्टीले प्रहरीलाई बुझायो । नयाँ पत्रिका दैनिकबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending