Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

‘भाग खान आएका भनेर हाम्रो अपमान गरियो’ (डकुमेन्टसहित)

काठमाडौं, माओवादी पार्टीबीच एकता प्रक्रिया चलिरहेका बेला एमालेबाट विभिन्न समयमा एमाओवादी पार्टी प्रवेश गरेका केही वरिष्ठ नेताहरुले पार्टी सुदृढीकरणको अभियान चलाएका छन् । पार्टी वैचारिक अलमलमा परेको, मालेमावादका कुरा उठाउने तर सांगठनिक व्यवस्थापन नभएको र पार्टीमा दुई नेता बसेर निर्णय गर्नेगरेको भन्दै असन्तुष्ट भई उनीहरुले भेला गरेका छन् । पार्टीको क्रान्तिकारी धार कमजोर हुँदै गएको भन्दै उनीहरुको भेलाले पार्टीसँग व्यापक छलफल गर्ने निर्णय गरेको छ । एमाओवादीसँग असन्तुष्ट भई एमालेमै फर्किने कुरा सत्य नभएको प्रस्ट्याउँदै उनीहरुको भेलाले आफ्ना असन्तुष्टीलाई प्रष्ट ढंगले नेतृत्वसमक्ष उठाउने निर्णय गरेको छ । ‘पार्टीको क्रान्तिकारी धार कमजोर हुँदै गएकाले व्यापक छलफल गर्ने निर्णय भएको छ’, एक नेताले भने– ‘एमालेमै फर्किने होइन । तर, पार्टीमा पेलान भइरह्यो भने के गर्ने, यसबारे चाहिँ सोच्नुपर्छ  ।’ भेलामा एमालेबाट एमाओवादी प्रवेश गरेका उर्मिला अर्याल, धर्मदत्त देवकोटा, निर्मल भट्टराई भीमबहादुर कडायत, दिनेश पन्थी, ओम वाग्ले, राजन तिमल्सिना, अरेन्द्र यादव, नहेन्द्र खड्का, मोहन बम, के.के. राई, हरि दाहालसहितका नेता सहभागी थिए । एमालेबाटै एमाओवादी प्रवेश गरेका रामचन्द्र झा भने भेलामा सहभागी भएनन् । भेलामा सहभागी नेताहरुबीच एकमत भने थिएन । भेलामै सहभागी नहेन्द्र खड्काले आफ्नो फेसबुक पेजमा लेखेका छन्– ‘माले–एमालेबाट एमाओवादीमा आएकाहरुको भेला डाक्ने र त्यसमा मलाई बोलाउने कि नबोलाउने भन्ने सन्दर्भमा एक जना एमाओवादीका केन्द्रीय सदस्यले अर्का आयोजकलाई भनेछन्– ‘नहेन्द्र खड्कालाई नबोलाउनू, ऊ प्रचण्डको मान्छे हो ।\' खड्काले अगाडि लेखेका छन्– ‘ठीक भन्यौ । म प्रचण्डकै मान्छे हुँ किनकि कमरेड प्रचण्ड मेरो पार्टीका अध्यक्ष हुन् । तिमीले लगाएको ‘लान्छना’ मलाई स्वीकार्य मात्रै छैन, त्यसबाट म गौरवान्वित समेत छु ।’ भेलामा निर्मल भट्टराईले श्रमजीवी वर्गको सच्चा क्रान्तिकारी पार्टी निर्माण गरौं र समाजवाद निर्माणको दिशामा एकताबद्ध भएर अगाडि बढौं’ भन्ने ‘डकुमेन्ट’ प्रस्तुत गरेका थिए । ‘उद्देश्य पूरा नहुँदै जनयुद्ध सम्झौतामा टुंगियो । हजारौं गरिबका छोराछोरीले रगत बगाएर निर्माण गरेको जनसेना क्षणिक सत्तासँग सौदाबाजी गर्नुपर्ने परिस्थिति सिर्जना भयो ।  माओवादी जनयुद्धले सत्ताबाट धेरै टाढा रहेका जनतालाई गगनचुम्बी सपना त बाँड्यो तर एमाओवादी सत्तामा पुगेपछि ती सपना मूर्तीकृत हुन सकेनन्’, उनले डकुमेन्टमा लेखेका छन्– ‘सपनाहरु एकैपटक छताछुल्ल हुँदा पार्टीमा देखापरेको अराजकताले पार्टीलाई विभाजन, विखण्डन र हाल विघटनको संघारमा पुर्याइदिएको छ ।’ शान्ति प्रक्रियामा आई दुई–दुई पटक संविधानसभाको चुनावमा भाग लिइसक्दा पनि पार्टी विगत जनयुद्धताकाको ‘कमान्डरसिप’ बाट ‘लिडरसिप’ मा परिणत हुन नसकेको उल्लेख गर्दै उनको डकुमेन्टमा लेखिएको छ– ‘विगतको जस्तै पार्टीभित्र कमान्डरसिप कायम रहँदा कार्यकर्तामा लोकप्रियता र वैचारिक उचाईका लागि हुने प्रतिस्पर्धा कुन्ठित भएको छ ।’ एकता प्रक्रियामा आएका नेतालाई उचित जिम्मेवारी नदिइएको र ‘जनयुद्ध नलडी खान आएको’ भन्दै अपमानित गर्नेगरेको आरोप समेत लगाउँदै उनले लेखेका छन्– ‘एकता प्रक्रियामा आएका हजारौं नेता–कार्यकर्ता उचित जिम्मेवारीबाट वञ्चित मात्र छैनन्, उनीहरुलाई जनयुद्धका कमान्डरहरुबाट निरन्तर युद्ध नलडेको मान्छे, भाग खान आएको भनेर अपमान गरिँदैछ ।’ एमाओवादीभित्र पद्धति र पार्टी निर्णयले निर्देशित गर्दैन, पद्दति वा पार्टी निर्णयभन्दा नेताको आदेश बलशाली हुन्छ भन्दै उनले भनेका छन्, ‘केन्द्रीय समितिले प्रायः निर्णय नै गर्न सक्दैन, गरिहाल्यो भने पनि त्यो निर्णय आधारभूत तहमा नपुगी हराउँछ । त्यही कारण   एमाओवादी (अरु माओवादीमा पनि) मा नेता छन्, कार्यकर्ता छन्, समर्थक र मतदाता पनि छन् तर पार्टी हराउँदै गएको छ ।’ उनले मार्गदर्शक सिद्धान्त, नौलो जनवादभित्र कब्जा, सम्झौता, आत्मसमर्पण, माओवादी घटकका दलका उतारचढाव र समाजवादबारे डकुमेन्टमा उल्लेख गर्दै पार्टीलाई खबरदारी गरेका छन् । वैदेशिक लगानीलाई राष्ट्रहितअनुकूल हुनेगरी मात्र स्वीकार गर्नुपर्ने, राष्टिय पुँजी प्रबर्द्धन गर्न विशेष कार्यक्रम घोषणा  गरी स्वाधीन राष्ट्रिय अर्थतन्त्रको विकास गर्नुपर्ने सहितका १२ वटा नारा पनि अघि सारेका छन्  । यस्तो छ भेलामा (निर्मल भट्टराईद्वारा) प्रस्तुत डकुमेन्ट श्रमजीवी वर्गको सच्चा क्रान्तिकारी पार्टी निर्माण गरौं ! समाजवाद निर्माणको दिशामा एकताबद्ध भएर अगाडि बढौं ! विषय प्रवेश नेपालको कम्युनिष्ट आन्दोलन आज जटिल मोडबाट अगाडि बढिरहेको छ । कैयौ चिरामा विभक्त भएर एकले अर्कोलाई  निषेध गर्ने चिन्तनबाट माथि उठ्न नसकेका विभिन्न साना ठूला बामपन्थी पार्टीहरु खासगरी कार्यनीतिक र सांगठानिक हिसाबले रणभुल्लमा परेको अबस्था छ । “जनताको बहुदलीय जनबाद” देखि “एकीकृत क्रान्ति”सम्म सैद्धान्तिक अबधारणा बोक्ने बाम पार्टीहरु छन् तर तिनीहरु कहीं न कहीं असंयोजित विचार र भद्रगोल पार्टी संरचनाको वीचबाट अगाडि बढिरहेका छन् । क) मार्गदर्शक सिद्धान्तको सम्बन्धमा उन्नाइसौं शताब्दीमा कार्ल माक्र्सले प्रतिपादन गरेको सिद्धान्तलाई सिर्जनात्मक प्रयोग गरेर लेनीनले रुसमा १९१७ मा समाजवादी क्रान्ति सम्पन्न गरेका थिए । माक्र्सले प्रतिपादन गरेका पुँजीको सिद्धान्त, द्वन्दात्मक भौतिकवाद र ऐतिहासिक भौतिकबाद सम्बन्धी ब्याख्या सार्वभौमिक सच्चाइ भएकाले त्यसले निःसन्देह वादको रुप लियो । माक्र्सबादले जीवन र जगतलाई हेर्ने वैज्ञानिक दृष्टिकोण मात्र दिएन, श्रमजीवी बर्गको राज्यसत्ता प्राप्त गर्ने मार्ग समेत प्रसस्त गरिदियोे ।  पुजीबादी राज्यसत्तालाई सत्ताच्यूत गरी सर्बहारा अधिनायकत्व स्थापनामार्फत् समाजबाद हुदै साम्यबादसम्म पुग्ने माक्र्सबादी अवधारणाको सार थियो । त्यो वादले रुसमा आइपुग्दा मुर्त रुप लियो । सांगठानिक क्षेत्रमा लेनीनले प्रतिपादन गरेको सिद्धान्त जनवादी केन्द्रीयता अद्यापि संसारमा चर्चामा छ तर त्यसको प्रयोग रुसमा नै सही  रुपमा प्रयोग भएन । नेताहरुले त्यसलाई गाँजरको बाँसुरी जस्तो बनाई दिए–मन परेको बेला बजाउने मन नपरेको बेला चपाउने । माक्र्सको विचार भन्दा भिन्न रुपले उनले संसार पूजीबादबाट साम्राज्यबादमा रुपान्तरण भईसकेकोले कुनै एक देशमा पनि समाजबाद स्थापना हुन सक्छ भन्ने विचार निर्माण र रुसी विद्रोहको नेतृत्व लेनीनका प्रमुख देन हुन् तर ती सार्वभौमिक सच्चाइ अर्थात् वादको उचाइ  प्राप्त गर्ने  खालका थिएनन् । लेनीनको समकालीन अन्तराष्टिय राजनीतिक प्रभाव अत्यधिक भएर मात्र  उनको नाम पछाडि बाद झुण्ड्याउन थालिएको हो । स्तालिनलाई पनि लेनीनको मृत्यु पछि बोल्सेविक पार्टीको राजनीति सञ्चालन र दोश्रो विश्व युद्धमा उनको नेतृत्वमा रुसले गरेको सफलताका लागि  स्मरण गर्न सकिन्छ , तर कम्युनिष्ट आन्दोलनका महान गुरुको रुपमा होइन । निःसन्देह, माक्र्सबाद दार्शनिक–राजनीतिक सत्यको एक प्रतिभाशाली बीज थियो,तर त्यो नै सम्पूर्ण र अन्तिम सत्य थिएन र हुन पनि सक्दैन । माक्र्सबादी सत्यबीजबाट रुस,चीन वा अन्य देशमा हुर्केका कोपिला त्यही बादका उपज हुन् छुट्टै बाद हुन सक्दैनन् । एउटा रुखका हाँगालाई छुट्टा छुट्टै रुख देख्नु केवल दृष्टिभ्रम मात्र हो । बरु विश्व  कम्युनिष्ट आन्दोलनका नेताहरुले उनीहरुको समयमा संश्लेषण गरेका विचार बर्तमान विश्व परिस्थिति र नेपालको धरातलीय यथार्थसग कति मेल खान्छन् भन्ने बारेमा बस्तुनिष्ट निष्कर्षमा पुग्नु आवश्यक छ । “हरेक कुरामा सन्देह गर ” भन्ने माक्र्सका अनुयायी नै अन्धानुकरणको शिकार हुनु दुःखद् विषय हो । त्यसकारण विश्वका कुनै पनि कम्युनिष्ट पार्टीहरुको साझा मार्गदर्शक सिद्धान्त  माक्र्सबाद मात्र हुन सक्छ । आफूलाई अरुभन्दा फरक देखाउन वा क्रान्तिकारी देखाउन त्यसमा पुच्छर जोड्नुको कुनै तुक देखिदैन । ख) नौलो जनबादबारे चीनमा माओले माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने क्रममा कुनै देश अर्ध सामन्ती र अर्ध औपनिवेशिक अवस्थामा रहेको बेला कस्तो राज्य सत्ता कायम गरिएमा देश पुजीबाद वा पूजीबादबाट साम्राज्यबाद तर्फ जानुको सट्टा समाजबाद तर्फ डोहोर्याउन सकिन्छ भन्ने विचार अघि सारे । त्यो बिचार चीनमा त सफलतापूर्वक लागू भयो तर त्यही रुपमा अन्यत्र कहीं लागू भएन । चीनमा नौलो जनवादी क्रान्ति सम्पन्न भए लगत्तै कमरेड पुष्पलालको नेतृत्वमा गठन भएको नेपाल कम्युनिष्ट पार्टीले नेपाल पनि चीन जस्तै अर्ध औपनिवेशिक र अर्ध सामन्ती अवस्थामा रहेको र यहाँ नौलो जनबादी क्रान्ति आवश्यक भएको निष्कर्ष निकालेको थियो । र, सोही बमोजिमको कार्यनीति  तय गरेको थियो । झापा विद्रोह हुदै पार्टी बनेको तत्कालीन नेकपा(माले)ले झण्डै एक दशक नौलो जनबाद प्राप्तिका लागि सशस्त्र संघर्ष बाटो तय गरेको थियो । तत्कालीन नेकपा(मशाल)का महामन्त्री प्रचण्डले २०४५सालमा “नेपाली क्रान्तिका समस्या र दृष्टिकोणको प्रश्न”भन्ने दश्तावेजमा “नेपाली क्रान्तिको चरित्र सामन्तबाद–साम्राज्यबाद विरोधी अर्थात् नयाँ जनबादी हुन्छ” भनेका थिए । २००७ सालदेखि ०६३ सालसम्मका जनआन्दोलन,जनयुद्ध र मधेश आन्दोलनले नेपालमा थुप्रै परिवर्तन ल्यायो, सामन्तवादी सत्तालाई समूल नष्ट गर्यो तर चीनमा भएको जस्तो नयाँ जनवादी क्रान्ति  नेपालमा सम्पन्न हुन सकेन । माओबादी १० बर्षे जनयुद्धको उदेश्य त्यही भएपनि त्यो पूरा हुन सकेन । मुख्य उदेश्यमा  माओबादी जनयुद्ध असफल रह्यो । यो ६० बर्षको अवधिमा नेपाल अर्ध सामन्ती र अर्ध औपनिवेशिक अवस्थाबाट  पूजीबादी चरणमा रुपान्तरित भएको छ । कुल ग्राहस्थ उत्पादनको दृष्टिले र विद्यमान ब्यापार घाटाको दृष्टिले देश गरीब देशहरुकै कोटीमा छ, तर सामाजिक विषेशताको दृष्टिले देशमा आमूल परिवर्तन आएको छ । आज सम्म एनेकपा (माओबादी) लगायतका बिभिन्न माओबादी घटकले १० बर्षे जनयुद्धको समीक्षा गरेको कुनै दस्तावेज बाहिर आएको छैन । तर एकदिन तिनीहरुले जनयुद्धको निर्मम समीक्षा गर्नै पर्छ । केवल “महान जनयुद्ध”भन्ने शब्दावली प्रयोग गरेरमात्र पुग्दैन ।  जनयुद्धले जनजागरण ल्यायो, शहरीकरणलाई तीव्रता दियो, तत्कालीन संसदबादी दलहरुलाई राजतन्त्र अन्त्य गर्ने आन्दोलनमा उतार्यो । तर सबैलाई थाहा छ , हरेक युद्धले तलका तीन मध्ये एक परिणाम ल्याउछ । १) कब्जा २) सम्झौता ३) आत्मसमर्पण नेपाली माओबादी जनयुद्धले उल्लिखित कुनचाहिं परिणाम प्राप्त गर्यो त ? यसको गम्भीर समीक्षा नेपालको कम्युनिष्ट आन्दोलनले गर्ने नै छ । किनभने ईतिहासको तथ्यपरक समीक्षा र बर्तमानको यथार्थ विश्लेषण गरेरमात्र सही गन्तव्य तय गर्न सकिन्छ । नेपाली सामाजको चरित्रमा आएको फेरबदलको कारण अबको नेपालमा नौलो जनवादी क्रान्तिको न आवश्यकता छ न सान्दर्भिकता नै ।  नेपालको धरातलीय यथार्थ नौलो जनबादी क्रान्तिको लागि अब उपयुक्त छैन । यसो भन्न सकिन्छ, जतिसुकै मजबुत डोरीले नौलो जनवादलाई चीनबाट नेपालमा तान्न प्रयत्न गरिए पनि सगरमाथाबाट त्यो यता ओर्लन सकेन । र, भविष्यमा ओर्लने संभावना पनि छैन  । तर माओबादीका केही घटकले अझै नौलो जनवादी कार्यक्रम नछोड्नु र एक शताब्दी अगाडिको माओको आँखाले बर्तमान  नेपाली समाजलाई हेर्नु उनीहरुको बैचारिक दिवालीयपन सिवाय केही होइन । चीनको सन्दर्भमा माओले डिजाइन गरेको नौलो जनबादी कार्यक्रम नेपालमा लागू हुन नसक्ने पक्का भएपछि माओबादी आन्दोलन अब नेपालमा कसरी अगाडि बढ्ला ? चीनीयाँ कम्युनिष्ट पार्टीले माओ विचार मात्र भन्नुले पनि माओको बैचारिक योगदानले बादको उचाई प्राप्त गर्न सक्दैन भन्ने स्वतः सिद्ध छ । विश्व कम्युनिष्ट आन्दोलनका नेताको रुपमा श्रद्धेय माओको विचार नेपालमा अब लागू हुन सक्दैनन् भन्ने तथ्य अझै किन लुकाउने ? कहिल्यै पानी नपार्ने सुन्दर बादलको कतिन्जेल स्तुति गरिरहने ? के  कम्युनिष्टहरुले जनताको सामु साँचो बोलेर  राजनीति गर्न सक्दैनन्  ? जनता सामु साँचो बोलेर गरिएको राजनीति मात्र टिकाउ हुन्छ । त्यसो गरेरमात्र श्रमजीवीहरुको सच्चा प्रतिनिधि बन्न सकिन्छ । ग) एमाले धार नब्बेको दशकमा विश्व कम्युनिष्ट आन्दोलनले खाएको धक्का पश्चात् नेकपा(एमाले) ले नौलो जनवादबाट आफ्नो कार्यक्रमलाई बहुदलीय जनबाद त बनायो, तर त्यसले  पूजीबादी संसदीय ब्यबस्थाको भद्दानुकरण मात्र गर्न पुग्यो ।   त्यस पस्चात् एमालेजनहरुले मदन भण्डारीलाई अन्तिम सत्यको रुपमा बुझ्न थाले । मदन भण्डारीेले जनताको बहुदलीय जनबादको ब्याख्या गर्ने क्रममा भनेका थिए–“जनताको बहुदलीय जनबाद भनेको सामन्तबाद–साम्राज्यबाद बिरोधी जनबादी ब्यवस्था हो ।” उनले यसो पनि भनेका थिए जबज भनेको नयाँ विशेषता सहितको नयाँ जनबाद नै हो । तर त्यस्तो ब्यवस्था कस्तो अवस्थामा आउँछ भनेर एमालेलाई सोध्यो भने उनीहरुकसँग त्यसको जवाफ छैन । बस्तुतः ०६२।६३ सालको परिवर्तनले जनताको बहुदलीय जनबादका प्रमुख विषेशताहरुलाई असान्दर्भिक र अपूर्ण बनाइदियो ।  किनभने गणतन्त्र, समावेशीकरण र संघीयता जनताको बहुदलीय जनवादी शब्दकोषमा थिएनन् । २०६२।६३ को जनआन्दोलने बोकेका प्रमुख एजेन्डा नबोकेको जबजको निरन्तर जप कति जायज छ ? सिद्धान्त भनेको भजन गर्नका लागि होइन,व्यवहारमा उतार्नका लागि हो । मदन भण्डारीको वैचारिक क्षमता, भाषण कला र सादा जीवन सबै कम्युनिष्टहरुका लागि प्रेरक भए पनि उनले अघि सारेको विचार देशको यथार्थ वस्तुस्थितिको कसीमा निर्ममतापूर्वक घोट्नुको कुनै विकल्प छैन । त्यसो गरेर मात्र सच्चाइमा पुग्न सकिन्छ । जनताको बहुदलीय जनबादले  सो पार्टीलाई तुरुन्त संसदीय पार्टीमा रुपान्तरण गरिदियो । विचारमा देखिएको दक्षिणपन्थता तुरुन्त सो पार्टीको संगठनमा सर्यो र संगठनमा बचे खुचेको श्रमजीवी बर्गीय चिन्तन र क्रान्तिकारी स्पिरिटलाई समाप्त पारिदियो । परिणामस्वरुप पूजी हुनेले पार्टीभित्र चाँडै पाउने पूजी तथा अन्य स्रोत र  साधन नहुनेले लो प्रोफाइलमै रहनु पर्ने परिपाटीको सिर्जना गरिदियो । श्रमजीवी वर्गबाट त्यो अलग थलग भएर गयो । त्यसकारण विचार, सिद्धान्त र चरित्रले एमाले नेपाली काग्रेस जस्तै सुधारबादी–लोकतन्त्रबादी पार्टीको रुपमा मात्र रहेको छ । नेकपा (एमाले) हालसम्म भन्ने गरिएको लेनिनवादी संगठनात्मक सिद्धान्तबाट चलेको पार्टी होइन । त्यसो हो भने त नेपाली कांग्रेसको पार्टी संगठनलाई पनि लेनिनवादी संगठन वा सिद्धान्त अनुसार चलेको पार्टी हो भन्ने निष्कर्ष निकाल्नु पर्ने हुन्छ । पार्टीभित्र कुनै व्यक्तिको छनोट गर्दा व्यक्तिमा निहित वैचारिक उचाइ, त्याग र समर्पणलाई मापदण्ड बनाउनुको सट्टा उसले प्रयोग गर्न सक्ने स्रोत र साधनको हेक्का राखिनु वा गाई कि त्रिशुल सम्भावनाको सहारा लिनु लेनिनको संगठनात्मक सिद्धान्त भित्र किमार्थ पर्दैन । घ) माओबादी घटकहरु चीनीया नौलो जनबादी क्रान्तिका नायक माओलाई अधिमूल्यांकन गर्दै माआबादीहरुले सञ्चालन गरेको जनयुद्धले  माथि भनिएझैं ग्रामीण ईलाकामा रहेको सामन्ती अवशेषलाई  अन्त्य गर्यो, पिछाडि पारिएका जनतालाई  आफ्नो अधिकार प्रति सचेत पार्यो तर चीनीया जनयुद्धृले जस्तो सत्ता कब्जा गर्न सकेन । उदेश्य पूरा नहुदै जनयुद्ध सम्झौतामा टुगिंयो । हजारौ गरीबका छोराछोरीले रगत बगाएर निर्माण गरेको जन सेना क्षणिक सत्तासंग सौदाबाजी गर्नुपर्ने परिस्थिति सिर्जना भयो ।  माओबादी जनयुद्धले सत्ताबाट धेरै टाढा रहेका जनतालाई गगनचुम्बी सपना त बाँड्यो तर एमाओबादी सत्तामा पुगेपछि ती सपना मुर्तीकृत हुन सकेनन् । सपनाहरु एकैपटक छताछुल्ल हुँदा  पार्टीमा देखा परेको अराजकताले पार्टीलाई विभाजन,विखण्डन र  हाल विघटनको संघारमा पुर्याइदिएको छ । न लेनीनले भनेजस्तो जनबादी केन्द्रीयताको अभ्यास पार्टी संगठनभित्र गरिन्छ न एमालेले अपनाएको जस्ता पूजीबादी शैलीको चुनाव । शान्ति प्रक्रियामा आइ दुई दुई पटक संविधान सभाको चुनावमा भाग लिइसक्दा पनि पार्टी विगत जनयुद्धताकाको कमाण्डरसीपबाट लिडरसीपमा परिणत हुन सकेन । बिगतको जस्तै पार्टीभित्र  कमाण्डरसीप कायम रहदाँ कार्यकर्तामा लोकप्रियता र बैचारिक उचाईका लागि हुने प्रतिस्पर्धा कुण्ठित भएको छ । एकता प्रक्रियामा आएका हजारौ नेता कार्यकर्ता उचित जिम्मेवारीबाट बञ्चितमात्र छैनन्, उनीहरुलाई जनयुद्धका कमाण्डरहरुबाट निरन्तर “युद्ध नलडेको मान्छे भाग खान आएको” भनेर अपमान गरिदैंछ । एमाओबादीभित्र पद्दति र पार्टी निर्णयले निर्देशित गर्दैन, पद्दति वा पार्टी निर्णयभन्दा नेताको आदेश बलशाली हुन्छ । केन्द्रीय समितिले प्रायः निर्णय नै गर्न सक्दैन,गरिहाल्यो भने पनि त्यो निर्णय आधारभूत तहमा नपुगी हराउछ । त्यही कारण   एमाओबादी ( अरु माओबादीमा पनि) मा नेता छन् कार्यकर्ता छन् समर्थक र मतदाता पनि छन् तर पार्टी हराउदै गएको छ । जनयुद्ध लडेका योद्धाहरु या त विचल्लीमा छन् या त विदेशमा छन् । शहीद र बेपत्ता परिवार दर्दनाक जीवन बिताइ रहेका छन् । जनयुद्धको उत्कर्षमा पार्टीका लागि संकलित स्रोत र साधन आफ्नोलागि जोहो गर्नेहरुको जीवनमा अप्रत्यासित परिवर्तन देखिनु र सबै कुरा पार्टी हो भन्ने सोच्नेहरुको हात मुख जोड्न नसक्ने अवस्था बन्नु माओवादी पार्टी संगठनको प्रमुख विशेषता बनेको छ । पार्टी भित्रका हुने खाने हरु र हुँदा खानेहरुबीचको अन्तर विरोध व्यवस्थापन नभएमा त्यस भित्र थप अराजकता बढ्ने निश्चित प्रायः छ । त्यसै गरी नव सामन्ती चिन्तन र ठेकेदारी प्रथा पार्टीका बिभिन्न नेतृत्व तहमा देखिदैछ । त्यति मात्र होइन, कार्यकर्ता र जनतासंग नजोडिने नेतृत्वको गैरजिम्बेबार कार्य शैली कायम रहेमा र यसका नेता, कार्यकर्ता अहिले जस्तै निवृत्त सिपाहीले गर्ने जस्तो विगतमा लडेको युद्धको दिनभरि बखान गरेर बस्ने तर भविश्यप्रति केवल निराशामात्र ब्यक्त गर्ने हो भने ती पार्टीहरुको विघटन हुन कति बेर लाग्दैन । गणेशमान सिह देहान्त हुनु केही दिन पूर्वमात्र दिइएको एक अन्तर्बार्तामा उनले अब देशमा हरित क्रान्ति गर्नु पर्छ भन्दै थिए । म प्रधानमन्त्री भएर देशको आमूल परिवर्तन गर्छु भन्दा भन्दै मनमोहन अधिकारीले गोठाटारको आमसभामै ज्यान गुमाए । यहाँ यो सन्दर्भ उल्लेख गर्नुको तात्पर्य के हो भने राजनीतिले इतिहासलाई सन्दर्भ सामग्रीको रुपमा लिएर भविष्यको योजना बनाइ रहेको हुन्छ । इतिहासप्रति अवस्तुवादी दृष्टिकोण राखेर भविष्यप्रति अन्योल ग्रस्त जीवन बिताउनु द्वन्द्ववादी भनिनेहरुको लागि दुःखदायी छ । नेपालको कम्युनिष्ट आन्दोलनमा आफ्नो बर्गको आन्दोलन र पार्टी भनेर हजारौ गरीब सर्वहाराले रगत पसिना बगाएका छन् । समय दिएका छन्,मतदान गरेका छन् । तर अहिलेसम्म गरीब–सर्वहारा वर्गका पार्टी सत्ता स्थापना हुन सकेन । यसको प्रमुख कारण गरिबलाई राजनीतिको केन्द्रमा आउन सक्ने अवस्थाको सिर्जना हुन नसक्नु नै हो  । गरीब–सर्बहाराको नाममा अरुले नै रजाइँ गर्ने परिपाटीको अन्त्य नभएसम्म यसमा सुधार आउने संभावना पनि छैन । विडम्वना नै भन्नु पर्छ,बर्गीय मुक्ति आन्दोलनमा नेपालका कम्युनिष्ट पार्टीहरु ईमानदार देखिएनन् । जातीय मुद्धाले बर्गीय मुद्धालाई ओझेलमा पार्नु अर्को दुःखद् विषय बनेको छ । ङ) समाजबादबारे जसरी नेपालमा नौलो जनबादबारे कम्युनिष्ट पार्टी गठन भए यता हालसम्म नेताहरुमा भ्रम बाँकी छ, त्यसरी नै बैज्ञानिक समाजबादबारे पनि काफी भ्रम छ । करिब एक शताब्दी अघि वैज्ञानिक समाजवादका व्याख्याताहरुले वैज्ञानिक समाजवाद भनेको योग्यता अनुसारको काम, काम अनुसारको दाम भन्ने परिभाषा गरेका थिए । योग्यता अनुसारको काम दिलाउन र काम अनुसारको दाम दिलाउन समाजवादी राज्यले देशको स्रोत साधनलाई आफ्नो जबरजस्ती नियन्त्रणमा लिई  वितरणको नीति अवलम्बन गरेको थियो । त्यसो गर्दा जनताको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास मात्र आएन, व्यक्तिको नैसर्गिक स्वतन्त्रतामाथि समेत प्रहार गर्यो । समाजवादका व्याख्याताहरुले समाजवाद प्राप्तिका लागि पूर्ण स्वतन्त्रता आवश्यक हुन्छ भन्ने साझा निष्कर्ष निकाले पनि व्यवहारमा राज्य नियन्त्रित समाजवादको अभ्यास हुन पुग्यो । एक शताब्दि अगाडिको विश्व र वर्तमान विश्व परिस्थितिमा आमूल भिन्नता आइसकेको कारण त्यो बेलाको समाजमा उपयुक्त मानिएको समाजवाद वर्तमान विश्वको कुनै कुनामा पनि लागू हुन सक्दैन । त्यति बेला, व्यक्तिको भूमिमाथिको अधिकार र उद्योग कलकारखाना माथिको स्वामित्वलाई प्रमुख रुपमा हेरिन्थ्यो भने अहिले व्यक्तिको प्रविधि र सीपको पहुँच, जग्गा जमिन र उद्योग धन्दा माथिको उसको स्वामित्व भन्दा प्रभावशाली र मूल्यवान हुँदै आएको छ । गुगल, फेसबुक, ट्वीटर आदिका संचालकहरुले संसारमा पार्ने प्रभाव र कमाउन सक्ने आर्थिक लाभ हजारौं एकड जमिन वा विश्वका ठूल्ठूला उद्योग धन्दाले प्राप्त गर्ने मुनाफा भन्दा कम छैन । उत्पादनका साधन माथिको स्वामित्व नभएको व्यक्तिलाई कार्ल माक्र्सले सर्वहारा भनेर परिभाषा गरे तर अहिले  उल्लेखित सीप र सूचना भएमा त्यो “सर्वहारा” छोटो अवधिमै विश्वको सबभन्दा धनी मानिस हुन बेर लाग्दैन । विडम्बना हाम्रो देशमा हाल सम्म पनि क्रान्तिकारी भूमिसुधारको नाममा जग्गा बाँड्ने र खोस्ने लुकामारी चलिरहेको छ । आज कुनै व्यक्तिलाई बासको लागि एक टुक्रा जमिन दिनु भन्दा उसलाई बाँच्नका लागि सीप,योग्यता र सूचनाबाट समृद्ध पार्नु बढि आवश्यक छ । “माछा दिनु भन्दा माछा मार्न सिकाउनु बेस हुन्छ” भन्ने चिनिया उखान यहाँ स्मरणीय छ । समुचित भूउपयोग नीति निर्माण गर्नु आवश्यक छ । न कि दशकौं अगाडि व्यवहारमा रहेको भूमि वितरण । नेपालको कम्युनिष्ट आन्दोलन म्याद सकिएको औषधि जस्तो विचार मात्र बोकेर  अब अगाडि बढ्न सक्दैन ।देशको बस्तुगत अवस्थासंग असान्र्दिभिक विचारहरुको भजन गर्न छोडेर विश्व कम्युनिष्ट आन्दोलनले अनुभव गरेर आएका विभिन्न विचार र घटनालाई सन्दर्भ सामग्रीको रुपमा लिएर नेपालको वर्तमान वस्तुगत परिस्थितिको ठोस विश्लेषणको आधारमा नया कार्यनीति रणनीतिको निर्माण गर्नु आवश्यक छ । अन्यथा,नेपालको कम्युनिष्ट आन्दोलन रथ अघि अघि र घोडा पछि पछि हुने परिस्थितिको सिकार हुन बेर लाग्दैन । समग्र कम्युनिष्ट आन्दोलनका लागि जसरी नयाँ विचारको आवश्यकता छ, त्यसरी नै त्यो विचार बोक्ने क्रान्तिकारी पार्टीको आवश्यकता रहन्छ । तर, रुसी क्रान्ति वा चिनिया क्रान्तिको अमिट छाप परेका नेपाली कम्युनिष्ट नेताहरुले नेपालको परिवर्तन, अग्रगमन र भावी कार्यनीतिक कार्यदिशालाई त्यही पुरानो आँखाले हेर्ने परिपाटी कायम रहे सम्म वर्तमान अवस्थामा तात्विक परिवर्तनको अपेक्षा गर्न सकिंदैन । यो त केवल साथी डुब्न लाग्दा त्यसलाई कसरी बचाउने भन्ने उपाय किताबमा खोज्ने बनारसी पण्डितको तरिका जस्तो मात्र भइरहेको छ । अबको वैज्ञानिक समाजवाद विगतमा अभ्यास गरिएको जस्तो निषेधकारी तरिकाले निर्माण गर्न सम्भव छैन । अब निर्माण गर्ने वैज्ञानिक समाजवाद  ज्ञान, सीप, दक्षता र सूचनाले संमृद्ध मानिसहरुको स्वस्थ एवं इमान्दार प्रतिस्पर्धाबाट निर्माण गरिनु पर्दछ । व्यक्तिको सांस्कृतिक एवं चारित्रिक रुपान्तरण, प्रत्येक नागरिकलाई राज्यको समान सेवा, शिक्षा स्वास्थ्य जस्ता नैसर्गिक अधिकारमा समान पहुँच र उपलब्धता प्रतिस्पर्धात्मक समाजवाद निर्माणका प्रस्थान विन्दु हुन सक्दछन् । वैज्ञानिक विश्व दृष्टिकोण,सहकारी एबम् सामूहिक प्रयासद्वारा निजी आवश्यकताको परिपूर्ति, प्रगतिशील आरक्षण, समावेशीमरण,सकारात्मक बिभेद र लोक कल्याणकारी राजकीय कदमहरुको माध्यमबाट समाजवादतर्फ देशलाई उन्मुख गराउन सकिन्छ । संसारको कुनै शासन व्यवस्थाले  प्रतिस्पर्धालाई निषेध गर्न सक्दैन । प्रतिस्पर्धा मानव स्वभाव हो । समाजबादमा मात्र होइन साम्यबादमा पनि मानव मानव वीच स्वस्थ्य प्रतिस्पर्धा रहिरहन्छ । यो जन्मजात गुण भएकाले त्यसलाई नियन्त्रण गर्न खोज्नु कसैकालागि सुहाउने कुरो होइन । तर हज्जारौं बर्षदेखिको शोषणबाट बर्ग,जाति र समुदायलाई आधुनिक विश्वको प्रविधि, सीप , शिक्षा र आवश्यक स्रोत साधन उपलब्ध गराउनुका साथै अकूत सम्पतिवालालाई राजकीय पहलबाट नियन्त्रण गर्ने परिपाटी अवलम्बन गर्नु जरुरी छ । पूजीबादी घाँटी कटुवा प्रतिस्पर्धाको अन्त्य गर्न श्रमजीवी सत्ता आवश्यक हुन्छ । श्रमजीवी सत्ता निर्माण गर्न सोही बर्गको सच्चा क्रान्तिकारी पार्टी नभई हुदैन । बर्गीय मुक्तिले नै सबै उत्पीडनको समाप्ति गर्ने भएकोले  नेपाली समाजको सही बर्ग विश्लेषण गरेर बास्तविक श्रमजीवी बर्गको नेतृत्व स्थापित गर्न मजवुत पार्टी निर्माण आजको युगीन आबश्यकता हो । च) हाम्रा नाराहरु १) वैदेशिक लगानीलाई राष्ट हीत अनुकुल हुनेगरी मात्र स्वीकार गर। २) राष्टिय पूँजी प्रबर्धन गर्न विशेष कार्यक्रम घोषणा गर । स्वाधीन राष्टिय अर्थतन्त्रको विकास गर । ३) गरीबीको रेखामुनि रहेका जनतालाई  तत्काल विशेष भत्ताको ब्यवस्था गर । राज्यका हरेक निकायमा उनीहरुलाई  विशेष आरक्षण गर । ४) बार्षिक ५० लाख आन्दानी भएका ब्यक्तिको सम्पतिमाथि ६० प्रतिशत कर लगाउ र सो करको ५० प्रतिशत सोझै विपन्न बर्गको हितमा प्रयोग गर । ५) एक गाउँ एक प्राविधिक केन्द्रको नीति लागू गर । ६) मजदुर बर्गको हितको लागि मजदुर राष्टिय निवृतिभरण कोषको स्थापना गर । ७) २० बर्ष भन्दा बढी कृषि ब्यवशायमा जीवन विताएका कृषकहरुलाई अधिकृत सरह निवृतिभरणको ब्यवस्था गर । ८)भारत र चीनसँग समदुरीको भाइचारा सम्बन्ध कायम गर । ९) जातीय समावेशीकरण सगैं उत्पीडित बर्गको समानुपातिक प्रतिनिधित्वको ग्यारेण्टी गर । राज्यका हरेक तहमा गरीबीको रेखामुनी रहेका जनताको समानुपातिक प्रतिनिधित्व सुनिस्चित गर । १०) वैदेशिक रोजगारमा जाँदा ज्यान गुमाएका परिवारको जीवन गुजाराको ब्यवस्था गर । ११) जनतालाई शिक्षा र स्वास्थ्यको पूर्ण  ग्यारेण्टी गर । १२) लोपोन्मुख भाषाहरुको छुट्टा छुट्टै अध्ययन प्रतिष्ठान निर्माण गर ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies