काठमाडौं । भेनेजुएलामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ भने १ हजार ५०० भन्दा बढी घाइते भएका छन्। अधिकारीहरूका अनुसार दुई सयभन्दा बढी मानिस अझै भग्नावशेषमा फसेको आशंका गरिएको छ भने हजारौं मानिस सम्पर्कविहीन छन्।
स्थानीय समयअनुसार बुधबार साँझ ६:०४ बजे ४० सेकेन्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएका थिए। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार पहिलो भूकम्प क्यारिबियन तटस्थित मोरोन शहर नजिक २२ किलोमिटर गहिराइमा गएको थियो भने दोस्रो ७.५ म्याग्निच्युडको भूकम्प १० किलोमिटर गहिराइमा आएको थियो।
भूकम्पपछि सरकारले देशभर संकटकाल घोषणा गरेको छ। राजधानी काराकाससहित विभिन्न क्षेत्रमा विमानस्थल बन्द छन्, सडक यातायात अवरुद्ध छ भने विद्युत्, खानेपानी र सञ्चार सेवा समेत प्रभावित भएका छन्।
राष्ट्रिय बिदाका कारण अधिकांश नागरिक घरमै रहेका बेला भूकम्प गएकोले मानवीय क्षति उच्च भएको अधिकारीहरूको भनाइ छ। कम्पन छिमेकी कोलम्बियाको राजधानी बोगोटासम्म महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
राजधानी काराकासको उत्तरमा रहेको तटीय क्षेत्र ला ग्वाइरामा सबैभन्दा बढी क्षति पुगेको छ। त्यहाँ रहेको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा क्षति पुगेपछि बन्द गरिएको छ, जसका कारण राहत र उद्धार कार्यमा कठिनाइ थपिएको छ।
उद्धार टोलीले भग्नावशेष हटाउने काम जारी राखे पनि धेरै स्थानमा स्थानीयवासी आफैं हातैले भग्नावशेष पन्छाएर आफन्तको खोजीमा जुटेका छन्। राजधानी बाहिर सरकारी उद्धार टोलीको उपस्थिति न्यून रहेको स्थानीयको गुनासो छ।
ला ग्वाइरामा एक आमाले आफ्ना ३ र १० वर्षका दुई सन्तानको शव कम्बलमा बोकेर रोइरहेको दृश्यले देशभर भावुक बनाएको छ। टेलिभिजन च्यानलहरूले भग्नावशेषबाट जीवित व्यक्तिको उद्धार र आफन्त गुमाएकाहरूको पीडादायी दृश्य निरन्तर प्रसारण गरिरहेका छन्।
अन्तर्राष्ट्रिय सहयोग जुट्दै
कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले उद्धार तथा राहतका लागि २० करोड अमेरिकी डलरको कोष स्थापना गर्ने घोषणा गरेकी छन्। उनले निजी क्षेत्रसँग भारी उपकरण उद्धार कार्यका लागि उपलब्ध गराउन आग्रह पनि गरेकी छन्।
डोमिनिकन गणतन्त्रबाट पहिलो विदेशी उद्धार टोली पुग्ने तयारीमा रहेको छ भने अमेरिका, मेक्सिको, ब्राजिल, कतार, स्पेन, पोर्चुगल र क्यानडालगायत देशहरूले राहत सामग्री, चिकित्सकीय उपकरण, तालिमप्राप्त उद्धार कुकुर, ड्रोन तथा उद्धार टोली पठाउने घोषणा गरेका छन्।
राहत कार्यलाई सहज बनाउन अमेरिकाले भेनेजुएलामाथि लगाइएका केही आर्थिक प्रतिबन्ध अस्थायी रूपमा अक्टोबर २३ सम्मका लागि खुकुलो बनाएको जनाएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले खोज तथा उद्धार टोली र चिकित्सकीय सामग्री तत्काल पठाइरहेको जानकारी दिएका छन्। यद्यपि मुख्य विमानस्थल बन्द रहेकाले राहत सामग्री पुर्याउन चुनौती रहेको उनले स्वीकार गरेका छन्।
आफन्तको खोजीमा फोटोसहितका सूचना
भूकम्पपछि काराकासका धेरै क्षेत्रमा विद्युत्, मोबाइल सेवा र ग्यास आपूर्ति अवरुद्ध भएको छ। मेट्रो सेवा स्थगित गरिएको छ भने विद्यालयहरू केही दिनका लागि बन्द गरेर कतिपय भवनलाई अस्थायी आश्रयस्थल तथा राहत संकलन केन्द्रका रूपमा प्रयोग गरिने सरकारले जनाएको छ।
समाचार एजेन्सी एपीका अनुसार हराइरहेका आफन्तको खोजीमा परिवारहरूले सडक र सार्वजनिक स्थलमा फोटोसहितका सूचना टाँस्न थालेका छन्। विदेशमा रहेका हजारौं भेनेजुएली पनि आफ्ना परिवारसँग सम्पर्क गर्न नसक्दा चिन्तित बनेका छन्।
प्रतिकृया लेख्नुहोस्: