Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

जातीय विभेदविरूद्धको जीवित सङ्ग्रहालय

खबरडबली संवाददाता

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर बसेको देखिन्छ । विशेषगरी ग्रामीण समाजमा परम्परा, संस्कार र सामाजिक संरचनासँग गासिएर बसेको जातीय विभेद पूर्ण रूपमा अन्त्य हुन अझै समय लाग्ने देखिन्छ ।

राजनीतिक, सामाजिक र बौद्धिक मञ्चहरूमा समानता, समावेशिता र सामाजिक न्यायका कुरा व्यापक रूपमा उठाइए पनि व्यवहारमा समानता स्थापित गर्न चुनौती कायमै छ । तर सुदूरपश्चिम प्रदेशको बैतडीमा रहेको पाटन नगरपालिका–३ स्थित वनारसीधाम तथा विश्वनाथ ज्योतिर्लिङ्ग शक्तिपीठ भने ४१८ वर्षअघि नै सामाजिक समानताको अभ्यास सुरु गरिएको एउटा ऐतिहासिक स्थलका रूपमा चिनिन्छ ।

यस शक्तिपीठमा दलित र ब्राह्मण पुजारीले एउटै धाम क्षेत्रमा संयुक्त रूपमा पूजा–अर्चना गर्दै आएका छन् । यही परम्पराका कारण वनारसी धामलाई जातीय विभेदविरुद्धको एउटा ऐतिहासिक ‘लिभिङ म्युजियम’ अर्थात् जीवित सङ्ग्रहालयका रूपमा लिन सकिन्छ । तर विडम्बना, जातीय समानताको यस्तो ऐतिहासिक सन्देश बोकेको धाम भने विकासका हिसाबले अझै पछाडि परेको छ । करोडौँको गुरुयोजना बजेट अभावमा कागजमै सीमित रहेको छ ।

विशेषगरी धार्मिक क्षेत्रलाई उच्च जातिको अधिकार क्षेत्र मानिने र दलित समुदायलाई मन्दिर प्रवेशदेखि पूजा–अर्चनासम्म प्रतिबन्ध लगाउने परम्परा लामो समयसम्म कायम थियो तर बैतडीको वनारसीधाममा भने यो परम्परा उल्टो देखिन्छ ।

यहाँ दलित र ब्राह्मण पुजारीले संयुक्तरूपमा पूजा गर्ने, प्रसाद वितरण गर्ने, धार्मिक अनुष्ठान सञ्चालन गर्ने परम्परा चार सय वर्षभन्दा लामो समयदेखि निरन्तर चल्दै आएको धाम क्षेत्रको इतिहासको खोजी गर्दै आएका अनुसन्धानकर्ता तथा आचार्य पण्डित गणेशप्रसाद पन्त बताउँछन् । 

उनका अनुसार वनारसीधामको इतिहास तत्कालीन स्वराड क्षेत्रका महाराजा मानुक चन्द (मनि चन्द) को शासनकालसँग जोडिएको पाइन्छ । इतिहासअनुसार १६०४ सालतिर स्वराड क्षेत्रमा जातीय विभेद चरममा थियो । समाजमा छुवाछूत, सामाजिक भेदभाव र जातीय विभाजनका कारण सामाजिक सद्भाव खल्बलिन थालेपछि राजा मानुक चन्दले यसको समाधान खोज्न राजगुरु तथा राजज्योतिषी वीरभद्र पन्तलाई निर्देशन दिएका थिए।

“राजगुरुको पहलमा विभिन्न जात–समुदायका प्रतिनिधिहरूको बैठक बोलाइएको थियो“, आचार्य पन्तले भन्नुभयो, “उक्त बैठकमा पण्डित, भट्ट, भाट, विष्ट, अवस्थी, कोली, दमाई, लुहार, कुमाल, पहरीलगायत विभिन्न जात–समुदायका प्रतिनिधिहरू सहभागी भएका थिए, लामो छलफलपछि एउटा ऐतिहासिक निर्णय भयो–धर्म, पूजा र धार्मिक आस्थाको क्षेत्रमा कुनै पनि प्रकारको जातीय विभेद हुनु हुँदैन, गरिनु हुँदैन ।”

उनले भने, “यस निर्णयलाई पछि राजसभा परिषद्बाट औपचारिक रूपमा पारित गरियो, त्यसपछि दलित समुदायका व्यक्तिलाई समेत पुजारी नियुक्त गरियो र ब्राह्मण पुजारीसँगै संयुक्त रूपमा पूजा गर्ने परम्परा सुरु भयो ।” करिब ४१८ वर्षदेखि आजसम्म यही परम्परा निरन्तर चल्दै आएको छ ।

वर्षौं पहिले लिएको यस निर्णयलाई सामाजिक सुधार आन्दोलनकै रूपमा व्याख्या गर्न सकिने बनारसीधाम विश्वनाथ सेवा समाजका उपाध्यक्ष मनिराम कोलीले बताए । “त्यो समय हिन्दू समाजमा जातीय विभेद अत्यन्त कठोर रूपमा लागू हुने समय थियो”, उनले भने, “त्यस्तो समयमा धार्मिक क्षेत्रमा समानता लागू गर्नु अत्यन्त ठूलो सामाजिक परिवर्तन मानिन्छ ।” उनका अनुसार वनारसीधामलाई केवल धार्मिक आस्थाको केन्द्रका रूपमा मात्र हेर्नु अपूरो हुन्छ । समाजशास्त्रीय दृष्टिले हेर्दा यो धाम जातीय विभेदविरुद्धको ऐतिहासिक आन्दोलनको प्रतीक जस्तै देखिन्छ ।

आज पनि यस धाममा दलित पुजारीबाट टीका लगाउने, प्रसाद लिने, पूजा गराउने परम्परा कायम छ । यहाँ आउने भक्तजनले पुजारीको जात हेरेर पूजा गराउने परम्परा छैन । ब्राह्मण र दलित पुजारी एउटै स्थानमा बसेर संयुक्त रूपमा पूजा गर्ने, धार्मिक अनुष्ठान सञ्चालन गर्ने र भक्तजनलाई प्रसाद वितरण गर्ने परम्परा अझै कायम छ ।

“यसले समाजमा समानता, सहअस्तित्व र समावेशीताको सन्देश दिन्छ”, धामका वरिष्ठ प्रचारकका रुपमा रहेका कोलीले भने, “धार्मिक स्थल भएर पनि यसले सामाजिक परिवर्तनको सन्देश दिइरहेको छ, सामाजिक विभाजनभन्दा सामाजिक एकता महत्वपूर्ण हुन्छ भन्ने सन्देश यो धामले चार सय वर्षदेखि दिइरहेको छ ।”

धार्मिक मान्यताअनुसार वनारसीधामको वर्णन स्कन्द महापुराणको मानसखण्डमा गरिएको पाइन्छ । उक्त ग्रन्थमा भगवान शिवले आफ्ना गण, गन्धर्व, यक्ष, किन्नर, दिक्पाल, लोकपाल आदिलाई निर्देशन गरी रमणीय पुरी निर्माण गरेर त्यहाँ ज्योतिर्लिङ्ग स्थापना गराएको उल्लेख छ । यो धाम सरयू र गोमती नदीको संगम क्षेत्र, नील पर्वतको फेदी र असीबरुणको मध्य भागमा रहेको सुन्दर वनारसीपुरीमा स्थापित भएको मानिन्छ।

यहाँको विश्वनाथ ज्योतिर्लिङ्गलाई ८४ रूप धारण गर्ने, २२ तालमा स्नान गर्ने, १२ मसानको गुरु, ८४ सिद्धबाट सम्मानित तथा १६ शिवालयको गुरुका रूपमा पूजा गरिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । यही कारणले यो धामलाई शक्तिपीठका रूपमा मान्यता पाएको समाजका सदस्य लक्ष्मी भाट बताउँछन् । 

वनारसीधाममा विभिन्न पर्व तथा समयमा लाग्ने धार्मिक मेलामा भारत र नेपालका विभिन्न क्षेत्रका हजारौँ भक्तजन आउने गर्छन् । विशेषगरी माघ महिनामा लाग्ने २२ ताल कुम्भ मेला प्रख्यात रहेको छ । जसमा २२ वटा जलाशयबाट पानी सङ्कलन गरेर मुख्य शिवलिङ्गमा स्नान गराउने विशेष परम्परा रहेको छ।

वनारसीधाममा नेपालका सुदूरपश्चिमका जिल्लाहरू मात्र होइन, भारतका उत्तराखण्ड, उत्तरप्रदेश, पञ्जाब, लखनऊ, कर्नाटकलगायत विभिन्न स्थानबाट भक्तजन आउने गर्दछन् । यसले यो धामको सीमापार धार्मिक महत्व पनि देखाउँछ । परम्पराअनुसार विभिन्न क्षेत्रबाट चिनोबानो, सुनचाँदी, गरगहना, पञ्चेबाजा, नेजा–ध्वजासहित भक्तजन पूजा गर्न आउने परम्परा रहेको धाम क्षेत्रका जानकार गोपालसिंह भाटले बताए । 

उचित प्रचार–प्रसार, सडक पहुँच, पुल निर्माण, धर्मशाला, खानेपानी, शौचालय, बस्ने व्यवस्था लगायतका पूर्वाधार विकास गर्न सकियो भने वनारसीधाम धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्र बन्नसक्ने सम्भावना उच्च रहेको उनको भनाइ छ ।

मन्दिरको पूजा–अर्चना र व्यवस्थापनका लागि वनारसीधाम विश्वनाथ गुठीको नाममा छ सय ६६ रोपनी जग्गा व्यवस्थापन गरिएको छ । स्थानीय व्यवस्थापन समितिले चन्दा र सहयोगबाट मन्दिर निर्माण, सिँढी, पर्खाल, जीर्णोद्धारलगायत कार्य पूरा गरेको छ ।

यस क्षेत्रमा ७५ फिट अग्लो मन्दिर निर्माण कार्य समेत स्थानीय प्रयासबाट सम्भव भएको छ । यसले स्थानीय समुदायको सक्रियता देखाउँछ तर यति ठुलो धार्मिक र ऐतिहासिक महत्व बोकेको धामको विकास केवल स्थानीय प्रयासबाट मात्र सम्भव छैन ।

वनारसीधाम क्षेत्रको समग्र विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको छ । करिब रु १८ करोड ८० लाख बराबरको डीपीआर तयार गरिएको छ तर हालसम्म राज्यबाट अत्यन्त न्यून बजेट मात्र प्राप्त भएको समाजका अध्यक्ष उत्तरबहादुर चन्दले बताए ।

“धाम क्षेत्रका भौतिक संरचना निर्माण गर्दा धाम समितिलाई रु १६ लाख बढी कर्जा लागेको छ,” उनले भने, “विभिन्न निकायमा संरचना निर्माण कार्य पूरा गर्नका लागि बजेटको माग गर्दै धायौँ तर कुनै पनि निकायले हालसम्म बजेट व्यवस्थापनको कार्य गर्न सकेका छैनन् ।”

धाम क्षेत्रको विकासका लागि नदीमा पुल निर्माण, मन्दिरसम्म सडक विस्तार, धर्मशाला निर्माण, शौचालय र खानेपानी व्यवस्था, तटबन्ध निर्माण, पर्खाल र संरक्षण कार्य, धार्मिक पर्यटकका लागि बस्ने व्यवस्थालगायतका भौतिक पूर्वाधार आवश्यक भएको उनी बताउँछन्।

“दलित समुदाय पुजारी रहेको सुदूरपश्चिम क्षेत्रमा विशिष्ट पहिचान बोकेको यो मात्रै एक धार्मिक क्षेत्रका रुपमा रहेको छ,” अध्यक्ष चन्दले भने, “दलित समुदायनै धाम क्षेत्रका हर्ताकर्ताका रुपमा पुर्खौंदेखि रहँदै आएका छन्, सामाजिक समानता बोकेको यस धामको विकासका लागि सबैको सहयोगको खाँचो छ ।”

यी सबै कामका लागि ठूलो बजेट आवश्यक भए पनि आर्थिक अभावका कारण काम अघि बढ्न नसकेको उनले बताए । उनले भने, “मन्दिर नजिकै नदी छ, पुल नभएका कारण भक्तजनलाई घुमेर जानुपर्ने बाध्यता रहेको छ, छोटो दूरी पार गर्न पनि लामो समय लाग्ने गर्दछ, भिर चढेर जानुपर्ने अवस्था छ ।” वनारसीधामलाई व्यवस्थित रूपमा विकास गर्न सकियो भने यस क्षेत्रको आर्थिक अवस्था परिवर्तन हुन सक्ने उनको भनाइ रहेको छ।

धार्मिक पर्यटन विकास भएमा होटल व्यवसाय, पसल, यातायात, गाइड सेवा, हस्तकला, स्थानीय कृषि उत्पादन बिक्री, सांस्कृतिक कार्यक्रम जस्ता क्षेत्रबाट स्थानीयलाई रोजगारी र आम्दानीको अवसर सिर्जना हुने धामका मूलपूजारी धिरे लुहार बताउँछन् ।

“वनारसीधाममा पनि धार्मिक, ऐतिहासिक र सामाजिक महत्व भएकाले उचित लगानी गरियो भने यो धाम सुदूरपश्चिमकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बन्न सक्छ,” उनले भने, “इतिहास, धार्मिक महत्व, सामाजिक सन्देश र पर्यटन सम्भावना हुँदाहुँदै पनि वनारसीधाम राज्यको प्राथमिकतामा पर्न सकेको छैन ।”

समानताको सन्देश बोकेको यस्तो ऐतिहासिक, धार्मिक र सामाजिक महत्व बोकेको धाम आर्थिक अभाव, पूर्वाधारको कमी र राज्यको उपेक्षाका कारण अपेक्षित रूपमा विकास हुन नसकेको उनको भनाइ छ । उनले भने, “वनारसीधामको कथा एउटा मन्दिरको कथा मात्र होइन, यो विभेदविरुद्धको इतिहास, समानताको सन्देश र विकासको सम्भावनाको कथा भएकाले धार्मिक सहअस्तित्वको महत्वपूर्ण धरोहरका रूपमा यसलाई हेर्न आवश्यक छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेवाताल किनारमा गृहमन्त्री गुरूङकै २० रोपनी जग्गा, दूषित दर्ता खारेज हुने

पोखरा । फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा ताल किनारबाट ६५ मिटरभित्र रहेका संरचना हटाउने प्रक्रिया अघि बढ्दा गृहमन्त्र...

कलाकार ‘बले’ विरूद्ध जाहेरी नै आएनः प्रहरी

काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेब...

बलेलाई लगियो सरकारी वकिल कार्यालय

काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगिएको छ। अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई प्रहरीले ...

सभामुख डीपी अर्यालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भव...

जातीय विभेदविरूद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर ब...

जिल्ला अस्पतालका कर्मचारीलाई सेवाग्राहीको सहजताका लागि निर्देशन

ओखलढुङ्गा । कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु ले जिल्ला अस्पताल ओखलढुङ्गाका कर्मचारीहरूलाई सेवाग्राहीहरूलाई अन्य अस्पताल धाउन नप...

शुक्लाफाँटामा बाघ गणना सम्पन्न

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबु...

बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायी पक्राउ

काठमाडौं । हाइ प्रोफाइलहरुलाई पक्राउ गरेर चर्चा कमाएको सरकारले मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ...

२६ सय विन्दुमा झर्‍यो नेप्से, एकैदिन १०५ अंकको गिरावट

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज मा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो। ...

नापी र यातायात कार्यालय ललितपुरबाट ३२ बिचौलिया पक्राउ

काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम असुल्ने बिचौलियाविरुद्ध ललितपुर प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ चल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending