काठमाडौं । २१ फागुनको निर्वाचनका लागि जिल्ला–जिल्लाबाट उम्मेदवार सिफारिस गराइरहेको कांग्रेसभित्र संस्थापन पक्षकै नेताहरू प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा उभिँदै जान थालेका छन् । विघटित संसद्को सबैभन्दा ठुलो दल कांग्रेसले पुनर्स्थापनाका लागि निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन अभियानलाई तीव्रता दिएको छ ।
एमालेसहित संसद्को बहुमत सांसदको हस्ताक्षर जुटाउने तयारी कांग्रेसको छ । तर, महामन्त्री गगन थापा पक्षधर सांसदहरूले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । डा. शेखर कोइराला पक्षले पनि निर्वाचनको वातावरण नबनेको जनाउँदै प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा आफूलाई उभ्याएको छ । स्रोतका अनुसार कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले फोन गरेर निवर्तमान सांसदहरूलाई हस्ताक्षरका लागि सिंहदरबास्थित संसदीय दलको कार्यालयमा बोलाइरहेका छन् । प्रत्येकका लागि छुट्टाछुट्टै पृष्ठमा हस्ताक्षर र दायाँबायाँ औँठाछाप गराइएको एक सांसदले बताए ।
कांग्रेस सचेतक सुशीला थिङले संसद्को बहुमत पुर्याउने गरी हस्ताक्षर अभियान चलिरहेको बताइन् । ‘कांग्रेसमा बहुमतको हस्ताक्षर भइसक्यो, हामी संसद्कै बहुमत पुर्याउने गरी अघि बढेका छौँ । असंवैधानिक रूपमा विघटन भएको संसद् पुनर्स्थापना गर्नुको विकल्प छैन,’ उनले भनिन् ।
संसद् पुनर्स्थापनाको पक्षमा कोइराला पक्ष पनि सहमत देखिएको छ । नेता कोइरालाले २१ फागुनमा तोकिएको निर्वाचनको वातावरण सरकारले बनाउन नसकेको र संसद् पुनर्स्थापनाको सम्भावना बढ्दै गइरहेको बताएका थिए ।
पार्टीले आधिकारिक निर्णय गरे आफूहरू हस्ताक्षर गरेर अगाडि बढ्ने निवर्तमान सांसद सञ्जय गौतमले बताए । ‘चुनावमै जानुपर्छ भन्ने मान्यता हो । तर, देश संसद् पुनर्स्थापनाको बाटोमा जान थालेको आभास भएको छ,’ गौतमले भने, ‘मैले अहिलेसम्म हस्ताक्षर त गरेको छैन । पार्टीले आधिकारिक निर्णय गर्यो भने सोच्नुपर्छ ।’
महामन्त्री थापा पक्षघर मानिने निवर्तमान सांसद प्रतिमा गौतमले हस्ताक्षरका लागि पटक–पटक आग्रह गरिए पनि आफूहरूले नगरेको बताइन् । ‘कांग्रेसले आधिकारिक र संस्थागत निर्णय गरेको छैन । साथीहरूले हस्ताक्षर गर्नुपर्छ भन्नुभएको थियो । तर, हामी हस्ताक्षर नगरौँ भन्नेमा छौैँ । हामी ताजा जनादेशमा जानुपर्छ भन्नेमै छौँ,’ उनले भनिन् ।
निवर्तमान सांसद चन्द्र भण्डारीले प्रतिनिधिसभा पुनर्स्थापना गरेर समस्या समाधानमा केन्द्रित हुनुपर्ने प्रतिक्रिया दिए । ‘संसद् पुनर्स्थापित गरेर समस्या समाधान गर्ने गरी अगाडि बढ्नुपर्छ । अहिले चुनाव भए व्यक्ति परिवर्तन होला, तर प्रवृत्ति उस्तै रहन्छ । त्यसैले संसद् पुनर्स्थापना हुनुपर्छ, बरु सरकार यही रहे पनि हुन्छ,’ उनले भने ।
कांग्रेसको संस्थापन पक्षधर एक सांसदका अनुसार प्रतिनिधिसभाकै बहुमत सांसद जुटाएर पुनर्स्थापनाका लागि पूरक रिटसहित अदालत जाने तयारीस्वरूप हस्ताक्षर संकलन भइरहेको हो । यसबाट संसद् पुनर्स्थापनाको मुद्दामा न्यायालय दबाबमा आउने र अनुकूल निर्णय आउने कांग्रेस–एमालेका शीर्ष नेताको विश्लेषण छ ।
दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि एक सय ३८ सांसद आवश्यक पर्छन् । कांग्रेस र एमालेको बहुमत पुग्छ । तर, कांग्रेस महामन्त्री थापा पक्षका सांसदले हस्ताक्षर गरेका छैनन् । त्यसकारण बहुमत पुर्याउन मधेशवादी दललाई समेत पुनर्स्थापनाको पक्षमा ल्याउन आन्तरिक छलफल भइरहेको छ । यस्तोमा एमालेका ७६ सांसद हुने र त्यसमा जोडेर बहुमत पुर्याउने गरी हस्ताक्षर गर्ने तयारी छ ।
विघटित प्रतिनिधिसभाका कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे, सचेतक सुशीला थिङ, सांसदहरू दीपक खड्का, शान्ति विक, जाबेदा खातुन र नागिना यादवको तर्फबाट सर्वोच्च अदालतमा रिट परिसकेको छ । कांग्रेस प्रमुख सचेतक, सचेतकसहितका सांसदले वारेसमार्फत दायर गरेको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ ।
एमाले अध्यक्ष केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेको दुई दिनपछि कांग्रेस निवर्तमान सांसदहरूले रिट दायर गरेका थिए । त्यसअघि नै एमालेको तर्फबाट निवर्तमान प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले संसद् पुनर्स्थापनाको मागसहितको रिट दर्ता गराएका थिए ।
एमालेले संस्थागत निर्णय गरेर नै संसद् पुनर्स्थापनाको मुद्दा उठाएको छ । संसद् विघटनलाई असंवैधानिक भने पनि कांग्रेस अहिलेको राजनीतिक निकास निर्वाचन भन्दै त्यसको तयारीमा पनि लागेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।
प्रतिकृया लेख्नुहोस्: