Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

मिथिला : जहाँ भगवान् रामसँग गरिन्छ हास-परिहास

खबरडबली संवाददाता

चलु सखी हिलमिल जनकके आँगन, दुल्हा बनल श्री राम हे ।।

जनकपुरधाममा यतिबेला विवाह पञ्चमीको उत्साह देख्न सकिन्छ । धार्मिक पर्यटकहरूको आगमन र विवाहका अनेक विधिहरू शुरु भएसँगै जानकी मन्दिर परिसर नै विवाहमय हुन्छ ।

त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीको दिन सीता–रामको विवाह भएको सम्झनास्वरूप मिथिलामा धुमधामका साथ विवाह पञ्चमी मनाउने गरिन्छ । मिथिलाबासीका लागि विवाह पञ्चमी महान चाड जत्तिकै हो । विवाह पञ्चमीको बेला जनकपुरको वातावरणमा समेत विवाहमय उत्साह फैलिएको हुन्छ ।

मिथिलाको घर–घरमा विवाह पञ्चमीको उत्सव मनाउने चलन रहेको छ । उत्सवमा महिला र पुरुषहरू व्रत बसी भगवान राम–सीताको पूजा–अर्चना गर्ने परम्परा छ ।

मिथिलाको आफ्नै मौलिक विवाह परम्परा रहेको छ । यसमा मटकोर र सिन्दुर दान गर्ने पद्दति भने आज पनि यथावत छ । सोही प्राचीन विवाह संस्कार र संस्कृतिअनुसार दुई बालक वा बालिकालाई राम र सीताको प्रतीकस्वरूप बनाएर सम्पूर्ण विधिअनुसार विवाहको संस्कार पूर्ण गरिन्छ । यसमा मटकोर, तिलकोत्सव, स्वयंवर, विवाह र रामकलेवापछि विवाह पञ्चमी विधिवत्रूपमा सम्पन्न हुन्छ । यद्यपि, यो एउटा झाँकीको रूपमा मात्र प्रस्तुत गरिन्छ ।

यी सबै विधि सम्पन्न भइरहँदा मिथिलाकी नारीहरू मुक्तकण्ठले भगवान रामसँग परिहास गर्छिन् । अर्थात् गीत गाएर भगवान रामचन्द्रलाई गिज्याउने गर्छन् ।

संस्कृतिविद्–साहित्यकार रेवतीरमण लालका अनुसार मिथिलामा सालीहरूले भेनाज्यूसँग, देवारले भाउजू र भाउजूले देवरसँग रमाइलो परिहास गर्ने परम्परा रहेको छ । किम्बदन्तीअनुसार राम सीता विवाहकै वेला पनि मिथिलाकी नारीहरूले रामचन्द्र र उनका भाइ–जन्तीहरूलाई विभिन्न राग सुनाउँदै परिहास गरेर रमाइलो गरेका थिए । यस्तै एउटा गीतमा भनिएको छ:

‘सखी हे ! रसे–रसे दुलहा चलै छथि कोना

जेना कोल्हुआ के बरद घुमैअछि तेना ।।’

गीतको माध्यमबाट मिथिलानीहरूले परिहास गर्दै भन्छिन्, सखी ! विवाहको बेदीलाई दुल्हाले विस्तारै यसरी घुम्दैछन्, मानाैँ उनी कोल्हुका गोरु हुन् । मिथिलामा जहाँ सीताजीलाई बहिनी अथवा चेलीको रूपमा हेर्ने गरिन्छ, त्यही भगवान रामलाई ज्वाइँको रूपमा पूजा गर्नुका साथै मखौल अर्थात् हास–परिहास गर्ने चलन रहेको छ । मिथिला सीताजीको माइती भएको नाताले भगवान रामको ससुराली हुने नै भयो । त्यही भएर भगवान रामलाई गालीस्वरूप परिहास गर्ने अधिकार मिथिलाकी महिलाहरूले मात्र पाएको सन्तहरूको भनाइ छ ।

यस्तै अर्को एउटा गीतमा रामलाई सम्बोधन गर्दै महिलाहरू गाउनुहुन्छ,

हे धनुरधारी ! कसैले गाली दिनुभन्दा पहिले तपाईं आफैँ बताइदिनुस्

एक भाइ गोरो र अर्को भाइ कालो कसरी हुनुभयो ?

कसरी फुलेको दाढीबाला वृद्ध तपाईंका पिताले तीन–तीन वटी श्रीमती राख्न सक्नुभएको ?

तपाईं आफैं बताइदिनुस् न ।।

यसरी मनाइन्छ विवाहका विधि

गोस्वामी तुलसी दासले रामायणमा वर्णन गर्भुभएअनुसार मिथिलाकी राजकुमारी सीताको विवाह अयोध्याका राजकुमार रामसँग भएको दिनको सम्झना गर्दै प्रत्येक वर्ष विवाह पञ्चमी मनाउने परम्परा रहेको छ ।

त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीको दिन रामसीताको विवाह भएको सम्झनास्वरुप जनकपुरको प्रख्यात जानकी मन्दिरमा पनि सप्ताहव्यापी रूपमा विवाह पञ्चमी महोत्सवको आयोजना हुने गरेको छ ।

सप्ताहव्यापी रुपमा मनाइने विवाह पञ्चमीको पहिलो दिन नगर दर्शन गर्ने चलन छ भने दोस्रो दिन जानकी मन्दिरको छेउमा रहेको विवाह मण्डपमा फूलबारी लीला मनाउने गरिन्छ । रामायणमा वर्णन भएअनुसार राम–सीताको प्रथम भेट फूलबारीमा भएको थियो ।

गिरिजा पूजनको लागि फूल टिप्न जानुभएकी सीताजी र रामजीको प्रथम भेट फूलबारीमा भएको थियो र त्यसपछि सीताजीले रामलाई नै वरको रूपमा पाउने कामना गरेको वर्णन पाइन्छ । त्यसैको स्मरणस्वरूप विवाह पञ्चमीमा फूलबारी लीला रचाउने गरिएको छ ।

विवाह पञ्चमीको तेस्रो दिनमा भने धनुष यज्ञको आयोजना हुने गर्छ । यसमा रामस्वरूप रहेका बालकले धनुष भाँचेर धनुष यज्ञ पूरा गर्छन् । संस्कृतिविद् रेवतीरमण लालले भने, “त्रेता युगमा पर्शुरामले शिव धनुष राजा जनकलाई प्रदान गरेको वर्णन रामायणमा पाइन्छ । कसैले हल्लाउन मात्र पनि नसक्ने उक्त धनुष जनक पुत्री सीताले सजिलै हटाएर त्यो स्थान लिप्ने र सफा गर्ने गरेको देखेपछि राजा जनक आश्चर्यमा पर्नुभएको थियो । अठोट लिनुभएको थियो यतिधेरै बहादुर छोरीको विवाह उनैसँग गर्छु, जसले शिव धनुष उचाल्न सक्छ । सीता स्वयंवरमा धनुष यज्ञको आयोजना भएको वर्णन रामायणमा पाइन्छ । धनुष यज्ञमा कसैले उचाल्न नसकेको शिव धनु रामले सजिलै उचालेपछि राम–जानकीको विवाह भएको थियो ।”

मैथिली अभियानी पुनम झाका अनुसार जनकपुरमा धनुष यज्ञका लागि ठूलो मञ्च, धनुष र सभाको समेत आयोजना हुने गर्छ । जानकी मन्दिरका महन्त रामतपेश्वर दास र उनका उत्तराधिकारी महन्तका रूपमा रहेका रामरोशन दासले रामायणकालीन विवाह महोत्सवको झल्को दिने गरी सम्पूर्ण विधान पर्‍याएर विवाह पञ्चमी मनाउँदै आएका छन् ।

त्यस्तै चौथो दिन तिलकोत्सव र पाँचौं दिन मटकोर, छैटौं दिन विवाह समारोह र अन्तिम तथा सातौँ दिनमा रामकलेवाको आयोजना गरी विधिवत् रुपमा विवाह पञ्चमीको समापन हुन्छ ।

मैथिली अभियानी झाका अनुसार यी सम्पूर्ण विधिहरूमा जनकपुरकी स्थानीय महिला र गायक कलाकारहरूलाई बोलाएर विभिन्न संस्कारका गीत गाउने अभियान चलाइन्छ, जो यस उत्सवकै प्रमुख आकर्षणमध्ये एक हो ।

उनले भने,“जन्ती आउने भारतीय सीमा क्षेत्रका साधुसन्त र पर्यटकहरूलाई लक्षित गरी महिलाहरूले परिहासपूर्ण गीत सुनाउने गर्छन् । मिथिलामा कुनै पनि संस्कार वा विधि गीत नगाई सम्पन्न गरिन्न । विवाह, ब्रतवन्ध, पूजा आदि प्रत्येक संस्कारको लागि विशेष गीत गाइन्छ ।”

‘हे पहूना ! एहि मिथिले रहु ना,

रोज सबेरे उबटन मलिक‘, इत्रसे नहबायब हे,

एक महिनाके भितर करियासँ गोर बनायब हे ।।’

उक्त गीतमा मिथिलाकी चेलीहरूले भगवान रामलाई ‘भेना’को सम्बोधन गर्दै मिथिलामा बस्न आग्रह गर्दै भन्छन्, मिथिलामा बस्नुभयो भने बिहानै (उबटन) एक प्रकारको लेप शरिरमा दलेर इत्रले स्नान गराइदिन्छौँ र एक महिनाभित्र तपाईंलाई कालोबाट गोरो बनाइदिन्छौँ ।

जनकपुरस्थित राम मन्दिरबाट बाजागाजा र विशेष झाँकीसहित भगवान रामको प्रतिमालाई डोलामा राखी रङ्गभूभि मैदान (बाह्रविघा) पुर्‍याइन्छ भने जानकी मन्दिरबाट सीताजीलाई विशेष डोलामा राखी मङ्गल गानसहित रङ्गभूमि मैदान लगिन्छ र त्यहाँ भव्य समारोहका बीच स्वयंवर विधि र परीक्षण विधि सम्पन गरी दुबै डोला अर्थात राम र सीताजीलाई जानकी मन्दिर ल्याइन्छ ।

रङ्गभूमि मैदानमा विवाह विधिको बेला भारतबाट आएका भक्तजन र श्रद्धालुसहितको जन्ती र स्थानीय मिथिलाबासीहरूको बाक्लो उपस्थिति रहने गर्छ । हास–परिहास र मैथिली संस्कार गीतले वास्तविक विवाहको झल्को दिन्छ । यस समयमा आन्तरिक पर्यटकका साथै देश र छिमेकी देश भारतबाट समेत ठूलो संख्यामा धार्मिक पर्यटकको आगमन हुने गरेको जनकपुर–१० देवीचोक निवासी किशोर साह बताउनुहुन्छ ।

उनका अनुसार विवाह पञ्चमीमा मात्रै होटेल–धर्मशाला, मिठाई पसलदेखि पूजा सामग्री बेच्ने र कपडा पसलेको व्यापारमा उल्लेख्य वृद्धि हुन्छ । त्यस्तै ठूलो संख्यामा साधु–सन्तहरूको घुइँचो हुने गर्दछ । मैथिली संस्कृतिको अभिन्न अङ्ग बन्न पुगेको विवाह पञ्चमीको रौनकता, जनकपुरमा मात्रै नभएर मैथिल जनसमुदायको बसोवास रहेको प्रायः स्थानमा देख्न सकिन्छ ।

विवाह पञ्चमी उत्सव भरी नै मन्दिर परिसरमा श्रद्धालु तथा भक्तजनले भजनकीर्तन, प्रवचन र झाँकी प्रस्तुत गर्ने चलन पुरानै रहेको छ । यसबीच रामलीलाको समेत प्रदर्शन हुनेगर्छ ।

मैथिली अभियानी पुनम झाका अनुसार दुई दशक अघिसम्म जनकपुरको जानकी मन्दिरलगायतको सम्पूर्ण रामजानकी मन्दिरहरूमा हुने विवाह पञ्चमीलाई एउटा मेलाको रूपमामात्रै हेर्ने आम दृष्टिकोण थियो भने यतिवेला विवाह पञ्चमी एउटा भव्य उत्सव र महोत्सवको रूपमा विस्तारित भइसकेको छ ।

प्रत्येक वर्ष विवाह पञ्चमीलाई थप आकर्षक बनाउने कार्य हुँदै अएको छ । गतवर्ष मात्रै विश्व कीर्तिमान रच्ने उद्देश्यले स्थानीय सरकार, उद्योग वाणिज्य संघ र जानकी मन्दिरको सहयोगमा रङ्गभूमि मैदानमा झण्डै ११ हजार एक सय ११ स्क्वायर फिटको राम सीताको अनाजको प्रतिमा बनाइएको थियो । यसका लागि अनुमानित ७५ क्विन्टल अनाजको प्रयोग गरिएको थियो । यद्यपि, उक्त कार्यको भने विरोधसमेत भएको थियो ।

सुनसान तीरहुतिया गाछी

संस्कृतिविद् लालका अनुसार “पहिले जनकपुरको तीरहुतिया गाछीमा रामसीताको डोला ल्याएर स्वयंवर गर्ने चलन थियो । जसमा स्थानीय लगायत भारत सीमाक्षेत्रका मैथिल जनसमुदाय र पर्यटकहरू विवाहपञ्चमी हेर्न आउने गर्थे ।

यहाँस्थित पवित्र गङ्गासागर र विभिन्न धार्मिक जलाशयहरूमा स्नान गरी पूजाआजा गर्ने, मेलापात भर्नेजस्ता कार्य हुन्थ्यो । तर पछिल्लो एक दशकमा धेरै परिवर्तन आइसककेको छ । उक्त उत्सव पहिले–पहिले एक महिनासम्म पनि चल्थ्यो । साधु–महात्माहरुलाई भोजन र आवासको व्यवस्था, अन्य भक्तजन र पर्यटकका लागि उचित व्यवस्थापन गर्ने गरिन्थ्यो । तर विस्तारै सो महोत्सव पाँच दिनमा झर्‍याे भने अहिले सात दिनसम्म विभिन्न कार्यक्रम साथ बनाउने गरिन्छ । यतिबेला तीरहुतिया गाछी सुनसान प्रायः हुन्छ ।”

पछिल्लो समय प्रविधिको बढ्दो प्रयोगसँगै यसको प्रचारप्रसार बढेकाले पनि विवाह पञ्चमीको लोकप्रियता दिनानुदिन बढ्दो छ । जानकी मन्दिरका महन्त र व्यवस्थापन समितिले प्रत्येक वर्ष विवाह पञ्चमीलाई भव्यताका साथ मनाउनमा कुनै कसर बाँकी राख्दैन ।

संस्कृतिविद् लालका अनुसार, विवाह पञ्चमीका लागि पहिले जनकपुरस्थित राम मन्दिरबाट रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला आउँथ्यो अनि विवाह संस्कार सम्पन्न गरिन्थ्यो भने अहिले भारतको अयोध्याबाट समेत त्यहाँका पूजारी, भक्तजनहरू भगवान रामको डोलासहित आउने गरेका छन् ।

अहिले प्रत्येक पाँच वर्षमा अयोध्याबाट रामको डोलासहित जन्ती आउने गरे पनि विवाह संस्कार भने आज पनि जनकपुरको राम मन्दिरबाट डोलाचढी आउनुहुने भगवान रामजीको साथ नै हुने गरेको छ । जनकपुरलगायतका मिथिला क्षेत्रमा रहेको प्रत्येक राम–जानकी मन्दिरहरूमा सामथ्र्यअनुसार छुट्टाछुट्टै विवाहोत्सव मनाउने गरिएको छ ।

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending