Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

नेतृत्व नछाड्ने ओलीको स्पष्ट सन्देश, तत्काल बैठकसमेत नबोलाउने रणनीति

नेताहरु भन्छन्- ओलीलाई लिएर चुनावमा त गइएला, तर फर्किएर आउने अवस्था छैन

खबरडबली संवाददाता

काठमाडौं । जेन–जी आन्दोलनपछि पार्टी पुनर्गठनका लागि आन्तरिक दबाब बढ्दै गए पनि एमाले अध्यक्ष केपी ओलीले पद नछाड्ने स्पष्ट सन्देश नेताहरूलाई दिएका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरूसँगको छलफलमा उनले नागरिकको हकमा चुनाव र पार्टी नेता/कार्यकर्ताको हकमा पार्टी महाधिवेशनमा परीक्षा दिने बताएका छन् ।

आन्दोलन उग्र बन्दै गएपछि गत २४ भदौमा प्रधानमन्त्रीबाट राजीनामा दिएर सेनाको शिवपुरी ब्यारेकमा १० दिनसम्म सुरक्षित बसेका अध्यक्ष ओली बिहीबार बाहिर आएका थिए । अहिले एमाले नेता महेश बस्नेतले भक्तपुरको गुन्डुमा व्यवस्थापन गरेको भाडाको घरमा बसिरहेका छन् । त्यहीँ उनले प्राथमिकताअनुसार नेता/कार्यकर्तासँग छुट्टाछुट्टै र सामूहिक भेट गरिरहेका छन् । आइतबार साँझ वरिष्ठ उपाध्यक्ष पोखरेलले ओलीसँग छलफल गरेका थिए । 

स्रोतका अनुसार अध्यक्ष ओलीले आफ्नै नेतृत्वमा पार्टीलाई चुनावमा लैजाने स्पष्ट सन्देश पोखरेललाई दिएका छन् । ‘अहिले पार्टीको नेतृत्व छाड्दा देशलाई निकै ठुलो असर पर्छ,’ स्रोतका अनुसार पोखरेललाई अध्यक्ष ओली भनेका थिए, ‘मैले अहिले पार्टीलाई यस्तो हालतमा छाड्न पनि मिल्दैन, तपाईंहरूले छाड भन्न पनि मिल्दैन ।’ 

दुई नेताबिच जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिदेखि सन्चो–बिसन्चोसम्मका विषयमा छलफल भएको थियो । ओली ज्यान जोगाउँदै सैनिक ब्यारेकमा गएपछि उनीहरूबिच पहिलो प्रत्यक्ष भेट भएको थियो । 

छलफलमा वरिष्ठ उपाध्यक्ष पोखरेलले भूमिका बाँध्दै अध्यक्ष ओलीसँग ‘नेतृत्व छाड्दा राम्रो हुन्छ’ भन्ने संकेत मात्रै गरेका थिए, प्रस्ट भनेका थिएनन् । ‘परिस्थिति राम्रो छैन, पार्टीलाई यत्तिकै अगाडि लैजाँदा राम्रो नहुन सक्छ,’ स्रोतका अनुसार पोखरेलको भनाइ थियो । तर, उनीभन्दा ओली खरो र प्रस्ट रूपमा प्रस्तुत भए । 

तर, अध्यक्ष ओलीले नेतृत्व नछाड्ने, बरु पार्टी महाधिवेशन र निर्वाचनमा जनतासँग फेस गर्ने भन्दै पोखरेललाई उल्टै चुनौती दिएको स्रोत बताउँछ । ‘चुनाव मेरै नेतृत्वमा लड्ने हो, पपुलर छु कि छैन चुनावबाट पुष्टि हुन्छ,’ पोखरेलले आफूनिकट नेतालाई सुनाएअनुसार ओलीको भनाइ थियो, ‘पार्टीभित्र पनि परीक्षा दिन्छु, महाधिवेशन फेस गर्छु ।’ ओलीको जवाफपछि पोखरेल धेरै बोल्न नसकेको स्रोत बताउँछ ।

आफूलाई सत्ताच्युत गर्न देशी–विदेशी ठुलो षड्यन्त्र रहेको अध्यक्ष ओलीको दाबी थियो । ‘यो सबै हुनुमा धेरै फ्याक्टरले काम गरेको छ, निर्वाचनमा सबै भण्डाफोर पनि गर्नु छ,’ स्रोतका अनुसार उनको भनाइ थियो । आफ्नै नेतृत्वमा पार्टीलाई निर्वाचनमा लैजाने ओलीको प्रस्ट सन्देश थियो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्षसँगको भेटघाट नियमित र स्वाभाविक रहेको बताए । पछिल्लो अवस्थाबारे छलफल गर्न पार्टी बैठक बोलाउन आफूले सुझाव दिएको उनको भनाइ छ । ‘अध्यक्षसँग वरिष्ठ उपाध्यक्षको सरसल्लाह भयो । यो नियमित प्रक्रिया हो । पछिल्लो अवस्थाबारे छलफल पनि भयो,’ पोखरेलले भने, ‘मैले बैठक बोलाएर अगाडि बढ्नुपर्छ भन्ने कुरा गरेको छु । अध्यक्षले पनि ‘बैठक गरेर जाने हो’ भन्नुभएको छ । बैठकको मिति भने तय भएको छैन । बैठकमा हामी समग्र विषयको समीक्षा गर्छौँ । बैठकको निर्णयअनुसार पार्टी अगाडि बढ्छ ।’

पार्टीभित्रको अन्तरसंघर्ष र ध्रुवीकरणका कारण अध्यक्ष ओली उपाध्यक्ष पोखरेलसँग पनि असन्तुष्ट छन् । पोखरेल पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सक्रिय राजनीतिमा ल्याएर नेतृत्वमा स्थापित गर्नुपर्ने पक्षमा छन् । तर, ओलीले बहुमतको बलमा पार्टीबाटै निर्णय गराएर भण्डारीको बाटो छेकिसकेका छन् । बरु, ७० वर्षे उमेरहदको व्यवस्था विधान अधिवेशनबाट हटाएर तेस्रोपटक पनि अध्यक्ष बन्ने आफ्नो बाटो खुला गरेका छन् । 

अध्यक्ष ओलीले तत्काल पार्टी बैठक पनि नबोलाउने रणनीति बनाएका छन् । स्थिति केही साम्य भएपछि मात्रै बैठक डाक्ने, बरु त्यतिन्जेल पार्टी पदाधिकारीदेखि जिल्ला तहका नेताहरूसम्मलाई भेट्ने उनको योजना छ । पार्टीभित्रको असन्तोषलाई भेटघाटबाट मत्थर पार्ने प्रयास भइरहेको स्रोतको भनाइ छ । 

यही क्रममा उनले वरिष्ठ उपाध्यक्षसहितका अधिकांश पदाधिकारीहरूसँग छलफल गरिरहेको स्रोतको भनाइ छ । आइतबार मात्रै उनले काठमाडौं जिल्ला कमिटीको टोलीसँग पनि संवाद गरेका छन् । प्रायसँग उनले पछिल्लो अवस्था आउनुमा देशभित्रको मात्रै नभएर बाहिरी ‘फ्याक्टर’को धेरै भूमिका रहेको बताउने गरेका छन् । भेटघाट गरेका एक नेताका अनुसार विभिन्न भूमिका बाँध्दै ओलीले पार्टीभित्र तत्काल आफ्नो विकल्प नरहेको पनि सुनाउने गरेका छन् । 

आइतबार ओलीसँग भेट गरेकी सचिव पद्मा अर्यालले पनि त्यस्तै संकेत गरिन् । ‘अध्यक्ष अहिले रेस्टमै हुनुहुन्छ । हामीले सबैभन्दा पहिला त विकसित घटनाको समीक्षा गर्नुपर्नेछ । त्यसपछि कसरी अगाडि बढ्ने भन्ने रणनीति तय हुन्छ । अहिले नेतृत्व के गर्ने भन्ने भन्दा पनि घटनाको वस्तुनिष्ठ समीक्षा गरेर जानुपर्छ,’ उनले अध्यक्ष ओलीसँगको छलफलबारे सुनाइन्, ‘मैले अध्यक्षसँग हिजो (आइतबार) एकछिन कुरा गरेँ । उहाँले ‘म रेस्टमै छु, साथीहरूसँग पनि कुरा गरिरहेको छु, त्यसपछि बैठक बस्छ । पछिल्लो घटना हुनुका पछाडि धेरै फ्याक्टर छन्, ती सबैबारे बैठकमा सविस्तार बताउँछु’ भन्नुभएको छ ।’

केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले भने ओलीकै नेतृत्वमा आगामी निर्वाचनमा जाँदा पार्टी नै सकिने बताइन् । 

‘राजनीतिक रूपमा हामी यति कमजोर भएछौँ, यति ‘इन्डिपेन्डेट’जस्तो बनाइएको रहेछ । हामी राजनीतिक रूपमा बोल्न छाड्यौँ । पार्टी यस्तो ठाउँमा पुगिसक्यो कि अब पनि नबोल्ने हो भने एमाले उठ्नै गाह्रो हुनेछ,’ उनले भनिन्, ‘यही नेतृत्वलाई बोकेर जाने हो भने अब कसरी सफल भइन्छ भन्ने होइन, कसरी असफल भन्नेमा पुगिन्छ । फेरि ओलीलाई लिएर निर्वाचनमा त गइएला, तर फर्किएर आउने अवस्था छैन । अहिले अलिअलि बचेको पार्टी पनि सकिन्छ । ओलीले छाड्नु नै एमालेको हितमा हुन्छ । तत्काल बैठक बोलाएर यसबारे निर्णय लिनुपर्छ ।’

ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि जेन–जी पुस्ता आक्रोशित बनेको थियो । उनीहरूले सञ्जाल खोल्नुपर्ने, भ्रष्टाचार अन्त्य र सुशासनको माग गर्दै आन्दोलन गरेका थिए । २३ भदौको पहिलो दिनको आन्दोलनमा सरकारले अत्यधिक दमन दमन गर्दा १९ जनाको प्रहरीको गोलीबाट हत्या भएको थियो भने दर्जनौँ प्रदर्शनकारी घाइते भएका थिए । 

त्यसपछि आक्रोशित प्रदर्शनकारीले २४ भदौको आन्दोलनमा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवनलगायतका सरकारी संरचना, नेताहरूका घर र निजी व्यावसायिक प्रतिष्ठानहरूमा पनि आगजनी र तोडफोड गरेका थिए । आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या अहिलेसम्म ७४ पुगिसकेको छ ।

उत्पन्न परिस्थितिलाई देखाएर चारवटै सुरक्षा निकायका प्रमुखहरूले तत्कालीन प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । सत्तासाझेदार कांग्रेससहित केही मन्त्री र विपक्षी दलहरूले पनि ओलीको राजीनामा मागेका थिए । तर, उनी अन्तिमसम्म टसमस बनेका थिएनन् । बरु, सुरक्षा निकायका प्रमुखहरूलाई उल्टै ‘आफ्नो परिभाषित जिम्मेवारी पूरा गर्न’ निर्देशन दिएका थिए । प्रदर्शनकारीले बालुवाटार नै घेर्न थालेपछि बल्ल झस्किएका ओलीले त्यसपछि थप सैनिक सुरक्षाको माग प्रधानसेनापतिसँग गरेका थिए । 

तर, ‘मार्गप्रशस्त गरेपछि मात्रै रेस्क्यु हुने’ संकेत सेनाले दिएपछि मात्रै बाध्य भएर ओलीले राजीनामा दिएका थिए । उनले दिएको राजीनामा सेनामार्फत राष्ट्रपतिकहाँ पुगेको थियो । राजीनामा स्वीकृत भएपछि सेनाले पठाएको हेलिकोप्टर चढेर ओली पत्नी राधिका, स्वकीय सचिव र प्रमुख सल्लाहकार विष्णु रिमालसहित शिवपुरी पुगेका थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending