Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

सर्वोच्चको प्रश्न : विश्वासको मत नलिएकाले सरकार कामचलाउमा परिणत भएको हो कि होइन ?

खबरडबली संवाददाता

काठमाडौं । सरकारमा सहभागी दलले औपचारिक रूपमा सरकार छाडेको जानकारी गराइसकेपछि पनि विश्वासको मत नलिएकामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कानुनी हैसियतलाई लिएर संवैधानिक प्रश्न खडा भएको छ । नागरिक उन्मुक्ति पार्टीले औपचारिक रूपमा सरकार छाडेको जानकारी संसद्लाई गराइसकेको अवस्थामा ओली सरकारले विश्वासको मत नलिएको विषयलाई सर्वोच्चले न्यायिक निरूपणको प्रक्रियामा लगेको छ । 

सरकारमा सहभागीमध्ये उन्मुक्तिले २२ असारमा समर्थन फिर्ता लिएको पत्र संसद् सचिवालयमा दर्ता गराएको थियो । संविधानको धारा १०० को उपधारा (२) मा भनिएको छ, ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव पेस राख्नुपर्नेछ ।’ यो व्यवस्थाअनुसार प्रधानमन्त्री ओलीले १९ साउनभित्र विश्वासको मत नलिएमा सरकारको वैधानिकता सकिएको भन्दै सर्वोच्चमा रिट परेको थियो ।

नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिएको ३० दिन नाघेपछि फेरि समर्थन दिएको भन्दै संसद्मा पत्र पठाएको छ । तर ३० दिनको म्याद सकिएपछि फेरि समर्थन दिएकाले स्वतः त्यसको मान्यता नहुने तर्क उठेको छ । संविधानले व्यवस्था गरेको व्यवस्थाविपरीत प्रधानमन्त्री विश्वासको मत लिन संसद् नगएको भन्दै अधिवक्ता वीरेन्द्र केसीले सर्वोच्चमा रिट निवेदन दिएका हुन् । सर्वोच्चले रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्चले प्रधानमन्त्री र सभामुखसहितलाई चार संवैधानिक प्रश्नमा लिखित जवाफ माग्दै निवेदकलाई बोलाएको छ ।

रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेन तर सरकारलाई विश्वासको मत नलिनुको कारण लिखित रूपमा पेस गर्न भनेको छ । ‘नेपालको संविधानको धारा १०० को उपधारा (२) मा भएको व्यवस्थाबमोजिम विपक्षी प्रधानमन्त्रीले नेतृत्व गरेको सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टीले २२ असारमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको र सोको ३० (तीस) दिनभित्र प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत नलिएको अवस्थामा सरकारको वैधानिकतामा प्रश्न खडा हुन्छ कि हुँदैन ?’ आदेशमा भनिएको छ, ‘त्यस्तो सरकारलाई कामचलाउ सरकारमा परिणत गर्न अन्तरिम आदेश जारी हुनुपर्ने हो वा होइन ?’

त्यस्तै सर्वोच्चले उठाएको दोस्रो प्रश्न जसपाले लिएको समर्थन फिर्ताबारे छ । ‘प्रधानमन्त्रीले नेतृत्व गरेको सरकारमा सहभागी नभएको तर सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो समर्थन फिर्ता लिएको अवस्थामा समेत संविधानको धारा १०० को उपधारा (२) को संवैधानिक व्यवस्था आकर्षित भई सोको परिपालनाको अभावमा अन्तरिम आदेश जारी हुन सक्ने हो वा होइन ?’ दोस्रो प्रश्नमा उल्लेख छ ।

तेस्रोमा सर्वोच्चले पहिला सरकारलाई दिएको समर्थन फिर्ता लिएको अनि फेरि समर्थन गर्न मिल्छ कि मिल्दैन भनी प्रश्न उठाएको छ । ‘सरोकारवाला कायम गरिपाऊँ भनी छलफलमा सरिक हुन आएको नागरिक उन्मुक्ति पार्टीको अध्यक्षको निवेदनसाथ प्रतिनिधिसभाको सभामुखलाई लेखिएको पत्रको प्रतिलिपि व्यहोराबाट उक्त दलले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने भनी २२ असारमा पत्र लेखेको देखिन्छ,’ आदेशमा भनिएको छ, ‘पत्र लेखेको ३० दिनपश्चात् उक्त पत्र बदर गरी पार्टीको लेटरहेडमा ३० साउनको निर्णयबमोजिम वर्तमान सरकारलाई समर्थन रहेको भन्ने उल्लिखित व्यहोरासमेतले प्रधानमन्त्रीका विरुद्ध संविधानको धारा १०० को उपधारा (२) को संवैधानिक व्यवस्था आकर्षित भई वैधानिकताको प्रश्न उठ्छ कि उठ्दैन ?’

सर्वोच्चले अन्तरिम आदेशअघि व्याख्या हुनुपर्ने भनी उठाएको चौथो प्रश्न संसद्को अंकगणितसम्बन्धी कुरा फैसला हुँदा किन अन्तरिम आदेशको निर्णय गर्दा नै निरूपण गर्ने भनी प्रश्न उठाएको छ । ‘संविधानको धारा १०० को उपधारा (२) को व्यवस्था बाध्यात्मक प्रकृतिको हो वा सरकारमा सहभागी दलहरूको प्रतिनिधिसभामा तत्काल कायम रहेको सदस्य संख्याको बहुमत वा अल्पमतको अंकगणितको सापेक्षता मात्र आकर्षित हुने हो ?’ आदेशमा भनिएको छ, ‘यसले अन्तरिम आदेश जारी हुन सक्ने/नसक्ने के कस्तो अवस्था हो ? यी संवैधानिक प्रश्नका सम्बन्धमा दुवै पक्षको कुरा सुनी अन्तरिम आदेश जारी हुने वा नहुने भन्ने सम्बन्धमा अर्को सुनुवाइमा निर्णय हुनुपर्ने देखिन्छ ।’

सर्वोच्चले अन्तरिम आदेशको सुनुवाइका लागि ११ भदौमा पेसी तोकेको छ । उक्त दिन सरकार र रिट निवेदक दुवैको बहस सुनेर अदालतले निर्णय दिनेछ । विश्वासको मत नलिई प्रधानमन्त्रीले संविधान उल्लंघन गरेको ठहर भएमा सरकार कामचलाउ हुनेछ । वरिष्ठ अधिवक्ता शम्भु थापा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिँदा पनि प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव नराखेर संविधानको व्यवस्था उल्लंघन गरेको टिप्पणी गर्छन् । संविधानको धारा १०० को उपधारा (२) ले स्पष्ट रूपमा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ भनेकाले यसमा तलमाथि गर्ने छुट नहुने उनको भनाइ छ ।

‘संविधानको धारा १०० को उपधारा (२) ले स्पष्ट रूपमा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र संसद्मा गएर प्रधानमन्त्रीले आफूसँग विश्वास छ भनेर प्रमाणित गर्नुपर्छ भनेको छ,’ थापा भन्छन्, ‘यो अवधि कायम हुँदासम्म विश्वासको मत नलिनु भनेको प्रधानमन्त्रीले संविधान मानेको देखिएन भन्ने हो ।’

पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ संविधानले पहिला समर्थन गरेको दल वा सरकारमै सहभागी भएको दलले समर्थन फिर्ता लिन्छ भने संसद्मा फ्लोर परीक्षणमा जानुपर्ने बताउँछन् । ‘संविधानको स्पिरिट हेर्ने हो भने प्रधानमन्त्रीले विश्वासको मत ३० दिन नपुग्दै लिनुपर्ने थियो,’ श्रेष्ठ भन्छन्, ‘संविधानले तोकेको अवधिभित्र विश्वासको मत नलिएपछि संविधान नमान्ने कार्य भयो ।’

विगतमा माओवादी नेतृत्वमा सरकार हुँदा पुष्पकमल दाहालले एउटा दलले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने कि नपर्ने विवाद हुँदा आफूले महान्यायाधिवक्ताका रूपमा लिनुपर्ने भनी सुझाव दिएको र संसद्मा गएर प्रधानमन्त्रीले विश्वासको मत लिएको उनले स्मरण गरे । ‘संविधान मान्ने हो भने विश्वासको मत लिनुपर्छ,’ श्रेष्ठ भन्छन्, ‘संविधानले सरकारसँग बहुमत छ कि छैन भनेर हेर्दैन । पालना अक्षरशः भयो कि भएन भनेर हेर्ने भएकाले यसमा लिनुपर्दैन भनेर बस्न मिल्दैन ।’ तर सरकारको तर्क भने कुनै पनि दलले सरकार नछोडेकाले विश्वासको मत लिने प्रक्रिया नै अपनाउन नपर्ने छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ सरकारबाट कुनै दल बाहिरिएको सरकारलाई कुनै औपचारिक धारणा केही नआएको दाबी गर्छन् । ‘सरकारलाई औपचारिक रूपमा कसैले सरकार छोडेको जानकारी छैन, त्यस्तै सरकारमा यसबारेमा छलफल पनि भएको छैन,’ प्रवक्ता गुरुङ भन्छन्, ‘त्यही कारण केही भन्न मिल्दैन । सर्वोच्च अदालतले के निर्णय सुनाउँछ । सर्वोच्चको निर्णयअनुसार सरकार कार्यान्वयन गरी अघि बढ्छ ।’

सरकारका कानुनी सल्लाहकार महान्यायाधिवक्ता रमेश बडाल सरकारमा सहभागी दल आजसम्म सरकारमै भएकाले विश्वासको मत लिनुपर्ने प्रश्न नै नउठ्ने तर्क गर्छन् । ‘सरकारमा सहभागी भएको नागरिक उन्मुक्तिका मन्त्री अहिले पनि सरकारमै छन्, सरकारबाट बाहिरिएका छैनन्, राजीनामा पनि दिएका छैनन्,’ बडाल भन्छन्, ‘सरकारमा सहभागी दलको मन्त्री अहिलेसम्म सरकारमै छ भने कसरी विश्वासको मत लिने प्रक्रियामा जाने ?’

सरकारले यस्तो दाबी गरे पनि संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय नागरिक उन्मुक्ति प्रतिपक्षी दल भएको बताउँछन् । नागरिक उन्मुक्तिले यसअघि समर्थन फिर्ता लिँदै प्रतिपक्ष दलका रूपमा संसद्मा राखिपाऊँ भनेर सभामुख र संसद् सचिवालयलाई निवेदन दिएको र त्यहीअनुसार निर्णय भएको तर पछि समर्थन नै रहेको भनेकाले अब सत्ता पक्षतिर कायम गराउने संसदीय प्रक्रिया बाँकी रहेको जानकारी उनले दिए । ‘नागरिक उन्मुक्ति आजको दिनसम्म प्रतिपक्षको सिटमा कायम छ, सरकारलाई समर्थन छ भनेर पत्र आएको छ, त्यसमाथि निर्णय भइसकेको छैन,’ पाण्डेय भन्छन् ।

काठमाडौंमा २१ असारमा संसदीय दल नेता गंगाराम चौधरीको अध्यक्षतामा बसेको बैठकमा नागरिक उन्मुक्तिका चार जना सांसदले नै सर्वसम्मतिले सरकारलाई दिएको समर्थन फिर्ता लिने, प्रतिपक्षको बेन्चमा बस्ने र पार्टीबाट पर्यटन राज्यमन्त्री रहेका अरुणकुमार चौधरीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । 

‘नागरिक उन्मुक्ति हालसम्म सरकारको सत्ता पक्षमा बसेर समर्थन गरिरहेकाले सरकारबाट राखेको अपेक्षाबमोजिम काम नभएको हुनाले आजको मितिदेखि नेपाल सरकारको संघीय र प्रदेशलगायत सबै ठाउँहरूमा समर्थन फिर्ता लिई प्रतिपक्षको बेन्चमा बस्ने,’ सभामुखलाई पठाइएको उन्मुक्तिको उक्त निर्णयमा भनिएको छ, ‘नेपाल सरकारको पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयको राज्यमन्त्री रहेका माननीय अरुणकुमार चौधरीज्यूलाई सरकारबाट फिर्ता बोलाउने निर्णय सर्वसम्मतबाट पारित गरियो ।’ यो समाचार आजको कान्तिपुर दैनिकले लेखेकोे छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भदौ २४ गतेको घटनामा ९३३ वटा मुद्दा दर्ता- १९१ जना थुनामा, ओली र लेखकको बयानको तयारी

जाँचबुझ आयोगले भदौ २४ गतेको घटनाबारे के सिफारिस गरेको छ ?

गाउँमा आएन डिपबोरिङमा पानी

दाङ । दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो । योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंका...

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

मकवानपुर । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका ...

समानान्तर गतिविधि थालेको देउवा-कोइराला समूह नयाँ पार्टी गठनको गृहकार्यमा छन् ?

काठमाडौं । शेरबहादुर देउवा र शेखर कोइराला समूहले पछिल्लो समय समानान्तर गतिविधि अघि बढाउँदै तीन मुख्य रणनीतिमा ध्यान केन्द्रित गरेको देखिएको छ। उनीहरू ...

एकताको संवाद थाल्ने तयारीमा देउवा–कोइराला पक्ष

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा आइतबार अदालतबाट निर्णय नआए पार्टी एकताका लागि संवाद थाल्ने तयारीमा पूर्वसभापति श...

हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरि...

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, स...

एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण ...

बागलुङ कालिकामा चैते दसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । ...

प्रधानन्यायाधीश राउत सेवानिवृत्त, सपना कायममुकायम

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएका छन् । उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending