Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

‘सङ्कटमा कुसुन्डा परिवार, सरकारसँग संरक्षणको आस’

खबरडबली संवाददाता

गोरखा । अचेल किसानलाई माना रोपेर मुरी उब्जाउने चटारो छ । कोही धान रोपाइँमा, कोही कोदो रोपाइँमा त कोही मकै भित्र्याउनमा व्यस्त । गोरखा नगरपालिका–११ तेह्रकिलो बजारभन्दा दुई कान्ला तल सानो टहरोमा बस्ने ५५ वर्षीय चेतबहादुर कुसुन्डालाई भने न रोपाइँको ध्याउन्न, न त बारीमा मकै सुक्ला भन्ने पीर ।

आफूजस्तै दिनरात श्रम गरेर खाने दौँतरीसँग उनको समय बित्छ । लोपोन्मुख भनेर चिनिने कुसुन्डा जातिको गोरखामा एउटा मात्रै घर छ । चेतबहादुर छिमेकीले दिएको तीन आना जग्गामा एकपाखे घर बनाएर आफ्ना दुई छोरा, बुहारी र नातिनातिनीसँग बस्छन् । सम्पत्तिको नाममा घरले चर्चेको यही जग्गा हो उनको । त्यसले असार, साउन आए पो के, कात्तिक, मङ्सिर आए पो के !

“योभन्दा बाहेक टेक्ने जग्गा पनि छैन । सम्पत्ति भने पनि जे भने पनि यही अरूले दिएको जग्गा हो । यसैमा सरकारले बनाइदिएको सानो घर र दुईचारवटा कुखुरा छन् । कुखुरा पनि थुनेर पाल्छौँ । नत्र अरूको जग्गामा गइहाल्छन्”, कुसुन्डाले भने ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुसुन्डा समुदायको जनसङ्ख्या २५६ मात्रै छ । यसैमा पर्छ चेतबहादुरको आठ सदस्यीय परिवार । उनको परिवार विगत ४५ वर्षदेखि गोनपा–११ स्थित तेह्रकिलोमा बसोबास गर्दै हो । विसं २०३८ मा आफ्नी आमा सुमित्रा वनकीरानी कुसुन्डासँग तेह्रकिलो आएको चेतबहादुरलाई हिजै हो जस्तो लाग्छ । उनी आफू ११ वर्षको हुँदा पालुङटारको खोप्लाङबाट झिटीझाम्टो बोकेर तेह्रकिलो आएको सम्झना सुनाउँछन् । 

“१० वर्षको हुँदा बा बिते, भोकले लखतरान हुँदै जुठो बारेको याद छ । बा’को काजकिरिया सकेपछि आमाले खोप्लाङमा भएको झिटी आठ हजारमा बेचेर यहाँ आएका हौँ”, चेतबहादुरले भने, “यहाँ पनि बिरालोले बच्चा सारेजस्तो, कहिले यता, कहिले उता । सायद यो तेह्रकिलो बजारमा हामी नबसेको घरै छैन । अब अरूको घरमा भाडा गरेर बसेपछि ‘छोड्दे, अन्तै जा’भनेपछि जानै प¥यो !”

आमा सुमित्रा वनकिरानीले आफू र दुई छोरीलाई कहिले यता, कहिले उता सारेको कष्टकर दिनको सम्झिँदा चेतबहादुर अहिले पनि गम्भीर बन्छन् । दिदीबहिनी दुवैले तेह्रकिलोबजारमा बिहे गरेकाले आफूहरू पनि दिदीबहिनी नजिकै बस्न आएको उनले सुनाए । “दुवै जनाले क्षेत्रीसँग बिहे गरे । दिदीको बुढा ड्राइभर थिए, हामी पनि दिदीकै रेखदेखमा यही बस्न आयौँ । यहाँ आएको केही समय म पनि भेनाकै पछि लागेर खलासीको काम गरेँ”, चेतबहादुरले भने ।

खोप्लाङ छोडेर तेह्रकिलो झरेको केही समयपछि आफूहरू नवलपरासी पनि पुगेको उनले बताए । “यहाँ बस्न आएको केही समयपछि आमाले कताबाट त्यहाँ सरकारी जग्गा मिल्छ भन्ने सुनेछन् । हामी आमाछोरा नै जग्गा पाउने आसमा त्यही गयौँ । जग्गा त केको मिल्थ्यो बरु उल्टै दुःख मिल्यो । आमाले अरूको घरमा काम गर्थिन् । सानो झुप्रो हालेर बसेका थियौँ । मलाई भने त्यहाँ खासै बस्न मन लागेन अनि एक वर्षपछि तेह्रकिलोमै फर्किएँ । आमा पनि म यहाँ आएको केही वर्षपछि फर्किइन्”, चेतबहादुरले भने ।

उनले २०–२२ वर्षको उमेरमा नजिकै पन्ध्रकिलो बस्ने कमला घर्तीसँग बिहे गरे । बिहेपछि दुईपटक कतार र एक पटक साउदी पनि पुगे । उनका दुई भाइछोरा र एक छोरी छन् । जेठो छोरो ३२ वर्षीय अनिल कुसुन्डा हाल ड्राइभर छन् । अनिलले भच्चेककी बिमाया गुरुङसँग बिहे गरेका छन् । उनको दुईभाइ छोरा छन् ।

छोरी अनिता कुसुन्डाले तेह्रकिलोमै बिहे गरेकी छन् । कान्छो छोरो २८ वर्षीय अशोक कुसुन्डा हाल वैदेशिक रोजगारीमा छन् । भोगटेनीकी आशा गुरुङसँग विवाह गरेका अशोकका एक छोरा र एक छोरी छन् ।

आफ्ना तीनैजना छोराछोरीले ४–५ कक्षा पढ्दै छोडेको उनले बताए । “नपढ्नेलाई जति कराए पनि लाग्दैन रहेछ । सानैमा बिहे गरेर अहिले छोराछोरीको धनी भएका छन्”, चेतबहादुरले भने, “म पनि अक्षर चिन्दिनँ । छोराछोरीले के पढ्थे ।”

चेतबहादुरकी श्रीमतीको भने मृत्यु भइसकेको छ । “बुडिया बितेको त चार वर्ष भयो । आमा पनि पोहोरको चैतमा खसेकी हुन्”, उनले भने, “आफन्तका नाममा दिदीबहिनी र ससुराली छन् । आमाको माइती लमजुङको भोटेओडार हो । मावली टाढा भयो, आउजाउ छैन ।”

आफू १० वर्षको हुँदा बितेका बुबा गनबहादुर कुसुन्डा को थिए ? कहाँबाट आएका थिए ? र उहाँको परिवार को हुन् भन्नेबारे चेतबहादुर बेखबर छन् । उनलाई न कुसुन्डाको भाषा थाहा छ, न रीतिरिवाज, न त वेशभूषा नै । उनले अन्यत्रका कुसुन्डा समुदायसँग चिनजान, आउजाउ पनि गरेका छैनन् । गोरखा दरबार सङ्ग्रहालयमा आफ्नो जातिको डमी राखेको देखपछि आफू खुसी हुने गरेको उनको भनाइ छ ।

“अन्ततिरको कुसुन्डाहरूले त आफ्नै भाषा बोल्छन् रे भन्ने सुनेको छु । अब हामीलाई त केही थाहा छैन । बाउबाजेसँग सङ्गत भएको भए पो आफ्नो जात, धर्म, संस्कृतिबारे केही थाहा हुन्थ्यो होला”, उनले भने । आफूहरूले अरू हिन्दूसरह नै सबै चाडपर्व मनाउँदै आएको चेतबहादुरले बताए । उनी भन्छन्, “दसैँ, तिहार सबै मनाउँछौँ । अरूले जस्तै हरेक वर्ष वायु पूजा, कुलायन पूजा पनि गर्छौं । हाम्रो कुलायन पूजामाचाहिँ भाले चढाउनु पर्छ ।”

सरकारले उहाँको आठ जना परिवारलाई प्रतिव्यक्ति मासिक चार हजारका दरले भत्ता दिँदै आएको छ । हाल बस्दै आएको एकपाखे घर पनि जनता आवास कार्यक्रमअन्तर्गत निर्माण भएको हो । अब सरकारले लोपोन्मुख कुसुन्डा जातिको उत्थान र संरक्षणका लागि थप कार्यक्रम ल्याउनुपर्ने चेतबहादुरको भनाइ छ । सरकारले आफूहरूको लागि उचित बासस्थानको व्यवस्था मिलाउनुपर्ने उनको माग छ ।  रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending