Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

जनताको अनुहारमा खुसी देखेको दिन मेरो प्रयासले सार्थकता पाउनेछ : सांसद चौधरी

खबरडबली संवाददाता

काठमाडौँ। प्रतिष्ठित उद्योगीसमेत रहेका प्रतिनिधिसभा सदस्य विनोद चौधरीले मुलुकको अर्थतन्त्र सकारात्मक लयमा गएकाले यसको निरन्तरताको आवश्यक औँल्याएको छन् । उनले विप्रेषण हेरेर खुसी हुने होइन, आन्तरिक अर्थतन्त्र बलियो बनाउनेतर्फ सामूहिक प्रयासको जरुरी रहेको बताए।

सांसद चौधरीले भने, “सरकारी संयन्त्र परिणामभन्दा बढी प्रक्रियामुखिछ, नीतिगत अस्पष्टता देखाएर काम नगर्ने प्रवृत्ति बढिरहको छ, जुन गलत छ । जनताप्रति जवाफदेही प्रशासनले मात्रै सुशासन स्थापित हुन्छ । युवा पलायन रोक्न दीर्घकालीन योजना अपरिहार्य छ ।”

निर्वाचन क्षेत्रका नागरिकको अनुहारमा खुसी देखेका दिन आफ्नो प्रयासले सार्थकता पाउने बताउँदै उनले नागरिकमा आशा र भरोसा दिन सकेमा मात्र राज्य बलियो हुने विचार प्रकट गरे ।

प्रतिनिधिसभा सदस्य चौधरीसँग मुलुकको अर्थतन्त्र, उद्योग–व्यवसाय, राजनीति, विप्रेषण, युवाको विदेश पलायनलगायत समसामयिक विषयमा गरिएको अन्तर्वार्ताको सम्पादित अंश:

तपाईँ अहिले केमा व्यस्त हुनुहुन्छ  ?

म निर्वाचित जनप्रतिनिधिका हैसियतले मेरो पहिलो र प्राथमिक जिम्मेवारी मुलुकले भोगिरहेका यावत् समस्याका बारेमा संसद्मा र सरकारलाई अवगत गराउने हो । सँगसँगै कानुन निर्माण तथा नीति निर्माणमा प्रभावकारी सहभागिता जनाउँदै आएको छु । मुलुकमा राजनीतिक स्थायित्व, लगानीमैत्री वातावरण र देशभित्रै युवालाई रोजगारी कसरी दिलाउन सकिन्छ भन्नेमा पनि आफ्नो तर्फबाट निरन्तर इमान्दारितापूर्वक मेहनत गर्दै आएको छु । एउटा जनप्रतिनिधिको जिम्मेवारी यतिमा मात्रै सीमित त छैन । तपाईं हामी सबैलाई थाहा छ, आफू निर्वाचित भएको निर्वाचन क्षेत्रको समग्र विकासको काममा पूर्ण रूपमा क्रियाशील हुनैपर्छ । त्यति मात्रै होइन, त्यहाँका यावत् समस्याको सम्बोधनका लागि पनि जनप्रतिनिधि हरबखत तयार रहनुपर्दछ । मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने यो झन्डै अढाई वर्षको अनुभवलाई मिश्रित रूपमा लिएको छु ।

मुलुकको संसदीय परिदृश्यलाई कसरी नियाल्नुभएको छ ?

संविधानको भावनाअनुसार सङ्घीयता, समावेशिता र लोकतन्त्रलाई सुदृढ गर्न हाम्रा प्रयत्नहरू जारी छन् । यो बीचमा महत्वपूर्ण विधेयकहरू पारित पनि भएका छन् । तर त्यसो भन्दै गर्दा राजनीतिक अस्थिरता, दाउपेच र प्रतिशोधपूर्ण राजनीतिक व्यवहारको प्रत्यक्ष साक्षी भयौँ । यो बीचमा जेजस्ता राजनीतिक परिदृश्यहरू देखापरे । यसले मुलुकलाई कता लैजाँदैछ भन्ने चिन्ता सबैलाई भएको छ ।

संविधान जारी भइसकेपछि मुलुक जसरी समृद्धिको बाटोमा अगाडि बढ्छ भन्ने आमअपेक्षा थियो, त्यो अनुसार काम भयो कि भएन भन्ने प्रश्न छ । यसको जवाफ राजनीतिक दलहरूले खोज्न ढिलाइ गर्नुहुन्न । यतिबेला संसद्का दुई ठूला दलहरूको सरकार छ । झन्डै दुई तिहाइको जनसमर्थन छ ।

हामीले यतिबेला बोल्नेभन्दा पनि व्यवहारबाट परिणाम देखाउन सक्नुपर्छ । पछिल्लो समय अर्थतन्त्र सकारात्मक लयमा गएको विभिन्न सूचकाङ्कले देखाएको छ । यो राम्रो पक्ष हो । अब यसको निरन्तरता र गति बढाउनुपर्छ । मुलक सधैँ राजनीतिक अस्थिरता र अन्योलताको बन्दी बन्न सक्दैन । नागरिकमा आशा र भरोसा सिर्जना गर्न सकेका दिन मात्रै हाम्रो सफलता ठहरिनेछ ।

अब कसरी अघि बढ्दा मुलुक र जनताको भलो होला ?

संविधान कार्यान्वयनको बाटोमा हामी अगाडि बढेका छौँ । आजको यो संविधान प्राप्तिका पछाडि सङ्घर्ष र त्यागको लामो इतिहास छ । मुलुकमा केही भएकै छैन भन्ने जुन भाष्य सिर्जना गर्न खोजिएको छ, त्यो पनि सत्य होइन ।

धेरै सकारात्मक उपलब्धि भएका छन् । तर हाम्रो विकासको गति र जनताको अपेक्षाका बीच ठूलो भिन्नता छ । आजको पुस्ताले विश्वको विकासको गति र त्यसको छलाङ देखेको छ । ‘जेन जी’ पुस्ताले जसरी विकसित मुलुकको समृद्धिलाई नजिकबाट देखिरहेको छ, त्यो अनुसार नेपालमा किन भएन भनेर प्रश्न गरिरहेको छ । उसको गल्ती केही छैन ।

‘इन्टरनेट’को यो दुनियाँ त्यसमा पनि झन् अहिले ‘च्याटजिपिटी’जस्ता ‘एआई’को क्रान्तिको बेला आज नेपालको कुनै पनि कुनाकाप्चामा रहेको व्यक्तिले अमेरिका, अष्ट्रेलिया या अरू देशको विकास देखिरहेको छ, अनि उसले आफ्नो देशलाई तुलना गरिरहेको छ ।

त्यसकारण हामीले संविधानमा जेजस्ता व्यवस्था गरेका छौँ, त्यसको कार्यान्वयन गर्दै मुलुकलाई विकासको गतिमा तीव्र रूपमा दौडाउनै पर्दछ । यसका लागि स्थिर सरकार र दृढ इच्छाशक्ति चाहिन्छ । मैले सधैँ भन्ने गरेको छु, नीति बनाउने मात्र होइन, कार्यान्वयनको पक्ष बलियो बनाउन सरकार र सरोकारवाला सबै पक्ष गम्भीर बन्नुपर्दछ । नीति बन्ने तर त्यसको कार्यान्वयन फितलो भयो भने के अर्थ भयो र ?

संविधान संशोधनको बहस उठिरहेको छ, यसमा तपाईंको धारणा के छ ?

संविधान संशोधनको बहस अहिले उठिरहेको छ । केही महत्त्वपूर्ण विषयमा संशोधनको अभिप्रायले नै अहिलेको कांग्रेस एमाले सरकारका गठन भएको पृष्ठभूमि सबैलाई थाहा छ । यसका लागि कुनै दुई दल वा तीन दलको विषयभन्दा पनि आम समझदारी र आवश्यकताअनुसार संशोधन हुन जरुरी छ । नत्र यो संशोधनको विषय त्यति सजिलो छैन ।

संविधानको मूल ‘स्पिरिट’लाई नमर्ने गरी समयसापेक्ष संशोधन गर्न सकिन्छ । यो कुनै धार्मिक ग्रन्थ त होइन, ताकि एकपटक लेखिसकेपछि परिवर्तन गर्नै नमिल्ने । मुलुकको हित र  आवश्यकतालाई  मध्यनजर  गरेर  सबै  दल  र  सरोकारवाला  पक्षबीच  घनिभूत संवादमार्फत संशोधन गर्न सकिन्छ ।

युवा पुस्ता विदेश पलायन हुने क्रम जारी छ, यसलाई यहाँले कसरी लिनुभएको छ ?

एकजना नेता वा कसैले सार्वजनिक फोरममै बोल्नुभएको थियो । यो देशमै केही गर्छु भन्न चाहने युवालाई कुनै कामका लागि सरकारी निकायमा पठाउनुहोस्, ऊ बेलुका फर्किंदा अब विदेश जान्छु भन्न थाल्छ । मैले भन्न खोजेको र सार्वजनिक रूपमै सबैले स्वीकार गरेको विषय के हो भने हाम्रो सरकारी संयन्त्र यति झन्झटिलो छ कि त्यहाँ परिणामभन्दा पनि प्रक्रियामै अल्झाइन्छ ।

तपाईं एक जना प्रतिष्ठित उद्योगी हुनुुहुन्छ, सरकारी काम कसरी हुन्छ, सुशासनको पाटो कस्तो छ ?

अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक सरकारका सचिवहरूसँग होस् वा मन्त्रीहरूसँग सुशासन र सरकारी सेवालाई प्रभावकारी बनाउने सवालमा छलफल गर्नुभएको छ । उहाँमा म यसबारे गम्भीरता देख्छु । तर यो प्रधानमन्त्रीले निर्देशन दिएर वा उहाँले चाहेर मात्रै सम्भव त हुँदैन । यसका लागि पारदर्शिता, जवाफदेहिता र डिजिटल प्रविधिको प्रभावकारी प्रयोग चाहिन्छ । सबैको प्रतिबद्धता चाहिन्छ । नीतिगत अस्पष्टतालाई टेकेर कामै रोकिदिने प्रवृत्ति बढ्दो छ । यसलाई हटाएर सरकारी संयन्त्रलाई परिणाममुखी बनाउन जरुरी छ । त्यसकारण सुशासनका लागि व्यक्तिसँगसँगै हाम्रा प्रणालीहरू पनि चुस्त हुन जरुरी छ । सेवा प्रवाह छिटो, सहज र पारदर्शी बनाउन अपरिहार्य छ । यो चुनौतीपूर्ण काम हो । प्रधानमन्त्रीले भ्रष्टाचारमाथि शून्य सहनशीलता भन्दै आउनुभएको छ । जनताप्रति जवाफदेही प्रशासन आजको आवश्यकता हो । यति भइसकेपछि देशमा सुशासन स्थापित हुन्छ ।

सङ्घीयता कार्यान्वयनको अवस्था कसरी अघि बढिरहेको छ ?

मुलुक सङ्घीयतामा गएको पनि आठ वर्ष पूरा भइसकेको छ । आज पनि प्रदेश र स्थानीय तहले संविधानले दिएका अधिकार पाइएन भनी आलोचना गरिरहेका स्वरहरू सुनिरहेका छौं । संविधानप्रदत्त अधिकार उनीहरूलाई दिनुपर्छ  ।  त्यसका  लागि  आवश्यक  कानुन  निर्माणमा  सङ्घले  ढिलासुस्ती  गर्नुहुन्न । सङ्घीयताका बारेमा विभिन्न कोणबाट बहस भइरहेका छन् । यसको आवश्यकता र औचित्यमाथि पनि प्रश्न उठिनै रहेका छन् । यसमा मेरो पनि आफ्नो दृष्टिकोण होला । जहाँसम्म तपाईंले सङ्घीयताको सबलीकरणको प्रश्न गर्नुभयो, त्यसका लागि जबसम्म आर्थिक रूपमा प्रदेश र स्थानीय तह बलियो हुन सक्दैनन्, सङ्घीयता साँचो अर्थमा बलियो बन्न पनि सक्दैन । केन्द्रले कानुन बनाइदिएर वा अधिकारी दिएर मात्रै पनि सङ्घीयता सबलीकरण हुन्छ भन्नेमा म चाहिँ विश्वस्त छैन । त्यसका लागि प्रदेश र स्थानीय तहले साधनस्रोत र आर्थिक रूपमा बलियो बन्नैपर्दछ । यसमा आवश्यक भए कानुनी र नीतिगत सहजीकरण केन्द्रले गरिदिनु पर्दछ ।

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटको कसरी मूल्याङकन गर्नुभएको छ ?

मैले प्रि–बजेट छलफलमा पनि देशको अर्थतन्त्रलाई कसरी चलायमान बनाउन सकिन्छ र देशमै रोजगारीको अवस्था सिर्जना गर्न राज्यले के के गर्नुपर्छ भनेर प्रस्टै रूपमा बताएको थिए । युवा पलायन हाम्रा लागि गम्भीर समस्या हो । रेमिट्यान्सको नजरले मात्रै हेर्नुहुन्छ भने यो अवसर होला तर देशको जनशक्तिलाई अर्काको देश पठाएर हामी हाम्रो देश बनाउँछौँ भनेर सोच्नुहुन्छ भने त्यो सही सोच हुन सक्दैन । देशभित्रै उद्योग, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा रोजगारी सिर्जना गर्नसकिन्छ । सरकारको स्पष्ट नीति र दृष्टिकोणबिना यो सम्भव छैन । हरेक दिन तीन हजार बढी युवा वैदेशिक रोजगारीमा गइरहेको समाचार पढ्न थालेको वर्षौं भइसक्यो । अब त देशभित्रै राम्रो गरिरहेका र स्थापित युवा पनि देश छोडेर विदेशमै ‘सेटल’ हुनेगरी पलायन भइरहेका छन् । यो झनै डरलाग्दो दृश्य हो । त्यति मात्रै होइन, वर्षमा एक खर्बभन्दा बढी पैसा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीहरूमार्फत विदेश गइरहेको छ । किन हामीले विश्वका स्थापित कलेज विश्वविद्यालयहरूलाई नेपालमै नल्याउने रु किन सरकारले यसमा कति  ध्यान पुर्‍याएकोछ ।

युवा पलायन रोक्न दीर्घकालीन योजनाको खाँचो छ । यसका लागि निजी क्षेत्रलाई प्रोत्साहन, नेपालको अथाह सम्भावना भएको पर्यटन क्षेत्रलाई प्राथमिकता, कृषिमा युवाहरूलाई आकर्षित गर्ने योजनाका साथसाथै कृषिमा प्रविधिको उच्चतम प्रयोग, प्राविधिक शिक्षामा जोड, आइटी क्षेत्रमा लगानी गर्नुपर्दछ । नत्र सरकारले आकर्षक नीति ल्याउने तर कार्यान्वयन पक्ष फितलो भएपछि युवा पलायन अवश्यम्भावी छ । अवसर खोज्दै युवा विदेश जानु बाध्यता हो । यो बाध्यतालाई स्वीकार गर्नैपर्दछ ।

तपाईंको जिल्ला र निर्वाचन क्षेत्रका प्राथमिकता के हुन् ?

निर्वाचनमा ‘विकासका लागि राजनीति’भन्ने नारासहित चुनावमा गए । मैले प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्रमा विकास गर्ने र त्यहाँका नागरिकको अनुहारमा खुसी ल्याउन सकेका दिन मेरो प्रयासले सार्थकता पाउँछ भन्ने मान्यता राख्दछु । चुनावमा जुन घोषणापत्र सार्वजनिक गरेको थिए, त्यो म जहाँ गए पनि मसँगै बोकेको हुन्छु ।

निर्वाचन  क्षेत्रको  विकास सँगसँगै  उद्यमशीलता,  गुणस्तरीय  शिक्षा,  स्वास्थ्य र  अन्य समस्याका समाधानका लागि निरन्तर सक्रिय छु । मैले यो गरे त्यो गरे भन्नुभन्दा एकपटक मेरो क्षेत्रमा जो कोही गएर हेर्दा पनि थाहा हुन्छ कि, म निर्वाचित हुनुभन्दा पहिलाको पश्चिम नवलपरासी र अहिले दुई वर्षमा भएका विकास निर्माणदेखि शिक्षा, स्वास्थ्य तथा रोजगारीका क्षेत्रमा भएका कामहरूका विवरण प्रत्यक्ष पाउनुहुनेछ । यसको श्रेय म एक्लै लिन चाहन्न  ।

सबैको सामूहिक प्रयास र समर्थनले सम्भव भएको हो । सबै प्रतिबद्धताहरू दुई चार वर्षमै पूरा हुँदैनन् । धेरै काम गर्न बाँकी छ भन्ने कुरा बुझेको छु । त्यसका लागि निरन्तरको पहल र प्रयास आवश्यक हुन्छ । मेरो प्राथमिकता भनेकै निर्वाचन क्षेत्र हो अहिले ।

यहाँ उद्योग–व्यवसाय क्षेत्रमा क्रियाशील व्यक्तित्व हुनुहुन्छ, मुलुकमा उद्योगको विकास र विस्तारका लागि के गर्न आवश्यक छ ?

मुलुकको समृद्धिका लागि युवा उद्यमशीलतालाई प्रोत्साहन गर्नुपर्दछ । त्यसका लागि उनीहरूलाई बीउपुँजी सहयोग गर्नुपर्दछ । नेपालमै विश्वका उत्कृष्ट शैक्षिक संस्थाहरू ल्याउन सक्यौँ भने त्यसबाट उत्पादित जनशक्ति हाम्रो देशका लागि ठूला पुँजी बन्नसक्छन् । प्राविधिक शिक्षा, नवपव्रद्र्धन कार्यक्रममा जोड र नेपालमै सम्भव छ भन्ने विश्वास दिलाउने गरी सरकारले वातावरण बनाउन सकेका दिन विदेशमा रहेका नेपाली युवाहरू पनि स्वदेश फर्किने अभियान सुरु नहोला भन्न सकिन्न । उनीहरूले विदेशमा कमाएको जे जति छ, त्यो देशमा लगानी गर्नेछन् । यसरी नै हो देश बन्ने । आज जसलाई हामी विकसित मुलुक भन्छौँ, उनीहरू पनि यसरी नै धनी बनेका हुन् ।

यसका लागि सरकार एक्लैको पहलमा सम्भव हुँदैन । सरकार र निजी क्षेत्रले हातेमालो गर्नुपर्छ ।  आज पनि ६० प्रतिशत बढी नागरिक कृषिमा आबद्ध छन् । यति ठूलो सङ्ख्या कृषिमा संलग्न हुँदा पनि हामी सबैजसो खाद्यान्न बाहिरबाट आयात गरिरहेका छौँ । यसले हाम्रो वास्तविक अनुहार देखाउँछ । त्यसकारण कृषिलाई प्रविधिसँग जोडेर व्यावसायिक बनाउन सरकारले नीति बनाउनुपर्छ । कृषिलाई उद्योगकै रूपमा अगाडि लैजान जरुरी छ । स्वदेशी उत्पादनलाई प्राथमिकता दिने र त्यसको बजारीकरणको जिम्मा सरकारले लिनसकेका दिन हाम्रो ग्रामीण अर्थतन्त्र पनि सशक्त बन्दै जान्छ । ग्रामीण अर्थतन्त्र बलियो भएका दिन त्यसको ठूलो सकारात्मक असर हाम्रो राष्ट्रिय अर्थतन्त्रमा देखिनेछ ।

तपाईँको जनतालाई केही सन्देश छ ?

नेपालमै केही गर्न सकिन्छ र त्यो सम्भव छ भन्ने सकारात्ममक सोच भएका युवाको सङ्ख्या पनि प्रशस्त छ । यतिबेला निराशा होइन, सकारात्मक सोच र ऊर्जाका साथ देश विकास र समृद्धिका लागि सबै नेपालीबीच सहकार्यको भावनाको आवश्यकता छ । किनकि यो देश हाम्रै हो । सबैले आ–आफ्नो ठाउँबाट सकारात्मक पहल गरेका दिन अवश्य मुलुकले पनि समृद्धिको गति लिनेछ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज साँझ एसईई नतिजा सार्वजनिक हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक आज साँझ सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा बोर्ड स्रोतका...

राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेको छन् । सोमबार अपराह्न ४ बजे सुरु भएको संसद्को संयुक्त...

नेप्से परिसूचकमा ३८ दशमलव १९ अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ३८ दशमलव १९ अङ्कले उकालो लागेर दुई हजार ७८३ दशमलव ८५ मा पुगेको छ । यो एक दशमलव ३९ प्रतिशतक...

विद्युत प्राधिकरणका प्रमुखविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, कञ्चनपुर वितरण केन्द्र सप्तरीका प्रमुख महेन्द्र कुमार दासविरुद्ध विशेष अदालत का...

घुस लिएको अभियोगमा विद्युत प्राधिकरणका प्रमुखविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, कञ्चनपुर वितरण केन्द्र सप्तरीका प्रमुख महेन्द्र कुमार दासविरुद्ध विशेष अदालत का...

प्रतिनिधिसभा सरकारको कठपुतली होइन: राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रिय प्रजातन्त्र पार्टी) ले सरकारले अध्यादेश ल्याउने संवैधानिक अधिकारको दुरुपयोग गरेको आरोप लगाएको छ। ...

विद्यार्थी संगठनमाथिको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश

काठमाडौं । सर्वोच्च अदालतले विश्वविद्यालयहरूमा विद्यार्थी संगठनहरूमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अने...

भ्रष्टाचार मुद्दामा सांसदलाई छुट दिने प्रावधानप्रति संसदमा कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले सांसदलाई भ्रष्टाचार मुद्दामा विशेष छुट दिने गरी गरिएको कानुनी व्यवस्थामाथि प्रश्न उठाएको छ। प्रतिनिधिसभा नियमावली मस्यौदा...

आफूविरुद्ध लगाइएका आरोप प्रमाणित भए राजनीतिबाट सधैंका लागि बिदा हुने रास्वपा सांसद खरेलको चुनौती

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) का सांसद जगदीश खरेल ले आफूविरुद्ध लगाइएका आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्दै प्रमाण...

विपक्षी दलहरूद्वारा संसद् बैठकमा उठेर विरोध, सभामुखको आग्रहपछि बैठक सुरु

काठमाडौं । प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभा बैठक सञ्चालन भएको छ । केहीबेरअघि सुरु भएको बैठकको सुरुमै विपक्षी दलका सांसदहरूले उठेर अवरोध गरेप...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending