Khabar Dabali ३२ असार २०८३ बिहीबार | 16th July, 2026 Thu
Investment bank

भूमाफियाको कब्जामा ७० बिघा

खबरडबली संवाददाता

नवलपरासी । नवलपरासीको कावासोती नगरपालिका वडा नं.४ (साविक शिवमन्दिर क, ख र ग तीन वटा नक्सामा रहेको १९१ बिघामध्ये करिब ७० बिघा जमिन चलखेल गरेर जिल्लाभन्दा बाहिरका भूमाफियाले कब्जा गरेको पाइएको छ । 

८०९ घरधुरी रहेको कावासोती–४, हसौरामा पुस्तौँदेखि खनजोत गरेर बसोबास गरिरहेका छ सय घरधुरीको जग्गाधनी पुर्जा अर्कै व्यक्तिको नाममा रहेको पाइएको हो ।

हसौरामा २० वर्षअघि जग्गा किनेर बसोबास गरिरहेका लोकबहादुर आलेले आफ्नो कित्ता नं. १५९ को जग्गा रुपन्देहीका पर्साबहादुर आलेको नाममा रहेको बताए । 

“२० वर्षअघि मैले अर्कै व्यक्तिसँग जग्गा किनेर बसेको थिएँ तर धेरैपछि मात्र थाहा भयो, म बसेको जग्गाको पुर्जा पर्साबहादुर आलेको नाममा रहेछ,” लोकबहादुरले भने, “उहाँ आफू बेलायत बस्नुहुँदो रहेछ, परिवार रुपन्देहीको सुक्खा नगरमा छ भनेर भेट्न त्यहाँ पनि पुग्यौँ तर भेट्न सकेनौँ ।” उनका अनुसार पर्साबहादुरबाट मात्र यहाँका १५ घरधुरी परिवार ठगिएका छन् ।

त्यस्तै अर्का स्थानीय गणेश पोख्रेलले पनि झन्डै २२ वर्षअघि अर्कै व्यक्तिबाट जग्गा किने तर उनी बसेको जग्गाको पुर्जा यदुनाथ पराजुलीको नाममा छ, पराजुलीको भने निधन भइसकेको छ । कावासोती–४ का अध्यक्ष नारायण लोहनीका अनुसार यसरी पुर्जाविहीन भएका एउटै वडाका छ सय घरधुरी सङ्गठित रूपमा सक्रिय रहेका भूमाफियाबाट ठगिएका छन् । बर्सौंदेखि जोतभोग गरेर बसोबास गरिरहेको भए पनि उनीहरूसँग पुर्जा छैन । अध्यक्ष लोहनीले जिल्लाबाहिरका व्यक्तिहरू क्युप्रसाद बस्याल, यज्ञमूर्ति पाठक, काशीनाथ सापकोटा, ठाकुरप्रसाद शर्मा, पर्साबहादुर आले, यदुनाथ पराजुलीलगायतले अवैधानिक तरिकाले जग्गा कब्जा गरेको आरोप लगाए । 

यसरी निकालिएको थियो पुर्जा

विसं २०४९ मा छुट जग्गा दर्ताका लागि नापी आएको थियो । त्यही समय अनियमित तरिकाले शक्तिको आडमा मालपोत अधिकृतको मिलेमतोमा पुर्जा वितरण गरेको वडाध्यक्ष लोहनीको दाबी छ । जसले गर्दा पुर्जा निस्केकाहरूको पनि जग्गा एकातिर, पुर्जा अर्कोतिर भएको देखिन्छ । 

कावासोती नगरपालिकाका विष्णुप्रसाद भुसालले मालपोत कार्यालयका केही कर्मचारीको मिलेमतोमा रातारात पुर्जा निकालेर वितरण गरेको र ती कर्मचारीले अहिले अवकाश लिइसकेको बताए । “त्यतिबेला नवलपरासी जिल्ला एउटै थियो र सदरमुकाम परासीबाट यो काम भएको देखिन्छ,” उनले   भने । भूमाफियाले यो ठाउँलाई दोस्रो ललिता निवास बनाएको वडाध्यक्ष लोहनीले तर्क छ ।

जिल्ला टुक्रिएर नवलपुर भइसकेपछि मालपोत कार्यालयको प्रमुख भएर काम गरिसकेका हाल यही जिल्लाका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले केही व्यक्तिले तत्कालीन समयमा कर्मचारीलाई प्रभावमा पारेर काम गरेको हुन सक्ने बताए । 

मालपोत कार्यालय कावासोतीले पनि यो जग्गा विवादित रहेको भन्दै गहिरिएर अध्ययन गर्ने बताएको छ । कावासोतीका मालपोत अधिकृत घनश्याम गाहाले हसौराको यो जग्गाका बारेमा छुट जग्गा दर्ता गरिपाउँ भनेर थुप्रै निवेदन पनि परेका र जनप्रतिनिधिले पनि निक्कै चासो दिएको विषय भएकाले कार्यालयले अध्ययन गर्ने बताए । “प्रमुख मालपोत अधिकृत हरिकृष्ण सुवेदी मङ्गलबार मात्र सरुवा भएर यहाँ आएको छ, आउनेबित्तिकै जनप्रतिनिधिले उहाँसँग छलफल पनि गरे,” गाहाले भने, “सुवेदीले यसबारेमा गहिरो अध्ययन गरेर कारबाही अघि बढाउने बताउनुभएको छ ।” प्रमुख मालपोत अधिकृत सुवेदी घरजग्गा शाखामै बसेर लामो समय काम गरेकाले त्यो अनुभवका आधारमा यहाँको यो जग्गाका बारेमा केही महत्वपूर्ण निर्णय गर्ने आशा उनले व्यक्त गरे ।

सर्वोच्चको फैसलाले राहत

२०५८ सालमा राजस्व हिनामिना भएको भन्दै मालपोत कार्यालय नवलपरासीले सार्वजनिक सूचना जारी ग¥यो र मालपोत कार्यालयले यो जग्गाको पुर्जा बदर गरिदियो । त्यसको विरुद्ध क्युप्रसादको समूहले पुनरावेदन गर्‍यो । पुनरावेदन अदालतले अर्धन्यायिक निकाय (मालपोत) ले आफैँले सदर गरेको निर्णय आफैँ बदर गर्न नपाउने फैसला सुनाइदियो । त्यसका विरुद्ध मालपोत फेरि न्यायका लागि भन्दै सर्वोच्च अदालत गयो र सर्वोच्चले पनि २०६५ साल चैत १२ गते पुनरावेदनको फैसलालाई सदर गरेपछि क्युप्रसादको समूह प्रमाणमा बलियो देखिएको छ । 

तिरो नलिने निर्णय

कावासोती नगरपालिकाले भूमाफियाले जग्गा कब्जा गरेको भन्दै शिवमन्दिर क, ख र ग तीन वटा नक्साको तिरो नबुझ्ने निर्णय गरेको छ । कावासोती ४ नं. वडाको सिफारिसमा नगरपालिकाले बाँकी सबै १६ वटा वडालाई पत्राचार गरी यी तीन वटा नक्साको तिरो नदिनू भनेर पत्राचार गरिएको र मालपोत कार्यालयलाई पनि जानकारी गराइएको अध्यक्ष लोहनीले बताए । नगरपालिकाले यस विषयमा भूमि व्यवस्थामन्त्री र प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ । सबै राजनीतिक दललाई आवाज उठाइदिन आग्रह गर्दा हुन्छ भन्दै आश्वासन दिएर चुनावी नारा मात्र बनाएको नगरपालिकाको आरोप छ । 

अख्तियारमा उजुरी 

हसौराको जग्गाको फिल्डबुक नमिलेको जग्गा बदर गर्ने, जोतभोग गरेकालाई न्याय दिने र जग्गाका बारेमा गहिरिएर अनुसन्धान गर्नुपर्ने माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा उजुरी परेको छ । उक्त उजुरीका बारेमा अख्तियारले छानबिनसमेत थालेको छ । जिल्लामै अनुसन्धान गर्न आएको अख्तियारको टोलीलाई नगरपालिकाले जोतभोग गरेकालाई पुर्जा दिनुपर्ने र अनियमित तरिकाले जग्गा कब्जा गर्ने काम भएको भन्दै थप गहिरिएर अनुसन्धान गर्न आग्रह गरेको अध्यक्ष लोहनीले जानकारी दिए । 

बोलाउँदा कोही आएन

कावासोती नगरपालिकाका प्रमुख विष्णुप्रसाद भुसालले पुर्जा प्राप्त गरेका व्यक्ति ३५ दिने सूचना जारी गरेर सम्पर्कमा बोलाउँदा बेवास्ता गरेको बताए । “हामी निर्वाचित भएर आइसकेपछि कित्ता नम्बर पहिचान गरी आवश्यक प्रमाणसहित ३५ दिनभित्र आफ्नो जग्गामा उपस्थित हुन भनी सूचना निकाल्यौँ,” नगरप्रमुख भुसालले भने, “तर नुवाकोटका (साविक लिखु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष) दुई जना डेढरडेढ बिघाको पुर्जा बोकेर आउनुभयो तर स्थानीयको अवरोध हुन सक्ने डरले उहाँहरू गाउँ प्रवेश गर्न सक्नुभएन ।”

उहाँहरू गाउँ पस्न नसकेर पालिकाको सम्पर्कमा आएको भुसालले बताए । “उहाँहरूले तपाईंहरूको पुर्जा भएको जग्गामा बसोबास गरिरहेकालाई बोलाएर छलफल गराउँछौँ भन्दा मान्नुभएन, फेरि आउँछौँ भनेर जानुभयो तर फर्केर आउनुभएन ।” पछि मालपोत ऐन र जग्गा दर्तासम्बन्धी अनुसूचीका आधारमा ३५ दिने सूचना प्रकाशित गर्दा पनि कोही सम्पर्कमा नआएको भुसालको भनाइ छ । 

समाधान के हो त ?

भूमिसम्बन्धी आयोग बनेकाले आयोगले यथार्थ रिपोर्ट दिएपछि मात्र थप अनुसन्धान प्रक्रिया अघि बढ्न सक्ने नगरप्रमुख भुसालको विश्वास छ । “भूमि आयोगले विगतमा गैरकानुनी ढङ्गले दर्ता भएका र अहिले ती व्यक्ति यहाँ नभएको हुनाले संवैधानिक हिसाबले बदर गर्‍यो भने जोतभोग गरिरहेकाको नाममा पुर्जा दिन सकिन्छ,” भुसालले भने। 

यो कुरामा भूमि आयोग पनि सकारात्मक देखिएको छ । यो विषयमा दुवै पक्ष समझदारीमा आए समाधान निस्कने राष्ट्रिय भूमि आयोग नवलपुरका अध्यक्ष तारापति खरेलले बताए । “अदालतको आदेशका कारण राजस्व तिरेको र रसिद बुझाएको भए समस्या हुन सक्छ अन्यथा भोगचलन गरेकाहरूको निवेदन लिएर प्रक्रिया अघि बढाउँछौँ, अवरोध नहुँदासम्म अघि बढ्छौँ, जहाँ अवरोध हुन्छ त्यहीँ रोकिन्छौँ,” अध्यक्ष खरेलले भने ।

‘दोषी भए कारबाही भोग्छु’  

भूमाफियाको आरोप लागेका क्युप्रसाद बस्यालले भने आफूले वैधानिक तवरले जग्गा प्राप्त गरेको र दोषी भए कारबाही भोग्न तयार रहेको बताएका छन्् । उनले १९७८ सालदेखि किनबेच हुँदै आएको जग्गा २०१९ सालमा आफ्नो बुबाले रविलाल बस्याल र लीलाबल्लभ डुम्रेबाट किनेको दाबी गरे । यस विषयमा सर्वोच्चले नै फैसला गरिसकेकाले धेरै बोल्न नपर्ने उनले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिरोले थुनियो पृथ्वी राजमार्ग, अर्को सूचना नआएसम्म सबै सवारी आवागमन बन्द

काठमाडौं । धादिङमा निरन्तर पहिरो खसिरहेपछि देशकै व्यस्त पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। प्रशासनले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै अर्को स...

श्रीमती कुटपिटको आरोपमा बुद्ध एयरका पाइलट पक्राउ, पाँच दिनदेखि प्रहरी हिरासतमा

ललितपुर । बुद्ध एयरका पाइलट आदित्य कसजु पत्नीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। उनी हाल ललितपुरको प्रहरी वृत्त, सातदोबाटोको हिरासतमा रहेका छन्...

स्कुलबाट घर फर्किरहेका विद्यार्थीमाथि बाँदरको आक्रमण, हातमा ८ टाँका

अर्घाखाँची । अर्घाखाँचीमा विद्यालयबाट घर फर्किरहेका एक विद्यार्थीमाथि बाँदरले आक्रमण गर्दा उनी घाइते भएका छन्। छत्रदेव गाउँपालिका–४ स्थित कालिका बो...

बिरामीमाथि सरकारको नयाँ प्रहार: निजी अस्पतालमा उपचार गराउँदा अब अनिवार्य ३ प्रतिशत थप शुल्क

काठमाडौं । सरकारले साउन १ गतेदेखि देशभरका निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, प्रयोगशाला, निजी मेडिकल कलेज तथा अन्य निजी स्वास्थ्य संस्थामा उपचार ग...

कालीमाटी अपडेट : आज कुन तरकारी कति ? गोलभेडादेखि माछासम्मको थोक मूल्य सार्वजनिक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...

बर्डफ्लुको प्रकोप : डेढ खर्बको कुखुरा उद्योग संकटमा, किसानदेखि उपभोक्तासम्म असर

काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...

रित्तिए गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति

पूर्व टेलिकम प्रमुख पौडेललाई १२ करोड ७५ लाख बिगो, दुई वर्ष कैद

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...

लुम्बिनीमा कांग्रेसले आजै मन्त्री फिर्ता बोलाउने, सरकार संकटमा

  काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, दक्षिण बागलुङ सडक सम्पर्कविहीन

बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending