Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

रवि लामिछाने दोषी ठहर भए जेलबाटै पार्टी चलाउलान् ?

खबरडबली संवाददाता

काठमाडौं । दुई महिनाभन्दा लामो समयदेखि पार्टी सभापति रवि लामिछाने हिरासतमा रहेपछि पहिलो महाधिवेशनको तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व चयन अनिश्चित बनेको छ।

सहकारीको बचत अपचलनसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको सिफारिसपछि अनुसन्धानका लागि पक्राउ परेका लामिछानेविरुद्ध सरकारी वकिलको कार्यालयले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरेको छ।

यदि सम्पत्ति शुद्धीकरणको मुद्दामा उनी दोषी ठहर भए राष्ट्रिय स्वतन्त्र पार्टीको विधानअनुसार उनको पार्टी सदस्यता समेत कायम रहँदैन।

तर उनीविरुद्ध कास्की जिल्ला अदालतमा दायर भएको मुद्दामा थुनछेक बहस चलिरहँदा यसबारे कुनै अनुमान गर्नु हतार हुने पार्टीका कार्यवाहक प्रवक्ता मनीष झा बताउँछन्।

"अहिले उहाँमाथि मुद्दा मात्रै लागेको हो। सत्ताले गरिरहेको व्यवहारका कारण हामीले अदालतको निर्णयको परिकल्पना गरिरहेका छौँ। अदालतले निर्णय दिइसकेको त होइन," उनी भन्छन्।

लामिछानेलाई अदालतले सफाइ दिने बाटो बाँकी नै रहेका कारण उनी नेतृत्वमा नभएको अवस्थाबारे धेरै छलफल नभएको रास्वपा नेताहरूको भनाइ छ। तर उनी दोषी ठहर भए रास्वपाको भविष्य के हुन्छ?

दोषी ठहर भए पार्टी सदस्य नरहने

सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणलगायतको मुद्दा दर्ता भएपछि संसद् सचिवालयले रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गरेको छ।

संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचना अनुसार लामिछानेमाथि दर्ता भएको सम्पत्ति शुद्धीकरणको मुद्दा किनारा नलागेसम्म उनको सांसद पद निलम्बनमै रहने छ।

उनले थुनाबाहिरै रहेर मुद्दा लड्न पाउँछन् वा थुनामै रहनुपर्छ भन्नेबारे अदालतले निर्णय गरिसकेको छैन। तर यदि उनीविरुद्ध दर्ता भएको सम्पत्ति शुद्धीकरणको मुद्दामा लामिछाने दोषी ठहर भए उनको पार्टी सदस्यतासमेत खारेज हुने देखिन्छ।

पार्टी विधानको धारा १३ 'घ'मा भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचविखन तथा ओसारपसार, लागुऔषध, सम्पत्ति शुद्धीकरण, अपहरण र हत्याजस्ता कसुर वा नैतिक पतन देखिने अभियोगमा सजाय पाइएको व्यक्तिले पार्टी सदस्यता नपाउने उल्लेख छ।

रास्वपालाई कस्तो असर पर्ला?

रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झा नेपालको राजनीतिमा नेताहरू निर्वासन र थुनामा रहँदा पनि पार्टी सञ्चालन भइरहेको बताउँछन्।

"हामीलाई पनि अर्को गन्तव्यसम्म पुग्न अवरोध हुन्छ भन्ने कुरामा हामी मानसिक रूपमा तयार थियौँ। कहिले र कोबाट सुरु हुन्छ भन्नेमा मात्रै हामी निश्चित थिएनौँ," लामिछाने पक्राउको प्रसङ्ग उल्लेख गर्दै झा भन्छन्।

रवि लामिछानेलाई अदालतले थुनामै पठाएको अवस्थामा चुनौती हुने भए पनि त्यसको सामना गर्ने क्षमता भएका नेताहरू पार्टीमा रहेको उनको दाबी छ।

"चुनौती छ, छैन भन्दैनौँ तर त्यसलाई चिर्न सक्ने क्षमता भएका नेताहरू पार्टीमा छन्। अरू दलको तुलनामा राष्ट्रिय स्वतन्त्र पार्टीमा विभिन्न क्षेत्रमा विज्ञता र पृष्ठभूमि भएका व्यक्तिहरू सक्रिय हुनुहुन्छ," झा भन्छन्।

त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रका उपप्राध्यापक रहेका मिलन श्रेष्ठ पनि हरेक राजनीतिक पार्टीमा पहिलो नेताको विकल्पमा अरू नेता सधैँ तयार अवस्थामै हुने बताउँछन्।

उनी भन्छन्, "त्यो पार्टी निर्माणमा रवि लामिछानेको ठूलो योगदान छ। रवि नै त्यो पार्टी हो, पार्टी नै रवि हो भन्ने भाष्य निर्माण भइसकेको अवस्थासम्म छ। तर उनी पार्टी नेतृत्वमा नहुँदा पार्टी डुब्ने भन्ने चाहिँ हुँदैन। अलिअलि समस्या चाहिँ आउँछ"

"पहिलो नेताको विकल्पमा अरू धेरै नेता हुने भएकोले पार्टीभित्र द्वन्द्व आउन पनि सक्छ। एक जना नेताको नेतृत्वमा पार्टी बनेको हो भने त्यो नेता समस्यामा पर्दा पार्टीमा पनि समस्या आउन सक्छ।"

व्यक्तिको लोकप्रियताका जगमा रास्वपाको उदय भए पनि रास्वपा संसद्‌मा चौथो ठूलो दलको रूपमा स्थापित भइसकेको हुनाले पार्टी संस्थागत भएको अवस्थामा रवि लामिछाने नेतृत्वमा रहे वा नरहे पनि फरक नपर्ने श्रेष्ठ बताउँछन्।

रास्वपाले विकल्प दिन सक्छ?

राजनीतिमा आउनुअघिबाटै लोकप्रिय रहेका रवि लामिछानेको जस्तो विकल्प रास्वपामा अहिले नदेखिएको उपप्राध्यापक श्रेष्ठ बताउँछन्। त्यही कारण कतिपयले रवि लामिछानेको नेतृत्व नभए पार्टी सञ्चालनमा समस्या हुन सक्ने आकलन गरिरहेको हुन सक्ने उनको बुझाइ छ।

"यो कुरा चाहिँ त्यो पार्टी कति बलियो छ भन्ने कुराले तय गर्छ। त्यो पार्टी बलियो छ र विकल्प पनि तयार गरिसकेको छ भने सञ्चालन गर्न गाह्रो हुँदैन। होइन, सबै जनाले रवि लामिछानेकै मुख हेरेर राजनीति गरिरहेको छ भने समस्या भइहाल्छ," उनी भन्छन्।

"तर रविजीभन्दा राम्रो नेतृत्व स्थापित पनि सक्छ। रविजीजत्तिको मान्छे पार्टीलाई सधैँ अभाव भइरहन पनि सक्छ।"

तर रास्वपाका सांसद तथा कार्यवाहक प्रवक्ता झा पार्टीमा कैयौँ व्यक्तिहरू रहेका कारण नेतृत्वको चिन्ता आफूहरूलाई नरेहको दाबी गर्छन्।

"यो पार्टीमा २५ महिनामै देशको लागि आशलाग्दा अरू १० जना अनुहारलाई पनि जनतासामु उभ्याइदिनुभयो। त्यस कारण बाहिरबाट के हुन्छ भनेजस्तो भए पनि भित्र त्यस्तो अन्योल छैन।"

राजनीतिशास्त्रका उपप्राध्यापक श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीमा 'डीपी अर्याल, स्वर्णिम वाग्ले' जस्ता नेताहरू पनि रहेका कारण उक्त दलमा नेतृत्वको सङ्कट आफूले नदेखेको बताउँछन्। "त्यहाँ नेतृत्वको होइन,विचारको सङ्कट हो," उनी भन्छन्।

रविले पनि रेशमले जस्तै जेलबाट पार्टी चलाउलान् ?

रवि लामिछाने प्रहरी हिरासतमा दुई महिना बसिसकेपछि मात्रै रास्वपाले डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दियो। पार्टीमा बलियो पकड भएका लामिछानेले पनि यसअघि रेशम चौधरीले जस्तै जेलबाटै पार्टी चलाउने सम्भावनाबारे पनि कतिपयले आकलन गरिरहेका छन्।

चौधरीले आफू पार्टीको संरक्षक भएर जेलबाटै स्थापना गरेको नागरिक उन्मुक्ति पार्टीले पहिलो पटक प्रतिस्पर्धा गरेको निर्वाचनमै प्रतिनिधिसभामा चार सिट जितेको थियो। उनले आफ्नो दलको अध्यक्ष श्रीमती रञ्जिता श्रेष्ठलाई बनाएका थिए।

तर अधिवक्तासमेत रहेका उपप्राध्यापक श्रेष्ठ चौधरी र लामिछानेको मुद्दा फरक भएको बताउँछन्।

"रेशम चौधरीको राजनीतिक प्रकृतिको मुद्दा थियो तर रवि लामिछानेको उहाँको पार्टीले राजनीतिक पूर्वाग्रह भने पनि त्यो राजनीतिक मुद्दा होइन र यो उहाँले रास्वपा गठन गर्नुअघिकै प्रकरण हो," उनी भन्छन्।

"दोस्रो चाहिँ रेशमजीको पछाडि एउटा समुदायका मानिसहरू थिए। तर रवि लामिछानेका समर्थक फरक छन्। त्यस कारण रेशमजीले जसरी प्रभावकारी ढङ्गले जेलभित्रबाट पार्टी चलाउन उहाँलाई सहज छैन," उनी भन्छन्।

आगामी वैशाखमा पार्टी महाधिवेशन गर्ने योजनासहित तयारी सुरु गरेको रास्वपाले पार्टी सभापति पक्राउपछि महाधिवेशनको नयाँ मिति तय गरेको छैन। राष्ट्रिय भेलाबाट महाधिवेशनको मिति तय गर्नुअघि पार्टी नेताहरू लामिछानेलाई अदालतले धरौटीमा रिहा गर्छ वा पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिन्छ भन्ने पर्खाइमा रहेको बताउँछन्।

रास्वपा कार्यवाहक प्रवक्ता झाले पनि महाधिवेशको कार्यसूची प्रभावित भएको बताए। "स्वाभाविक रूपमा सभापति सक्रिय हुँदा र नहुँदाको असर महाधिवेशनमा भइहाल्छ। तर समयअनुसार त्यो अघि बढ्छ।" बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending