Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

पुस्तक समीक्षाः ‘ठाडो भाकाको लोक सांस्कृतिक इतिहास’ पछ्याउँदा

खबरडबली संवाददाता

काठमाडौँ। लोकगीत जनसमुदायको धड्कन हो, यो कहिल्यै मर्दैन । यो समाजले गाएको हुन्छ, समाजले बचाएको हुन्छ र समाजले नै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै जान्छ । नेपाल भूगोलमा सानो भए पनि पनि विश्वमा यसको अलग्गै पहिचान बनाउने मुख्य तीन आयाम भूगोल, प्रकृति र संस्कृति नै हो ।

कुनै पनि राष्ट्रको संस्कृति भनेको त्यस देशको सम्पत्ति हो । त्यसमा पनि लोकसंस्कृतिले जनताका धड्कनलाई बोक्ने हुँदा लोकसमुदायका आँशुहाँसो, सुखदुःख, मिलनबिछोड, जीवनयापनका अनेक उकालीओराली, लोकपरिवेश, लोकमान्यता र लोकविश्वासको प्रतिनिधित्व गर्छ ।

हाम्रा पहिचान बनेका संस्कृति, वेशभूषा, परम्परा र रीतिरिवाजलाई लोकभाकाका माध्यमबाट जीवन्त राख्ने अनेक लोकभाकामध्ये ठाडो भाकाको आफ्नै वैशिष्ट्य छ । लोकसंस्कृतिको मुहान नै मान्ने गरिएको गण्डकी क्षेत्र, त्यसमा पनि लमजुङ जिल्लामा बढी गाइने यस गीतको महिमा मुलुकमा मात्र सीमित नरहेर  विश्वका कुनाकुनामा फैलिँदो छ । यसको लय नेपाली गीतसङ्गीतका स्रोता र पारखीका हृदयमा अमिट छाप छाड्न सफल भएको छ ।

ठाडो भाकामा सामान्य लोकगीतभन्दा केही फरक शैली र मौलिकपन  छ ।  यसमा गीत गाउने पुरुष उभिएर अर्थात् ठाडै भएर गाउने भएकाले यसलाई ठाडो भाका भनिएको हुनसक्छ । सामान्यतः यसमा महिला नाच्दैनन्, तिनले बसेरै गाउँछन् । ठाडो भाकामा एउटा समूह नेताले पहिला चरणमा अघिल्लो फेद भन्ने र दोस्रो चरणमा अन्त्यानुप्रास मिलाउँदै उही समूह नेताले पछिल्लो टुक्का भनी समूहले छोप्ने गरिन्छ ।

अघिल्लाका तुलनामा पछिल्लो चरणको टुक्का लामो हुन्छ । पश्चिमा संस्कृति र  सूचना प्रविधिको बढ्दो प्रभावसँगै पछिल्लो समय ठाडो भाका पनि अन्य लोकसंस्कृतिसँगै ओझेलमा पर्दै गएको छ । यसरी ओझेलमा परेको अमूल्य सम्पदालाई संरक्षण गर्दै यसको ऐतिहासिक पक्षदेखि अहिलेको अवस्थासम्मको विषयवस्तुलाई गहन ढङ्गबाट खोजी लमजुङ दुराडाँडा निवासी लालबहादुर भुजेलले पुस्तकका रूपमा ल्याएर भावी पुस्तालाई ठूलो गुन लगाउनु भएको छ ।

भुजेलको ‘ठाडो भाकाको लोक सांस्कृतिक इतिहास’ पुस्तकले ठाडो भाकाका बारेमा जान्न, बुझ्न मात्र होइन, थप अध्ययन अनुसन्धान गर्नेहरूका लागि पनि बाटो नै खोलिदिएको छ । पुस्तक पढेपछि ठाडो भाकामा जो कोहीले पनि आफूलाई घुलन गराएरै छाड्छ । ठाडो भाकामा केटा पक्ष र केटी पक्षबिच तत्कालै ठाडै सवालजवाफ नगरी अनुनयविनय पारामा घुमाएर शालीन ढङ्गले उत्तर दिइन्छ ।

आफ्नो गीतिधारबाट गाउँदा, भट्टयाउँदा अर्को पक्षको इज्जत, आमोद एवम् मान–मर्यादा–प्रतिष्ठामा आघात नपरोस् भन्ने हेतुले शिष्टता र नैतिकताको खुबै ख्याल गरिन्छ । लेखकले भने जस्तै यसमा छेडछाड गर्ने, होच्याउने, हुर्मत लिने, रिस–रागले नाङ्गेझार पार्ने मनसुवा भए पनि आफू तलै परी नम्र र सहिष्णुता अवलम्बन गरेर सुसंस्कारयुक्त र अनुशासित ढङ्गले व्यङ्ग्य गरी छेड हानिन्छ ।

यसमा तितो, टर्रो, छाडा, अश्लील र उच्छृङ्खल शब्दहरूको प्रयोग स्वीकाययोग्य हुँदैन, तिखो व्यङ्ग्यवाण प्रहार गर्ने सन्दर्भमा स्थानीय रैथाने बोलीचालीका भाषामा कूटनीतिक पाराले व्यवहार गरिन्छ । अरूलाई पेच पर्ने गरी कटु शब्दको प्रयोग गर्नु अव्यावहारिक र कुसंस्कारयुक्त ठानिन्छ ।

मौलिक संस्कृतिका प्रतिपादक एवं प्रवद्र्धक देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङले सुरुमा यस भाकाको श्रीगणेश गरेको थिए। यसमा बौद्धसिं गुरुङ र उहाँका उत्तराधिकारीका रूपमा मोतीलाल गुरुङले ठूलो योगदान गर्नुभयो । मोतीलालका शिष्यका रूपमा पञ्चसुब्बाले लमजुङ र कास्कीमा यसलाई विस्तार गरे।

सुरुमा ठाडो भाका केटाकेटाबीच गाउने गरिन्थ्यो, यसो गर्दा रौनक नभएपछि महिलाले पनि गाउन थाले र  यसप्रति जनमानसको आकर्षण बढ्दै गयो । विसं २००७ अगाडि, शास्त्रीय सङ्गीतको पाश्चात्य र पूर्वीय जगत्मा ठूलो बाहुल्य थियो भने विसं १९७० का दशकदेखि २०३० का दशकसम्म गण्डकी प्रदेशको भूभागमा ठाडो भाकाले बजार पिटेको राष्ट्रकवि माधव घिमिरेले पुस्तकका भूमिकामा लेखेको छन् ।

कृतिमा शुभकामना मन्तव्य भनिए पनि ठाडो भाकाका सम्बन्धमा  घिमिरेबाहेक वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी,  संस्कृतिविद् डा। जगमान गुरुङका अमूल्य विचार पनि पठनीय मात्र छैनन्, नेपाली लोकसाहित्य र लोकसंस्कृतिका बारेमा पाइने थुप्रै जानकारीले यसको गरिमालाई अझ उजिल्याएको छ ।

राष्ट्रकवि घिमिरेले आफ्नो भूमिका लेखनका क्रममा गण्डकी भेगमा कुनै बेला ठाडो भाका गायकगायिकालाई मात्र लोकदोहोरीका कलाकार ठानिने गरेकामा पछि यो सांस्कृतिक सम्पदा स्वदेशमा मात्रै नभएर विदेशमा समेत नेपालीको हृदयको ढुकढुकी साबित भएको प्रसङ्ग उल्लेख गरेको छन् ।

ठाडो भाकालाई दोहोरी गीतको जननी मानिन्थ्यो र गायकगायिका र ठाडोभाकाका पारखीहरू गाएर, नाचेर, सुनेर र हेरेर कहिल्यै नथाक्ने प्रसङ्ग उल्लेख गर्दै डा गुरुङले ठाडो भाका लोकसांस्कृतिक अलौकिक धरोहर, आफ्नै व्याकरण भएको विनयशील, शिष्ट विधा भएर पनि विलयका सङ्घारमा पुगेको भनी चिन्ता व्यक्त गरेको छन् ।

संस्कृतिविद् जोशीले आफू लमजुङमा औद्योगिक सर्वेक्षणका काममा खटिएर जाँदा ठाडो भाकासँग परिचित हुन पाएको र जनस्तरबाट औधि रुचाइएको लोकगीतका रूपमा पाएको उल्लेख गरेको छन्।

दुई सय ५४ पृष्ठको प्रस्तुत अनुसन्धानात्मक ग्रन्थमा भुजेलले नेपाली लोकगीतका क्षेत्रमा चर्चा बटुलेको ठाडो भाकाका बारेमा छ अध्यायमा विस्तृत र गहन अध्ययन गर्नुभएको छ । पहिलो अध्यायमा गण्डकी क्षेत्रको परिचयदेखि ठाडो भाकाको उत्पत्ति, विकासक्रममा विशिष्ट योगदान पुर्‍याएका बौद्धसिं, मोतीलाल, बखतबहादुर गुरुङ, पञ्चसुब्बा, देउबहादुर दुरा, मनिराम दुरा, आफली घर्तिनीदेखि भेडीखर्के साइँला भनिने दीर्घराज अधिकारीसम्मको व्यक्तित्व र उनीहरूले ठाडो भाकामा पुर्‍याएको योगदानको चर्चा छ ।

दोस्रो अध्यायमा विभिन्न भेगमा गाइएका फरक शैलीमा ठाडो भाकाको चर्चा छ भने यसको पृष्ठभूमि र परिभाषा केलाइएको छ । तेस्रो अध्यायमा विभिन्न शीर्षकका ठाडो भाका छ, जसमा जनजीवनका अनेक पक्षदेखि सामाजिक कुरीति चिर्न गरिएका प्रयत्न र जीवनका सुखदुःखको लय छ ।

सो अध्यायमा लेखकले भूकम्प र बाढीपहिरो, जुजु धौ, वैदेशिक रोजगारी, मानव बेचबिखन, खेलकुद, छुवाछुत प्रथा, अपाङ्गता, भ्रष्टाचार, नारी, आभूषण, ज्येष्ठ नागरिक, भौगोलिक अवस्था, कृषि तथा पशुपालन, पर्यटन व्यवसाय, प्रौढ शिक्षालगायत विषयवस्तुमा विभिन्न समूहले गाएका ठाडो भाकाका गीतलाई जस्ताको तस्तै उतारिएको छ  ।

चौथो अध्यायमा पहिलो अध्यायमा सामान्य चर्चा गरिएका ठाडो भाकाका स्रष्टाहरूको पूर्ण परिचय र नालीबेलीको विवरण छ भने पाँचौंँ अध्यायमा ठाडो भाकाका रचनाहरूको विभिन्न कोणबाट विश्लेषण गरिएको छ । यसमा ठाडो भाकाका हस्ती मानिएका देउबहादुर  र पञ्चसुब्बा तथा अन्य स्रष्टाका ठाडो भाका गीतको समीक्षात्मक विश्लेषण दिन खोजिएको छ । छैटौँ अध्यायमा ठाडो भाका कसरी जगेर्ना गर्न सकिन्छ र यसको महत्त्व के छ भनेर प्रकाश पारिएको छ ।

चार परिशिष्ट समेटिएको पुस्तकमा पहिलामा ठाडो भाकाको रानो भेडीखर्के साइँलासित शीर्षक दिएर लिइएको अन्तर्वार्ताको मूल अंश प्रस्तुत गरिएको छ भने परिशिष्ट–२ मा दुराडाँडाको अन्तर्य शीर्षक दिइएको छ । यसमा दुराडाँडाको परिचय, राजनीतिक सीमाङ्कन र जातीय स्थितिदेखि लिएर लमजुङको चर्चित  हलो क्रान्तिसम्मको चर्चा गरिएको छ ।

परिशिष्ट–३ मा नेपालको पुरानो र ऐतिहासिक साहित्यिक पत्रिका ‘शारदा’ को २००४ माघमा प्रकाशित सत्यमोहन जोशीको पञ्चसुब्बा शीर्षकको लेख समाविष्ट गरिएको छ । परिशिष्ट–४ मा केही सुन्दर तस्बिरसमेत समावेश गरिएको छ । लेखक भुजेलले यस ग्रन्थमा ठाडो भाकाका गायनका सन्दर्भमा गेयात्मक शैलीमा बङ्ग्याइएका शब्दहरूको टिपोट गर्नुभएको छ भने विशेष गरी ठाडो भाकामा गाइने मौलिक शब्दहरूको अर्थसमेत उल्लेख गर्नुभएको छ ।

ठाडो भाकाको लोक सांस्कृतिक इतिहासजस्तो गहन अनुसन्धानात्मक ग्रन्थ प्रकाशन गरी लेखक भुजेलले नेपाली लोकसाहित्य, लोकसंस्कृति र ठाडो भाकाको प्रवद्र्धनमा इँटा थपेर गुन लगाउने काम गर्नुभएको छ । ठाडो भाकामा अन्तर्निहित भाषिक संरचनादेखि यसले समेटेको ग्रामीण जनजीवनका अनेक विषयवस्तु पनि केलाइएको छ ।

जे होस् खोजमूलक अनुसन्धान र साधना हेर्दा बिदावारिधि उपाधिका लागि तयार पारेजस्तो देखिने कृतिले नेपाली लोकगीत र ठाडो भाकाको जगेर्नामा ठूलै योगदान दिनेमा कसैको भिन्न मत रहने छैन । लेखकले ठाडो भाकाको ऐतिहासिक सन्दर्भ खोतल्दै यसको महत्त्वका बारेमा पाठकलाई चित्त बुझ्ने गरी मिहिन ढङ्गमा चर्चा गरेको छन्।

लेखक भुजेलको यो प्रयास प्रशंसनीय र स्तुत्य छ । यस कृति चाहिँ लोकसाहित्य र संस्कृतिप्रेमीका लागि पठनीय र सङ्ग्रहणीयसमेत छ । नेपाली लोकगीत र लोकसंस्कृतिका अध्येता लेखकका साँघुटारमा केही रात (नियात्रासङ्ग्रह), पराकाष्ठा (हाइकुसङ्ग्रह), अकर्मण्यता (ताङ्कासङ्ग्रह), परिवेश (कवितासङ्ग्रह), भुन्टे खरायो (बाल–कवितासङ्ग्रह), चट्पटे र पानीपुरी (बाल–कवितासङ्ग्रह) कृति प्रकाशित छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी जोगाउन अनेक कोसिस गर्दा पनि बचाउन सकिएन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा दुईतिहाइ बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोसिस गरिए पनि त्यो असफल भएको बताएको छन...

१४ संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना, ६४ स्वास्थ्यकर्मीलाई विशेषज्ञ तालिम

काठमाडौँ । सरकारले देशभरका १४ वटा संघीय अस्पतालमा जलन (बर्न) उपचार इकाइ स्थापना गरेको जनाएको छ। सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्र...

सरकारको सय दिन: ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ ...

शासकीय सुधार कार्यसूचीको प्रगति ८७‍.२ प्रतिशत

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति...

जग्गा विवादमा प्रहरी जवानद्वारा युवकमाथि निर्घात कुटपिट, घाइतेको अवस्था गम्भीर

बाँके। सामान्य जग्गा विवादका कारण इलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेमा कार्यरत प्रहरी जवान (भान्से)गौतम मौर्यले एक व्यक्तिलाई निर्घात कुटपिट गरेपछि...

ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ: मन्त्री रावल

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज...

सरकारका सय दिनका उपलब्धि, मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त...

सरकारको सयदिने उपलब्धि सार्वजनिक: सुशासन र प्रशासनिक सुधारलाई प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो सय दिनमा हासिल भएका उपलब्धि सार्वजनिक गरेको छ। शनिबार प्रधानमन्त्री तथा...

सरकारको १०० बुँदे कार्यसूची कार्यान्वयन कमजोर रहेको कांग्रेसको निष्कर्ष, संसद्मा सशक्त रूपमा उठाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे का...

हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

मकवानपुर। जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहान...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending