काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल सहकारीको रकम अपचलनमा मुछिएका छन् । उनकै अग्रसरतामा ०६८ मा स्थापना गरिएको र लामो समय उनकै पत्नी अञ्जला कोइराला सञ्चालकसमेत रहेको मोरङ धनपालथान गाउँपालिका– ४ कर्सियास्थित उमा गौरी कृषि सहकारीले १४ करोड ५६ लाख हिनामिना गरेको छ । पीडितहरूले प्र्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयमा उजुरी दिएको लामो समय बित्दा पनि कारबाही अगाडि बढेको छैन ।
१८ करोड ५१ लाख कुल पुँजी रहेकोे सहकारीमा ऋणी र सञ्चालक सदस्यको जग्गाको कागजपत्र धितो राखेर विभिन्न व्यावसायिक बैंकबाट ११ करोड ५६ लाख रुपैयाँ ऋण निकालेको छ । सहकारीले बचतकर्ताको दुई करोड तीन लाख ५४ हजार पनि फिर्ता गर्न बाँकी छ । सहकारीमा करिब पाँच हजार सेयर सदस्य छन् ।
बचत र ऋण हिनामिनाबारे पीडितहरूले प्रश्न उठाउन थालेपछि करिब डेढ वर्षदेखि सहकारीमा ताला लागेको छ । ०६८ मा स्थापना भएको सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार हुन् । उनी एमालेनिकट मानिन्छन् । जानकारहरूका अनुसार लेखा समिति सभापति पोखरेलकै अग्रसरतामा सहकारी स्थापना गरिएको हो । उनकी पत्नी अञ्जला ०७२ देखि ०७८ सम्म सञ्चालक समिति सदस्य थिइन् । ०६८ देखि ०७८ सम्मका सहकारीका कागजपत्र सबै गायब पारिएका छन्, जसका कारण अहिले अनुसन्धानमै पनि समस्या भएको छ ।
डेढ वर्षभन्दा अघि नै पीडितहरूले प्रदेश सहकारी रजिस्ट्रार कार्यालमा उजुरी गरेका थिए । सहकारी रजिस्ट्रार कार्यालयका प्रमुख हरिबहादुर खत्रीले सहकारीको १० वर्षको कागजपत्र गायब रहेकाले हिनामिनाबारे अनुसन्धान हुन नसकेको बताए । ‘१० वर्षका कागजपत्र केही पनि छैनन् । बुझाउन पटक–पटक पत्राचार गर्दा पनि बुझाएको छैन । यो ठगीको नयाँ शैली हो । आर्थिक अनियमितताबारे केही जानकारी लिन सकिएको छैन,’ उनले भने ।
सहकारीका अध्यक्ष रौनियार र पदाधिकारीले सहकारीका साधारण सदस्यको जग्गा धरौटी राखेर विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका छन् । सहकारीको नाममा ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिइएको छ । सहकारी रजिस्ट्रार कार्यालयका प्रमुख हरिबहादुर खत्रीका अनुसार सहकारीमा ऋण माग्न पुगेका साधारण सदस्यको सम्पत्ति बैंकमा राखेर ऋण निकालेको पाइएको छ । ऋणीले सहकारीमा ऋण बुझाए पनि सहकारीले बैंकमा बुझाएन ।
०७४ मा सञ्चालक सदस्य रहेका रोशन राजवंशीले सहकारीका लागि धनपालथानमा रहेको दुई कट्ठा घडेरी धितो राखेर माछापुच्छ«े बैंकबाट ८५ लाख रुपैयाँ ऋण दिलाएको बताए । तर, सहकारीले अहिलेसम्म रकम फिर्ता नगर्दा आफ्नो जग्गाधनी पुर्जा बैंकमै रहेको उनले बताए । ‘सदस्य र ऋणीहरूको धितो राखेर निकालेको रकम अध्यक्ष र सञ्चालकहरूले व्यवसाय र घरजग्गा कारोबारमा लगानी गरेर हामीलाई डुबाए,’ उनले भने ।
पीडितहरूका अनुसार पत्नी अञ्जला सञ्चालक रहे पनि सहकारी राम्रो अवस्थामा हुँदासम्म लेखा समितिका सभापति पोखरेल ‘हर्ताकर्ता’जस्तै थिए । सहकारीका कतिपय कार्यक्रमहरूमा उनी पत्नीसँगै पुगेका हुन्थे ।
सहकारीका अध्यक्ष रौनियारसँग पनि उनको घनिष्ट सम्बन्ध थियो । पोखरेलकै सोर्सफोर्समा सदस्य र ऋणीको कागजात राखेर बैंकबाट सहकारीको नाममा ऋण निकालेर घरजग्गामा लगानी गरिएको पीडित सदस्यहरू बताउँछन् । तर, कोभिडसँगै घरजग्गा कारोबार ठप्प भएपछि सहकारी आर्थिक समस्यामा परेको हो । पछिल्लो समय पोखरेल र रौनियारबिच पनि सम्बन्ध राम्रो नभएको जानकारहरू बताउँछन् ।
सहकारी रजिस्ट्रार कार्यालयका प्रमुख खत्रीका अनुसार रौनियार बैंकको एजेन्ट पनि बनेको देखिन्छ । ‘सदस्यहरूका नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका रहेछन् । ऋणीले कालोसूचीमा परेपछि मात्र जानकारी पाएका छन्,’ उनले भने, ‘कर्जा लिएर कहाँ–कहाँ लगानी गरे केही पनि खुल्न सकेको छैन । ऋणीलाई बैंकबाट ऋण खाएको थाहा छैन । बैंकले धितो लिलामी गर्न खोजेपछि मात्र जानकारी पाएको अवस्था छ । हामीले केही दिनअघि प्रहरीलाई अनुसन्धान गर्न लेखेर पठाएका छौँ ।’
तर, मोरङ प्रहरीले भने सहकारी रजिस्ट्रार कार्यालयबाट कुनै पत्र नआएको जनाएको छ । ‘विगतमा उमागौरी कृषि सहकारीका अध्यक्ष रौनियार चेक अनादरको आरोपमा पक्राउ परेका थिए, तर सहमतिपछि छाडिएको थियो । त्यसबाहेक अन्य कुनै पनि निकायबाट कुनै परिपत्र र उजुरी आएको छैन,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बस्नेतले भने ।
पोखरेलपत्नी अञ्जलाले भने ०७५ मा जारी भएको सहकारी नियमावलीले सञ्चालक बस्न निषेध गरेपछि आफूले राजीनामा दिएको दाबी गरिन् । तर, उनी ०७८ सम्म सञ्चालक कायम रहेको देखिन्छ । उनी विराटनगरस्थित महेन्द्र माध्यमिक विद्यालयमा अध्यापनरत छिन् ।
‘सहकारी नीति, २०७५ आएपछि राजीनामा दिएकी हुँ । तर, स्वीकृत गरेनन् । अडिटरले भनेपछि प्रश्न गरेपछि ०७८ मा मात्रै राजीनामा स्वीकृत गरियो,’ अञ्जलाले भनिन्, ‘अब यसबारेमा मलाई होइन सहकारीको अध्यक्षलाई सोध्नुहोला ।’
पोखरेल भने पटक–पटक फोन गर्दा पनि सम्पर्कमा आउन चाहेनन् । बिहीबार साँझ उनले सामाजिक सञ्जाल फेसबुकमा ‘केही भ्रष्ट र बिचौलियाहरूले आफूलाई अमुक सहकारीसँग जोडेर चरित्र हत्या गर्न खोजेको’ उल्लेख गरेका छन् । पोखरेल यसअघि डेडिकेटेड र ट्रंकलाइनको विवादमा पनि मुछिएका थिए । अर्बौँ बक्यौता नतिर्ने उद्योगीहरूको स्वार्थअनुसार सिंहदरबारबाहिरै निर्णय तयार गरेर सार्वजनिक लेखा समितिमा लगेपछि उनको आलोचना भएको थियो ।
अध्यक्ष शम्भुप्रसाद रौनियारले सहकारी रजिस्ट्रार कार्यालयमा सबै कागजात बुझाएको दाबी गरे । लगानी भएको ऋण नउठेका कारण सहकारीमा समस्या देखिएको उनको भनाइ छ । ‘अब २०–२५ लाख मात्र बचत फिर्ता गर्न बाँकी छ । ऋण लगानी भएको १७ करोडमध्ये भाका पुगेको दुई करोड ऋण उठाउन बाँकी छ । ऋण लिनेले नै निवेदन दिएका हुन्,’ रौनियारले भने, ‘ऋण नतिर्नलाई निवेदन दिएका हुन् । सहकारी सञ्चालनमै छ । ऋण तिर्नका लागि पनि ताकेता गरिरहेका छौँ ।’
तर, सहकारीमा अहिले सञ्चालक कोषाध्यक्ष रहेका शम्भुप्रसाद सिंहले यसअघि बचतकर्ताको बचत फिर्ता गर्न समस्या आए पनि अहिले सबैको क्रमशः फिर्ता गरिरहेको दाबी गरे । सहकारीको कारोबार र बचत संकलन जारी नै रहेको उनको दाबी छ । बन्द रहेको सहकारीको कार्यालयनजिकै व्यापार गर्दै आएका कोषाध्यक्ष सिंहले सहकारी सञ्चालनमा रहेको दाबी गरे पनि कार्यालयमा भने ताल्चा झुन्ड्याइएको छ ।
पोखरेलपत्नी सञ्चालक रहेको अवधिसमेत गरी ०६८ देखि ०७७ सम्मका कागजपत्र गायब
०६८ मा स्थापना भएको सहकारीमा १० वर्षका कारोबारका कागजपत्र नै गायब पारिएको छ । प्रदेश सहकारी रजिस्ट्रार कार्यालयलाई ०६८ मा सहकारीको तदर्थ समितिको र त्यसपछि ०७८ मा सञ्चालक समितिको कागजपत्र मात्र उपलब्ध गराइएको छ । यसबिचको १० वर्षको सञ्चालक समितिको विवरण र कागजात गायब पारिएको छ । सांसद पोखरेलकी पत्नी अञ्जला ०७२ देखि ०७८ सम्म सञ्चालक समिति सदस्य थिइन् ।
सहकारी रजिस्ट्रार कार्यालयका प्रमुख हरिबहादुर खत्रीले उमा गौरी सहकारीले १० वर्षको कागजात नै नबुझाएकाले सम्पूर्ण विवरण बुझाउन पटक–पटक परिपत्र गरेको बताए । तर, अध्यक्ष रौनियार कागजातसहित हाजिर हुन नआएको र खोजी गर्दा पनि अध्यक्ष र सहकारीको कार्यालय फेला पार्न नसकेको उनको भनाइ छ । पटक–पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएपछि हाजिर गराउन जिल्ला प्रहरी मोरङलाई पनि केही दिनअघि परिपत्र गरिसकेको खत्रीले बताए ।
तर, अझै पनि अध्यक्ष रौनियार पक्राउ परेका छैनन् । ‘उमा गौरीका अध्यक्ष नामुद खेलाडी रहेछन्, कार्यालय नै आफ्नै घरमा राख्दा रहेछन् । धेरै खोजिसक्यौँ, तर फेला पार्न सकेका छैनौँ,’ उनले भने, ‘पार नलागेपछि प्रहरीलाई पनि लेखेर पठाइसकेका छौँ । अब चाँडै उमा गौरीलाई संकटग्रस्त सहकारी घोषणा गरिदिन्छौँ ।’
अध्यक्ष रौनियार र अञ्जलासहित पदाधिकारी तथा सदस्य कालोसूचीमा
उमा गौरी सहकारीले बैंकबाट लिएको ऋण नतिरेपछि अध्यक्षसहित तत्कालीन पदाधिकारी र सञ्चालक सदस्य कालोसूचीमा परेका छन् । सहकारीले नबिल र माछापुच्छ«े बैंक तथा बुटवलस्थित आरएसडिसी लघुवित्त वित्तीय संस्थाबाट पनि ऋण लिएको थियो । अहिले सहकारी र पदाधिकारीलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको छ ।
१३ पुस ०७९ मा कालोसूचीमा राखिएकामा १ साउन ०८०, १४ कात्तिक र १ जेठ ०८१ मा खराब ऋणीका रूपमा यो सहकारीलाई राखिएको छ ।
कालोसूचीमा सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष दिलमाया राई, सचिव आमोद अन्सारी मियाँ, कोषाध्यक्ष शम्भुप्रसाद सिंह तथा सञ्चालक सदस्यहरू अञ्जला कोइराला, आमोद मण्डल र रोशन राजवंशी परेका छन् । त्यस्तै, लेखा समिति संयोजक विजयकुमार यादव र सदस्यहरू अशोककुमार विश्वास, सुरेन्द्रकुमार राजवंशी र चिरञ्जीवीकुमार यादवको नाम कालोसूचीमा छ ।
सहकारीविरुद्ध लघुवित्तको मुद्दा
ऋण नतिरेपछि उमागौरी सहकारीविरुद्ध आरएसडिसी लघुवित्तले दायर गरेको मुद्दा रूपन्देही जिल्ला अदालतमा विचाराधीन छ । १२ चैत ०७९ मा मुद्दा दायर भएको थियो । तर, सहकारीका पदाधिकारी अदालतमा उपस्थित भएका छैनन् । अदालतले ८ माघ ०८० मा गोरखापत्र दैनिकमा सूचना निकालेर २१ दिनभित्र उपस्थित हुन भनेको थियो । मुद्दाको फैसला भएको छैन । ३० भदौमा पेसी छ ।
चेक अनादरमा पक्राउ परेर छुटेका थिए अध्यक्ष रौनियार
उमागौरी सहकारीका अध्यक्ष रौनियार ६ महिनाअघि पक्राउ परेका थिए । चेक अनादर उजुरीमा उनी पक्राउ परे पनि पीडित पक्षले सहमति गरेर उजुरी फिर्ता लिएपछि छुटेका थिए । बचतकर्ताले इलाका प्रहरी कार्यालय रंगेलीमा पनि अध्यक्ष रौनियारविरुद्ध उजुरी गरेका थिए ।
तर, इप्रका रंगेलीमा पनि बचत फिर्ता दिँदै जाने सहमतिमा उजुरी फिर्ता भएको थियो । मोरङ प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्र बस्नेतले उमागौरी सहकारीका अध्यक्ष रौनियार चेक अनादरको आरोपमा पक्राउ परेको, तर सहमतिपछि छाडिएकोबाहेक अन्य कुनै परिपत्र र उजुरी नआएको बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।
प्रतिकृया लेख्नुहोस्: