Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

गाउँगाउँमा सडक सुविधाले दियो जनतालाई सास्ती

खबरडबली संवाददाता

म्याग्दी ।  म्याग्दीको विकासका लागि ‘लाइफ लाइन’ भनिएका बेनी–जोमसोम र बेनी–दरबाङ सडकले जनतालाई सुविधा बढी दिए कि सास्तीरु अहिले यही विषयलाई लिएर जिल्लामा बहस हुने गरेको छ । विकासका लागि सडकलाई पहिलो पूर्वाधार मानिन्छ तर म्याग्दीको सन्दर्भमा भने सडककै कारण जनताले पाएको सास्ती र सुविधाको तुलना गर्नुपर्दा ढुक्कसँग सुविधा बढी भनेर भन्न सकिने अवस्था छैन ।

सुविधाकै लागि भनेर सडक निर्माण गरिन्छ। सडक यात्रीहरुको सुविधाका लागि मात्र नभएर ढुवानी, बजारीकरण र गाउँ र सहरलाई जोड्ने माध्यम पनि हो।  म्याग्दीको सदरमुकाम बेनी बजार राष्ट्रिय राजमार्ग (बेनी–मालढुंगा–पोखरा) सँग जोडिएको करिब तीन दशक भयो।

विसं २०४८ मा ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत सुरु गरेर २०५२ सालमा मार्ग खुलेको बेनी–मालढुंगा सडक निर्माण भएपछि म्याग्दी राष्ट्रिय राजमार्गसँग जोडिएको थियो।

जिल्ला सदरमुकाम बेनी राष्ट्रिय राजमार्गसँग जोडिएको १२ वर्षपछि २०६४ सालमा नेपाली सेनाले बेनी–जोमसोम सडकको ‘ट्र्याक’ खोलेर २०६७ सालमा सडक विभागलाई हस्तान्तरण गरेको हो।

७६ किलोमिटर दूरीको यो सडकमार्गबाट हिमालपारिको जिल्ला मुस्ताङलाई देशको संघीय राजधानी काठमाडौँ, प्रदेशको केन्द्र पोखरालगायत देशका अन्य सहरहरुसँग जोड्ने एकमात्र माध्यम हो। कालीगण्डकी नदीको तिरैतिर, अनेकौँ भिर र पहरालाई छिचोल्दै यात्रा गर्नुपर्ने यो सडकको अन्य कुनै विकल्प नहुँदा ज्यानको माया मारेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ।
यस सडकमा खस्ने पहिराले सवारीसाधनमा क्षति पुग्ने र यात्रुलाई चोट लाग्नुका साथै आवतजावत बन्द हुँदा जोखिम, झन्झट र सास्तीपूर्ण बनेको हो ।

बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा गत असारयता दैनिकजसो यातायात अवरुद्ध हुने गरेको छ। वर्षाले गर्दा नियमित रुपमा पहिरो झरेकाले यातायात सञ्चालन गर्न नसक्दा मुस्ताङ जाने र मुस्ताङबाट फर्कने पर्यटक, तीर्थयात्री र सवारी साधनहरुलाई समस्या भएको मुस्ताङबाट बेनी फर्कंदै गरेका रमेश अधिकारीले जानकारी दिए। ‘सडक खुलेको १७ वर्ष बितिसक्दा पनि राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा सधैँ सास्ती हुने गरेको छ । कमजोर भू–बनोट र कालीगण्डकी नदीको कटानका कारण हिउँद्मा सुक्खा पहिरो र वर्षामा बाढीपहिरोका कारण यो सडकमा ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ’ उनले भने।

‘राष्ट्रिय गौरवको आयोजना भनेर परिभाषित गरेको कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडक जोखिमको पर्याय बनेको छ । यो सडकको न अर्को कुनै विकल्प छ न त सडक वन्द गर्न सकिने अवस्था नै । हिउँद होओस् वा बर्खा भगवान् पुकार्दै ज्यानकै माया मारेर यो सडकमा यात्रा गर्नुपर्ने बाध्यता छ,’ म्याग्दीको पर्यटन अभियन्ता तथा बेनी बजारका व्यवसायी राजेश शाक्यले बताए।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–लेतेसम्मको ३८ किलोमिटर सडकमा ३५ वटा सानाठूला पहिरा रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख ध्रुवकुमार झाले बताए।

‘ती पहिरोहरुमध्ये वैसरी पहिरो, सिरुवारी पहिरो, गुइठेपहिरो र खामभित्ता पहिरो ‘अति जोखिमपूर्ण’ पहिरा हुन् भने १४ पहिरोलाई जोखिमयुक्त पहिरोको सूचीमा राखेका छौँ,’ उनले भने।

कालीगण्डकी करिडोरअन्तर्गत मालढुंगा–बेनी–जोमसोम–कोरोला सडक आयोजनाले गलेश्वर पहिरो, तातोपानी पहिरो, लाटाखोला पहिरो, रुप्सेछहरा र काप्रेभिर जोखिमपूर्ण पहिरोसहित सबै पहिरो व्यवस्थापनमा रु ७० करोडभन्दा बढी लागत लाग्ने बताइएको छ। ‘अति जोखिमयुक्त र जोखिमयुक्त पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडकबाट यातायात सञ्चालनको सम्भावना पनि छैन,’ आयोजना प्रमुख झाले भने।
पाखोबाट खस्ने ढुंगा र पहिराले गुडिरहेका सवारीसाधनलाई क्षति पुग्ने र यात्रुलाई चोटपटक लाग्ने गरेको छ।

दुई वर्षदेखि बैसरीमा पनि पहिरो खस्न सुरु भएको छ । वैकल्पिक रुपमा सडक स्तरोन्नतिमा ध्यान नदिँदा ठूला सवारीसाधन पहिराले रोकिनुपर्ने अवस्था छ। भिर खनेर बनाइएको बेनी–जोमसोम–कोरला सडक, सडक माथि र तल भिर, भिरमाथिको पाखो, भूमिगत पानी र पहिरोले चिराचिरा परेको भूगोलका कारण यो सडकमा पहिरो खसिरहने हुँदा जोखिम बढ्नाका साथै सडक अवरुद्ध हुने गरेको सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए।

सडकमा थुप्रिने पहिरो डोजरको सहायताले पन्छाउने गरिएको पनि उनले जानकारी दिए।

वर्षाका कारण ढुंगा र माटोसहितको लेदो खसिरहने र ठाउँठाउँमा पहिरो जाने भएकाले यात्रु तथा सवारीसाधनलाई आवश्यक सुरक्षा सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

म्याग्दीको तिल्केनीदेखि मुस्ताङको घाँसासम्म सडकको डिलतर्फ पहाडको खोँच छिचोलेर उर्लंदै बगेको कालीगण्डकी र कुनातर्फ विशाल पहरा र भिरबाट आउने पहिरोले बेनी–जोमसोम सडकको अधिकांश भाग खतरायुक्त रहेको प्रहरीले जनाएको छ।

उक्त सडक कालीगण्डकी करिडोरमा समेटिएपछि विगत सात वर्षदेखि स्तरोन्नति र चार वर्षदेखि कालोपत्रको काम सुरु भएको छ । तर प्रत्येक वर्ष जेठदेखि असोजसम्म बाढीपहिराका कारण सडकमा काम गर्न सकिने अवस्था नरहने हुँदा बर्सेनि यात्रीले सास्ती खेप्दै आउनुपरेको बेनी–जोमसोम सडक आयोजनाका प्रमुख झाले बताए।

भिरकोट र बाँदरजुङ्गे भिरमा सडक बनाउन नयाँ प्रविधि भित्र्याउन सडक विभागले अध्ययन गरेको थियो । सुरुङ र हाफ ब्रिज प्रविधि प्रयोग गर्ने विकल्पमा सम्भाव्यता अध्ययन भएको बताइए पनि काम सुरु हुन नसकेको स्थानीय जनप्रतिनिधिले बताएका छन्।

गत सोमबार गलेश्वरमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा पनि बेनी–जोमसोम–कोरला सडकको उत्पन्न गरेको समाधानविहीन समस्याको विषयमा छलफल भएको थियो। आयोजना प्रमुख झाले विकल्पविहीन सडकले निम्त्याएको जोखिम र समस्याका बारेमा आयोजना एक्लैले केही गर्न नसक्ने र सबै पक्षको उत्तिकै चासो रहनुपर्ने बताएका थिए।

‘प्रदेशकै लाइफलाइन मानिएको सडकमा बर्सेनि कैयौँ व्यक्तिहरुको ‘लाइफ इन्ड’ हुने गरेको छ’, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले भने, ‘२०६४ सालदेखि नै यस सडकको अवस्था सुधार्ने धेरै प्रयास भए पनि संवेदनशील भूगोल र परम्परागत प्रविधि प्रयोगका कारण सडकको अवस्था जस्ताको त्यस्तै रहेको छ।’

बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा बाढीपहिरोको जोखिम रहेकाले रातको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । बर्सातको समयमा वर्षाजन्य विपद्का कारणबाट हुने सवारी दुर्घटनालाई दृष्टिगत गर्दै सडकखण्डको म्याग्दी क्षेत्रमा रहेको जोखिमपूर्ण स्थानमा पहिरोग्रस्त लेखिएको सूचनाबोर्ड राखिने, रातको समयमा यात्रा गर्दा फस्ने यात्रुलाई उद्धारमा समस्या हुने प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए। ‘रातको समयमा यात्रा निकै जोखिमपूर्ण छ, बाढीपहिरोग्रस्त क्षेत्रमा सूचना बोर्ड राख्दैछौँ, ट्राफिक प्रहरीलाई समेत रुटको अवस्थाका बारेमा जानकारी गराउने गरी खटाइएको छ,’ प्रजिअ ढकालले भने।

‘अति जोखिमपूर्ण’ चारओटा पहिरो पहिचान

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकमा चारओटा ‘अति जोखिमपूर्ण पहिरो’ पहिचान भएका छन् । भूगर्भविद्हरुबाट अहिले भइरहेको भौगर्भिक अध्ययनअनुसार बेनीदेखि लेतेसम्मको ३८ किलोमिटर सडकमा ३५ वटा सानाठूला पहिरा रहेकामा बैसरी पहिरो, सिरुवारी पहिरो, गुइठेपहिरो र खामभित्ता पहिरो ‘अति जोखिमपूर्ण’ पहिरा पहिचान भएका बेनी–जोमसोम–कोरोला सडक आयोजना प्रमुख ध्रुव झाले जानकारी दिए।

उनका अनुसार गलेश्वर पहिरो, तातोपानी पहिरो, लाटाखोला पहिरो, रुप्सेछहरा र काप्रेभिर पहिरोलाई जोखिमपूर्ण पहिराको सूचीमा राखिएको छ । पहिरोको विस्तृत अध्ययन भइरहेकोले पहिरो नियन्त्रणका लागि लागत अनुमान तथा डिपिआर निर्माण गर्ने काम भने अझै बाँकी रहेको उनले जानकारी दिए। ‘बेनी–जोमसोम–कोरोला सडकको म्याग्दी खण्डमा पर्ने ३८ किमी सडक खण्डमा पर्ने पहिराको भौगर्भिक अध्ययन भइरहेको छ, अहिलेसम्म चारओटा अति जोखिमयुक्त पहिरो पहिचान गरी सूचीकृत गरिएको छ,’ आयोजना प्रमुख झाले भने।

‘बेनी–लेते खण्डमा रहेका ३५ ओटा पहिराहरुमध्ये नौओटा पहिरो मनसुन याममा यात्रा जोखिमपूर्ण रहेका पाइएको छ,’ मालढुङ्गा–बेनी–जोमसोम–कोरोला सडक आयोजना इन्जिनियर विष्णु चापागाईंले भने, ‘यी स्थानमा वर्षा हुने बित्तिकै पहिरो खस्ने भएकाले मनसुन अवधिभरका लागि एस्काभेटर र लोडर स्ट्यान्डबाई राखेका छौँ । यो सडकमा यात्रा गर्दा अलि सचेत हुनुपर्ने देखिएको छ।’

मनसुन सुरु भएपछि बेनी–लेते खण्डका यी पहिरोहरूले दिनमा कहीँ न कहीँ यातायात अवरुद्ध हुन्छन् । पहिरोग्रस्त भिरमाथिबाट पानी पर्दा निरन्तर लेदो र ढुङ्गा खस्ने भएकाले पैदल तथा सवारी साधनका यात्रु जोखिममा छन् । अति जोखिमयुक्त मानिएका बैसरी, सिरुवारी, गुइठे र खामभित्ता पहिरोमा जमिनभित्र मूल निक्लने र भित्रभित्र बग्ने समस्या रहेकाले अति कम्प्लेक्स देखिएकाले पहिरोभित्र पाइप छिराएर होरिजेन्टल ड्रेनमार्फत जमिनभित्रको पानी बाहिर निकाल्ने योजना रहेको उहाँले जानकारी दिए।

जति पन्छायो त्यति खस्छ फापरखेतको पहिरो

डेढदशक देखि करोडौँ खर्चिएर स्तरोन्नति तथा हरेक बर्खाको समयमा दर्जनौँ पटक मर्मत गरिए पनि पश्चिम म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको फापरखेतको पहिरो झनझन् भयानक बन्दै सधैँको टाउको दुखाइ बनेको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने यो पहिरो झनै फराकिलो बन्दै जाँदा रोकथामका साथै वर्षा नहुँदासमेत जोखिम बढेपछि आवतजावतमा समस्या भएको छ ।
पहिरोको विकल्पमा वैकल्पिक सडक र म्याग्दी नदीमा बेलिब्रिज निर्माणका लागि प्रारम्भिक अध्ययनमै सीमित भएपछि अहिले पश्चिम म्याग्दीका तीन स्थानीय तहबाट सदरमुकाम बेनीसम्म आउनजान पनि निकै समस्या हुने गरेको यात्रुको भनाइ छ ।
‘यो पहिरोमा अब हिउँदको समयमा पनि यात्रा गर्न जोखिम हुन्छ, वैकल्पिक सडकमा सरोकारवालाले ध्यान नदिँदा समस्या ज्यूँका त्यूँ छ,’ मङ्गला गाउँपालिका–१, कुहुँका दीपशिखा माविका प्रधानाध्यापक डा नन्दबहादुर खत्रीले भने।

उनले अहिलेको अवस्थामा प्रयोग भइरहेको वैकल्पिक सडकमा मोटरसाइकलबाट आवतजावत गर्नसमेत निकै समस्या भएको बताउँदै तत्काल वैकल्पिक सडक र बेलिब्रिज निर्माणमा ढिलाइ गर्न नहुने बताए।
बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको भन्दै वैकल्पिक मार्गमा ध्यान दिन सरोकारवाला निकायलाई अनुरोध गरिएको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए।

‘बर्खाको समयमा वैकल्पिक मार्ग आवश्यक छ, पालिकाले धेरै पहल गरेको छ, अहिले मोटरसाइकललाई सहज हुने गरी वैकल्पिक बाटो मर्मतमा जुटेका छौँ’, अध्यक्ष रोकाले भने।
मङ्गला गाउँपालिका–३ पखेर लुलियाघाट र वडा नं २ मा पर्ने सिमलचौर जोड्ने म्याग्दी नदीमाथि बेलिब्रिज तथा पखेरदेखि लुलियाघाट र सिमलचौरको मूल सडक जोड्ने करिब एक किलोमिटर वैकल्पिक सडक निर्माणका लागि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहितको टोलीले हालै प्रस्तावित स्थानको अध्ययनसमेत गरेको थियो । प्रस्तावित स्थानमा जग्गा पर्ने स्थानीयको असहमति तथा बजेटको सुनिश्चितता नहुँदा वैकल्पिक मार्गले गति लिन नसक्दा यो बर्खामा यात्रुलाई निकै सास्ती भएको छ ।

सडक विभागले फापरखेत–पखेर जोड्ने एक सय पाँच मिटर लामो मोटरेबल पुल निर्माण गरेको अवस्थामा सो क्षेत्रबाट मार्ग व्यवस्थित बनाउन सकेमा हिउँदमा फापरखेतको पहिरो पन्छाउने झन्झट गर्नुपदैन ।

फापरखेतमा करिब दुई सय मिटर सडक पहिरोग्रस्त छ । सडकदेखि साढे दुई सय माथि रहेको पहिरो यसपटक झनै फराकिलो बन्दै पुल आसपासको क्षेत्रमाथि समेत खस्न थालेपछि पुल नजिकै रहेका घर जोखिममा परेको छ । २४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकमा नियमित यातायात सञ्चालन गर्न फापरखेत र बाङ्गेपहिरो मुख्य चुनौती बनेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending