Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

नेपालमा बंगलादेशको जस्तो जनविद्रोह सम्भावना छ ?

खबरडबली संवाददाता

काठमाडौं । कुनैपनि देशमा व्यवस्था परिवर्तन, आन्दोलन, जनविद्रोह र क्रान्ति हुन्छन् । नेपालमा पनि त्यस्तै भएकै कारण पटक–पटक व्यवस्था र सत्ता परिवर्तन भएका छन् । 

हरेक देशमा यसरी आन्दोलन भएर सत्ता परिवर्तन भईरहँदा नेपालमा पनि त्यस्तै भइदिए हुन्थ्यो भनेर कामना गर्ने एकाथरि नागरिक तुरुन्तै देखा पर्ने गरेका छन् । 

नेपालमा भएका २००७ सालको क्रन्ति, २०४६ को जनान्दोलन, २०५२ फागुन १ देखि सुरुभएको शसस्त्र जनयुद्ध, २०६२–०६३ को दोस्रो जनआन्दोलन र मधेस आन्दोलन व्यवस्था र सत्ता परिवर्तनका ठूला आन्दोलन हुन् । पछिल्लो समय २०६३ पछि देशमा त्यस्तो कुनै ठूलो जनविद्रोह वा निर्णायक क्रान्ति हुन सकेको छैन ।

नेपालको संविधान २०७२ जारी हुँदा यसलाई अस्वीकार गर्ने र ‘पुनर्लेखन’ माग गर्ने आन्दोलन विशेषतः मधेसमा बलियो थियो तर, अन्ततः त्यो अघोषित भारतीय नाकाबन्दीमा पुगेर तुहियो, कुनै परिणाम दिएन ।

बंगलादेशमा शेख हसिना वाजेद शासनविरुद्ध जनविद्रोह सफल भएपछि नेपालमा पनि त्यस्तै भइदिए हुन्थ्यो भन्ने भावना सामाजिक सञ्जालमा ठूलो मात्रामा देखिएको थियो ।
सन् २०२१ को अगष्टमा अफगानिस्तानका निर्वाचित राष्ट्रपति असरफ घानी देश छोडेर भागे । नेपालमा त्यसको खुबै चर्चा भयो । ‘नेपालका शासकले पनि कुनै दिन यसरी नै भाग्नुपर्ने छ’ भन्ने भावना र आक्रोश व्यक्त गरिए ।

सन् २०२२ को जुलाईमा श्रीलंकाली राष्ट्रपति गोताबाया राजापाक्षे देश छोडेर भागे । यसपटक पनि ‘नेपाल श्रीलंकाजस्तो हुन सक्ने’ व्यापक चर्चा भयो । श्रीलंका र नेपालका आर्थिक तथा वित्तीय सङ्कटका कतिपय पक्ष मिल्दाजुल्दा पनि थिए । तर, नेपाल न अफगानिस्तान जस्तो भयो, न श्रीलंका जस्तो ।

पछिल्लो समय दक्षिण एसियाकै बंगलादेशमा त्याँको जनविद्रोहका कारण प्रधानमन्त्री शेख हसिना देश छोडेर भारत पलायन भएकी छन् । कुनै राजनीतिक शक्ति र दलले नेतृत्व नगरेको केही दिनको विद्यार्थी आन्दोलनले बंगलादेशमा आश्चर्यजनक सत्ता परिवर्तन गर्न सफल भयो ।  र, नेपालमा पनि यस्तै जनविद्रोह भइदिए हुन्थ्यो भन्ने कामना गर्नेको सङ्ख्या उल्लेख्य रहेको छ । नेपालमा पनि बंगलादेशको हालत हुने भनेर जिम्वेवार राजनीतिक दलका नेताहरुले सार्वजानिक रुपमा पनि बोल्दै आएका छन् ।

हरेक दश वर्षमा क्रान्ति 

नेपालको राजनीतिक इतिहासलाई नियाल्दा यहाँ हरेक १० वर्षमा आन्दोलन र जनविद्रोह भएको पाइन्छ । यहाँ बारम्बार आन्दोलन, जनविद्रोह र क्रान्ति नभएका हैनन् । विगत १०० वर्षयताको इतिहास हेर्दा आधा दर्जनभन्दा बढी ठूला जनविद्रोह, आन्दोलन र क्रान्ति भएको देखिन्छ ।

विसं १९९७ को जनविद्रोह र ४ शहीद काण्ड नेपालको आधुनिक राजनीतिक इतिहासमा पहिलो ठूलो विद्रोह र बलिदान थियो । त्यसको ठीक १० वर्षपछि २००७ सालको क्रान्ति भयो र १०४ वर्षे राणा शासन ढल्यो ।

२०३६ सालको विद्यार्थी आन्दोलन अहिलेको बंगलादेशको आन्दोलनजस्तै थियो । राजनीतिक दलहरू विद्रोहको नेतृत्वमा देखिएका थिएनन् । विद्यार्थी सङ्गठनले नै यसको नेतृत्व गरेका थिए । यही विद्यार्थी आन्दोलनको दबाबमा राजा वीरेन्द्र शाह जनमत संग्र्रह घोषणा गर्न बाध्य भएका थिए । भलै यो जनमत सङ्ग्रह राजाकै पक्षमामा परिणाम आयो ।

२००३६ को जनमत संग्रहको ठिक १० वर्ष पछि २०४६ सालमा अर्को ठूलो आन्दोलन भयो । यो आन्दोलनले २०१७ साल देखि सुरु भएको ३० वर्षे निर्दलीय पञ्चायती व्यवस्थालाई ढाल्यो र संवैधानिक राजतन्त्रसहितको बहुदलीय लोकतन्त्र स्थापित गर्याे । यसको पाँच वर्ष बित्न नपाउँदै  २०५२ सालमा तत्कालिन नेकपा (माओवादी) ले सशस्त्र युद्ध सुरु गर्यो । जनयुद्धको नाममा सुरु भएको यो सशस्त्र युद्ध  करिब १ दशक चल्यो । यसमा भएको भौतिक क्षति र बलिदानको हिसाब गरी साध्य छैन ।

तत्कालीन सात दल र माओवादी बीच दिल्ली सम्झौता पछि माओवादी सहितको संयुक्त जनान्दोलन २०६२–०६३ ले राजा ज्ञानेन्द्र शाहको निरङ्कुशता अन्त्य गर्दै संविधानसभा निर्वाचन र गणतन्त्र स्थापनाको आधार तयार गर्याे । २०६३ को माघमा मधेस आन्दोलनले देशलाई सङ्घीयता, समावेशिता र समानुपातिकताको युगमा प्रवेश गरायो ।

यतिका धेरै आन्दोलन, जनविद्रोह र क्रान्तिपछि पनि नेपाल राज्य पर्याप्त लोकतान्त्रिक, सुशासित र आधुनिक हुन सकेको छैन । यद्यपि नागरिकको ठूलो पङ्क्तिले राज्य र शासक वर्ग स्वार्थी र भ्रष्ट भएको अनुभूति गर्दछन् ।

देशमा अझै विभेद, अन्याय र अत्याचारको अन्त्य भएको छैन । लोकतन्त्र दलतन्त्र, गुटतन्त्र, नेतातन्त्र र सिन्डिकेटतन्त्रमा क्षयीकृत भएको गुनासो व्यापक आइरहेको छ । सम्भवतः यिनै कारणले यहाँ नयाँ जनान्दोलन, विद्रोह र क्रान्तिको आह्वान भइरहे पनि त्यसको नेतृत्वा गर्ने कसैले हिम्मत गरेका छैनन् ।

सिकाउने धेरै, सिक्ने कोही छैन

जब विभिन्न देशमा विद्रोह र क्रान्ति हुन्छन्, तब यहाँका शासक वर्गले पनि ‘पाठ सिक्नुपर्ने’ माग गर्नेको धुइरो लाग्छ । अफगानिस्तान, श्रीलंका र बंगलादेशबाट सिक्नुपर्ने पाठ भन्दै दर्जनौ सञ्चार माध्ययमहरुले लेख छाप्ने गर्छन् । यस विषयमा बौद्धिक वृत्त र सञ्चारमाध्यमले केही दिन मसला पाउँछन् । तर, दुईचार दिन हल्ला हुन्छ, फेरि जस्ताको त्यस्तै । पाठ सिकाउनेहरू आफैँ थाक्छन्, पाठ सिक्नुपर्नेहरू न सिक्न चाहन्छन्, न सुध्रिन नै चाहन्छन् ।

‘कि सुध्रिनुर्पयो कि सिद्धिनुर्पयो’ भन्न थालिएको पनि धेरै भयो । तर, न कोही सुध्रिएको छ, न कोही सिद्धिएकै छ । यो विरोधाभासलाई लेखक, साहित्यकार तथा नागरिक अभियन्ता खगेन्द्र संग्रौलाले यसरी व्यक्त गर्दन्— बंगलादेशबाट पाठ सिक नत्र‘, श्रीलंकाबाट पाठ सिक नत्र‘, माल्दिभ्सबाट पाठ सिक नत्र‘ । पाठ सिकाउने लामबद्ध छन्, कोही केही सिक्नेवाला छैनन् । तानाशाह ज्ञानेन्द्रलाई लखेट्न रिङरोड वरिपरि लाखौंको सङ्ग्रामी विरोध जुटेझैँ जब सचेत विद्रोही सडकमा ओइरिन्छन्, तब भने यिनले केही सिक्लान् नत्र‘ ।

नेपालका शासक कहीँ कतैको घटनाक्रमबाट पाठ सिकेर, आफ्नै चेतना, विवेक र आत्मानुभूतिले सुध्रिएको कुनै इतिहास छैन । बरु सिद्धिन राजी हुन्छन, सुध्रिँदैनन् ।  कारणले यो हुन सक्दछ कि नेपालमा निरन्तर समीक्षा, पुनरावलोकन, आत्मआलोचनाबाट सुधारको सम्भावना कम रहन्छ । तसर्थ, नागरिक एकपछि अर्को आन्दोलन, जनविद्रोह र क्रान्तिको कामना गर्दछन् । निरन्तर लोकतान्त्रिक सुधारप्रति प्रतिबद्ध देशमा सायद यस्ता विद्रोह जरुरी नै पर्दैनन् ।

स्थिरता कि  अस्थिरता ?

बंगलादेशको घटनाक्रमले नेपालमा एक अर्को कोणबाट बहस सृजना गरिदिएको छ । बंगलादेशकी शेख हसिनाको जस्तो स्थिरता राम्रो कि नेपालको जस्तो क्षणक्षणमा सरकार र गठबन्धन बद्लिने अस्थिरता राम्रो ?

हसिना विगत १५ वर्षदेखि निरन्तर सत्तामा थिइन् । सन् १९९६–२००१ बीचको ५ वर्षे कार्यकाललाई समेत जोड्दा उनको शासन २० वर्ष भइसकेको थियो । गत जनवरीको विवादास्पद निर्वाचनपछि यदि जनविद्रोह नभएको भए उनी अझै ५ वर्ष शासन गर्न सक्थिन् । उनको शासनकाल २५ वर्ष लामो हुन्थ्यो ।

स्थिरताका नाममा लोकतन्त्रमा यसरी एउटै व्यक्ति र पार्टीको लामो शासन, ‘निर्वाचित तानशाही’ वा ‘लोकतान्त्रिक अधिनायकवाद’ भन्दा नेपालको जस्तो ‘अस्थिरता’ नै ठीक हो भन्ने विश्लेषण पनि अघि सारिएका छन् ।

बंगलादेशको हसिनाको जस्तो स्थिरताभन्दा नेपालको जस्तो अस्थिरता नै ठीक हो कि भन्ने कोणबाट पनि बहस सुरु भएको छ । यसरी यो वा त्यो अतिवादलाई मानक बनाएर नहेरी लोकतन्त्रमा दुवै नराम्रो भएको औंल्याउँदै स्तम्भकार डम्बर खतिवडाले बंगलादेशको स्थिरता र नेपालको अस्थिरता दुवैलाई नराम्रो बताएका छन् । उनले लोकतन्त्र स्थिरता पद्धति र नैतिक मूल्य दुवैको सम्मिश्रण रहेको र  नेपाल र बंगलादेश दुवै खराब उदाहरण भएको बताएका छन् । 

लोकतान्त्रिक स्थिरता र परिवर्तनबीच सन्तुलन आवश्यक हुन्छ । क्षणक्षणमा परिर्वतन भइरहने सरकार र गठबन्धन पनि राम्रो हैन । स्थिरताका नाममा दशकौं लामो एक व्यक्तिको विवादास्पद शासन पनि राम्रो हैन ।

डा. सुरेन्द्र केसी नेपालमा परिवर्तन आवश्यक भए पनि त्यो बंगलादेशको जस्तो अराजक, दिशाहीन र नेतृत्वहीन हुन नहुने बताउँछन् । बंगलादेशको स्थितिबारे रिपोटर्स क्लबमा बोल्दै उनले लोकतान्त्रिक सहिष्णुता र पद्धतिअनुरूपको परिवर्तन हुनुपर्ने बताए ।  पश्चिमबाट तिनै देउवालाई, पूर्वबाट तिनै ओलीलाई बारम्बार भोट दिएर जिताउने अनि परिवर्तन खोजेर हुन्छ ? भन्दै उनी प्रश्न गर्छन्– जनविद्रोहपछि आउने नेता सही र असल हुन्छन् भन्ने के ग्यारेन्टी छ ? एकाथरि मान्छेमा नेपालमा श्रीलंका वा बंगलादेशको जस्तो अराजक जनविद्रोहको भय देखिन्छ । तर, उनीहरूले पनि परिवर्तन भने खोजेकै छन् । परिवर्तनको चाहना र प्रसवपीडा सबैका लागि सकसपूर्ण हुँदै गएको छ ।

बंगलादेशसँग नमिल्ने तथ्य

बंगलादेश र नेपालको अवस्था ठ्याक्कै उस्तै भने हैन । त्यहाँ विपक्षी दल, नागरिक समाज, बौद्धिक वर्ग र उदारवादी भावनामाथि निरन्तर र दशकौं लामो चर्को दमन थियो । १० हजारभन्दा बढी राजनीतिक कार्यकर्ता जेलमा थिए । पूर्वप्रधानमन्त्री तथा विपक्षी नेतृ बेगम खालिदा जिया जेलमा थिइन् । राजनीतिक फाइदाका लागि हसिनाले इस्लामिक कट्टरतावादप्रति आँखा चिम्लिएकी थिइन् ।

नेपालमा यथार्थमा विपक्षी दल नै छैन, उसमथि दमनको त कुरै छोडौँ । यहाँ सबै दल सत्ता पक्ष, सबै दल विपक्ष हुन् । को कतिखेर कसको गठबन्धन र सरकारमा हुन्छ, पत्तो हुँदैन । यहाँ विपक्षी भावनाको विस्तार र ध्रुव निर्माण गर्ने राजनीतिक दल नै छैन । नयाँ भनिएकाहरू पनि पुरानैका सिन्डिकेटमा सामेल भए । चरम जनअसन्तोषका बाबजुद नेपाल बंगलादेशजस्तो हालतमा नपुग्ने मुख्य कारण यही राजनीतिक मिलोमतो हुन सक्दछ । सबैले आ–आफ्नो हैसियतअनुसार मिलीजुली भागबन्डा पाएपछि कसले, किन आन्दोलन, विद्रोह र क्रान्तिको नेतृत्व गर्ने ?

क्रान्तिको विज्ञानमाथि भोटको गणित

नेपाली नागरिकमा परिवर्तनको चाहना गहिरो हुँदै गए पनि समाज यसको बाटोमा भने विभाजित छ । एकाथरि कांग्रेस–एमालेजस्ता ठूला, पुराना दलमार्फत हुने संवैधानिक सुधारबाटै अघि बढ्न सकिने धारणा राख्दछन् । यस्तो धारणा राख्नेहरू मूलतः यी दलका परम्परागत समर्थक र मतदाता छन् । यी दुई दलले गत आम निर्वाचनमा पाएको भोट ५३ प्रतिशत हुन्छ । भोटको यस्तो गणितले यहाँ क्रान्तिको विज्ञानलाई सजिलै क्रियाशील हुन दिँदैन ।

बंगलादेशको गत आम निर्वाचनमा भने जम्मा ४१.८ प्रतिशत मात्र मतदान भएको थियो । खसेको मतमध्ये करिब ७५ प्रतिशत हसिनाको पार्टी अवामी लिगले पाए पनि समग्रमा त्यो ३० प्रतिशतभन्दा कम हुन्थ्यो । नेपालको पहिलो प्रकारको यस्तो जनमत कांग्रेस–एमालेबीचको नयाँ सहमति, गठबन्धन र संविधान संशोधनको चर्चाबाट उत्साहित र आशावादी छ ।

दोस्रो प्रकारका मानिसले नियमित आम निर्वाचनमार्फत नयाँ दलको उदयबाट परिवर्तन गर्न सकिने ठानेका छन् । यस्तो जनमत गत आम निर्वाचन अगाडि निकै उत्साहित थियो । यिनले नयाँ दललाई मतदान पनि गरे । तर, नयाँ उदाएका भनिएका ३ नयाँ दल रास्वपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका निर्णय र व्यवहारबाट फेरि निरासा छाएको छ ।

यी तीनवटै नयाँ दल पुरानाजत्तिको पनि नभएको गुनासो बढ्दो छ । यिनका व्यवहार र चरित्रबाट स्वयम् उनकै मतदाता सन्तुष्ट छैनन् । तेस्रो प्रकारका मानिस भने परिवर्तनको संवाहक शक्ति नागरिक आन्दोलन र राष्ट्रिय जागरणबाट मात्र आउन सक्ने विश्वास गर्दछन् । पहिलो र दोस्रो प्रकारका नागरिक बंगलादेशको घटनाक्रमप्रति त्यति उत्साहित र सकारात्मक छैनन् ।

नेपालको अपेक्षित नयाँ परिवर्तन कहिले र कसरी आउँछ, कसैले भविष्यवाणी गर्न सक्ने विषय हैन । तर, विद्यमान अस्थिरता, भद्रगोल, भ्रष्टाचार, कुशासन, आर्थिक तथा वित्तीय सङ्कट, सामाजिक विभेदग्रस्त राज्य र राजनीतिक अविश्वासबीच परिवर्तनको एक नयाँ मोड भने अपरिहार्य हुँदै गएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending