Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

पाहुनालाई कोसेली ताराखोलाको भुटेको मकै

खबरडबली संवाददाता

बागलुङ । लेकाली चोयाले बुनेको चिटिक्कको डाली। डालीभरि भुटेको सिरिम्ले मकै। मकै पनि जिल्लाको ताराखोलाका।

शनिबार एक समारोहका अतिथिलाई उपहारस्वरुप टक्राइएका बागलुङका रैथाने उत्पादन हुन् यी। स्थानीय उत्पादनको प्रवर्द्धन हेतु बागलुङ उद्योग वाणिज्य संघले ‘मायाको चिनो’ अर्थात् कोसेलीका रूपमा अतिथिलाई डाली र मकै दिएको हो।

संघको ६०औं वार्षिक साधारणसभा समारोहका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत अतिथिले खुसी र श्रद्धापूर्वक बागलुङको स्थानीय उत्पादनलाई उपहारका रूपमा लिए।

मायाको चिनोमा आयातित वस्तु तथा सजावटका समान दिने प्रचलन रहँदै आएकामा संघले भने स्थानीय उत्पादनलाई प्राथमिकता दिएको हो।

त्यस क्रममा प्रमुख अतिथि ढकालले संघले स्थानीय उत्पादनलाई प्राथमिकता दिएकामा खुशी व्यक्त गरे।

‘अतिथिलाई उपहारका रुपमा डाली र मकै दिनुभयो, खाजा पनि सेलरोटी र घरेलु अचार खुवाउनुभयो, यो निकै नै सराहनीय छ,’ उनले भने, ‘यसले कृषि उपजका माध्यमबाट स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ।’

कार्यक्रममा उनले परम्परागत सीप र प्रविधिमा आधारित वस्तुको बजारीकरण गर्न सके स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउन सकिने बताए। पछिल्लो समय ठूला मेला, महोत्सव र समारोहमा पुग्ने अतिथिहरूलाई स्थानीय उत्पादन उपहारका रूपमा दिने प्रचलन बढेको बताउँदै उनले स्थानीय स्तरमै उत्पादन हुने मकै, भटमास, आलु, सिन्कीलगायतको उत्पादन र बजारीकरणलाई प्राथमिकता दिनु जरुरी रहेको बताए।

‘यसले ठाउँको पहिचान पनि दिलाउँछ, स्थानीय उत्पादनप्रति सर्वसाधारणको चासो बढ्दै जान्छ,’ उनले भने।

संघका अध्यक्ष नरेश कँडेलले स्थानीय उत्पादनको प्रबर्द्धन होस् भनेर अतिथि उपहारका लागि डाली र मकै छानिएको बताए।

ताराखोलालगायत यहाँका लेकाली भेगमा लगाइने रैथाने जातको मकै स्वादिष्ट र पौष्टिक मानिन्छ। पछिल्लो समय ताराखोलाकै मकै र आलु सँगै भाँगो र सिस्नोको धुलो खोज्न आउनेको संख्या पनि बढेको कँडेल बताउँछन्।

निगालोको चोयाबाट बन्ने डोका, डालाडाली, नाङ्ला आदिका लागि पनि ताराखोला, बडिगाडको जलजलालगायत उपल्लो ग्रामीण भेग बढी चिनिन्छन्।

चैते दसैँलगायतका अवसरमा हुने मेला, महोत्सवमा ती ठाउँका किसान हप्तौँ दिन लगाएर डालाडाली र नाङ्ला बेच्न सदरमुकाम आइपुग्छन्।

अध्यक्ष कँडेलले पछिल्लो समय ताराखोलाको मकै ‘ब्राण्ड’का रुपमा स्थापित भइसकेको बताए।

‘यहाँको सिरिम्ले मकै विदेशसमेत निर्यात हुन्छ, भुटेर खाँदा ज्यादै स्वादिलो छ, आटोका रुपमा खाँदा पनि उत्तिकै रुचाइन्छ,’ उनले भने, ‘पछिल्लो समय होटल, रेष्टुराँमा पनि भुटेको मकैको खपत बढ्दो छ।’

गत पुसमा सञ्चालित बागलुङ महोत्सवमा पनि ताराखोलाको आलु, मकै, भाँगो, सिस्नोको धुलोलगायत स्थानीय उत्पादनले आकर्षण थपेका थिए।

 स्थानीय उत्पादनको व्यवसायीकरणका लागिसमेत संघले किसान र व्यवसायीहरूलाई सहयोग गर्दै आएको अध्यक्ष कँडेलको भनाइ छ।

साधारणसभाकै अवसरमा काठेखोला गाउँपालिका–८ लेखानीमा कोदोको बिस्कुट उद्योग सञ्चालन गरेका चानसिँह श्रीसलाई नगदसहित सम्मान गरिएको अध्यक्ष कँडेलले जानकारी दिए।

बागलुङ नगरपालिका–१ रामरेखास्थित मनसुन दालमोठ उद्योगका सञ्चालक यमप्रसाद कँडेलले ताराखोला गाउँपालिका, काठेखोला गाउँपालिका, म्याग्दीको गौसरालगायत ठाउँबाट ल्याएको मकै प्रशोधनपछि भुटेर बजार पठाउने गरिएको बताए।

‘उद्योगमा भुटेर प्याकेजिङ गरिएको मकै काठमाडौँ, भैरहवा, पोखरालगायत सहरमा पनि निर्यात हुँदै आएको छ, बाहिरका व्यापारीमार्फत बागलुङको मकै हङकङ र बेलायतमासमेत पुग्ने गरेको छ,’ उनले भने, ‘विदेशी जाने बागलुङलेहरूले कोशेलीका रुपमा पनि भुटेको मकै लाने चलन छ।’

मकैबाट आटो, रोटी, सातुलगायतका परिकार पनि बनाउन सकिने कँडेलले बताए।  सञ्चालक कँडेलले जाडो याममा दैनिक ५/६ क्विन्टल भुटेको मकै बजार जाने गरेको बताए।

‘असोजदेखि चैतसम्म मकैको बिक्री धेरै हुन्छ, कुनै महिनामा त माग धान्नै गाह्रो हुन्छ, बागलुङको भुटेको मकै भनेपछि एककिसिमको ब्राण्ड बनेको छ,’ उनले भने, ‘बाहिरी जिल्लाबाट धेरै माग आउने गरेको छ।’

उद्योगले गाउँका किसानबाट सिरिम्ले मकै खरिद गरी भुटेर बजारमा बेच्दै आएको छ। विषादीरहितको रैथाने जात, उर्वरा माटो, लेकाली हावापानी आदि कारणले बागलुङका ग्रामिण भेगमा लगाइएको मकै उपभोक्ताको रोजाइमा पर्ने गरेको हो।

बागलुङ बजारस्थित होटल आरतीका सञ्चालक कविता बस्नेतले ताराखोलाको मकै, आलु, भाँगो, च्याउ, सिन्की, गेडागुडीलगायत उत्पादनबाट बनेका परिकार पाहुनालाई चखाउने गरेको सुनाइन्।

‘हाम्रो भान्छामा स्थानीय परिकार अनिवार्य पाक्छ, गाउँले खानाको स्वादले पाहुनाको पनि आकर्षण बढेको छ,’ उनले भनिन्, ‘ममः चाउमिनजस्ता खाजाको सट्टा आलु, मकै आदिका परिकार रोज्नेको सङ्ख्या बढ्दो छ।’

उनले पछिल्लो समय सहरी क्षेत्रका मानिस पनि परम्परागत खानाका परिकारतर्फ आकर्षित भइरहेको बताए।

‘अग्र्यानिक उत्पादन भनेपछि ग्राहकले खुसी भएर खान्छन्,’ उनले भनिन्।

होटल दि राजनका सञ्चालक राजन शाक्यले विशेष गरी ताराखोलाको मकै, आलु र भाँगो ग्राहकको रोजाइमा पर्ने गरेको बताए।

‘होटलमा आउने पाहुनाले स्थानीय परिकार बढी रुचाउन थालेका छन्, यहाँको उत्पादन जिल्ला बाहिरपनि निर्यात हुँदै आएको छ,’ सञ्चालक शाक्यले भने, ‘स्थानीय उत्पादनको प्रबर्द्धन र बजारीकरणका लागि उद्योग वाणिज्य संघलगायत सम्बद्ध निकायले ध्यान दिनु जरुरी छ।’

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: