Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

यस्तो पनि ‘बर्थिङ सेन्टर’ ! वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे

खबरडबली संवाददाता

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित प्रसूति गृह (बर्थिङ सेन्टर) को भौतिक संरचना जीर्ण भएको छ । जस्ताले छाएको सो प्रसूति गृहमा वर्षामा दबदबे हिलोमा उभिएर र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराइने गरिइएको छ । प्रसूति गृहको जस्तापाता खियाले खाएर ठाउँ ठाउँमा प्वाल परेको छ भने टहराको वरिपरि वनमाराको घारी छ ।

प्रसूति गृहमा कार्यरत सिनियर अनमी मिश्रीकुमारी श्रेष्ठका अनुसार वर्षायाममा पानी चुहिएर सुत्केरी र नवजात शिशुको आङमा पानीको थोपा खस्ने गर्छ । भुईँ हिलाम्मे भई स्वास्थ्यकर्मी दबदबे हिलोमा उभिएर प्रसूति गराउँछन् । उनेले भनिन्, ‘वैशाखमा टन्टलापुर घाम र उखरमाउलो गर्मी हुन्छ । जस्तापाता तातिएर उखुम हुन्छ । नजिकै सडक भएकाले सवारीसाधन आवतजावत हुँदा हिउँदमा निसास्सिँदो धुलो उठ्ने गर्दछ ।’ स्वास्थ्यकर्मीले गर्भवती र नवजात शिशुको ज्यान जोखिममा राखेर सुत्केरी गराउनु पर्ने अवस्था छ ।

‘सुत्केरी र नवजात शिशुलाई भित्र राख्नै सकिँदैन’, उनले भनिन्, ‘प्रसूति गृह वरिपरि वनमारा र घाँसपातको घारी छ । गर्मी र वर्षाको समयमा विषालु सर्प भित्रैसम्म आइपुग्छ । हामी स्वास्थ्यकर्मी लट्ठी लिएर सर्प धपाउन चनाखो भएर बस्नुपर्छ ।’ अनमी श्रेष्ठका अनुसार यस प्रसूति गृह दुई–चार वर्ष पहिल्यैदेखि नै यस्तो अवस्था रहँदै आएको छ, यसको स्तरोन्नति गर्न गोलबजार नगरप्रमुख श्यामकुमार श्रेष्ठलाई जानकारी गराइएको भएता पनि समाधान हुनसकेको छैन ।

विसं २०६३ देखि यस प्रसूति गृहमा कार्यरत सिनियर अनमी निरीक्षक सविता शाक्य पञ्जियारको पनि उस्तै गुनासो छ । वर्र्षौँदेखि बेहाल रहेको भवनबाट सेवा गर्न बाध्य भएको उनको भनाइ छ । ‘प्रसूति गृहको एउटा सानो वैकल्पिक टहरो पनि लोकमार्ग विस्तारका कारण भत्काइयो । यो सानो टहरोभित्र दुईवटा शय्या राखिएको थियो । यो टहरो भत्काइएका कारण शय्या झिकेर कौसीमा राख्नुपरेको छ’, उनले भनिन्, ‘वर्षामा बाछिटा र जाडोमा सिरेटो सहेर भए पनि सुत्केरी आमालाई यही शय्यामा सुताउनुपर्छ ।’

गोलबजार स्वास्थ्यचौकीका प्रमुख सत्यनारायण यादवले जीर्ण प्रसूतिगृहको भौतिक संरचना सुधार तथा सुविधासम्पन्न ठाउँमा स्थानान्तरणको लागि पटकपटक पहल गरेता पनि केही प्रगति हुन नसकेको गुनासो गरे । ‘प्रसूति गृहको मुख्य टहरो पनि ज्यादै साँघुरो छ । कोठामा छिर्ने ढोका नै साँघुरो छ । नागबेली परेर बल्लतल्ल भित्र छिर्न सकिन्छ । सुत्केरी हुन आउने आमालाई शय्यासम्म लैजान कठिन हुन्छ ।

चालीस स्क्वायर फिटको कोठामा शिशुलाई न्यानो राख्ने हिटर, लेवर शय्या, सुत्केरी भएपछि सुताउने शय्या, अक्सिजन सिलिन्डर, सक्सन मेसिन र अन्य उपकरण राख्नुपरेको छ । दुईजना स्वाथ्यकर्मी र एकजना सुत्केरी व्यथाले च्यापेको आमालाई ओल्टोकोल्टो फर्किनै कठिन हुन्छ’, उनले भने, ‘नालाको पानी बगेर प्रसूति केन्द्रकै अगाडि जम्छ । कुनै निकास छैन । फोहर पानी टेकेर भित्र पस्नुपर्छ । साह्रै सास्ती छ । सम्बन्धित निकायको पटकपटक ध्यानाकर्षण गराएका छौँ, तर कुनै सुधार हुँदैन ।’

एकजना मात्र प्रसूति आमा हुँदा त जेनतेन सेवा दिइने तर यदाकदा दुई–तीनजना थपिँदा कहाँ राख्ने भन्ने समस्या हुने गरेको स्वास्थ्यकर्मीको गुनासो छ । प्रसूति केन्द्र २४सैँ घण्टा खुला राख्नुपर्ने हो तर स्वास्थ्यकर्मीले टुसुक्क बस्ने ठाउँ पनि छैन । पाले सुत्ने खाटमा अहिले ‘अल्ट्रासाउण्ड’ गरिन्छ । स्वास्थ्यकर्मी रातको समयमा डेरामा बस्छन् । सेवाग्राही प्रसूति आमा आउँदा स्वास्थ्यकर्मी बोलाउन डेरासम्म पुग्नुपर्छ । प्रसूति गृहमा बत्ती गएका बेला बाल्ने वैकल्पिक साधन छैन । कहिलेकाहीँ टर्च बालेर सुत्केरी गराउनुपर्छ ।

नेपाली कांग्रेस गोलबजार नगरसभापति राजदेव साहसुत्केरी गराउने स्थानमा यस प्रकारको समस्या हुनु लज्जाको विषय भएको बताए । उनले भने, ‘प्रसूति सेवाको यो हालत छ, लज्जास्पदभन्दा पनि जनताको स्वास्थ्यसँग हदैसम्मको खेलवाड गरिएको छ । नगरपालिका गोलबजारको ध्यान जानुपर्ने हो ।’ सभापति साहका अनुसार गोलबजारबाट प्रसूति सेवा लिन २० किलोमिटर पूर्व लहान जानुपर्ने बाध्यता छ । साठी हजारभन्दा माथि जनसङ्ख्या भएको गोलबजार नगरपालिकामा एकजना ‘एमबिबीएस’ चिकित्सक छैनन् ।

हालैस्वास्थ्य सेवा विभागले सो प्रसूति गृहलाई ‘अल्ट्रासाउण्ड मेसिन’ प्रदान गरेको थियो । त्यो पनि सञ्चालनमा नआई बिग्रिएको छ । सि अनमी निरीक्षक शाक्यले भने, ‘मैले तालिम त लिएर आएँ, तर मेसिन त बिग्रेको आएछ । कसरी काम गर्ने रु नगरपालिकालाई जानकारी गराएको छु । अहिलेसम्म कुनै वास्ता गरिएको छैन ।’

स्थानीय ७५ वर्षीय उद्धवबहादुर अधिकारीका अनुसार यो टहरो तत्कालीन सडक विभागले सुरक्षाकर्मी राख्न बनाएको थियो । सडक विभागले खाली गरेर वर्षौँदेखि रित्तो रहेको टहरोलाई सफा गरेर तत्कालीन अवस्थामा प्रसूति गृह बनाइएको बताइएको छ । तीस वर्ष बित्यो तर प्रसूति गृहको जीर्णोद्धारसमेत भएन । ‘२१औँ शताब्दीमा बाख्रा गोठजस्तो टहरामा प्रसूति सेवा सञ्चालन भइरहेको छ’, उनको भनाइ थियो ।

गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले भने उक्त प्रसूति गृहमा जग्गाको विवाद भएकाले मर्मतसम्भार गर्न नसकिएको जानकारी दिए । उनका अनुसार नगरपालिकाले प्रसूति गृहलाई अन्यन्त्र स्थानान्तरण गरिने प्रक्रिया सुरु गरेको छ । तर स्थानीयले भने नगरपालिकाले धेरै पहिलादेखि यस्तो आश्वासनमात्र दिएको र जनताको आँखामा छारो हाल्ने काम भएको टिप्पणी गरेका छन् ।

विसं २०५० मा स्थापना भएको यस प्रसूति गृह गोलबजार स्वास्थ्यचौकी मातहतमा छ । महिनामा करिब एक सय ५० गर्भवतीको स्वास्थ्य परीक्षण र २५ देखि ३० जनालाई प्रसूति सेवा प्रदान गरिएको दर्ता रजिष्ट्ररमा देखिन्छ । तत्कालीन समयमा यस प्रसूति गृह स्थापना गर्न पहल गरेका ७४ वर्षीय समाजसेवी रामजी यादवले भग्नावशेष प्रसूतिगृहको बिजोग अवस्था देखेर आफूलाई चिन्ता लागेको बताए ।

उनले भने, ‘तीस वर्षअघि हामीले जस्तो स्थापना गरेका थियौँ, आज पनि त्यस्तै अवस्थामा रहेछ । कुनै सुधार भएको रहेनछ । प्रसूतिगृहको यो अवस्था देखेर मनमा असाध्यै पीडावोध हुन्छ ।’

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ । भौतिक पूर्वाधार कार्यालयले ११२ आयोजनाका लागि ठेक्का आह्वान गरेको छ । कोशी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत भएको रु ६६ करोड ...

रवि-बालेन एकैठाउँमा आउँदा कुलमान पनि जोडिन्छन् ?

प्रधानमन्त्रीको उम्मेदवारबारे असिम शाह भन्छन्- कानुनी रूपमा मिलुन्जेलसम्म रवि दाइ, नभए बालेन

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीबालीमा रोगकीरा नियन्त्रणका ल...

निर्वाचनलाई कम्तीमा २७ अर्ब बजेट, आयोगलाई ७ अर्ब, सुरक्षामा २० अर्ब माग

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि करिब २७ अर्ब रुपैयाँ खर्च हुने भएको छ । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा ...

कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन कार्यतालिका हेरफेर गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ। पुस अन्तिम साताका लागि तोकिएको महाधिवेशन कार्यतालिकामा हेरफेर गर्न कांग्रेसल...

भिरालो जग्गामा सुन्तलाखेती, वार्षिक १६ लाख आम्दानी

तनहुँ । तनहुँको सदरमुकाम दमौली बजारबाट सात किलोमिटर दूरीमा रहेको बेनीकोटका एक किसानले बाँझो भिरालो जग्गामा सुन्तलाखेती गरी राम्रो आम्दानी गरेका छन् । ...

पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आया...

फुङलिङमा भालु नियन्त्रणमा लिन फलामको खोर राखियो, सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ । फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका लागि फलामको खोर राखिएको छ । केही दिनयता भालुले चौपायालाई आक्रमण गर्दै...

अब दुई कार्य दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौँ । राहदानी विभागले अब दुई कार्य दिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै ...

तराईमा बाक्लो हुस्सु र कुहिरो केही दिन कायम रहने

काठमाडौँ । तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending