Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

पुस्तक समीक्षा- पृथ्वीनारायण शाहको आलोचनात्मक इतिहास

खबरडबली संवाददाता

काठमाडौं । कुनै कालखण्डमा कुनै व्यक्तित्वप्रति राखिएको दृष्टिकोण सधैं एउटै हुँदैन। नेपाली इतिहासका ऐतिहासिक व्यक्तित्वहरूको पुनर्मूल्यांकन हुनुपर्छ भन्नेमा विद्वान्हरूले मत जाहेर गरिरहेका छन्। पृथ्वीनारायण शाह, जंगबहादुर राणा, बिपी कोइराला, महेन्द्र शाहलगायत व्यक्तिमाथि कुनै समय राखिएको विचार समयका दौरानमा परिवर्तन हुँदै, थोरै मात्र आलोच्य हुँदै गइरहेको पढ्न पाइन्छ।

हरेक वर्ष खास गरी पुस २७ का वरिपरि उनका पक्षविपक्षमा पत्रपत्रिकामा लेखरचनाको जुहारी चल्ने तथा अन्तक्रिया–बहस हुने गरेको छ। राणाकालमा नाम नै उच्चारण नै गर्न नहुने भनिएका पृथ्वीनारायणलाई पञ्चायतकालभरि नेपाल एकीकरणकर्ता र राष्ट्रिय एकताका प्रतीकका रूपमा मानिरहेका अवस्थामा पछिल्लो समय खासगरी माओवादी सशस्त्र द्वन्द्वकाल र त्यसयता जातीय राज्यको मागसँगै उनलाई विस्तारवादी, राज्य केन्द्रीयतावादी र क्रूरताका नायक मान्नेहरू पनि जन्मँदै गरेको अवस्था छ।

उनको जन्मदिनमा बिदा दिने-नदिने, राज्यस्तरबाट सभासमारोह गर्ने-नगर्ने चलन पनि चल्दै हाल सरकारी तवरबाट सार्वजनिक बिदा दिने निर्णय पनि हुन थालेको स्थिति छ।

पृथ्वीनारायणको आलोचना व्यापक राष्ट्रिय एकता वृद्धि गर्ने सोचाइबाट नै आएको छ भने त्यसलाई मान्नु बेस हुने छ। “देवत्वकरण इतिहास लेखनको मर्म र धर्म विपरीत पक्ष हो। ढाकछोप गरिएका सत्यलाई उजागर गर्ने समय आयो ”, लेखकले भूमिकामा लेखेर प्रस्तुत कृति लेखनको आफ्नो अभीष्ट स्पष्ट पार्नुभएको छ, जुन स्वाभाविक पनि हो।

साहित्यकार-पत्रकार हुँदै प्रवास बसाइका क्रममा इतिहास अनुसन्धाताको परिचय बनाउनुभएका राजकुमार दिक्पालले ‘जंगबहादुरको युगः ऐतिहासिक अध्ययन’ (साङ्ग्रिला पुस्तक प्रा. लि., २०७९) र तामाङलगायत अन्य सीमान्तकृतहरूले गरेको विद्रोह समेटिएको ‘आदिवासी विद्रोहको इतिहास’ (मञ्जरी पब्लिकेशन, २०७९–किरात एकेडेमी पुरस्कार प्राप्त), ‘मगर इतिहास’ (मनोज घर्तीसँग संयुक्त) र हाल ‘पृथ्वीनारायण शाहः आलोचनात्मक इतिहास’ (मञ्जरी पब्लिकेशन, २०८०) प्रकाशनसँगै बेलाबखत पत्रपत्रिकामा नेपाली इतिहासका विविध पक्षलाई उधिन्दै पनि आउनुभएको छ।

धनकुटादेखि राजधानीको बसाइ हुँदै हाल प्रवासमा रहनुभएका लेखकले आफ्नो सीमित समयमा पनि इतिहासजस्तो प्रामाणिकता खोज्ने विषयमाथि सदैव घोत्लिएर कृतिहरू प्रकाशन गर्दै जानु सराहनीय छ र गहन विषय समातिएको उहाँको पछिल्लो कृति उहाँको अनुसन्धानको भोकबाट सृजना गरिएकाले पठनीय नै हुन सक्छ।

बाइस अध्यायमा लिखित समीक्ष्य कृतिमा पृथ्वीनारायणको मूल कार्यमा आलोचना गर्ने वा उनलाई विस्तारवादी-केन्द्रवादी भन्नेतिर नगई उनले बाल्यावस्था, युवराज काल र राजा भएपछि एकीकरणलगायत विभिन्न व्यवहारका क्रममा नकारात्मक काम, अमानवीयता र क्रूरताका पक्ष तथा केही जनमानसमा फैलन नसकेका घटना, व्यापारिक काम आदिबारे उधिन्ने प्रयास गरिएको छ।

पृथ्वीनारायणको जन्म नै भूटानी लामा लोपाबाट भएको बौद्धपूजा र तान्त्रिक अनुष्ठानबाट भएको रोचक विवरण उल्लेख गर्दै गोरखा फौजलाई भोटका फौजले घेरिरहेका बखत भोटसँग सन्धि गरिदिएबापत उनी र अन्य लामालाई ताम्रपत्र जारी गरेर गुम्बा दान गरेको जनाइएको छ।

उनले जनताका बारीका उखुबारीमा उखु चोर्नेदेखि लिएर अर्काको गहना र हात्तीमाथि आँखा गाडेका घटना तथा बेलाबखत भाइभारदार र शत्रु राज्यका मानिसहरूलाई कुनै न कुनै दोष देखाएर कटाउने–मराउने कुरामा आदेश दिएको भनी लेखकले जिकिर गर्नुभएको छ।

राजा हुनेबित्तिकै बनारस गई हातहतियारसहित फर्कंदा सीमा भन्सारमा जाँचका क्रममा त्यहाँका कर्मचारीलाई कटाएको र आफ्नो ज्यान जोगाउन नै मुस्किल परेको, कीर्तिपुर युद्धमा पनि आफ्नै हठले युद्ध गर्न पुग्दा आफैँ झन्डै मारिएकोजस्ता घटना पनि उनीसँग सम्बन्धित छन्।

उनका मकवानपुर र गोरखपुरका गरी दुई रानी इतिहासमा सर्वत्र लेखिए पनि भक्तपुर बसाइका क्रममा एक नेवार कन्या पनि प्राप्त गरेको कुरा चाहिँ धेरैलाई थाहा नहोला, जुन यस कृतिमा उल्लेख गरिएको छ।

नुवाकोटबाट लखेटिएर कान्तिपुरका उमराव बनेका जयन्त रानालाई बेलकोट विजयपछि छाला काढेर मारिएको, तनहुँका राजा त्रिविक्रमले डोलीमा बोकिएर गएकी आफ्नी बिरामी रानीमाथि नजर लगाएको आरोपमा उनलाई पनि पक्राउ गरेको पनि उल्लेख छ जुन अन्यत्र पनि आएकै कुरा हो।

भादगाउँ विजयपछि राजा तथा मितबा रणजित मल्ल र भागेर त्यहाँ पुगेका जयप्रकाश मल्लका हकमा सम्मान नै गरेका पृथ्वीनारायणले त्यहीँ शरण लिन आएका अर्का राजा तेजनरसिंह मल्ल्ललाई भने कोर्रा हान्न लगाएको प्रसंग पनि यहाँ आएको छ।

कीर्तिपुरमा लडाइँ गर्ने परिस्थिति नभएको भनी काजी कालु पाँडेले सल्लाह दिँदादिँदै पनि आक्रमण गर्दा पाँडेको निधन राजहठले भएको कृतिमा स्पष्ट गरिएको छ। बन्दुकका बलमा निर्दोषको नरसंहार, तिमालकोटको युद्धमा छलकपट, कीर्तिपुरेको नाक-कान कटाइ, कमारा–कमारी राख्न दिने चलन, नगरकोटीको संहार र माझकिरातमा अत्याचार जस्ता आलोचनात्मक पक्षको पनि चर्चा गरिएको छ।

कृतिका सबै अध्यायमा पृथ्वीनारायणको मात्र नभएर भाइ, भारदार, छोरा, नातिहरूका नकारात्मक पक्षमाथि पनि कलम चलाएर यसलाई सामान्य विस्तार गर्ने प्रयास भएको छ । भूटानसँगको सम्बन्ध र ‘दिव्योपदेश’ को उत्पत्तिबारे कृतिमा चर्चा गरिए पनि त्यसमा खासै आलोचना गरिएको छैन।

पृथ्वीनारायणले एकीकरणको अभियान चलाएर नेपालको सिमाना विस्तार गरेको वा पुनःस्थापना गरेको कुरा प्रायः सबै कृतिमा पाइने भए पनि प्रस्तुत कृतिमा त्यस कर्मलाई गोरखा ‘राज्य विस्तारको योजना’ भनी प्रसङ्गवश कतै कतै मत बुझाइएको छ।

लेखक दिक्पालले यी सबै लेखनमा बाबुराम आचार्य, नयराज-महेशराज–दिनेशराज पन्त, धनबज्र बज्राचार्य, योगी नरहरिनाथ, डा राजेश गौतम, मोहनप्रसाद खनाल, चित्तरञ्जन नेपाली, सूर्यविक्रम ज्ञवाली, इमानसिंह चेम्जोङजस्ता इतिहासकार, विद्वान् एवं लेखकका कृति तथा लेखरचनाबाट उद्धृत गर्दै आफ्नो विश्लेषण पनि दिनुभएको छ।

कृतिमा तथ्यतथ्यांक र वाक्यमा निकै पुनरुक्ति छन् । पत्रकारको पनि परिचय बनाएका युवा लेखक दिक्पालले एकै विषयमा ठाउँठाउँमा दोहोर्‍याई तेहर्‍याई लेख्दा पाठकलाई झिँजो लाग्नु स्वाभाविक छ। सामान्य वाक्य संरचना र वर्णविन्यासमा त्रुटि छन् । कोलम्बसले अमेरिका पत्ता लगाएको सन् १४९२ हुनुपर्नेमा १५४९ भएको छ।

प्रस्तुत कृतिमा लेखकले पीडितका पक्षलाई पनि अध्ययनअनुसन्धानबाट उजागर गर्ने प्रयास गर्नुभएको छ। यसमा प्राप्त तथ्यतथ्यांकमा विश्लेषण गरी आफ्नो धेरथोर राय दिनेसम्मको काम भएको छ।

यसर्थ प्रस्तुत कृतिलाई मौलिक मान्न नसकिए पनि राष्ट्रिय विभूतिको आलोचनात्मक पक्षलाई पनि उजागर गरिदिएर लेखकले इतिहासका विद्यार्थी र पाठकहरूलाई गुन लगाउनुभएको छ। साहित्यकार–इतिहासकार वैरागी काइँलालाई समर्पण गरिएको कृतिमा प्रस्तुत गरिएका उनका कमीकमजोरीले उनको राष्ट्रनिर्माताको छवि भने धुमिल नहुने स्पष्ट छ। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending