Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

पाराग्लाइडिङको नयाँ गन्तव्य धुलिखेल र फुल्चोकी

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । साहसिक खेल-पर्यटनका रुपमा रहेको पाराग्लाइडिङमा उडेर मज्जा लिने युवायुवती बढ्दैछन् । कास्कीको पोखरामा सुरुआत गरिएको पाराग्लाइडिङ उडान नेपालका विभिन्न क्षेत्रमा विस्तार हुँदैछ ।

सङ्घीय राजधानी काडमाडौँबाट जम्मा ३० किलोमिटर नजिकको जिल्ला काभ्रेपलाञ्चोक अहिले पाराग्लाइडिङको गन्तव्यका रुपमा विकसित भएको छ । काभ्रेपलाञ्चोकको दुई पर्यटकीय स्थान फुल्चोकी र धुलिखेलमा यसको व्यावसायिक उडान थालिएको छ ।

तत्कालीन अवस्थामा सञ्चालनको अन्तिम तयारीमा रहेको पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका कारण २६ वर्षदेखि त्यहाँ सञ्चालित पाराग्लाइडिङ व्यवसाय अन्यौलमा परिरहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले पहिलोपटक पनौती नगरको कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडानको अनुमित दिएको थियो ।

कुशादेवी क्षेत्रमा तीन वर्षअघि ‘विहावर क्षेत्र पर्यटन महोत्सव’ का क्रममा फुल्चोकीस्थित गुर्दुम डाँडाबाट पाराग्लाइडिङको सफल परीक्षण उडान गरिएको क्षेत्र रहेकाले मन्त्रालयको अनुमतिमा व्यावसायिक उडान थालिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले गत कात्तिक १८ गते फुल्चोकी पाराग्लाइडिङको व्यावसायिक उडानको उद्घाटन गरेपछि फुल्चोकीको काभ्रेपलाञ्चोकको पनौती नगरतर्फ कुशादेवी-विहावर क्षेत्रमा केही पाराग्लाइडिङ उडान भइरहेका छन् ।

मन्त्रालयले स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई गत वर्षको साउनमा काभ्रेपलाञ्चोकको पनौती नगरस्थित फुल्चोकी क्षेत्रमै व्यावसायिक रुपमा प्याराग्लाइडिङ सञ्चालन अनुमति दिएपछि उसले पाराग्लाइडिङ उडानको तयारी थालेको थियो ।

फुल्चोकीमा मन्त्री किरातीले सहासिक खेल–पर्यटनमा यस क्षेत्र निकै सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै यस क्षेत्रको भरपुर उपयोग गर्न स्थानीय तहलाई सुझाव पनि दिएका थिए ।

यस स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ अनुमति पाएपछि नागरिक उड्डयन प्राधिकरणमा प्राविधिक प्रक्रियाको कामसँगै यस अवधिमा अन्य तयारी गरिएको प्रालिले जनायो । प्रालिका अध्यक्ष छविलाल हुमागाईंका अनुसार अनुमति पाएपछि पनि विभिन्न तयारी गर्न करिब एक वर्ष लागेको थियो ।

‘प्राधिकरणले अनुमति दिए पनि करिब एक वर्षको प्राविधिक प्रक्रियालगायतको काम सकेर व्यावसायिक रुपमा सञ्चालन थालिएको हो’, उनले भने ।मन्त्रालयले पनौती नगरको कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडानको अनुमित दिएपछि फुल्चोकी क्षेत्र साहसिक खेल-पर्यटन ‘हब’उन्मुख भएको हो ।

कुशादेवी क्षेत्रमा चार वर्षअघि नै विहावर क्षेत्र पर्यटन महोत्सवका क्रममा गुर्दुम डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको क्षेत्र हो । त्यसबेला १५ प्याराग्लाइडिङद्वारा तीन दिन परीक्षण उडान गरिएको थियो भने त्यसपछिका अन्य दुई समयमा पनि परीक्षण भइसकेको थियो ।

पटक-पटकका उडान भर्ने स्थान, ल्यान्डिङ, हावाको चाप, तथा अन्य वातावरण अनुकूल भएकाले प्रालिले त्यस क्षेत्रमा पाराग्लाइडिङ उडानको अनुमति पाएको जनाइएको छ ।

विविध कारण प्याराग्लाइडिङ सञ्चालनमा केही ढिलाइ भएको बताउँदै हुमागार्इंले दैनिक १० प्याराग्लाइडिङले बिहान १० देखि अपरान्ह ४ बजेसम्म उडान अनुमति पाएको जानकारी दिए । तोकिएको समयमा छ हजार पाँच सय फिट उचाइसम्म ‘भिजिबिलिटी’ रहने जनाइएको छ ।

प्याराग्लाइडिङ सञ्चालनपछि कुशादेवी-विहावर क्षेत्रको आर्थिक विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । प्याराग्लाइडिङ गुर्दुम डाँडाबाट उडान सुरु गरी कुशादेवीको बन्चरेटारमा ल्यान्डिङ हुन्छ ।

गुर्दुम डाँडाबाट बन्चरेटार सडकको दूरीको हिसाबले चार किलोमिटर हो । तर, प्याराग्लाइडिङको दूरी करिब एक हजार ५० मिटर छ । उडान भर्ने स्थान समुन्द्री सतहबाट दुई हजार तीन सय ५० मिटर उचाइमा छ भने ल्यान्डिङ हुने स्थान बन्चरेटार एक हजार तीन सय मिटरमा छ ।

कुशादेवी क्षेत्र तीन वर्षअघि विहावर क्षेत्र पर्यटन महोत्सवका क्रममा गुर्दुम डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको क्षेत्र हो । त्यसबेला १५ पाराग्लाइडिङद्वारा तीन दिन परीक्षण उडान गरिएको थियो भने अन्य दुई समयमा पनि परीक्षण भइसकेको थियो ।

पाराग्लाइडिङ उडानका लागि स्थानीय तीन युवालाई यस विषयमा अध्ययन गराइएको छ । “पाराग्लाइडिङले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नाका साथै यस क्षेत्र पर्यटनले प्रचारात्मक हुनेछ’, पनौती-२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले भने । उनका अनुसार पाराग्लाइडिङ उडान सुरु भएपछि कुशादेवी विहावर क्षेत्रको आर्थिक विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

फुल्चोकी क्षेत्रलाई सहासिक खेल–पर्यटनका रुपमा विकास गर्न आफूहरु नगरको योजनामा समावेदश गरी लागिपरेको वडाध्यक्ष अधिकारीले बताए । उनका अनुसार साइक्लिङ ट्रेल रुटमा खेलहरु आयोजना भइरहने छन् भने थप साहसिक खेल पाराग्लाइडिङले अनुमति पाउँदा स्थानीय हर्षित भएका छन् ।

यसअघि पनौती नगरपालिका–२ फुल्चोकी क्षेत्रमा ३५ साइक्लिङ खेलाडीले ‘मड्डी हिल डाउनिङ साइक्लिङ’ प्रतियोगितामा सहभागिता जनाएका थिए ।

नेपालमै पहिलो मानिएको उच्च पहाडी क्षेत्रअन्तर्गत काभ्रेपलाञ्चोकतर्फको फुल्चोकी जङ्गलको हिलो बाटोमा नगरको संयोजनमा आयोजित प्रतियोगितामा १२ वर्षीय बालक समेतको सहभागिता रहेको थियो । पनौती नगरको आर्थिक सहयोगमा गत वर्ष यस क्षेत्रमा साइकल रुट निर्माण गरिएको थियो ।

यस क्षेत्रमा २०७८ चैतबाट त्यस रुटमा पर्यटन प्रवद्र्धनार्थ पर्यटकीय क्षेत्र फुल्चोकी र नागीडाँडामा साहसिक खेल साइक्लिङ आयोजना थालिएको हो ।

यस साहसिक खेल नगरको १ नम्बर वडास्थित सबैभन्दा अग्लो पर्यटकीयस्थल फुल्चोकीडाँडाबाट २ नं वडाको नागीडाँडासम्म छ किलोमिटर साइक्लिङ ट्रेलरुट तय गरिएको छ । यस ‘फुल्चोकी टावर माउन्टेन बाइक ट्रेल’मा नेपाल, क्यानाडा र भारतका करिब दुई सय राइडरले साइक्लिङ गरेका थिए । त्यसयता आन्तरिक तथा बाह्य पर्यटकहरु साहासिक साइकल यात्राका लागिसमेत यो रुट रोज्ने गरेका छन् ।

नेपाल पर्यटन बोर्डले पनि पनौतीको ऐतिहासिक एवं पर्यटकीय क्षेत्र प्रवद्र्धनार्थ घुम्ने स्थान र गर्न पाइने गतिविधिलाई मान्यता दिँदै प्रचारमा ल्याएको छ ।

यस्तै, साहसिक खेल पर्यटनका लागि पनौती उपयुक्त स्थान रहेको जनाउँदै नगरमा मनोरञ्जनात्मक कार्य गर्न प्याराग्लाइडिङ, रक-क्लाइम्बिङजस्ता खेल गर्न सकिने बोर्डले जनाएको छ । बोर्डले पनौतीको ऐतिहासिक एवं पर्यटकीय स्थललाई प्राथमिकीकरण गरी प्रचारमा ल्याएको हो ।

बोर्डका अनुसार पनौती–नमोबुद्ध हाइक, बल्थली इको–ट्रेल (लो–ल्यान्ड ट्रेक), साँगा–पनौती हाइक (कम्युनिटी हाइक), गुर्दुम–महाभारत पदयात्रा, माउन्टेन बाइक (फुल्चोकी वरिपरि), बर्ड वाचिङ (चराको दृश्यावलोकन), योग रिट्रिट, सामुदायिक र निजी होमस्टे, तामाङ सांस्कृतिक पदयात्रा मार्ग, जात्रा–मेला अवलोकन भ्रमण गर्न आग्रह गर्दै आएको छ ।

यस्तै काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-९ स्थित पर्यटकीयस्थल देवीस्थान डाँडाबाट गत असार अन्तिम साता व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान सुरु गरियो ।विश्व बजार पाराग्लाइडिङ प्रालिले देवीस्थानबाट धुलिखेल नगरपालिका-८ स्थित बडाल गाउँसम्म पुग्ने करिब डेढ किलोमिटर दूरी तथा ५५ सय फिट उचाइमा उडानका लागि अनुमति प्राप्त गरेको हो ।

यस व्यावसायिक रुपमा पाराग्लाइडिङ उडानको पूर्वमन्त्री एवं काभ्रेपलाञ्चोकका सांसद गोकुलप्रसाद बाँस्कोटाले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । उनले साहसिक खेल एवं पर्यटकीय मनोरञ्जनसमेत प्राप्त हुने पाराग्लाइडिङको शुभारम्भले सङ्घीय राजधानीसँग जोडिएको काभ्रेपलाञ्चोकको विकास र समृद्धिमा थप योगदान पुग्ने अपेक्षा गरिएको बताएका थिए ।

‘देशको समृद्धिको लक्ष्यलाई धुलिखेलमा सुरु गरिएको पाराग्लाइडिङले धुलिखेलको थप चिनारीसँगै आयआर्जनमा समेत वृद्धि हुनेछ’, उनले भने । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले आवश्यक मापदण्ड पूरा भएपछि सो प्रालिलाई औपचारिक रुपमा मनोरञ्जनात्मक उड्डयन सञ्चालनको अनुमति दिएको हो ।

प्रालिका अध्यक्ष किरण कार्कीले निकै पटकको परीक्षणपछि औपचारिक उडान सुरु गरिएको बताउँदै आवश्यकता र मौसमका आधारमा पाराग्लाइडिङ उडान गरिने जानकारी दिए । उनका अनुसार पोखरामा सञ्चालन भएका पाराग्लाइडिङ कम्पनीहरुको सहकार्यमा धुलिखेलमा पनि व्यावसायिक उडान सुरु गरिएको हो ।

धुलिखेलमा एकै पटकमा छवटा उडान भर्न सकिनेछ । तोकिएको दूरीमा ३० मिनेट अवधिको उडान हुने जनाइएको छ । एक पटकको उडानबापत तिरिएको रु सात हजारमा रु ३७ लाखको दुर्घटना बीमाको व्यवस्था गरिएको कार्कीले बताए ।

साहसिक पर्यटकीय मनोरञ्जन प्राप्त हुने पाराग्लाइडिङको व्यावसायिक उडानले उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोकको विकास र समृद्धिमा थप योगदान पुग्ने धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जू बताउँछन् । उनका अनुसार पर्यटकीय स्थान धुलिखेललाई पालाग्लाइडिङले विश्वमा बजारमा थप परिचित बनाएको छ ।

देवीस्थानबाट गरिएको पाराग्लाइडिङको उडानबाट नेपालका ३३ वटा हिमाल प्रत्यक्ष रुपमा देख्न सकिन्छ । सगरमाथादेखि कञ्चनजङ्गा, माछापुछ्रे हिमाल सहजै देख्न सकिने पाइलट महेन्द्रबहादुर भट्टराईले बताए ।

उनका अनुसार टेक अफ, फ्लाइङ र ल्यान्डिङसहित सुरक्षित उडानका लागि धुलिखेल सहज र सरल पाइन्छ । करिब आधा घण्टामा विभिन्न दृश्यसहित काभ्रेपलाञ्चोक जिल्लाका धार्मिक स्थल नमोबुद्धदेखि पलाञ्चोक भगवतीस्थानसम्म, पाँचखाल, नमोबुद्ध, धुलिखेल, बनेपालगायत क्षेत्रको सहज अवलोकन गर्न सकिन्छ ।

धुलिखेलमा पाराग्लाइडिङका लागि हाल दैनिक पाइलटहरु रामकृष्ण अधिकारी, विकास अधिकारी, सुमन थापा, विष्णु तिमल्सिनाले उडान भर्ने गरेका छन् । पोखरामा नियमित व्यावसायिक उडान गरिरहेका थिए ।

अहिले भट्टराईसहित पाँचजना पाइलटले धुलिखेलमै नियमित उडान गरिरहेका हुन् । सञ्चालक किरण कार्कीलगायत युवाले पोखरामा सञ्चालित पाराग्लाइडिङ कम्पनीको सहकार्यमा रु एक करोडभन्दा बढी लगानी गरी धुलिखेलमा व्यावसायिक उडान सुरु गरेका हुन् ।

धुलिखेल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षक बन्दै गएको छ । धुलिखेलमा निर्माण भएका देवीस्थान पार्क, बलभद्र कुँवर स्मारक, हजार सिँढी तथा अन्य पार्कहरुले धुलिखेलमा घुम्न आउने र वनभोजका लागि आउने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।

धुलिखेलमा आउने पर्यटकहरुको बसाइ लम्ब्याउन पाराग्लाइडिङ निकै महत्वपूर्ण क्षेत्र भएको क्षेत्रीय होटल सङ्घ (हान) का महासचिव ज्योत्सना सैँजुको भनाइ छ ।’यहाँ आएका पर्यटकहरुलाई फरक प्रकारको मनोरञ्जन दिन र पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न पाराग्लाइडिङको व्यावसायिक उडानले सहयोग पुग्ने अपेक्षा गर्दैछौँ’, उनले भने ।

काभ्रेपलाञ्चाककै पूर्वीक्षेत्र कोशीपूर्वस्थित भम्लु गाउँपालिकामा पनि केही महिनाअघि प्याराग्लाइडिङको परीक्षण उडान गरिएको थियो । यस क्षेत्रमा प्याराग्लाइडिङ उडानको तयारीस्वरुप अध्ययन भइरहेको जनाइएको छ ।

विशेषगरी काभ्रेपलाञ्चोकमा अधिकांश पहाडी भू-भाग रहेकाले साहसिक खल प्याराग्लाइडिङ प्रवद्र्धनका लागि प्रचुर सम्भावना देखिन्छ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending