Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

सुन्तला खेती मास्दै एभोकाडो लगाउँदै इलामका किसान

खबरडबली संवाददाता

इलाम । इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन् ।

माइजोगमाई गाउँपालिका–५ सोयाङका लक्ष्मण खत्रीले १२ रोपनी क्षेत्रफलमा एक सयभन्दा धेरै एभोकाडो लगाएका छन् । ‘तीन वर्ष भएका बिरुवाले सामान्य उत्पादन दिन सुरु गरेको छ, दुई वर्ष पुराना बिरुवा धेरै छन्, गत वर्ष लगाएका बिरुवा भर्खर सर्दैछन्’, उनले भने ।

जिल्ला सदरमुकामका खगेन्द्र देवानले इलाम बजार नजिकैको सुन्तलाबारीमा एभोकाडो खेती गरेका छन् । धेरै सुन्तला फलेकाले सुन्तलाबारीको नाम रहेको उक्त गाउँमा हाल सुन्तला मासिएर एभोकाडोको पहिचानले कब्जा जमाउन थालेको उनी बताउँछन् । ‘सुन्तला विस्थापित भयो, नयाँ फलका रुपमा एभोकाडो खेती सुरु गरेका छौँ, एउटै बोटबाट एक क्विन्टलसम्म उत्पादन हुन्छ’, उनले भने, ‘एउटै झ्याङमा ८० हजारको एभोकाडो फलेको तथ्याङ्क छ ।’

यहाँका अधिकांश किसानले सुन्तलाबारी मासेर एभोकाडो खेती गर्न थालेका छन् । करिब २० रोपनी क्षेत्रफल जमिनमा अढाइ सय बिरुवा रोपिएको देवानले जानकारी दिए । उनी भन्छन्, ‘कम स्याहारले नै उच्चतम आम्दानी लिन सकिने भएपछि सहज भएको छ ।’ नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका देवान सामाजिक तथा राजनीतिक भूमिकाको अलवा कृषि कर्ममा समेत रमाउने गरेका छन् । ‘हामी राजनीति गर्नेले ढुक्क बसेर खेती गर्न समय नहुँदोरहेछ तर एभोकाडोलाई त्यति धेरै समय दिनुपर्दैन फुर्सदमा खटिँदा मात्र पनि राम्रै उपार्जन छ’, उनले भने ।

जिल्लामा यस वर्ष एभोकाडोको उत्पादन बढेको कृषि ज्ञान केन्द्र इलामले जानकारी दिएको छ । गत वर्ष चार सय १९ दशमलव २२ मेट्रिक टन एभोकाडो उत्पादन भएको इलाममा यस वर्ष चार सय २२ दशमलव पाँच मेट्रिक टन एभोकाडो उत्पादन भएको ज्ञान केन्द्रका प्रमुख टानी बर्देवाले जानकारी दिए ।

गतवर्ष ५५ हेक्टर जमिनमा खेती लगाइएको थियो भने यस वर्ष ६० दशमलव पाँच हेक्टर जमिनमा खेती गरिएको उनले बताए । उनका अनुसार गतसालको तुलनामा उत्पादकत्व भने घटेको छ । ‘गत वर्ष प्रतिहेक्टर सात दशमलव ६३ मेट्रिक टन एभोकाडोको उत्पादकत्व थियो तर यस वर्ष प्रतिहेक्टर सात दशमलव तीन मेट्रिक टन मात्र रहेको छ’, उनले भने ।

नयाँ फलका रूपमा परिचित एभोकाडो पछिल्लो समय इलामका गाउँगाउँमा समेत विस्तार हुँदै गएको माइजोगमाईका खत्रीले बताएका छन् । सो फलबाट किसानले मनग्ये आयआर्जनसमेत गर्न थालेको स्वयम् किसानको भनाइ छ । एक दशक मलेसिया बसेर स्वदेश फर्किनुभएका खत्रीले गाउँको बाँझो जमिनमा लगाएको एभोकाडो खेती यहाँको हावापानीमा एकदमै फस्टाएको बताए ।

एभोकाडो कात्तिक मङ्सिरमा नै पाक्ने भएकाले यसको बजार राम्रो भएको किसान बताउँछन् । सुरुमा रु तीन सय किलो बिक्ने एभोकाडोको बजार भाउ पनि तलमाथि भइरहन्छ । इलाम बजारमा हाल रु दुई सय प्रतिकिलो यसको खरिद बिक्री भइरहेको छ । ‘व्यापारीको दःख छैन, बगानमै आउँछन् र मुस्टमा दामकाम गरेर पनि किन्छन्’, देवानले भने ।

हाल इलाममा उत्पादित एभोकाडो इलामको स्थानीय बजार तथा झापा तथा सुनसरीमा बिक्री भइरहेको किसान तथा निजामती कर्मचारी कृष्ण लिम्बूले बताए । उनका अनुसार हाल इलामसहित, झापा, सुनसरी काठमाडौँलगायतका स्थानमा यसको बिक्री भइरहेको छ । बजारको समस्या नभएपछि पनि यस खेतीतर्फ किसानको आकर्षण बाक्लिएको हो ।

दिउँसो अन्यत्रै काम गरेर भए पनि बिहान बेलुकाको समय निकालेर खेती गर्न सकिने यो फल यस याममा मुख्य उत्पादन लिन सकिन्छ । दीर्घरोगीले समेत खान मिल्ने एभोकाडो फल लटरम्म फलेपछि एउटै बोटबाट राम्रो आम्दानी गर्न सकिने बताइएको छ । सुरुमा धनकुटाबाट ल्याएर रोप्न सुरु भएको एभोकाडो पछिल्लो समय प्रायः जिल्लाभर नै खेती विस्तार भइरहेको हो । कुनै लामो त कुनै डल्लो आकारको हुने एभोकाडो धेरै प्रजातिका हुने गरेका छन् । यसकै कुनै फल स्वादिष्ट त कुनै खास स्वाद नहुने गरेको उपभोक्ताको भनाइ छ ।

दानाबाट यसको उत्पादन लिन सकिन्छ । रुखमा फल्ने यसको फल सामान्यतया दुई सय ग्रामदेखि एक किलोसम्मको हुने गर्दछ । भित्र दानो बीचमा खानयोग्य फल र बाहिर बोक्राले ढाकेको हुन्छ । त्यस्तै एभोकाडो सजिलैसँग रोप्न सकिने कारण कृषक यस खेतीमा तानिएको रोङ गाउँपालिका–५ जिर्मलेका किसान प्रेम राईले बताए ।

एभोकाडो खेती गर्दा क्षेत्रफल भने बढी आवश्यक पर्छ । एक रोपनीमा करिब छ वटासम्म एभोकाडो रोप्न सकिने माइजोगमाईका किसान खत्रीको भनाइ छ । कात्तिक महिनामा टिप्न सुरु गरिने एभोकाडोको फल फागुनसम्म बोटमा राख्न सकिने इलामका किसान एवं राजनीतिज्ञ देवानले बताए । ठूला होटल, पर्यटक र सहर बजारका बासिन्दाले प्रायः एभोकाडोलाई मुख्य फलको रुपमा उपभोग गर्न थालेको होटल व्यवसायी नवीना कार्कीले बताएका छन् ।

यसमा भिटामिन र खनिजतत्व पर्याप्त मात्रामा पाइन्छ भने एभोकाडोको भित्री र बाहिरी भाग दुवै प्रयोग गर्न सकिन्छ । विज्ञका अनुसार, एउटा एभोकाडोमा ६४ क्यालोरी हुन्छ । यसमा छ ग्राम चिल्लो, तीन÷चार ग्राम कार्बोहाइड्रेट, एक ग्रामभन्दा कम चिनी र तीन ग्राम फाइवर हुने गरेको छ । एभोकाडोमा भिटामिन ‘सी, ई, के, बी’ पाइने जनाइएको छ । राइवोप्लाविन, नियासिन, फोलेट, पयान्टोथेनिक एसिड, म्याग्नेसियम र पोटासियम पनि यो फलमा पाइन्छ । साथै बिटाक्यारोटिन र ओमेगा–३ चिल्लो एसिड पनि यसमा पाइन्छ । एभोकाडो पूर्णरूपमा स्वास्थ्यवर्धक मानिन्छ । यसले रगतमा ग्लुकोजको मात्र नियन्त्रण गर्न मद्दत गर्ने जनाइएको छ ।

जिल्लामा उत्पादन भएको एभोकाडोलाई देशका विभिन्न ठाउँमा प्रवद्र्धन गर्नका साथै प्रचारप्रसार गर्न र किसानलाई हौसला प्रदान गर्न कृषि ज्ञान केन्द्रले समन्वय र सहयोग गर्दै आएको छ । बिरुवा रोपेको तीन वर्षदेखि नै उत्पादन दिन सुरु गर्ने र मूल्य पनि राम्रो पाइने भएपछि कृषक यसतर्फ आकर्षित भएको ज्ञान केन्द्रका प्रमुख बर्देवाले बताए । एभोकाडोको जुस बनाएरसमेत उपभोग गर्न सकिन्छ ।

समुद्री सतहबाट दुई हजार पाँच सय मिटरसम्म यसको खेती गर्न सकिन्छ । बिरुवा रोपेको केही वर्षभित्रै उत्पादन दिने भएकाले यहाँका किसानले पाखोबारी, कान्ला र खोला छेउमा एभोकाडो रोपेर नियमित आम्दानीको स्रोत बनाउन थालेका छन् । चार नगरपालिका र छ गाउँपालिका भएको इलामका सबै स्थानीय तहमा एभोकाडोको आंशिक खेती हुन सुरु भएको ज्ञान केन्द्रले जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँच महिनामा थपियो सवा खर्ब सार्वजनिक ऋण

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा करिब सवा खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार सार्व...

रवि–बालेन अब ‘एउटै गाडी’मा

काठमाडौं । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थिति र आसन्न निर्वाचनलाई केन्द्रमा राखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठ...

दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी । यहाँको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्र...

रवि र बालेनबीच ‘वान–टु–वान’ वार्ता, निवासमा भेट गराएका आशिफले भने : कथाको सुखद् सुरूआत भएको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच करिब ६ घण्टा ‘वान–टु–वान’ ...

मेची भन्सार कार्यालयः पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्...

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा। गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । एक सय ३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्...

चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट

काठमाडौँ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गएको पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ को सातौँ ...

शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित, विद्यालयमा बिदा

रौतहट। विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका...

निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौँ । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending