Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

छठमय मिथिला- उल्लासमय वातावरण

खबरडबली संवाददाता

महोत्तरी । छठ पर्वले मधेसका महोत्तरीसहितको मिथिला क्षेत्र अहिले धपक्क बलेको छ । यहाँका सहर र गाउँबस्ती सजिएका छन् । जलाशयमा बनाइएका चित्ताकर्षक घाट र त्यहाँको चहलपहलले सबैलाई आकर्षित गरेको छ । विभिन्न रङका कलात्मक बिजुलीको उज्यालोले मिथिला क्षेत्र जगमगाएको छ ।

मिथिलाका बासिन्दा सडक, ढल सफा गर्न जुटेका छन् । गाउँ बस्तीका कच्ची घर पनि अहिले नयाँ माटोले लिपपोत गरिएपछि टिलिक्क भएका छन् । विपन्न वर्गमा दुःख भए पनि अहिलेलाई त्यो लुकेको छ । गाउँका गरिब अभाव, दुःख  र अन्य पीडा बिर्सेर खुसी साटी रहेका देखिन्छन् ।

भगवान् सूर्य र षष्ठी देवीको उपासना गरिने यो पर्वका लागि अहिले पवित्र जलाशयमा सुन्दर घाट बनाइएका छन् । जलाशयमा कम्मरसम्म डुब्ने पानीमा आसन जमाएर सूर्यलाई अघ्र्य दिइने परम्पराको यो पर्वमा घाटस्थलहरु अहिले बेहुली झैं सिङ्गारिएका छन् । हिजो बिहीबार  कात्तिक शुक्ल तृतीयाका दिन ‘अरबाअरबाइन’ विधिबाट पर्वको तयारी थालेका बर्तालुले आज शुक्रबार कात्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधि गरेका छन् । ‘नहाय–खाय’ विधि व्रत सङ्कल्पका लागि पवित्र स्नान गरेर चोखोनीतो खाएर व्रतको पूर्वतयारीसँग जोडिने यहाँका पाका मैथिल बताउँछन् ।

पर्वको तयारीले मिथिला क्षेत्रका गाउँ नगर बस्तीमा भगवान् सूर्य र छठी माताको भक्तहरुप्रति करुणा वर्षिएको भावका गीत लगातार गुञ्जीरहेका छन् । पर्व सुरु भएसँगै यस भेगका सबै दैनिक गतिबिधि पनि छठ केन्द्रित भएका छन् । यसले सम्पूर्ण परिवेश नै छठमय बनेको छ ।

पर्वविशेषले सूर्यलाई अघ्र्य दिदा देखाइने ठकुवा, भुसुवालगायत परिकार पकाउन आवश्यक सामग्रीको जोहोमा बर्तालु परिवार व्यस्त छन् । पर्वका लागि आवश्यक सामग्रीको जोहो हुँदैछ । पर्वको मुख्य दिन निराहार व्रत गरिने षष्ठी तिथि भएपनि त्यसपूर्व नै मिथिलाको सम्पूर्ण परिवेश छठमय बनेको छ । पर्वको तयारीमा रहेका बर्तालुु मात्र नभएर मैथिल जनजीवनका सबैजसो गतिविधि पर्वकै तयारीमा केन्द्रित छन् । 

छठपर्वमा उखु, केरा, अदुवा, बेसार, ज्यामिर, भोगटेसहितका कृषि उपज पूजा सामग्री मानिदै आएका छन् । यसले थोरै जग्गा भएका गरिबले करेसाबारीमै उब्जाएका यी फसलले राम्रो बजार पाउने गरेका छन् । पर्वका अन्य आवश्यकता आफ्नो करेसाबारीका यिनै उपज बेचेर सजिलै पूरा गरिएको आफैँ पनि छठ व्रत गरेकी महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरकी हेमकली थारुले बताइन् ।   

काम गर्न टाढा पुगेका परिवारजन पर्वका लागि घर आएका छन् । पर्वले सबै परिवारजन र आफन्तसँग भेटघाट गराएको छ । यसअघिका जीवनमा भोगिएका सबै अभाव र दुःख बिर्सेर गरिब पनि आफ्नो क्षमताअनुसार पर्व मनाउन जुटेका छन् । छठको अर्को विशेषता घर परिवेशको स्वच्छता एवं शुद्धता रहेको यस भेगका बुढापाका बताउँछन् । “आर्थिक रुपमा कोही सम्पन्न वा कोही गरिब हुन सक्छन्” महोत्तरीको भङ्गाहा नगरपालिका–६ हतिसर्वा सङ्ग्रामपुरका बासिन्दा ६५ वर्षीय राजकिशोर यादवले भने, “तर घर परिवेशको स्वच्छता र सरसफाइमा सबैले ध्यान दिएका छन् ।”

पर्वको अर्को सामाजिक विशेषता आपसी मनोमालिन्य हट्नु र प्रेमभाव देखिनु रहेको छठ तयारीलाई नजिकबाट नियालेका अन्य फरक धर्मावलम्बीको बुझाइ छ । “एक ठाउँमा बसेपछि गृहस्थ जीवनमा ठाकठुक त कहिलेकाँही पर्छ” जिल्लाको बलवा नगरपालिकाको रौजाका बासिन्दा सामाजिक, राजनीतिक कार्यकर्ता इस्लाम धर्मावलम्बी मन्सुल कवारीले भने, “तर छठ पर्वको तयारी सुरु भएपछि बोल्न छाडेका छिमेकी पनि विनम्र भएर कुराकानी गर्ने गर्छन् ।” 

पर्वमा शुद्धता, स्वच्छता, श्रद्धा र निष्ठाको मूलभाव रहने भएकाले नै छठ पर्वभरि सामाजिक किचलो र झैझगडा पनि कम देखिने, सुनिने गरिएको महोत्तरीकै जलेश्वर–६ बखरी बस्तीका बासिन्दा यस क्षेत्रका प्रसिद्ध साहित्यकार  ८४ वर्षीय पूर्वप्रशासक महेश्वर रायको ठम्म्याइ छ । खासगरी मिथिलामा छठ पर्व नजिकिएसँगै सामाजिक, सांस्कृतिक र पारिवारिक परिवेश नै सङ्गीतमय र भक्तिमय बन्ने गरेको छ ।

विधिको गणनाले कात्तिक शुक्ल तृतीयादेखि सप्तमीसम्म पाँच दिनको हुने यो पर्वमा क्रमशः अरबाअरबाइन, नहाय–खाय, खरना, सझुका अरख र भोरका अरख मुख्य विधि मानिन्छन् । तृतीयाका दिन बर्तालुले उसिना चामल, माछामासु, कोदो, लसुन–प्याज खान छाड्छन् । यसलाई ‘अरबाअरबाइन’ भनिन्छ । चौथीका दिन बर्तालुले हात गोडाका नङ काटेर स्नान गरेर व्रत सङ्कल्प गर्दै चोखो खान्छन् । 

यो विधिलाई ‘नहाय–खाय’ भनिन्छ । त्यसैगरी पञ्चमी तिथिमा राती एकछाकमात्र अलिनो खानेकुरा खाएर बर्तालुले ‘खरना’ विधि गर्दछन् । पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउँदा सूर्यलाई अघ्र्य दिने ‘सझुका अरख’ सम्पन्न गरिन्छ । अन्तिम दिन सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिने ‘भोरका अरख’ विधि भएपछि  पर्व समापन गरिने परम्परा छ । 

नेपाली समाजमा अझै निर्मूल हुन बाँकी जातीय छुवाछुत र उचनिचको भेदभाव पनि यो पर्वमा सबैका निम्ति समान छ । “ छठ घाटमा फरक जाति समुदायका बर्तालु आआफ्ना पूजा र प्रसाद सामग्री फिजाएर बस्छन्, यो बेला को छुत को अछुत भन्ने कसैले वास्ता गर्दैनन्”, भङ्गाहा–३ का बासिन्दा समाजशास्त्री शिवराज दाहालले भने, “छठ पर्वमा देखिने यो अति नै सुन्दर पक्ष लाग्छ ।” दाहालले अगाडि भने, “अन्य बेला उचोनिचो भनेर नाक खुम्च्याउने पनि सप्तमीका दिन बिहान घाटमा पर्व सम्पन्न गरेपछि दलित समुदायका बर्तालुले कथित उपल्लो जाति समुदायका भनिने दर्शकलाई प्रसाद स्वरुप ठकुवा, भुसुवा दिने र पाउनेले खुशीसाथ ग्रहण गरेका देखिन्छ ।”

षष्ठी तिथिका दिन साँझ ‘सझुका अरख’ दिनसँगै सप्तमीका दिन बिहान ‘भोरका अरख’ दिउञ्जेलसम्म बर्तालुले सूर्य र छठी देवीको महत्ता झल्कने गीत गाएर आआफ्ना मनोकाङ्क्षा पूरा गरी दिन पुकारा गर्छन् । उपासकको इच्छित माग पूर्ति गर्ने भगवान सूर्यको उपासनाले सन्तान सुख र रोगव्याधी नलाग्ने हिन्दू मैथिल जनविश्वास रहेको छ । 

केही वर्ष पहिलेसम्म मधेसी मूलका हिन्दूहरुले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते मूलका हिन्दू र इस्लाम धर्मावलम्वीले मनाउन थालेपछि छठ पर्व साझा बनेको यस क्षेत्रका वुद्घिजीवीको भनाइ छ । इस्लाम धर्मावलम्वीले भाकल गरेर अघ्र्य र प्रसाद सामग्री सूर्यलाई देखाइ दिन बर्तालु हिन्दूलाई अराएका बाक्लै देखिन्छ । अब छठ पर्व मुलुकको राजधानीसहित विभिन्न भेगमा धुमधामसँग मनाउन थालिएसँगै राष्ट्रिय पर्व बनेको आम मैथिल गर्वसाथ बताउँछन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अब दुई कार्य दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौँ । राहदानी विभागले अब दुई कार्य दिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै ...

तराईमा बाक्लो हुस्सु र कुहिरो केही दिन कायम रहने

काठमाडौँ । तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम र...

निर्वाचन ७१ दिन बाँकी: चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरू

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूले आन्तरिक तयारीलाई तीव्र पारेका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा र प्र...

सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौँ । सरकारले निर्वाचनको वातावरण बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीको कार्यालय अनुग...

पाँच महिनामा थपियो सवा खर्ब सार्वजनिक ऋण

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा करिब सवा खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार सार्व...

रवि–बालेन अब ‘एउटै गाडी’मा

काठमाडौं । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थिति र आसन्न निर्वाचनलाई केन्द्रमा राखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठ...

दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी । यहाँको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्र...

रवि र बालेनबीच ‘वान–टु–वान’ वार्ता, निवासमा भेट गराएका आशिफले भने : कथाको सुखद् सुरूआत भएको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच करिब ६ घण्टा ‘वान–टु–वान’ ...

मेची भन्सार कार्यालयः पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending