Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

निर्माण सम्पन्न नहुँदै भत्किन थाल्यो भक्तपुर–नगरकोट सडक

खबरडबली संवाददाता

भादगाउँ । भक्तपुरको कमलविनायक–नगरकोट सडक निर्माण सम्पन्न नहुँदै ठाउँठाउँमा भत्किन थालेको छ । सडक निर्माणमा आयोजना, निर्माण व्यवसायी, स्थानीय पालिका, प्रशासन, स्थानीय बासिन्दा र सरोकारवालाहरुबीच समन्वय र सहकार्य हुन नसक्दा सडक ठाउँठाउँमा भत्किन थालेको हो ।

सडक निर्माण सम्पन्न भएका केही स्थानमा निर्माण व्यवसायी, आयोजना, स्थानीय उद्योग, जग्गा प्लटिङ व्यवसायी र स्थानीयवासीले लापरबाही गर्दा उक्त सडक निर्माण सम्पन्न नहुँदै विभिन्न स्थानमा भूक्षय भई सडक भत्किन थालेको छ ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सर्वदलीय राजनीतिक संयन्त्र, सडक निर्माण आयोजना, निर्माण व्यवसायीका प्रतिनिधि र सञ्चारकर्मीहरुको संयुक्त टोलीले गरेको सडक अनुगमनका क्रममा नेपाली सेनाको खरीपाटी ब्यारेक नजिकको घुमाउने, चाँगुनारायण नगरपालिका–६ बास्तोला गाउँ युटर्न रेष्टुरेन्ट नजिक, बाघमारा, नगरकोट बसपार्क नजिकलगायत स्थानमा सडक भत्किन र भासिन थालेको भेटिएको हो ।

खरिपाटी सेनाको ब्यारेक नजिक शिवशिखर बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको वेभरेज र खाद्य उद्योगबाट निस्किएको पानी लापरबाहीपूर्वक सडकमा छोड्दा उक्त स्थानमा भूक्षयले सडक भासिन थालेको छ । उक्त उद्योगबाट निस्किएको पानीलाई ड्रेन बनाई कटाउने प्रयास गर्दा नेपाली सेनाले आफ्नो जग्गामा सडकको पानीको निकास लिन नसक्ने भन्दै रोक लगाएपछि उक्त स्थानमा भूक्षय हुन थालेको भक्तपुर–नगरकोट–सिपाघाटरबालाजु–त्रिशूली सडक योजनाका सब–इन्जिनियर सुनिता धुकुछुले बताइन् ।

“पटक पटक सेनासँग पानीको निकासका लागि आग्रह गर्दा मान्नुभएन । उद्योगलाई पनि पटक पटक पानी नपठाउन आग्रह गर्दासमेत अटेर गरेको छ,” उनले भनिन् ।

यसैगरी नगरकोट बास्तोला गाउँ युटर्न रेष्टुरेन्ट नजिक नगरकोट सडकको माथिल्लो भिरालो डाँडामा जग्गा प्लटिङ गरेको र सो प्लटिङबाट खस्न थालेको पहिरोले नगरकोट सडकलाई क्षति गर्न थालेको छ । वर्षा हुने बित्तिकै प्लटिङबाट भेल बगेर आउने र सो भेलले लेदोसहितको माटो बगेर सडक अवरुद्ध पार्ने गरेको छ । सडकको माथिबाट बगेर आउने लेदोले बाटोको मुनिको भागमा भूक्षय हुन थालेको छ । प्लटिङबाट बगेर आउने माटोले सडक दुर्घटनाको समेत जोखिम बढेको छ ।

अत्यन्त भिरालो जग्गामा भएको प्लटिङ अवैध भएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । प्लटिङ भइरहेको जानकारी आउनासाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई काम रोक्न निर्देशन दिइएको जानकारी दिए । अहिले प्लटिङको काम रोकिएको अवस्था छ ।

यस्तै नगरकोट बाघमारामा नगरपालिकाले नै सहायक सडक निर्माण क्रममा सडकको ड्रेनलाई व्यवस्थित नगर्दा उक्त ड्रेनको पानी मुख्य सडकमा आउने गरेको र सो पानीले सडकको अर्को किनारमा भूक्षय हुन थालेको छ । भूक्षयले सडक चर्किनका साथै भासिन थालेको र कुनै पनि बेला ठूलो भूक्षय गई बाटो अवरुद्धसमेत हुन सक्ने देखिएको छ ।

नगरकोटकै एक स्थानमा स्थानीयबासीले घर जाने सहायक मार्ग बनाउने क्रममा नगरकोट सडकको ड्रेन नै पुरीदिँदा सडकको अर्को किनारमा ठूलो भूक्षय गएको छ । आयोजनाले हाल सो स्थानमा सेरवाल लगाएर रोकथाम गरिसकेको छ । तर पनि ड्रेनको निकास नहुँदा जोखिम रहेको छ ।

नगरकोट बसपार्क नजिक एक व्यवसायीले आफ्नो जग्गामा जाने सहायक मार्ग निर्माण गर्दा नगरकोट सडकको ड्रेन पुरीदिँदा अर्को किनारमा भूक्षय भई सडक भत्किन थालेको छ । 

अनुगमनमा सहभागीहरुले सडक निर्माणका क्रममा आयोजना र निर्माण व्यवसायीले स्थानीय पालिका, प्रशासन र स्थानीय जनतासँग सहकार्य र समन्वय नगरेको पाइएको प्रतिक्रिया दिए । अलिकति मात्र समन्वय र सहकार्य भएको भए निर्माण सम्पन्न नहुँदै सडक भत्किने समस्या आउन नसक्ने निष्कर्ष अनुगमनकर्ताहरुको थियो ।

चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले नगरपालिकाले नै ताकेता गर्दा पनि आयोजना र निर्माण व्यवसायी समन्वयका लागि नआएको बताए । “जहाँ समस्या आउँछ त्यहाँ नगर प्रमुख र उपप्रमुख स्वयम् उपस्थित भएर समस्या समाधान गरिदिन्छौँ । सडक छिटोभन्दा छिटो निर्माण सम्पन्न हुनुपर्‍यो भन्दा पनि उहाँहरु आउनुहुन्न,” उनले भने ।

यसैगरी अनुगमनकर्ताहरुले सडकको गुणस्तरमा समेत आशङ्का व्यक्त गरेका छन् । सडक निर्माण भई कालोपत्र भएका धेरै स्थानमा कालोपत्र उप्किएर खाल्डाखुल्डी परेको देखिएपछि सडकको गुणस्तरका बारेमा आशङ्का पैदा भएको हो ।

“अनुगमनका क्रममा ठाउँठाउँमा सडक खाल्डाखुल्डी परेको देखियो । यसको प्राविधिक पक्ष र गुणस्तरका बारेमा छुट्टै नापजाँच होला तर सरसर्ती हेर्दा गुणस्तरमा शङ्का उत्पन्न भएको छ,” नेपाली कांग्रेसका जिल्ला सचिव सुशील बस्नेतले भने ।

नेकपा एमालेका जिल्ला अध्यक्ष वचन देउजाले सडकको गुणस्तरका बारेमा प्राविधिक जाँच गर्नुपर्ने देखिएको बताए । यस्तै नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सुनिल बासुले जुन खालको कालोपत्र नगरकोट सडकमा गरियो, यस्तो कालोपत्र यहाँको भूबनोटमा अनुकूल नभएको हो कि भन्ने आशङ्का व्यक्त गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सहमहामन्त्री रवीन्द्रप्रताप शाहले सडक निर्माणमा भएको ढिलाइ र पटक पटकको म्याद थपले नेपालको ठेक्का प्रणाली नै नमिलेको बताए । नेमकिपाका जिल्ला अध्यक्ष न्हुच्छेभक्त फोजु, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक रामेश्वर बस्नेतलगायतले सडक छिटो निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्न आयोजनालाई आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी रिजालले निर्माण व्यवसायीले स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, सरोकारवाला निकायसँग समन्वय नगरेको पाइएको बताए । उनले सडक निर्माण अन्तिम चरणमा पुगेको देखिए पनि ठाउँठाउँमा भत्किन थालेकाले यसको गुणस्तरको परीक्षण हुनुपर्ने देखिएको प्रतिक्रिया दिए ।

आयोजनाका  सब–इन्जिनियर धुकछुले सडकको काम ९४ प्रतिशत सम्पन्न भएको बताउँदै नगरकोट बसपार्कको करिब चार सय मिटरको काम सम्पन्न भएपछि आयोजनाको काम पूरा हुने जानकारी दिइन् ।

सडक निर्माण कम्पनी शैलुङ् कन्स्ट्रक्सनका सुपरभाइजर अनुप अधिकारीले बाँकी रहेको चार सय मिटरमा रहेको विद्युत्को पोल हटाउन प्राधिकरणमा रकम जम्मा गरिसकेको जानकारी दिँदै पोल हटाएपछि वर्षा रोकिने बित्तिकै सडकको निर्माण सुरु गरी तोकिएको म्यादभित्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने बताए ।

कमलविनायकदेखी नगरकोटसम्मको करिब १६ किलोमिटर लामो उक्त सडक सुधार एवम् विस्तारका लागि भारतीय निर्माण कम्पनी एआइपिएल र नेपाली निर्माण कम्पनी शैलुङ्ग कन्स्ट्रक्सनले संयुक्तरुपमा ठेक्का लिएको थियो । 

कूल रु ५२ करोड ९६ लाखको लागतको उक्त सडक एआइपिएल र शैलुङ्गले २०७१ जेठमा रु ३१ करोड ५२ लाख ९२ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७३ असार ३ गते निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

भारतीय बैंक एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण सुरु भएको उक्त सडकका लागि  पटक पटक म्याद थप भइसकेको छ । ठेक्का म्याद थपसँगै लागतसमेत बढेको छ । रु ३१ करोड ५२ लाख ९२ हजारमा ठेक्का सम्झौता भएको उक्त सडकको पछिल्लो संशोधित ठेक्का रकम करिब रु ३६ करोड पुगेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने

बागलुङ। बागलुङमा दुई वटा अस्थायी मतदान स्थल तय गरिएको छ । १०७ मतदानस्थल र २३० मतदान केन्द्र रहेको बागलुङमा थप दुई अस्थायी मतदानस्थल थप गरेर कैदीबन्दी ...

११ दल र एक हजार ९८६ उम्मेदवारले मात्र खोले बैंक खाता

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ९८६ जना उम्मेदवार...

गृहमन्त्री अर्यालद्वारा उच्च अधिकारीसहित मतदान केन्द्रहरूको अनुगमन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित ललितपुरका दुर्गम क्षेत्रका मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री अर्याल, गृह...

ललितपुरमा निर्वाचन गस्तीमा खटिएको प्रहरी टोलीमाथि आक्रमण, चार जना पक्राउ

काठमाडौं । ललितपुरमा निर्वाचन गस्तीमा खटिएको प्रहरी टोलीमाथि केही व्यक्तिहरूले आक्रमण गरेका छन्। महालक्ष्मी नगरपालिका–७ चाँगाथली क्षेत्रमा प्रहरी प...

भक्तपुरको चाँगुनारायणमा कार दुर्घटना, तीन जनाको मृत्यु

भक्तपुर । चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालयनजिक सोमबार दिउँसो भएको कार दुर्घटनामा घाइते पाँचमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको ...

सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी

इस्लामाबाद। पाकिस्तानले अफगानिस्तानसँगको जारी सीमापार युद्ध पाँचौँ दिनमा प्रवेश गरेको अवस्थामा ६७ अफगानी सुरक्षाकर्मी मारिएको दाबी गरेको छ । दक्षिणपश्...

निर्वाचनको सम्पूर्ण तयारी पूरा : २३ हजार बढी मतदान केन्द्रमा पुगे कर्मचारी

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार क...

'उडान अनिश्चत भएपछि न भोट हाल्न पाइने भो, न विदेश जान’

काठमाडौँ । देश निर्वाचनको सम्मुखमा छ । काठमाडौँबाट मतदान गर्ने उत्साह बोकेर घर फर्किनेहरू बढ्दैछन्, तर इटहरीका सन्तोष तामाङ भने हातमा पासर्पोट र हवाई ...

मतदानका दिन मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मतदानका दिन मौसम मुख्यतया सफा रहने बताएको छ । महाशाखाले मङ्गलबार साँझ जार...

जुत्ता चप्पल उद्योगमा ओली, उद्योग प्रोत्साहन गर्ने प्रतिवद्धता

दमक। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गरेको छन्। दमक –४ मा रहेको एक्सन फुट वयेरमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE