Khabar Dabali ३० बैशाख २०८३ बुधबार | 13th May, 2026 Wed

दुर्गमको व्यथा- विद्यालय पुग्न चार घन्टा पैदल

खबरडबली संवाददाता

बागलुङ । बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ भित्रीवनका ललिता छन्त्याल बिहानै ७ बजे विद्यालय अध्ययनका लागि हिँड्छन् । तमानखोला गाउँपालिका–५ खुङ्खानीस्थित शान्ति माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छन्त्याल बिहानै उठेर विद्यालय हिँड्न थालेको एक वर्ष बित्यो ।

गाउँकै डिल्ली प्राथमिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गर्नुभएका छन्त्याल एक घन्टाको पैदलयात्रामा पुगिने विष्णु आधारभूत विद्यालयमा कक्षा ८ सम्म अध्ययनपश्चात अर्को वडामा पुगेर कक्षा ९ देखि शान्ति माध्यमिक विद्यालय खुङ्खानीमा अध्ययन गर्दै आएका छन्। 

भित्रिवनमा कक्षा ५ सम्मको मात्रै विद्यालय भएकाले दैनिक चार घन्टा आउजाउको पैदलयात्रापछि मात्रै शान्ति माध्यमिक विद्यालयमा आएर अध्ययन गरिरहेको ललिता छन्त्यालको भनाइ छ । छन्त्यालका अनुसार गाउँमै माध्यमिक शिक्षासम्मको अध्यापन नहुँदा बिहान दुई घन्टा र बेलुका दुई घन्टा हिँडेर विद्यालयमा आएर अध्ययन गर्ने गरेको बताए । 

“बिहानै उठेर विद्यालय हिँड्नुपर्छ, बेलुका घर पुग्दा साँझ परेको हुन्छ, हिँड्दाहिँड्दै थाकिन्छ, गृहकार्य गर्ने समय नै हुँदैन, दिउँसो खाजा खाने समयमा गृहकार्य गर्ने गरेकी छु, विद्यालय टाढा हुँदा अतिरिक्त क्रियाकलाप गर्न सकिँदैन, १० कक्षामा अतिरिक्त कक्षा सुरु भएपछि घरबाट विद्यालय आउन भ्याइँदैन यही कोठा खोजेर अध्ययन गर्न बस्ने हो”, छन्त्यालले भने, “परीक्षाको समयमा विद्यालयले नै यही राख्ने व्यवस्था मिलाउने छ, अघिपछि बस्नु परे कोठा भाडामा लिएर बस्नुपर्दछ ।”

छन्त्यालमात्रै होइन, तमानखोला गाउँपालिका–६ पात्लेखेतका रुप घर्ती घरबाट आउजाउ गरेर विद्यालय अध्ययन गर्न नसकेपछि आफन्तकै घरमा बसेर शान्ति माविमा अध्ययन गर्छन्। कक्षा ५ सम्म आफ्नै गाउँको मालिका प्राथमिक विद्यालयमा अध्ययन गर्नुभएका घर्ती ६ देखि ८ सम्म विष्णु आधारभूतमा अध्ययनपश्चात अहिले खुङ्खानी आएर कक्षा १० मा अध्ययन गर्दै आएका छन्। 

“आफ्नो वडामा ८ कक्षामाथि पढाइ हुँदैन, अध्ययन गर्नका लागि ६ नं वडा बाट ५ मा पुग्नुपर्ने हुन्छ, विद्यालय आउजाउमै समय खर्च भएपछि खुङ्खानीमा रहेका आफन्तको घरमा बसेर अध्ययन गर्दै आएको छु”, घर्तीले भने, “विद्यालय टाढा भएपछि शुक्रबार र शनिबारमात्रै घरमा पुग्ने गर्दछु, बर्खाको समयमा पहिराले बाटो नहुँदा बाटोबाटै घर फर्कनुपर्ने अवस्था हुन्छ ।”

अत्यधिक वर्षा र हिमपातजस्ता प्राकृतिक प्रकोपको समयमा विद्यालय पुग्न नसक्ने विद्यार्थीको भनाइ छ । वडा नं ६ को पात्लेखेत र भित्रिवनबाट खुङ्खानीको विद्यालयमा आउन र जान दैनिक चार घन्टा पैदल हिँड्नुपर्दछ भने नर्जाखानीबाट आउन जान दुई घन्टाको पैदलयात्रापछि विद्यालय पुग्न सकिन्छ । नर्जाखानीमा ८ देखि १० सम्म अध्ययन हुने विद्यालय नुहँदा खुङ्खानी पुग्नुपर्ने बाध्यता छ । 

खुङ्खानीको सोही वडाकै गाउँ थास्पुरीबाट विद्यालय आउन जान दैनिक दुई घन्टा लाग्ने गरेको कक्षा १० मा अध्ययन गर्ने विपना सुन्चौरीले बताए । विद्यालय आउनजानै धेरै समय खर्च हुने भएकाले राम्रोसँग गृहकार्य गर्न नपाउने सुन्चौरीको भनाइ छ । वर्षा र बाढीपहिराको समयमा विद्यालय आउन जानै समस्या हुने गरेको सुन्चौरीको भनाइ छ ।

पछिल्लो समय विद्यालयको शैक्षिक अवस्था सुधार हुँदै गए पनि दुर्गमका कारण अझै टाढाबाट विद्यालय आउनुपर्ने बाध्यता रहिआएको शान्ति माविका प्रधानध्यापक सत्यनारायण सिंहले जानकारी दिए । 

“अहिले विद्यालयमा प्रविधिमैत्री तरिकाले अध्ययन अध्यापन हुँदै आएको भए पनि नर्जाबाट २५, भित्रिवनबाट १२ र पात्लेबाट छ जना घन्टौँ पैदलयात्रापछि यहाँ अध्ययन गर्न आउने गरेका छन्”, उनले भने, “नर्जाबाट आउन जान दुई घन्टा लाग्छ तर भित्रिवन र पात्लेबाट आउन जान झन्डै चार घन्टा लाग्ने गरेको छ, परीक्षाको समयमा विद्यालयमै बस्नेखाने व्यवस्था मिलाउने तयारी विद्यालयको छ ।”

भौगोलिकरूपमा निकै विकट तथा थोरै जनसङ्ख्या भएकाले तमानखोला गाउँपालिकामा माध्यामिक तहका जम्मा तीनवटा मात्रै विद्यालय भएकाले कक्षा ९ र १० अध्ययन गर्नका लागि छ वडामध्ये तीनवटा वडाका विद्यार्थी छिमेकी वडामा पुग्नुपर्ने बाध्यता रहेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए । 

आधा दशक अगाडिसम्म जीर्ण भवन, खानेपानी र शौचालयको अभावमा गुज्रिएको यस विद्यालयले अहिले भौतिकरूपमा मात्रै होइन, शैक्षिक गुणस्तरमा मुहार फेरेको गाउँपालिकाको भनाइ छ । गाउँपालिकाले शिक्षा क्षेत्रमा ठूलो लगानी गरेको भन्दै लगानीअनुसार शान्ति माविले प्रतिफल दिन थालेको उनको भनाइ छ । 

कक्षा १० सम्म पढाइ हुने यस विद्यालय विसं २०२१ मा स्थापना भएको थियो । विसं २०४२ देखि निम्नमाध्यमिक र २०६४ बाट माध्यमिक तह पढाइ हुँदै आएको छ । यहाँ १० कक्षासम्म पढाइ सकेर उच्च शिक्षाका लागि यहाँका विद्यार्थी पालिकाको केन्द्र रहेको बोङ्गा दोभानस्थित जनजागृति मावि पुग्नुपर्छ । विद्यालयमा हाल दुई सय ८८ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा प्रोजेक्टरबाटै अध्यापन गराउन थालिएको छ भने कम्प्युटर शिक्षा, विज्ञान प्रयोगशाला र गाउँपालिका अध्यक्ष पुस्तकालय कार्यक्रम सञ्चालित छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending