आमा पुस्ता भन्छन्ः ‘छोरी, बुहारीले वर्षभर रमाइलो गरेकैले तीजको महत्व बुझेनन्’
भाद्र १३ गते, २०७९ सोमवार 29th August, 2022 Mon१५:२४:३४ मा प्रकाशित
खबरडबली संवाददाता
काठमाडौँ ।
‘माइत जाने बेला भयो कुनकुन सारी लाउने हो
बिदा दिनुस् सासूबज्यै कहिले आउने हो’
धादिङको ८७ वर्षीया बिन्दा पाठक आफ्ना पालाको यो गीत घरमा आइपुग्ने सबैलाई सुनाउँछीन् । आफ्ना छोरी, बुहारी र नातिनीहरुले स्पिकरमा बजाएका गीत चित्त नबुझेर उहाँ आफ्नो समयको गीत गुनगुनाउछिन् । त्यतिबेला उनी तीन दिनसम्म तीज गीत गाउथिन् । अहिले उनका सन्तानले त्यो भाका टिप्न जानेका छैनन् । आमा र दिदीहरुबाटै सुनेरै गीत सिकेको विन्दाले पहिलेका गीतले ग्रामीण परिवेशमा घरघरमा भइरहेको महिला हिंसाको झल्को दिन्थ्यो । परिवार र समाजले महिलामाथि गरेको विभेदको झल्को गीतमा हुन्थ्यो । एउटी छोरीले अर्का (श्रीमान्) को घरमा पाएको दुःख कष्टको अभिव्यक्ति पाइन्थ्यो ।
समाज बदलिएसँगै तीज मनाउने तरिका, भाका, नाच, खाइने खानकुरा, लगाउने लुगा सबैमा परिवर्तन आइसकेको छ । हामीले यसरी तीज मनाउने गरेका थियौँ भन्ने कुरा अहिलेका पुस्ताका लागि कथा जस्तै बनेको छ । धेरैले त अग्रजका अनुभव सुन्न चासो नै दिँदैनन् । चासो लिएर सुन्नेले पनि त्यसको मर्म नबुझेको पुरानो पुस्ताको गुनासो छ ।
‘स्वतन्त्रताको अधिकार’ कानुनले सुनिश्चित गर्नु पहिले नै तीज त्यसलाई कार्यान्वयन गर्ने अवसरका रुपमा रहेको थियो । वर्षभर श्रीमान्को घरमा भएको थिचोमिचो महिलाले गीतमार्फत व्यक्त गर्दथे । अहिले कतिपय महिला व्रत बस्दैनन् । कतिले निराहार व्रत बस्ने गरेका छन् भने कतिपयले आफ्नो इच्छा र स्वास्थ्यअनुसार पानी मात्र वा फलफूल वा रोटीलगायत खानेकुरा खाने गरेका छन् । पहिले पहिले तीजमा सबै महिलाले निराहार नै व्रत बस्ने गरेको घरघरका आमा र हजुरआमा बताउँछन् । अहिलेको पुस्ताले रमाइलोका लागि व्रत बस्ने गरेकामा त्यतिबेला निराहार व्रत बस्नु अनिवार्य जस्तै थियो । पाठकले भने, “दिनभर व्रत बसेर साँझ बुढाको गोडा धोएको पानी खाएपछि मात्रै पानी खाइन्थ्यो ।”
अचेल तीजभन्दा एक महिनाभन्दा पहिलेदेखि दर खाने र नाचगान सुरु हुन्छ । तीजमा लगाउने लुगा र खानेकुुराको तयारी निकै पहिलेदेखि हुने गरेको छ । त्यति हुँदाहुँदै पनि ७८ वर्षीया रामकुमारी शर्माले पहिलेको जस्तो अहिलेको तीजमा रौनक भेट्नु भएको छैन । अचेलका मान्छेले वर्षभर नै नाचगान र रमाइलो गर्न पाउने भएकाले तीज नै कुर्नुपर्ने अवस्था नभएको उनको भनाइ थियो ।
कुशेऔँसीदेखि चेलीबेटीले नै तीज सुरु भएको मान्ने गरेका छन्। पहिले सडक र गाडी नहुँदा हिँडेरै माइती पुग्नु पथ्र्यो । रामकुमारी पनि झण्डै सात घण्टा हिँडेर मकवानपुरको मन्थली पुग्थीन् । औँसीका दिन माइती गएपछि एकैपटक पञ्चमी सकेर आउने गर्दथिन । उनले भनिन् “बाल बच्चा जन्मेपछि धेरैसमयसम्म माइत जान नपाइएपछि घरमै बसेर तीज भनाइन्थ्यो पाँच, छ महिनासम्म जान नपाएको माइती जान पाउँदा साह्रै रमाइलो हुन्थ्यो ।”
तीजमा व्रतका रुपमा विशेष खानेकुरा खाने चलन पहिलेदेखि थियो । साँझमा सामान्य खाना खाएर राति १२ बजे पहिले खिर खाइने गरिएको काभ्रेकी सुन्तली केसीले बताइन् । उतिबेला दरका रुपमा खिर खाने गरिन्थ्यो । भर्खर जीवनको सात दशक पार गरेकी उनले दर खाने दिनमा दिउँसोदेखि नै सेल, पुरी पकाएर खाने गरिएको बताइन् । अहिलेजस्तो बजारको खानेकुरा नभए पनि चेलीबेटीका लागि माइतीले विशेष खानेकुराको जोहो गर्ने गरेको सुन्तलीले बताइन् ।
कुनै फल फल्दा होस् वा मीठो अन्न बनाउँदा छोरी तीजमा आउँछे अनि खुवाउनुपर्छ भन्ने आमाबुबालाई लाग्थ्यो । उनले भनिन्, “घरमा भनेजस्तो खान नपाउने र समयमा नपाउने भएकाले माइतीमा आमाले पकाएको जे पनि मीठो लाग्थ्यो ।” पहिले दर खाने दिनदेखि नै नाचगान गरिन्थ्यो । टाढा घर भएका चेलीबेटी औँसीकै दिनदेखि आउने हुँदा त्यो दिनदेखि नै रौनक सुरु हुने सुन्तलीले बताइन् ।
टाढा भएर वा घरमा सासूससुरा र श्रीमान्ले नपठाउने चेली रोएरै घाँसदाउरा गर्ने गरेको उनले बताइन् । तीज लागेपछि पाखामा घाँस काट्न जाँदा माइतीबाट आउने बाटो देखिन्थ्यो र सधैँ त्यही बाटो हेर्न मन लाग्थ्यो । “अहिले पो केटी स्कुटर चलाएर राति बिहान आफैँ हिँड्छन्, हाम्रो पालामा छोरी चेलीलाई कसैको जिम्मा नलगाइ हिँड्न दिइदैनथ्यो”, सुन्तलीले भनिन्, “माइती लिन आए त जान पाइन्थ्यो भन्दै कुरेर बसिन्थ्यो ।” पहिले अहिले जस्तो फेरिफेरि लगाउन लुगा नहुने र वर्षांैसम्म एउटै सारी जतनले लगाउने गरिन्थ्यो । पहिले नाचगान त दर खाने दिनबाट सुरु हुन्थ्यो । व्रतको दिन दिनभर नाचगान गरेर रातैसम्म पनि गाउने र नाच्ने हुन्थ्यो । सबै जम्मा भएर नजिकैको मन्दिर गएर दर्शन गरिने उनले बताइन् । निराहार व्रत बसे पनि तीजको रमाइलोले कति पनि भोक र थकाइको महसुस नहुने उनको भनाइ थियो ।
सानो समूहमै तीज मनाउँछ नयाँ पुस्ता
अचेल महिनौँअघिदेखि दर खाने र कोठामा वा छतमा सानो समूहमा जम्मा भएर नाच्ने चलन देशभित्र मात्रै नभएर विदेशमा बसोबास गर्ने नेपालीमा समेत पाइएको छ । तीज मनाउने मात्रैभन्दा फोटो खिच्ने, भिडियो बनाउने र सामाजिक सञ्जालमा हाल्ने बढी छन् । तीजभन्दा पहिलेदेखि नै नाचगान सुरु गरे पनि तीजकै बेलामा भने कम रमाइलो हुने गरेको पुरानो पुस्ताको अनुभव छ । एकै ठाउँमा ठूलो सङ्ख्यामा जम्मा हुनेभन्दा सानो सानो समूहमा स्पिकर बजाएर नाचेर तीज मनाउने गरेको पाइन्छ ।
कोभिड सङ्क्रमणका कारण घरघरमै तीज मनाउने चलन बढ्दै छ । अहिलेका मान्छे सबैसँग घुलमिल गर्नेभन्दा सानो समूहमा आफ्नै घरपरिवार र नजिकैका साथीभाइसँग रमाउने गरेको आमा पुस्ताको अनुभव छ । मोबाइल, ल्यापटप, टेलिभिजन, आइप्याडका कारण कोठाभित्रै रमाइरहेका पुस्ता तीजजस्तो चाडमा समेत बाहिर निस्केर ठूलो समूहमा घुलमिल गर्न चाहँँदैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: