Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

बढ्यो नयाँ स्वरुपका प्रकोपको जोखिम

खबरडबली संवाददाता

काठमाडौँ । यस वर्षको मनसुनको शुरुआती चरण असार २ गते राति ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका(७ खेवाङमा भारी वर्षाका कारण पहिरो जाँदा दुई जनाले ज्यान गुमाए भने ७५ परिवार विस्थापित भए । त्यस दिनको वर्षा सम्झँदै प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले भने, “जिल्लाको धेरै स्थानमा पानी परे पनि सो क्षेत्रमा बढी वर्षा केन्द्रिकृत हुँदा ठूलो क्षति गरायो ।” 

अहिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनबाट घर पुनःनिर्माणका लागि आवश्यक प्रक्रिया शुरु भएको र नजिकैको खुला ठाउँमा एकीकृत वस्ती निर्माण गर्ने योजना रहेकोे उनले सुनाए । केही दिनअघि गोरखाको आरुघाट गाउँपालिका(१ श्यामचेतमा पनि त्यसै गरी भारी वर्षा हुँदा त्यहाँका ३० घरपरिवारलाई अन्यत्र सार्नुपर्ने अवस्था सिर्जना भएको छ ।

प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्य दुई घर विस्थापित नै भएका र अन्य घर उच्च जोखिमा रहेको बताए  । वस्ती स्थानान्तरण गर्ने हो वा अन्य वैकल्पिक व्यवस्था गर्ने भनेर भौगर्भिक अध्ययनको प्रक्रिया थालिएको प्रजिअ आचार्य सुनाए  । गोरखामा त्यसरी वर्षा हुँदा आसपासका जिल्लामा राम्ररी पानी परेको थिएन ।

काठमाडौँ उपत्यकामा पनि समानरुपले वर्षा भएको पाइँदैन । बानेश्वरमा दर्केझरी पर्दा निथ्रुक्क रुझेका यात्रु सुन्धारा पुग्दा टन्टलापुर घाममा सेकिनुपर्ने अवस्था हुन्छ । उपत्यकाको कोटेश्वर क्षेत्रमा पानी पर्दा बानेश्वरमा घाम लागिरहेको पाइन्छ । कुपण्डोलमा पानी पर्दा माइतीघर, सुन्धारामा टहटह घाम लागिरहेको छ । क्षणिक वर्षाको क्रम यो वर्ष दोहोरिदै, कतै एउटै जिल्लामा पनि कतै पानी पर्ने कतै नपर्ने खण्डिकृत अवस्था देखिन्छ । यो क्रमा विगतमा थोरै मात्रामा हुने गरेको थियो तर अहिले बढ्दो क्रममा रहेको महसुस गर्न ससिन्छ । 

काठमाडौँकी शान्ति महर्जन भनिन्, “चन्द्रागिरि आसपास बिहान टन्टलापुर घाम लागेकाले छाता नबोकी आइयो, सुन्धारामा बसबाट झर्दा वर्षाले रुझियो, कहिले यताबाट जाँदा उस्तै हुन्छ ।” उनले फरक खालको वर्षा भएको आफूले पनि महसुस गरेको बताइन् । यस्तै महसुस मुलुकका नागरिकले यसपालि गरेका छन् । 

जलवायु परिवर्तनलगायत विभिन्न कारणले पनि वर्षा हुने स्वरुपमा समेत परिवर्तन भएको हुँदा नयाँनयाँ घटनाहरु देखिन थालेको छ । गत वर्ष कात्तिकमा भीषण वर्षा हुँदा ठूला जनधनको क्षति भयो भने मेलम्ची र हेलम्बुमा आँकलन भन्दा फरक प्रकृतिको घटनाले अकल्पनीय रुपमा तहसनहस बनायो । एकै ठाउँमा पानी घोप्टिएर निम्तिने प्रकोप पनि बढ्दो छ । यस्ता फरक प्रकृतिका घटनाहरु दोहोरिन थालेको विज्ञहरुको भनाइ छ ।

बरिष्ठ मौसमविद् रामप्रसाद अवस्थी अवका दिनमा मौसमजन्य घटना दोहोरिने सम्भावना बढी रहेको बताए । उनका अनुसार मनसुनजन्य विपद्का स्वरुपमा परिवर्तन आई नयाँ प्रकृतिका घटना र छोटो समयमा विपद्जन्य घटना दोहोरिन सक्ने सम्भावना समेत बढेकाले पनि जोखिम थपिएको हो ।

नेपालमा वर्षेनी हुने धनजनको क्षतिमध्ये करिब ८२ प्रतिशत बढी जलमौसमजन्य प्रकोपका कारण हुने गरेको तथ्यले देखाएको छ । यसले पनि वर्षाबाट हुने जोखिम कति छ भनेर स्पष्ट हुन्छ । 

जल तथा मौसम विज्ञान विभागले यसवर्ष नेपालमा सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको थियो । सोही पूर्वानुमानकै क्रममा विभागले पूर्वी भेगका तुलनामा पश्चिमी भेगमा औसतभन्दा कम वर्षा हुने पूर्वानुमान गरेको थियो । मनसुन गहिरिदै जाँदा आजसम्मको अवस्था हेर्दा पूर्वी भेगका सबै स्थानमा समानरुपले सरदरभन्दा बढी वर्षा हुन सकेन् । त्यसको कारण नेपालमा परेको खण्डित वर्षा मुख्य हो ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बादल आकाशमा डम्म देखिए पनि वर्षा भने खण्डित रुपमा हुने गरेको सुनाउँछन् । गत केही वर्षको अध्ययन गर्दा सीमित भूभागमा हाँडी घोप्टिए जसरी अधिक वर्षा भएको थियो । यो वर्ष त्यस्तो नभए पनि विभिन्न जिल्लाका सीमित क्षेत्रमा खण्ड(खण्ड भएर ह्वारर् पानी परिरहेको छ । असारमासमा विगतका इतिहासमा लगातार झरी पथ्र्यो । विभागका जलवायु विश्लेषक डा इन्दिरा कँडेल जनसुनजन्य घटनाका प्रवृत्ति केही फरक देखिएको बताए   । 

मनसुन यसपटक एक हप्ता छिटो जेठ २२ मा भित्रियो । पूर्वबाट पश्चिम छिटो सरेन । मनसुन निक्किै ढिलो पश्चिम नेपाल पुगेकाले पनि पनि अलि बढी सुख्खा भएको अनुमान गरिएको छ । तर एक वर्ष बढी पानी पर्दा अर्को वर्ष केही सुख्खा हुने क्रम विगतमा पनि थियो ।

विभागको जलवायु विश्लेषण शाखाले यस वर्षको मनसुन यामको पहिलो महिना जुन अर्थात जेठ(असारमा गरेको विश्लेषणअनुसार खण्डीकृत वर्षा भएको देखाउँछ । त्यो वर्षा हुँदा मनसुनको प्रारुपअनुसार निरन्तरको वर्षा भने भएको थिएन । साना क्षेत्रमा धेरै वर्षा हुने अनि रोकिने, फेरि वर्षा हुने प्रवृत्ति बढ्दो छ । 
 
प्रारम्भिक विश्लेषणबाट प्राप्त विवरण (मनसुन शुरु भएपछि असार ३ सम्म) ले प्रदेश २ का केही पूर्वी भागबाहेकका क्षेत्र, बाग्मती, प्रदेश, प्रदेश नं १ र गण्डकी प्रदेशको पूर्वी भागमा सरदर र सरदरभन्दा बढी वर्षा छ ।

प्रदेश २ को पश्चिम, गण्डकीको पश्चिमी जिल्ला लुम्बिनी, कणरली र सुदुरपश्चिमका भूभागमा सरदरभन्दा कम भएको छ । तर यसैलाई आधार मानेर विगतमा गरिएको आँकलन मिल्यो वा मिलेन भनेर यकिन भन्न नसकिने कँडेलले बताए  । 
 
नेपालमा मनसुन अवधिको औसतको मात्रै अनुमान गरिएको हो । विश्व मौसम सङ्गठनका केही मोडलले जुलाईमा केही कम वर्षा हुन्छ भन्ने देखाएको थियो । मनसुन बीचको अध्ययन गर्न सक्ने अवस्था नेपालमा नभएकाले पनि विभागले औसत मात्रै जानकारी गराएको थियो । 

विपद् व्यवस्थापन विज्ञ डा कृष्णचन्द्र देवकोटा पनि केन्द्रिकृत पानी बढेको स्वीकार गरे । उनका अनुसार मनसुको शुरुमा पानी राम्रै पर्‍यो तर बीचमा केही कम भयो । उनले भने, “मुसलधारे वर्षा हुने, लामो समयसम्म नहुने अवस्था रहेको छ, यो मौसम परिवर्तन कै कारण हो कि भन्ने लागेको छ ।” यस किसिमका वर्षाले सीमित ठाउँमा क्षति पुर्‍याउँछ र जोखिम निम्त्याउँछ । 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार खण्ड(खण्ड गरेर आकाशबाट पानी झरिरहेको छ । उनले भने, “खण्डिकृत वर्षाले हाँडीघोप्टे रुप लियो भने ठूलो विपद् आउने सम्भावना हुन्छ, त्यसैले यस्तो अवस्थामा झन् सचेत हुनु जरुरी छ ।” उनका अनुसार अस्तिको हप्ता एक थोपा पनि पानी परेन तर त्यही बेला एउटै मौसम प्रणालीले भारतको मध्यप्रदेशमा ठूलो पानी परेको थियो । 

यस वर्षको वर्षा भएकामध्ये अहिलेसम्म ताप्लेजुङमा गएको पहिरोको ठूलो घटना भएको छ । गोरखाको आरुघाटको माथिलो क्षेत्रमा ठूलो क्षति हुने गरी वर्षा भयो । अन्य केही क्षेत्रमा सानातिना घटनाहरु भए पनि अहिलेसम्म ठूलो विपत्ति निम्तिएको छैन । पोखरेल कतिपय ठाउँमा रोपाईँका लागि पनि पर्याप्त पानी नपुगेको सुनाए । धान रोप्ने बेलामा र फुल्ने बेलामा पानी भएन भने खडेरीले समस्या पार्छ । मनसुनको बीचमा यस्तो हुनु भनेको राम्रो सङ्केत होइन । 

जलवायु परिवर्तनविज्ञ डा ङमिन्द्र दाहालका अनुसार मनसुन अवधिभरिमा सरदरभन्दा बढी पानी पर्ने अनुमान गरिएकाले जुनुसुकै बेला आइदिन सक्ने अनुमान गर्दछन्  । “अहिले नै पानी परेन भनेर भन्न हुँदैन, मनसुनको अन्तिम दिन वा भोलिपल्ट पनि परिदिन सक्छ, उनले भने, कुनैकुनै सीमित ठाउँमा गाग्राले खन्याएको जस्तो पानी परिरहेको छ, त्यो चाहिँ ठूलो समस्या हो ।” 

अहिले दैनिक वर्षाको नयाँनयाँ ग्राफ देखिएको छ । त्यसले सिमित क्षेत्रमा ह्वात्त पानी परेको देखाएको छ, त्यो चाहिँ अहिलेको जटिलता भएको उनको भनाइ छ । नयाँ जलवायु परिवर्तनको आँकडाका लागि त्यो सामान्य कुरा हो । उनी यसको न्यूनीकरण गर्न नसकिने भएकाले मानिस आफैँ अनुकूलित हुनुपर्ने वा पूर्वतयारीमा अझै बढी ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

उनका अनुसार अब जल तथा मौसम विज्ञान विभागले त्यस्ता वर्षाको ग्राफको सबैतिर जानकारी दिन ढिला गर्नुहुन्न । सूचना पुर्‍याउन जरुरी छ । सूचना नाप्ने केन्द्रहरु तयार पार्नुपर्छ, पूर्वसूचना प्रणाली राखेर सूचना नागरिकको हातहातमा पुग्नुपर्‍यो ।

खेतीपाती, खोला, किनाराबाट सुरक्षित हुनुपर्यो । भौतिक निर्माण, वस्ती निर्माण, पूर्वाधारहरु त्यही अनुसारका तयारी गर्नुपर्छ । वर्षामा आएको फरकपनका कारण पूर्वाधारका पुराना संरचनाले जोखिम निम्त्याएको छ । अब हिजोका डिजाइनका बाटोघाटो सुरक्षित नरहेकाले नयाँ डिजाइन अनुसार बनाउनुपर्ने बेला आएको उनले सुझाव दिए ।

विभागले तयार पारेको एक प्रतिवेदनअनुसार सन् १९७१ देखि २०१५ सम्म नेपालमा १.३ मिलिमिटर प्रतिवर्ष वर्षाको दर घटेको थियो । सन् २०५० सम्म प्रतिवर्ष ८।१२ प्रतिशत र सन् २१०० सम्म प्रतिवर्ष १२ प्रतिशतसम्म वर्षाको दर बढ्न सक्छ भन्ने अनुमान छ तर यसको प्रवृत्ति सामान्य वर्षाका रुपमा नभएर फरक देखिन सक्छ । सामान्य वर्षाका दिनभन्दा भारी वर्षा, खण्डीकृत वर्षाका दिनहरु बढेर जाने र समग्रका वर्षाका दिनमा भने कमी आउने प्रतिवेदनले देखाएको सिनियर डिभिजनल हाइड्रोलोजिष्ट रामप्रसाद अवस्थीले बताए  । 

उहाँको सन् २०२० को अध्ययनले नेपालमा औषत तापक्रम (५० वर्षमा) ०.८ देखि १.३ डिग्रीसम्म बढेको देखाएको छ । अधिकतम् तापक्रम प्रतिवर्ष ०.०५६ (हिमालमा ०.०८० डिग्री बढेको छ । गर्मीको दिन बढ्दो रहेको र चिसोको दिन घट्दो रहेको अध्ययनले देखाएको छ । अध्ययनले अतिजन्य मौसमी घटना (बाढी, हिमताल विष्फोट, हिमपहिरो, असिना, चट्याङ हावाहुरी) मा वृद्धि भइरहेको छ  ।

तापक्रमसम्बन्धी घटनाको प्रभाव पहाड र हिमालमा बढिरहेको छ । भारी वर्षाका घटनाहरु पहाडदेखि तल महाभारत तराईतिर बढेको छ । औसत वार्षिक वर्षा र तापक्रम शताब्दीको अन्त्यसम्म नै बढ्दै जाने अनुमान गरिएको छ । अझै मनसुनपछिको समयमा भने तापक्रम वृद्धिदर अधिक हुने अनुमान छ । पूर्व मनसुनबाहेकका सबै ऋतुमा प्रायः बढी वर्षा हुने देखिन्छ । भारी वर्षाका घटनाको प्रकृतिमा वृद्धि, सामान्य वर्षात्का दिनमा भन्दा अति वर्षा हुने दिनको सङ्ख्या अधिक वृद्धि हुने देखिएको छ । 
 
नेपाल जलवायु परिवतनका जोखिमको संवेदनशीलताका आधारमा विश्वमा नवौँ स्थानमा रहेको छ । बहुप्रकोपीय जोखिमका हिसाबले २० औँ स्थान पर्छ । यसअघिका विभिन्न अध्ययनले भने जलवायु परिवर्तनका हिसाबले नेपाल चौथो जोखिमा पर्ने मुलुक भनेर उल्लेख थियो ।

वैशाखयताका विपद्जन्य घटनामा १२९ को मृत्यु

वैशाखयता भएको एक हजार १६९ विपद्जन्य घटनामा १२९ जनाको मृत्यु भएको छ । प्राधिकरणका अनुसार ती घटनामा परेर तीन जना वेपत्ता भएका छन् भने ३२३ जना घाइते भएका छन् । 

कुल एक हजार ४९७ परिवार प्रभावित भएको प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिए  । कुल अनुमानित रु ७२ करोड ३४ लाखको क्षति भएको छ । विभिन्न ११ प्रकारका विपद्का घटनामध्ये सबैभन्दा बढी चट्याङबाट ५५ जनाको मृत्यु भएको तथ्याङ्क छ । त्यसपछि आगलागीबाट १९ र पहिरोबाट १७ को मृत्यु भएको छ अघिल्लो वर्षको तुलनामा यसपालि विपद्जन्य घटना र जनधनको क्षति भने कम छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending