Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

सत्ता र प्रतिपक्षले प्रतिष्ठाको रूपमा हेरेको काठमाडौं महानगरमा ठूला दललाई स्वतन्त्रको चुनौती

बालेन शाहको घरदैलो र र्‍यालीहरूमा युवाहरूको आकर्षण

खबरडबली संवाददाता

काठमाडौं ।  सत्ता र प्रतिपक्षी दुवै शक्तिले प्रतिष्ठाको विषय बनाउने गरेको सङ्घीय राजधानीस्थित काठमाण्डू महानगरपालिकामा उम्मेदवारहरूले चुनावी प्रचार प्रसार तीव्र बनाएका छन्।

अघिल्लो पटक राप्रपासँग तालमेल गरेर महानगरको नेतृत्वमा जित हासिल गरेको नेकपा एमालेले यो पटक पाँच दलीय गठबन्धनका उम्मेदवारको सामना गर्दैछ।

कुनै पनि दलमा नखुलेका मतदाता निर्णायक हुने भनिएको यो महानगरमा स्वतन्त्र उम्मेदवारले पनि यो पटकको निर्वाचनमा ठूला दलका उम्मेदवारहरूलाई चुनौती थपेका देखिएको छ।

अघिल्लो निर्वाचनमा काठमाण्डू महानगरको प्रमुख सहित ३२ मध्ये १८ वटा वडा जितेको नेकपा एमालेका मेयर विद्यासुन्दर शाक्य निर्वाचनअघि गरिएका प्रतिबद्धता कार्यान्वयन नगरेको भन्दै आलोचित बनेका थिए।

यो पटक एमालेले समय-समयमा चर्चा र विवादमा आइरहने तर आफ्नो यसअघिको कार्यकालमा गरेका कामका कारण मानिसहरूको स्मरणमा रहेका भनिकएका पूर्व मेयर केशव स्थापितलाई महानगरमा अघि सारेको छ।

उनी विसं २०५४ सालको स्थानीय तह निर्वाचनमा काठमाण्डूमा निर्वाचित भएका थिए।

उम्मेदवारी दर्तासँगै यौन दुर्व्यवहारसँग जोडिएको 'मिटू'को आरोपका कारण स्थापित विवादमा पनि आएका छन् भने उनले आफूमाथि लाग्दै आएको आरोपको निरन्तर खण्डन गर्दै आएका छन्।

एमालेले उपमेयरमा 'मिस नेवा:' प्रतियोगितामा विजयी भएकी युवा उम्मेदवार सुनिता डङ्गोललाई अघि सारेको छ।

एमालेलाई अघिल्लो पटक साथ दिएको राप्रपाले यो पटक साथ छोडे पनि राप्रपाबाटै अलग भएका कमल थापाले गठन गरेको राप्रपा नेपालले साथ दिएको छ।

अघिल्लो निर्वाचनमा महानगरमा उपप्रमुख सहित कैयन् वडामा जित हात पारेको नेपाली कांग्रेसले यो पटक लामो राजनीतिक विरासत भएको परिवारबाट प्रतिनिधित्व गर्ने सिर्जना सिंह श्रेष्ठलाई मेयरको उम्मेदवार बनाएको छ।

यसअघि मेयरमा पराजय बेहोरेको कांग्रेसले यो पटक भने नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन पाएको छ।

तर कांग्रेसका पुराना नेता गणेशमान सिंहको परिवारकी सिर्जनालाई राजनीतिमा यसअघि सक्रिय नरहेको र राजनीतिक विरासतका बलमा उम्मेदवार बनाइएको आरोप लाग्ने गरेको छ।

उनी र उनका श्रीमान् कांग्रेस नेता प्रकाशमान सिंहले सिर्जना यसअघि पनि राजनीतिमा सक्रिय रहेको भन्दै आरोपको खण्डन गर्दै आएका छन्।

कांग्रेसले यो पटक भने उपमेयरमा उम्मेदवारी दिएन। सरकारमा सहभागी पाँच दलबीच गठबन्धन हुँदा महानगरको उपमेयर नेकपा एकीकृत समाजवादीको भागमा परेको छ।

नेकपा एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीले महानगरमा राम्रो जनसम्पर्क भएका भनिएका रामेश्वर श्रेष्ठलाई गठबन्धनको उपमेयरमा अघि सारेको छ।

काठमाण्डू महानगरमा यो पटक ठूला दलका उम्मेदवारहरूलाई स्वतन्त्र उम्मेदवार गायक तथा इन्जिनियर बालेन शाहले चुनौती दिएका छन्।

युवा उम्मेदवार शाहका चुनावी घरदैलो र र्‍यालीहरूमा युवाहरूको आकर्षण रहेको बताइन्छ।

महानगरमा अघिल्लो पटक आफूलाई वैकल्पिक दलका रूपमा प्रस्तुत गरेका दलका उम्मेदवारले पाएको मत र थपिएका करिब २१,००० नयाँ मतदाता आफ्नो पक्षमा पार्न शाहले आफ्नो चुनावी नारा र घोषणापत्रमा मेहनत गरेको दाबी गरेका छन्।

तर मेयरमा मात्रै उम्मेदवारी दिएका शाहलाई ३२ वटै वडामा सङ्गठन र उम्मेदवार रहेका दलहरूसँग प्रतिस्पर्धा गर्न चुनौती हुने कतिपयको विश्लेषण छ।

'आजसम्म दलले गरे, अब बदल्नेले गरौँ' भन्ने चुनावी नारा लिएर घरदैलो गरिरहेका शाहले आफ्नो घोषणापत्रमा यातायात व्यवस्थापनको विषयलाई पनि प्राथमिकता दिएका छन्।

अमेरिकाबाट कानुनमा स्नातकोत्तर गरेर फर्किएकी मेयर प्रत्याशी समीक्षा बास्कोटाले आफ्ना प्रतिस्पर्धी हरूसँगको सार्वजनिक बहसमा परिपक्व र सन्तुलित धारणा राखेर प्रशंसा बटुले पनि उनको दल विवेकशील साझाका उम्मेदवारबारे मतदाताहरूमाझ अघिल्लो निर्वाचनजस्तो चर्चा देखिँदैन।

पार्टीमा देखिएको आन्तरिक विवाद र टुटफुटले यो दललाई थप चुनौती देखिएको विश्लेषण गरिएको छ।

सबै दलको ध्यान यातायात र सडकमा

एमाले उम्मेदवारहरूको घोषणापत्रमा सहरी आवागमन र यातायात पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखिएको छ।

एमालेले विद्युतीय बस सेवा, र्‍यापिड बस ट्रान्जिटदेखि मोनो रेल र मेट्रो रेलको रणनीति सङ्घ र प्रदेशको सहकार्यमा तय गरिने उल्लेख गरेको छ।

चुनावी प्रतिबद्धता पत्रमा काठमाण्डूका महत्त्वपूर्ण पर्यटकीय र व्यवसायीक स्थानहरूलाई पैदल यात्रुमैत्री बनाइने भनिएको छ।

पैदल यात्रुहरूको सुविधाका लागि सडक बत्ती र स्मार्ट ट्राफिक सिग्नलको व्यवस्था गर्ने वाचा पनि एमालेको छ।

एमालेले साइकल लेन र फुटपाथ पनि व्यवस्थित गर्ने योजना मतदाताहरूसामू अघि सारेको छ।

चुनावी प्रतिबद्धतामा बहुतले पार्किङको व्यवस्था र जथाभाबी सडक खन्न रोक लगाइने भनिएको छ।

कांग्रेसकी मेयर उम्मेदवार सिंहले महानगरलाई पैदलयात्री केन्द्रित सहरका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएकी छिन्।

कांग्रेस उम्मेदवारको घोषणापत्रमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिले समेत सुरक्षित अनुभव गर्न सक्ने र हिँडडुल गर्न सक्ने सहरको निर्माण गर्ने योजनाको वाचा गरिएको छ।

महानगर क्षेत्रमा मौलिक र गुणस्तरीय पूर्वाधारको अवधारणा अघि सारिए पनि कांग्रेस उम्मेदवारको ७ बुँदे घोषणापत्रमा यातायातको विषयबारे थप व्याख्या गरिएको छैन।

बालेनले महानगरमा शतप्रतिशत विद्युतीय सार्वजनिक यातायातको थालनी गरिने प्रतिबद्धता जनाउँदै बहुतले पार्किङ र सार्वजनिक यातायातमा अग्रिम भुक्तानी कार्डको सुरुवात गर्ने जस्ता प्रतिबद्धता जनाएका छन्।

महानगरमा अघिल्लो स्थानीय तह निर्वाचनमा उल्लेख्य मत पाएका दुई नयाँ राजनीतिक दलहरूको एकीकरणबाट बनेको विवेकशील साझाले समीक्षा बास्कोटालाई मेयर र कीर्ति तुलाधरलाई उपमेयरमा उम्मेदवार बनाएको छ।

विवेकशील साझाले महानगरमा निजी क्षेत्रसँगको सह-लगानीमा बिजुलीबाट चल्ने सार्वजनिक यातायात सञ्चालन गर्ने अवधारणा अघि सारेको छ।

महानगरको संलग्नता भएका बसहरूमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सरकारी कर्मचारी र विद्यार्थीलाई निःशुल्क सेवा दिने प्रतिबद्धता चुनावी घोषणापत्रमा समेटेको छ।

यो दलले बहुतले पार्किङ र महानगरमा ट्राफिक जामको समस्या समाधानका लागि केवल कार, मेट्रो रेल तथा द्रुत बस जस्ता प्रणालीबारे अध्ययनको काम अघि बढाउने वाचा गरेको छ।

महानगरका सडकहरूलाई साइकल, पैदल यात्री मैत्री र अपाङ्गमैत्री बनाउने विवेकशील साझाको प्रतिबद्धता छ।

पद एक: उम्मेदवार ५४

तीन लाख मतदाता रहेको महानगरमा पाँच वर्षअघि भएको निर्वाचन भन्दा करिब २१,००० नयाँ मतदाता थपिएका छन्।

विसं २०७४ सालमा भएको अघिल्लो स्थानीय तह निर्वाचनमा काठमाण्डू महानगरमा २,७९,३०९ जना योग्य मतदाता थिए।

उक्त निर्वाचनमा कुल मतदाताको ७० प्रतिशत मत मात्रै महानगरमा खसेको थियो। खसेको मत मध्ये पनि १५ प्रतिशत मत बदर भएको थियो।

जसमध्ये ६४,९१३ मत ल्याएका नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले निकै फराकिलो मत अन्तरले कांग्रेस उम्मेदवार राजुराज जोशीलाई पराजित गरेका थिए।

जोशीले ४५,२६८ मत ल्याए। माओवादीका सर्वोत्तम दास डंगोलले ७९०६ मत ल्याएका थिए।

एमालेले काठमाण्डू महानगरका ३२ मध्ये १८ वटा वडामा पनि विजय हासिल गरेको थियो।

तर उपमेयरमा भने कांग्रेसकी हरिप्रभा खड्गी (श्रेष्ठ) ५८,९५२ मत सहित निर्वाचित भइन्।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका राजाराम श्रेष्ठले ३४,८५४ मात्रै मत पाए।

अघिल्लो पटकको निर्वाचनमा एमाले र राप्रपा नेपालले यो महानगरमा तालमेल गरेर मेयरमा एमाले र उपमेयरमा राप्रपाबाट साझा उम्मेदवार अघि सारेका थिए।

अघिल्लो निर्वाचनमा ठूला दलहरूलाई वैकल्पिक शक्तिको रूपमा चिनाएका विवेकशील पार्टी र साझा पार्टीले चुनौती दिएका थिए।

विवेकशीलकी मेयर उम्मेदवार रञ्जु दर्शनाले २३,४३९ मत र साझाका किशोर थापाले १८,४९६ मत पाए।

यो पटक काठमाण्डू महानगरपालिकामा ३,००,२४२ मतदाता छन्। जसमध्ये आधा भन्दा बढी महिला मतदाता छन्।

महानगरमा विभिन्न दल र स्वतन्त्र गरी २८ उम्मेदवार थिए।

जसमध्ये १७ जनाले १०० भन्दा कम मत पाएका थिए। एक सय मत नकटाउने अधिकांश उम्मेदवार स्वतन्त्र थिए।

यो पटक महानगरमा ५४ जनाले उम्मेदवारी दिएका छन्।

निर्वाचन आयोगले धेरै उम्मेदवार र ठूलो मतपत्र भएका कारण यो पटक पनि बदर मत धेरै हुने आकलन गरेको छ।

मतदाताले कस्तो उम्मेदवार खोज्छन्?

काठमाण्डूमा धेरै मतदाताहरू आबद्ध भएका धार्मिक तथा साँस्कृतिक गुठीबाट हुने औपचारिक वा अनौपचारिक निर्णयहरू चुनावी परिणामका लागि महत्त्वपूर्ण हुने जानकारहरू बताउँछन्।

त्यस बाहेक काठमाण्डूका मतदाताले यहाँको रैथाने उम्मेदवार खोज्ने राजनीतिक विश्लेषक मल्ल के सुन्दरको विश्लेषण छ।

"देशको राजधानी भएकाले यहाँ देशभरिबाट आएका मानिसहरूको बसोबास र निर्वाचनमा उम्मेदवारी हुने गरेको छ तर मतदाताको आकाङ्क्षा रैथाने उम्मेदवार भइदेओस् भन्ने हुन्छ," महानगरका मतदाता समेत रहेका विश्लेषक मल्ल भन्छन्।

"विगतको निर्वाचन परिणामले पनि यहाँका मतदाताले रैथाने उम्मेदवार रोज्छन् भन्ने देखाएको छ।"

त्यस बाहेक महानगरका मतदाताको चासो साँस्कृतिक सम्पदा र पहिचानको संरक्षण, फोहोर व्यवस्थापन, यातायात र पार्किङ व्यवस्थापनमा हुने उनले बताए।

यसअघिको निर्वाचनमा काठामाण्डू महानगरको मेयरमा उम्मेदवारी दिएकी रञ्जु दर्शनाको अनुभवमा काठमाण्डूका मतदाताले घरमा आएर नै भोट माग्ने उम्मेदवारको अपेक्षा गरेका हुन्छन्।

"चुनावको प्रचार प्रसार देखिनै उम्मेदवार प्रत्यक्ष देखिनुपर्छ अनुहार देखाउनुपर्छ भन्ने छ", उनले भनिन्।

"धेरै जना मतदाता कुनै एक पार्टीलाई भोट नहाल्ने मतदाता हुनुहुन्छ। उहाँहरूको अपेक्षा कुनै पनि दलसँग आबद्ध नभएको उम्मेदवार होस् तर राजनीति जानेको र बुझेको भइदेओस् भन्ने अपेक्षा पनि छ।"

उनको अनुभवमा जति धेरै अनुभवी र विज्ञ उम्मेदवार भए पनि काठमाण्डूका मतदाताले राजनीतिक अनुभव पनि भएको उम्मेदवारको अपेक्षा गरेका हुन्छन्।

काठमाण्डूका मतदाताले रैथाने अनुहार खोज्ने मल्ल के सुन्दरको धारणामा दर्शनाको पनि धेरै विमति छैन।

"भित्री सहरका समुदायमा हाम्रो सभ्यता, संस्कृति र भाषा बुझेको मानिस आयो भने सजिलो हुन्छ भन्ने विश्वास रहेको छ। तर काठमाण्डू बिस्तारै आप्रवासी जनसङ्ख्या बढी रहेको सहर हुँदै छ," उनले भनिन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८५वर्षमा फर्कियो ७ वर्षअघि गुमेको दृष्टि

सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई जीवनको उत्तराद्र्धमा दृष्टि फर्किएला र फेरि संसार देख्न पाइएला भन्ने कुनै आशा...

जेनजी आन्दाेलन छानबिन आयोग प्रतिवेदन: भदौ २३ लाई कारबाही, २४ लाई उन्मुक्ति

काठमाडौं । जेनजी विद्रोहको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २३ गतेको घटनालाई लिएर सरकार प्रमुखदेखि सुरक्षा अंगका प्रमुखलाई कार...

बालेनलाई आज संसदीय दलको नेता चयन गर्दै रास्वपा, भोलि प्रधानमन्त्रीको शपथ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने गरी नयाँ सरकार गठनको अन्तिम तयारी अघि बढाएको छ। प्रति...

यस्तो छ आजको मौसम

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ...

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात ...

गत वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनु...

चुलोचौकोदेखि क्याम्पससम्म: बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका—१ की सुमित्रा राउत ९ कक्षा पढ्दै गर्दा विवाह भयो । थप पढ्ने रहर त थियो, तर विवाहपछि उनको जीवनको लय मोडियो । राउतल...

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचि...

जलेर नष्ट भएका तेह्र हजारभन्दा बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके । नेपालगन्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प...

तनहुँको मह विश्व बजारमा, किसान उत्साहित

तनहुँ ।  जिल्लामा उत्पादित मह अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending