Khabar Dabali ११ जेष्ठ २०८३ सोमबार | 25th May, 2026 Mon
Investment bank

माओवादी विद्रोहीले बुझाएका हतियार सेनाले कहाँ राख्यो ? पुनः प्रयोग गर्न मिल्छ ?

खबरडबली संवाददाता

काठमाडौं । नेपालमा १० वर्षसम्म सशस्त्र विद्रोहमा रहेको तत्कालिन माओवादी पार्टीले शान्ति प्रक्रियामा सहभागी भएसँगै आफूले प्रयोग गरेका हतियार राज्यलाई बुझाएको एक दशक पुगेको छ।

माओवादी लडाकुले प्रयोग गरेका चार हजार हतियार कहाँ छन् र के गरियो भन्नेबारे माओवादीले पनि चासो राखेको छैन।

कहाँ छन् हतियार?

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले सेनाले जिम्मा लिएका माओवादीले प्रयोग गरेका मध्ये केही हतियार सुरक्षा निकायहरूले प्रयोगमा ल्याएको बताएका छन्।

"माओवादीबाट प्राप्त भएको हतियारहरू मध्ये नेपाल प्रहरीबाट पहिचान भएको हतियारहरू नेपाल सरकारको निर्देशन अनुसार नेपाल प्रहरीलाई बुझाइएको छ।

बाँकी रहेका हतियारमध्ये प्रयोगमा ल्याउन सकिने हतियारहरू नेपाली सेनाले प्रयोगमा ल्याएको छ." सिलवालले बीबीसीसँग भने।

"प्रयोगमा ल्याउन नसकिने र प्रचलनमा नभएका हतियारहरू सुरक्षित साथ भण्डारण गरिएको छ।"

यसअघि माओवादी नेताहरूले सशस्त्र युद्धमा प्रयोग भएका हतियारहरू सङ्ग्रहालयमा राखिने भनेपछि प्रवक्ता सिलवालले त्यसबारे सेनालाई कुनै आधिकारिक निर्णय वा जानकारी नआएको बताए।

माओवादी हतियार

विसं २०६४ को संविधानसभा निर्वाचन अघि नेपालमा शान्ति प्रक्रियाको मध्यस्थताका लागि आएको राष्ट्रसङ्घीय शान्ति नियोग (अन्मिन)को अनुगमनमा राखिएका हतियार २०६८ मा नेपाली सेनालाई जिम्मा लगाइएको थियो।

चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको शिविरमा भएको विशेष कार्यक्रममा विसं २०६७ माघ ८ गते माओवादी लडाकुका शिविर र हतियार तत्कालीन सेना समायोजन विशेष समितिको मातहतमा आएको घोषणा गरिएको थियो।

त्यसको एक वर्षपछि २०६८ चैत २८ गते माओवादी लडाकुहरूको अवकाश र सेनामा समायोजनसँगै माओवादी विद्रोहीसँग रहेका भनिएका सबै हतियार नेपाली सेनालाई जिम्मा लगाइएको बताइएको थियो।

लडाकु तथा हतियार अनुगमनको जिम्मेवारी लिएको निकाय अन्मिन २०६७ पुस मसान्तबाट फिर्ता भएपछि केही समय नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र माओवादी लडाकू सम्मिलित टोलीले हतियार अनुगमन गरेका थिए।

कस्ता थिए?

अन्मिनको तत्कालीन विवरण अनुसार माओवादी विद्रोहीले अत्याधुनिक मानिने एके-४७ देखि मोर्टार, मसिन गन, राइफल, अटोमेटिक हतियार, शटगन र भरुवा बन्दुकहरू बुझाएको थियो।

माओवादीले ९१ वटा मोर्टार, ६१ मसिन गन, २,४०३ राइफल, ६१ अटोमेटिक हतियार, ११४ साइड आर्म्स, २१२ शटगन, २३३ घरेलु बन्दुक र २५३ विभिन्न हतियार बुझाएको अन्मिनले जनाएको थियो।

माओवादी 'जनमुक्ति सेना'का पूर्व कमान्डर चन्द्रप्रकाश खनाल 'बलदेव'ले माओवादी आफैँले बनाएका कतिपय हतियारहरू पनि त्यसमा रहेको बताए।

"हामीले आफैँले बनाएका चिजहरू सङ्ग्रहालयमा राख्न हामीलाई दिनुहोस् पनि भनेका थियौँ। त्यो पछि भएन," उनले भने।

माओवादीले बुझाएका मध्ये अधिकांश आधुनिक हतियार सुरक्षाकर्मीहरूबाट लुटिएका बताइएको थियो। केही हतियार माओवादीले भारतबाट समेत ल्याएको तत्कालीन माओवादी नेताहरूले आफ्नो प्रकाशित संस्मरणमा उल्लेख गरेका छन्।

माओवादी लडाकुहरूसँग त्यसभन्दा धेरै हतियार भएको अनुमान गरिए पनि माओवादी विद्रोही नेताहरूले आफूहरूसँग भएका हतियार त्यति मात्रै भएको दावी गरेका थिए।

माओवादी लडाकु

विभिन्न दस्ताबेजहरूले माओवादीले द्वन्द्वकालमा छ हजार बढी हतियार सुरक्षाकर्मीबाट लुटपाट गरेको दाबी गरे पनि शान्ति प्रक्रियामा आएपछि माओवादीले त्यसको करिब आधा मात्रै हतियार बुझायो।

माओवादीले हतियार लुकाएको प्रश्न उठेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले "कैयौँ हतियार खोलाले बगाएको र आगलागीमा परी नष्ट भएको" सार्वजनिक टिप्पणी पनि गरेका थिए।

माओवादी विद्रोहीले अन्मिनमा करिब ३१,००० लडाकू दर्ता गरे पनि निकै कम सङ्ख्यामा हातहतियार दर्ता गरेपछि जारी आशङ्काकै बीच बागलुङमा भएको एउटा कार्यक्रममा प्रचण्डले आफ्ना लडाकु र हतियार अझै शिविर बाहिर रहेको अभिव्यक्ति दिएका समाचारहरू आएपछि राष्ट्रसङ्घले आपत्ति जनाएको थियो।

तर माओवादीले प्रचण्डलाई उद्धृत गर्दै आएका समाचार गलत भएको जानकारी अन्मिनलाई गराएको थियो। अन्मिनले १९ हजार ६०० माओवादी लडाकुलाई मात्रै प्रमाणित गरेको थियो।

सेनालाई जिम्मा 

विद्रोही माओवादीले शान्ति सम्झौता बमोजिमका सर्तहरू पालना हुनेमा आशङ्का गर्दै सेना समायोजन सम्पन्न भएपछि मात्रै आफ्ना हतियार सरकारलाई बुझाउने जनाएको थियो।

समायोजनअघि हतियार अन्मिनको निगरानीमा ताल्चा लगाएर राख्ने सहमति भएपछि सेना समायोजनपछि हतियार के गर्ने भन्नेबारे त्यस बेला कुनै निर्णय नभएको विशेष समिति सचिवालयका तत्कालीन संयोजक बालानन्द शर्मा बताउँछन्।

"माओवादीले समायोजन भएपछि मात्रै हतियार दिन्छौँ, समायोजन नरहुन्जेल दिन्नौँ भनेकाले हामीले नेपाली सेनामा समायोजन हुने दिनसम्म पनि उहाँहरूलाई राख्न दियौँ," शर्माले भने।

"माओवादीको भावनासँग जोडिएकाले तीनलाई के गर्ने भन्ने त्यस बेला कुनै निर्णय भएन। सरकारले हतियार बुझ्ने र बुझेपछि सरकारले सल्लाह गरेर व्यवस्थापन गर्छ भन्ने कुरा भएको हो।"

तर सेना समायोजन र लडाकु शिविरमा भएको खर्चको विषयमा माओवादीभित्र विवाद भएपछि पूर्व योजनाअघि नै माओवादी सेनाका शिविरहरू नेपाली सेनालाई दिइएको थियो।

सेनाले जिम्मा लिएपछि त्यस विषयमा थप छलफल नभएको माओवादीका तर्फबाट सेना समायोजन विशेष समिति सदस्य रहेका खनालले बताए।

"त्यसलाई सङ्ग्रहालयमा राख्नुपर्छ भन्ने हाम्रो माग थियो। त्यसमै सहमति पनि भएजस्तो लाग्छ। तर त्यसपछि सेनामा कसरी राखिएको छ त्यति चासो लिइएन हतियारबारे," उनले भने।

माओवादी हतियार

पुनः प्रयोग गर्न मिल्छ?

माओवादीले बुझाएका अधिकांश हतियार नेपालका सुरक्षाकर्मीले समेत लामो समयदेखि प्रयोग गर्न छोडिसकेका भएपनि केही हतियारहरू अत्याधुनिक रहेको जानकारहरू बताउँछन्।

नेपाली सेना र प्रहरीले माओवादीले बुझाएका हतियार प्रयोगमा ल्याएपनि नेपाली सेनाका पूर्व रथी समेत रहेका शर्मा माओवादीले प्रयोग गरेका हतियारहरू अब प्रयोगमा ल्याउन नहुने बताउँछन्।

शर्मा हतियारको निश्चित आयु हुने र प्रयोगको अभिलेख अनुसार यस्तो आयु तय हुने भएकाले प्रयोगको यकिन अभिलेख नभएका ती हतियारहरू नेपालका सुरक्षा निकायले प्रयोग गर्न नहुने पूर्व रथी शर्माको भनाई छ।

"हतियारहरू हरेकको आयु हुन्छ। यसबाट जति गोली हानिन्छ हरेकको विवरण राखिन्छ। जति धेरै गोली पड्क्यो उत्ति यसको स्थिरतामा कमी आउँछ, ताकेको ठाउँमा लाग्दैन,"शर्मा भन्छन्।

हतियारहरू समय समयमा सरसफाइ गरिरहनुपर्ने र राम्रोसँग भण्डारण गरिनुपर्ने भएकाले लामो समय थन्क्याइएका हतियार प्रयोग गर्न नमिल्ने सुरक्षा जानकारहरू बताउँछन्।

तर सेनाका प्रवक्ता सिलवालले आफूहरूले हतियारको अवस्था परीक्षण गरेर मात्रै प्रयोगमा ल्याएको दाबी गरे।

"सुरक्षाको संवेदनशील विषय सरोकारको विषय हो। तर हतियारको अवस्था र त्यसको विज्ञहरूबाट प्राविधिक मूल्याङ्कन गरेर अवस्थाको आकलन गरी सुरक्षित तरिकाले प्रयोगमा ल्याउने व्यवस्था मिलाइएको छ," उनले भने।

तर माओवादीले प्रयोग गरेका हतियारहरूको यस्तो कुनै अभिलेख नहुने भएकाले यसलाई सङ्ग्रहालयमा राख्न वा घातक हतियारलाई नष्ट गर्न उपयुक्त हुने शर्मा बताउँछन्।

"यो सङ्ग्रहालयमै राख्ने हो। त्यस बेला भएको कुरा नयाँ पुस्ताले पनि थाहा पाउनुपर्‍यो नि। नभए त युद्ध पनि बिर्सिन्छ हतियार पनि बिर्सिन्छ। यो त तथ्य हो नि," उनले भने।

"तर त्यसमध्ये केही खतरनाक हतियार छन् भने तिनीहरूलाई नष्ट पनि गर्नुपर्छ।"

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending